Websoft University
May 2025


विराटनगर जेठ ३ गते । प्रेस चौतारी मोरङको आयोजनामा तीनदिने `डिजिटल मिडिया र एआई´ सम्बन्धी तालिम विराटनगरमा  सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाको सहयोगमा जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको तालिममा जिल्लाका पत्रकार, तथा संचारकर्मीको  उपस्थिति रहेको थियो।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले पत्रकारले आफ्नो  क्षमता विकाससँगै सञ्चारकर्मीहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गर्न यस्तो तालिम समय सान्दर्भिक र आवश्यक रहेको बताइन्। “महानगरपालिकाले आवश्यकताको आधारमा यस्ता तालिमहरू नियमितरूपमा सञ्चालन गर्न तयार छ´, उनले भनिन्, `पत्रकारिता तथ्य र प्रमाणमा आधारित हुनुपर्छ, गल्ती औँल्याउने पक्षपनि जिम्मेवार हुनुपर्छ।”

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुमन सुस्केराले बदलिंदो सञ्चार परिवेशमा पत्रकारिताको शैली पनि परिवर्तन भइरहेकाले नयाँ चुनौतीहरूसँग जुध्न सक्ने क्षमता पत्रकारमा हुनुपर्ने बताए। “विचार व्यक्त गर्ने स्वतन्त्रता रहन्छ, तर पत्रकारिता तथ्यमा आधारित हुनैपर्छ,” उनले भने। प्रेस चौतारी नेपालले यो वर्षलाई प्रशिक्षण वर्ष को रूपमा लिएको जानकारी दिँदै आगामी दिनमा अझ संगठनात्मक र पत्रकारका लागि आवश्यक पर्ने प्राविधिक तालिमहरू सञ्चालन गरिने जनाएको छ।

त्यस्तै, प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष सुमन पुरी, प्रेस चौतारी मोरङका संस्थापक अध्यक्ष दिपेन न्यौपाने, सञ्चारिका समूह कोशी महासचिव जुनु भट्टराई लगायतले तालिमको आवश्यकता र प्रभावबारे आ-आफ्नो धारणा राखेका थिए।

प्रशिक्षार्थी रेजिना भट्टराईले एआईसम्बन्धी विषयवस्तुहरू जीवन र पेशासँग प्रत्यक्ष रूपमा जोडिएको अनुभव सुनाइन् । अर्का प्रशिक्षार्थी तेजेन्द्रबहादुर भण्डारीले डिजिटल मिडियासम्बन्धी सिकाइहरू, फोटो, भिडियो तथा समाचार निर्माण सीप, अत्यन्तै उपयोगी र व्यावहारिक भएको बताए।

कार्यक्रमको अध्यक्षता प्रेस चौतारी मोरङका अध्यक्ष चिना थापाले गरेकी थिइन् । उनले तालिममार्फत पत्रकारहरूलाई डिजिटल प्लेटफर्म र नयाँ प्रविधिमा अपडेट गराउने लक्ष्य अनुसारको तालिम दिइएको बताइन् ।


बिराटनगर |  उर्लाबारी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷०८३ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यवाहक नगर प्रमुख मीना खतिवडा पौडेलको अध्यक्षतामा आज बसेको नगरसभाको १४ औं अधिवेशनको पहिलो बैठकले बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख पौडेलले सडकलगायत भौतिक पूर्वाधारको निर्माण दीगो र गुणस्तरीय हुने बताउनुभयो । उर्लाबारी नगरपालिकाले आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय पूर्वाधार विकास, स्थानीय सहभागिता जुट्ने, स्वयम्सेवक परिचालन गर्न सकिने तथा लागत कम लाग्ने, स्थानीय स्रोतसाधन र सीपको अधिकतम प्रयोग हुने, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिबृद्धि हुने, दिगो विकास, वातावरणीय संरक्षण तथा सम्बद्र्धन गर्न सघाउ पु¥याउने, प्राकृतिक स्रोतको दिगो उपयोग तथा विपद व्यवस्थापन, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिबृद्धिमा सघाउ पु¥याउने र विगतका सफल तथा अभ्यासलाई निरन्तरता दिइने नीति लिएको छ ।

यस्तै, नगरपालिकाले प्राथमिकता तथा आवश्यकताका आधारमा नीति तथा नीति अनुरुप आय व्यको अनुमान तयार गरिने, स्थानीय नीति तथा कार्यक्रमलाई राष्ट्रिय तथा प्रादेशिक नीतिसँग आबद्ध गरिने, वित्तीय संघीयता तथा स्थानीय वित्तीय स्वायत्ततालाई प्रवद्र्धन गर्न आन्तरिक परिचालन थप प्रभावकारी बनाउने, बजेटको विश्वसनीयता तथा प्रभावकारिता बढाउन स्रोत अनुमानलाई वास्तविकता बनाउनुका साथै बजेटमा संरचनात्मक सुधार गर्ने, चालु खर्चलाई वाञ्छित सीमाभित्रै राख्दै चालु र पूँजीगत खर्चलाई सन्तुलन गर्ने, लाभ लागत विश्लेषण तथा वास्तविक आवश्यकताका आधारमा पूर्वाधार आयोजना छनौट गर्ने, कार्यक्रम तथा आयोजनाको छनौटमा दोहोरोपना तथा खाडल हटाउने तथा अधुरा आयोजना सम्पन्न गर्ने, आयोजना तथा कार्यक्रम कार्यान्वयनलाई समयाबद्ध गरिने, विकास आयोजना कार्यान्वयनमा लाभग्राही तथा सरोकारवाला पक्षको साझेदारीलाई जोड दिइने, विकास प्रयासमा दिगो विकास लक्ष्यलाई आन्तरिकीकरण गर्ने, क्षेत्रगत तथा विषयगत सन्तुलन कायम गरिने, सार्वजनिक खर्चमा मीतव्ययीता अपनाइने तथा वित्तीय अनुशासन कायम गरिने, अनुगमन तथा मूल्यांकनलाई सूचकमा आधारित तथा वस्तुनिष्ठ बनाइने प्रमुख रणनीति बनाएको छ । 

कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले गर्नुभएको थियो भने अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक चिन्तामणि पौडेलले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 


काठमाडौं - ललितपुर जेठ २गते  । पोखरा विश्वविद्यालयको सम्बन्धनमा ललितपुरको सानेपामा सञ्चालित देशकै उच्चस्तरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन भएको छ । झन्डै चार वर्षदेखि प्राचार्य पदमा रही कलेजको नेतृत्व गर्दै आउनुभएका इन्जिनियर विरोध रिजालको पदावधी सकिएपछि सोही कलेजको अनुसन्धान समितिका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठ कलेज सञ्चालक समितिको निर्णय अनुसार प्राचार्य पदमा नियुक्त हुनुभएको हो । 

प्रा.डा. श्रेष्ठले विगत आठ महिनादेखि कलेजमा अनुसन्धानको वातावरण निर्माण गर्दै आउनुभएको कलेजबाट जानकारी प्राप्त भएको छ । एभरेष्ट इन्जिनियरिङ कलेजमा आउन अगाडि प्रा.डा. श्रेष्ठले चाँगुनारायण नगरपालिका भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेज (नेक) मा २९ वर्ष काम गरेका थिए । 


अमेरिकाबाट अध्ययन सकाई नेपाल फर्केर सन् १९९४ मा नेकमा सेवा प्रवेश गरेका प्रा.डा. श्रेष्ठ उक्त कलेजमा प्राचार्य पदमा पहिलो पटक सन् २००९ देखि २०१२ सम्म र दोस्रो पटक सन् २०१८ देखि २०२३ सम्म काम गरेका थिए । नेकमा स्वामित्व विवाद भई कलेज बन्द हुने अवस्था आएपछि २०७५ सालमा प्रा.डा. श्रेष्ठ उक्त कलेजको नेतृत्व लिई कलेज बचाएका थिए ।
 
स्नातक र स्नातकोत्तर अध्ययन अमेरिकाबाट र विद्यावारिधी जापानबाट गरेका प्रा.डा. श्रेष्ठलाई नेपाल इन्जिनियरिङ परिषद्ले प्रोफेसनल इन्जिनियर र भारतको आइओईले चार्टर्ड इन्जिनियरको उपाधि दिएको छ । हाल जल तथा मौसम विद् समाज नेपालका अध्यक्षसमेत रहेका प्रा.डा. श्रेष्ठले नेपालको जलश्रोत सदुपयोगका विभिन्न आयोजनाहरूमा प्रविधिक सेवा दिइसक्नु भएको छ ।

 देश विदेशमा कयौं अनुसन्धानात्मक सामग्रीहरू प्रकाशित गरिसक्नु भएका प्रा.डा. श्रेष्ठको नेतृत्वमा एभरेष्ट इन्जिनियरिङ कलेजले शैक्षिक तथा अनुसन्धान क्षेत्रमा कलेजलाई थप उचाईमा पुर्याउने कुरा उक्त कलेजमा प्रमुख कार्यकारी अधिकारी अरुणकुमार भण्डारीले जानकारी दिए ।


काठमाण्डेो -स्याङ्जा  जेठ १ गते । स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाईसराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालिन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खांणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँगाउँमा रहेको उर्वर भूमी बसाईसराइका कारण बाँझो हुने अवस्थामा पुगेको छ ।” कुन ठाउँमा कुन खेती गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी नागरिकलाई दिन सके बसाईसराई रोकिने उहाँको भनाई छ । 

प्रमुख खांणले मेहनत गरे अनुसारको उत्पादन नहुँदा कृषक पेशाबाटै पलायन हुने अवस्था आएको बताउनु भयो । गाउँको बाँझो जमिनको सदुपयोग गर्न रणनीति अति आवश्यक परेको उहाँको बुझाई छ । कुन ठाउँमा के खेती गर्न आवश्यक छ भन्ने स्पष्ट खाका बनाउनु नगरपालिकाको योजना रहेको प्रमुख खांणले बताउनु भयो । 

वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा दीर्घकालिन कृषि विकास योजना तथा रणनीति बनाउन लागिएको नगरप्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिनु भयो । 

१४ वटा वडा रहेको वालिङमा सबै वडाको वस्तुस्थिती सहित रणनीति तयार हुने हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो । वालिङ कृषि विकास परियोजनाको सम्झौता अनुसार हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति तयार गर्न लागिएको उहाँको भनाई छ । 

छलफलमा डाक्टर रामचन्द्र बस्ताकोटी,डाक्टर अम्मर शाह,नगेन्द्र बस्ताकोटी,अस्मिता नेपाल लगायतले कृषि विकास रणीनितको आवश्यक्ता र महत्वका बारेमा जानकारी गराउनु भएको थियो । 

कृषि विकास योजना र रणनीति निर्माण पश्चात पालिकाले कृषि र पशुपालनमा योजना बनाउन र काम गर्न सहज हुने विज्ञ डाक्टर रामचन्द्र बस्ताकोटीको भनाई छ । उहाँले भन्नुभयो,“काम गर्छु भन्ने कृषकलाई कुन ठाउँमा के काम गर्ने भन्ने स्पष्ट जानकारी दिन रणनीति आवश्यक छ ।”


बिराटनगर बैशाख ३१ गते ।

ताराबहादुर बुढाथोकी, विषय प्रवेश 

“नेपाल हामे कति छ राम्रो संस्कृति पवित्र । लुकेको स्वर्ग समुच्च जाति यसमा छन् विचित्र ।”

–महाकवि देवकोटा,

पाङ्मा गाउँ त्यहीलुकेको स्वर्ग हो र लोहोरुङ जाति त्यही समुच्च जातिभित्रको एउटा जाति । राष्ट्र भनेको यिन जीवन सल्बलाउने गाउँ र सभ्यता बोकेको जातिको समष्टि नै त हो । पङ्मा गाउँ र लाहोरुङ जाति राष्ट्र हो । पाङ्मा  लोहोरुङ भाषा, कला, संस्कृतिको उद्गम हो, सभ्यताको केन्द्र हो  । अरुण नदीको किनारमा रहेको सुशान्त नगरी खाँदबारी बजार नजिकै उत्तरतर्फ रहेको मौलिक गाउँ हो । गैरी पाङ्मा, डाँडा पाङ्मा, लोके पाङ्मा र सुनार पाङ्मा गरी चारपाङ्मालाई एकै ठाउँ समायोजन गरेर पाङ्मा बनेको हो ।सुनार पाङ्मा नाम चाहिं बेतबाँसका डाला नाङ्ला बुनेर जीवको पार्जन गर्ने सुवुवार थरका किराँतीको वासस्थान भएकोले रहन गएको हो । सुनार पाङ्मा नाम रहे पनि यसको आधारभूमिमा खोरण्डे गाउँ पर्छ र खोरण्डेमा लोहोरुङ राईहरुको बस्ती छ । पञ्चायत कालमा पाङ्मा छुट्टै गाउँ पञ्चायत नै थियो । दिदिङ, धुपू र खाँदबारी नगरपालिकाको वडा नं. ४ पाङमा र वडा नं.१ आङ्लामा लोहोरुङहरुको पहिचान सहितको बस्ती छ ।यहाँ बोलिने लोहोरुङ भाषा, यहाँकै मौलिक उत्पादन सरुवा – पेय ), वाचिपा, छिटको कपडाका लागि पाङ्मा क्षेत्र सभ्यताको केन्द्र हो भनिएको हो ।

लोहोरुङ भाषा :-

पाङ्मालाई सभ्यताको केन्द्र मान्ने पहिलो आधार भाषा हो ।नेपालमा भाषा आयोगले दर्ज गरेका भाषाहरुमा भोटखोलाको  भोटे भाषा, मकालुको याम्फू भाषा र खाँदबारी नगर, सभापोखरी र चिचिला गाउँपालिका प्रयोग हुने लोहोरुङ राईको भाषा सङ्खुवासभाको मात्र सम्पदा हो । १९५० सालको जाँचभन्दा अघिदेखि खाँदबारी क्षेत्रको जिम्मावाल भई कारबारी, थरी, मुखिया र रैती राखेर पाङ्मामा बसेका लोहोरुङको पुख्र्यौली निकै पुरानो छ । लोहोरुङ भाषामात्र बोलेर जीवन निर्वाह गर्ने एउटा पुस्ता  अझै बस्तीमा लौरो टेकेर हिन्दैछ । मासाप्टेन अर्थात् आमागाउँ भनेर लोहोरुङ भाषाले सम्मान गर्ने गाउँ भनेकै पाङ्मा हो । लोहोरुङ भाषामा अनेक लोक कथा, किस्सा, लोकगीत अद्यापि सुन्न पाइन्छ । लोहोरुङ भाषा भाषिक मृत्युको शिकार भएको छैन । आजको पुस्ताले लोहोरुङ भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक बनाएका छन् । भर्खरै दिदिङमा २००४ सालमा जन्मेका हेमप्रसाद देरेङ लाम्सोङ लोहोरुङले  लोहोरुङ भाषामा लेखेको “देरेङ लाम्सोङ वंशावली तथा लाम्सोङ संस्कार संस्कृति” नामक पुस्तक प्रकासन भएको छ । यसबाट लोहोरुङ भाषा समृद्ध भाषा हो भन्ने प्रमाणित गर्दछ । भाषाका अन्वेषकहरको लागिपाङ्मा गाउँ भाषिक पर्यटनको गन्तव्य हो ।.......

पाङ्माली सरुवा :-

स्थानीय मौलिक प्रविधिमा तयार हुने ‘ सरुवा’ नामको पेय पाङ्मा गाउँलाई सभ्यताको केन्द्र मान्न सकिने अर्को आधार हो । दुई दशक अघि पाख्रिबासे कान्छोले लेखेका“ अलैंची अललो पाँचौंले यार्चा, चैनुरे करुवा  खानेभा आउनुस् सङ्खुवासभा पाङ्माली सरुवा ” शव्दको गीतमा गायक उमाङ्ग लामाले आवाज दिए । पछिल्ला बर्षहरुमा आधादर्जन गीत सरुवाका प्रसङ्ग जोडेर गाइए । गीत जहिले गाएको भए पनि धमिलो पानी जस्तो देखिने विशेष स्वादको मदिरा यहाँ सय बर्ष अघि नै आविस्कार भएको हो ।शुद्ध कोदोको जाँडबाट बन्ने अनुपम स्वादले रमाए पनि सरुवाको विशेष प्रविधि बारे पाङ्माली किराँतिनीहरु बाहेक दुनियाँ बेखबर थियो । दुई दशक अघि पङ्तिकारको गीतबाट प्रचार पाएपछि अन्यले सिके भने त्यो प्रविधि हस्तान्तरणको नतीजा मात्र हो । अझै पनि २४ क्यारेटको सरुवा पाङ्मा गाउँमा मात्र पाइन्छ अन्त त साइँली माइलीमात्र हो  भनी सरुवाका पारखीहरु कुरा गर्छन् । यहाँका सुम्निमाहरुको हातले बनाएको र पस्केको सरुवा त अप्साराले पस्किएको सुरापान जस्तै हुन्छ, सरुवाको हक पाङ्मा सभ्यतालाई मात्र छ । यसरी सरुवा र पाङ्मा गाउँ  पर्यायबाची बनेका छन् । सिलिचाङका कुलुङ समुदायको विशेष खाद्य मानिने कुखुराको भुत्ला,पखेटा पोलेर बनेको वाचिपा पनि पाङ्मा पसेर सरुवाको जोडी बन्न पुगेको हो ।

छिटको फरिया :-

सभ्यताको केन्द्र मान्नुपर्ने तेश्रो आधार “छिटको फरिया” हो । २०३० सालसम्म बारमा देशी कपडा नआउञ्जेल पाङ्माली राइनीहरुले चर्खामा धागो कातेर तानमा बुनेको खाँडीको कपडा प्रयोग गरिन्थ्यो । चौहत्ती गजको सेतो खाँडीको कपडामा छिप्ने काठ राखेर पाङ्मा÷ चिप्लेगाउँ नेवारहरुले छिप्थे । चाल्नोजस्तो सामग्रीमाथिबाट कालो रङ चुवाएपछि कालोले नभेटेको भागामा सेतो छिटा बस्थ्यो । कसैले यसलाई छिपेको कपडा भने, कसैले छिटेको कपडा । दुईटै शुद्ध थियो । अपभ्रंश भएर छिटको फरिया भनिन थालियो । किराँतिनीहरुको शरीरमा छिटको फरिया र धुपछायाँको चौवन्दी चोलो हुन्थ्यो । लिम्बू समुदायबाट ढाकाको खास्टो, कपडा भित्रियो । ब्रिटिस गोर्खा र भारतका गोर्खाली फौजमा भर्ती भएका लाहुरेहरुले २०३० सालतिर गाउँका चेलीबेटीलाई लुङ्गी र चप्पल ल्याईदिए । एउटा लोक गीत त्यतिबेला गाइन्थ्यो–“ ए लै लै ! कालो कपालले .. संसारै ढाक्यो हौ लुङ्गी चप्पलले ।” गहुन, नैनसुत, घरेलु, नाइल, फाइबर हुँदै सिँगापुरे सारीमा नारीहरु छोपिन थाले पनि किराँत महिला आज पनि छिटको फरियालाई बडो गर्वका साथ आप्mनो पहिचानको प्रतीक मानेर पहिरन्छन् । यद्यपि खाँडीको कपडा भने लोहोरुङ बाहेक सबै किराँत महिलाले बुन्थे । प्रारंभमा किराँत महिलाको महान हस्तकला थियो खाँडी । पूर्वतिर अरु जातिले खाँडीको कपडा बुनेको सुनिएन ।

साकेलाः-

रेवाहाङ राजा, चण्डी नाच र साकेला खासगरी पाङ्माली लोहोरुङको सांस्कृतिक विम्ब हो । प्रत्येक उँधौली र उँभौलीमा चार पाङ्माका लोहोरुङहरु “सै ढोले खोइ अर्को ढोले खोइ ? ” भन्दै ढोल– भ्mयाम्टा सहित विभिन्न बाजागाजाका साथ चण्डी नाच नाच्दै खाँदबारी बजारै बजार ढोलबाजे जान्छन् । ढोल बजाउने मान्छे बुडो देखेर व्यक्तिको नाम ढोलबाजे भन्दै जाँदा बाजे मरेपछि ठाउँको नाम ढोलबाजे बन्न पुग्यो । राणाको सुचना जनाउन ढोल बजाउने गरी नियुक्त भएको नेवार हो पनि भन्छन् । तर.. सोइ ढोले सोइ अर्को ढोले खोइ ...भन्दै ढोलबाजे डाँडातिर लोहोरुङ झरेका देख्दा एउटा ढोले ढोलबाजेमा भएको र अर्को ढोले चाहिँ हराएकोले उनै बाजेलाई अर्को ढोले खोई ? भनेर साध्दै झरेका हुन् कि भन्ने अनुमान पनि गर्न सकिन्छ । पूर्वजहरुका अनुसार ढोलबाजे डाँडामा एक प्रतापी, परोपकारी किराँत राजा थिए । रोग, महामारी, दुःख कष्टमा कसैले सम्झनासाथ तान्त्रिक शक्तिले उनी पीडामा मल्हम लगाउन पुग्थे । उनैलाई रेवाहाङ भन्थे भनेर आज पनि रेवाहाङको पवित्रस्थान बनाएका छन् ।अरुण नदी देखिने गरी डाँडामा बनाएका रेवाहङकोभव्य पूजागर्छन् ।

ढाँडे बजार :-

अनि यी जम्मै सभ्यताको केन्द्र चाहिँ ढाँणे बजार हो । ढाँणे देवीको काखमालाग्ने भएकाले ढाँणे बजार भनिन्छ । मङसिरे पूर्णेको पर्सिपल्ट  र बैसाखेपूर्णेको भोलिपल्ट सकेसम्म मङ्गलबार पारेर लाग्ने मेला बर्षमा दुइपल्ट लाग्दछ । मङ्सिरे पूर्णे भगीवन्त रङशाला र ढाँणेदेवीको थान बिचको जग्गामा लाग्दछ । 

बैशाके पूर्णेमा लाग्ने ढाँणे जो आज लाग्यो , त्यो फेक्मालुङ् मास्तिर र चिसापानी मुन्तिरको खेतमा लाग्दछ । फेक्मालुङ भनेको लोहोरुङ जातिकै हराएकी फूपू रुपान्तरि भएको ठूलो ढुङ्गा हो । मेलामा पसेपछिँ लोहोरुङ भाषा बोलेको सुन्न पाइन्छ । पाङ्माली चौबिस क्यारेटको सरुवा खान पाइन्छ । सोइढोले सोइ भन्दै दुबै हातमा सेउली बोकेर साकेला नाचेको हेर्न पाइन्छ । छिटका फरिया र गहनाले झकिझकाउ पाङ्माली नारीहरुको अपूर्व मुस्कान देख्न पाइन्छ । वाचिपाको स्वाद र सन्तुष्टि पाइन्छ । 

ढोल, झ्याम्टाबजेको सुन्न पाइन्छ । आज एउटा फरक कुरा देख्न र सुन्न पाइयो ।पांमाली जिम्मावाल भगीवन्तका सन्ततिगीतकार वीरेस राईको शव्द र पाङ्मामै कपडा छिट्ने मेसिन लिएर आएका नेवारका सन्तान सूर्यनारायणश्रेष्ठकोआवज विमोचन भयो । बुलु मुकारुङको सङ्गीतमा । गायक सुनित थेगिम, उमाङ्ग लामा, नवीन दाहालका गीतहरुले उचाले । ताराबहादुर बुढाथोकी,सनम थापा, तारा घिमिरे, पुरुषेत्तम पाख्रेल,राम गुरुङ्का कविताहरु गुञ्जिए । एउटा सशक्त नारी आवाज सूर्य कोरङ्गीका भाषण गुन्जियो । यसरी ढाँणे बजार प्राचीन र आधुनिक संस्कृतिको सम्वाहक बन्यो । सांङगीतिक र शाब्दिक अभिव्यक्तिको शिखर मेला बन्न पुग्यो ।

झण्डै पाँच हजार मानिसहरु मेलामा रमाएको अनुमान गर्न सकिन्छ । खाँदबारी नगरपालिकाका सबै वडाबाट, चिचिला ,मकालु , सभापोखरी र सिलिचोङ् गाउँपालिकाबाट मेला भर्न आउँछन् । आदिबासी जनजातिका महिलाहरु मौलिक जातीय भेषभूषामा आउँछन् । लेकमा फल्ने काफल, ऐंसेलु, जम्मू जस्ता फलहरु सोलीमा बेच्न राखिन्छ । विभिन्न प्रकारका जङ्गली च्याउहरु, कठुवामा राखेका मदिराको राम्रो व्यापार हुन्छ । स्थानीय उत्पादनका विभिन्न सामग्रीको वबजार पनि हो  । परम्परागत स्याउले अस्थायी छाप्री र चित्रा ओडाएको गोठहरुका मुनि बसेर खिस्रिङमिश्रिङ र चियानास्ताको ब्यापार गर्ने मानिसहरु व्यस्त देखिन्छन् । झुम्के बुलाकी लगाएका अध्बैंसे किराँत महिलाको स्वरमा रन्किने हाक्पारे र गोठालेको रन्कोदेखि उफरमा रन्किने रिमिक्स सम्मको आस्वादन गर्न पाइन्छ । साँच्चै भन्नु पर्दा गाउँ र बजारको मिश्रित अनुहार हो–पाङ्माली ढाँडे मेला । ढाँडे मेलामा आयोजित विशेष कार्यक्रममा स्थानीय लोहोरुङ स्रष्टाको शब्दमा स्थानीय नेवारले स्वर दिएको गीत बिमोचन हुँदा कार्यक्रम पनि पाङ्माली राईनीले बुनेको खाँडीमा नोवरले छिपेको छिटको फरिया जस्तै सुन्दर हुन गयो ।

गीतकारः-

लामो समय सुन्दर दुलारीको गछियामा बसेर पुख्र्यौली थालो पाङ्मामा फर्किएर आएका वीरेस राई गाउँलाई दिन आए झंैं लागछ । उनले आफ्नो पुर्खाको ठूलो खेत पुर्खाकै नामको “भगीवन्त”रङ्गशाला बनाउन दान दिएका छन् । उत्तरी मोरङको बसाइले साहित्यतर्फ कलम चलाउने बानी पारेका वीरेस राई मूलत ः गजलकार हुन् । मानेभञ्ज्याङ्बाट माल्टा गाउँ जाने बाटोमुनि सुन्ताला बगान स्याहारेर बस्ने राईका गजलहरु पनि पाकेका सुन्ताला जस्तै रसिला हुन्छन् । उनी सङ्खुवासभा साहित्यक समाजका अध्यक्ष हुन् । आप्mनै सम्पादनमा लाली गुराँस भित्तेपत्रिका प्रकाशन गर्छन् । आपूm थोरै लेख्छन् तर अरुलाई सँगै लिएर यात्रा गर्न रुचाउँछन् । उनकै शब्दमा लेखिएको एउटा लोक गीत उनकै समितिका सचिव सूर्य नारायण श्रेष्ठको आवाजमा रेकर्ड गराएका छन् । नेपाली लोकगीतका महारथी बुलु मुकारुङको सङ्गीतमा रेकर्डेड उक्त लोकगीत आज ढाँडे बजारमा बिमोचन भएको हो । पङ्तिकारले प्रमुख अतिथिको आसनबाट उठेर कवि वीरेस राईको सभापतित्वमा  गीतको बिमोचन गर्दा हजारौं नरनारीहरु खुसीले रमाए ।

लिरिक्स अर्थात गीतका शव्द :-

“मेरी माया भोजपुरमा छिन् अरुण खोला पारि ...

यो शनिबार आउँदै छिन्  मलाई भेट्न खाँदबारी हे...”  स्थायीले सङ्खुवासभा जिल्ला र भोजपुर जिल्लाको निकटम् छिमेकी सम्बन्धलाई  प्रेमिल बनाइएको छ । सनातनदेखि जीवन र जगतलाई सितलता र प्राण दिँदै दुई जिल्लाको बिचमा बग्दै रहेको अरुणको नाम यस अघि लोकगीतमा कमै सुनिएको हो । अरुण नदीलाई ग्राम्य भाषामा अरुण खोला भनेर लोकगीतको धर्म निर्वाह गरेको छ । नेपाली जनजीवन यही त हो खोला वारिपारि, डाँडा वारिपारि । माया लगाएपछि भेट्न आउने आतुरतालाई पनि गीतले मिठो गरी सम्बोधन गरेको छ । खाँदबारीमा शनिबारे हाट लाग्ने, हाट भर्न षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिकाबाट मान्छेहरु आउने चलनलाई पनि समेटेको छ । हाट भनेको भेटघाट पनि हो, त्यसमा पनि नेपाली ग्रामीण जनजीवनमा ।धेरै भयो उनीसँग मेरो भेटघाट भाछैन, फेरि भेटघाट नभएर खुसखबरी थाहा छैन । भेट होस् न त्यसपछि त हल्लाइन्छ खाँदबारी... जस्ता शव्दभित्रमायाप्रीतिमा हुने असीम शक्ति र आकर्षण अन्तरनिहित छ ।

गायकः-

गायक सूर्य नारायण पाङ्मा गाउँ सिरानमा बसोबास गर्ने नेवार हुन् । पाङ्माली किराँतिनी हरुको माहन हस्तकला खाँडी कपडा छिप्ने कला लिएर यस क्षेत्रमा बस्दै आएको जाति हो –नेवार । छिटको फरिया उत्पादन संस्कृतिको साइनो विगतमा जोडिएका नेवारलाई यहाँका लोहोरुङले आज पनि माया गर्छन् । सूर्यनारायण श्रेष्ठ आज गाएक बन्नुको पछाडि यही साइनो छ । गायक श्रेष्ठ आफैमा चर्चित गायक होइनन् । उनी सिर्जनालाई माया गर्छन्, सर्जकहरुसँग प्रेम गर्छन् अनि केही नयाँ रचना गर्ने रहर गर्छन् । उनको स्वरमा सारेगमको अभ्यास छैन । तान, अनुतान,सुर र स्वरको तालमेल बलियो नभए पनि स्थानीय समुदायमा भ्mयाउरे र हाक्पारे गीत राम्ररी गाउने मान्छे हुन् । रहरमै भए पनि गीत मिठो सुनिने गरी गाएका छन् , सबै अन्तारामा आयामिक सफलता नपाइए पनि स्थायीलाई तीनवटै चरणमा उनको स्वरले  न्याय गरेको छ । उमेरले ६० को दशकमा प्रवेश गर्दै गर्दा गीतप्रतिको अभिरुचि र समर्पणले प्रसव धकका दिँदा कलामा यो तहको प्रयास गर्नु योगदान नै मान्नु पर्छ ।

सङ्गीतकार -

रौता पोखरी र चौदण्डी गढीको ऐतिहासिक र सांस्कृतिक महत्वले चिनिएको उदयपुर जिल्लामा बसोबास गर्ने बुलु मुकारुङ साँझसम्म सित नओभाएका पाखामा फुलेका सुनाखरी हुन् । राजनीतिक दलको भागवण्डामा नपरेका उनी पुरस्कार र सम्मानित पदबाट ओझेल छन् । पाँच दशकभन्दा बढी समय नेपाली गीत र सङ्गीतमा साधनारत मुकारुङका लोकगीतको अनुशीलन लगायत अनेक कृति छन् । मकालु साहित्य समाजले मकालु प्लाटिनम जुविलीमा निम्ता गरेर सङ्खुवासभा साहित्यिक समाजको व्यवस्थापनमा  ः“ मकालु प्लाटिनम पुरस्कार ः २०८१”ले नगद सहित सम्मानित गरेको छ । लोकजीवनका मर्मलाई छामेर गीतको समीक्षा गर्ने उस्ताद सङ्गीतकार बुलु मुकारुङले यो गीतमा कोइलीको आवाजसहित जीवनत सङ्गीत दिएका छन् । गीत इफेल धरहरामा उकलेर सुने पनि ढाँडेभिरको थाप्लोको हरेलो काफलडाँडामा बसेर सुनेको अनुभुति दिन्छ ।

सारांश :-

दक्षिण एशियाली साहित्यिक सांस्कृतिक सङ्गठनको अध्यक्षको हैसियतमा पङ्तिकारलाई प्रमुख अतिथिको सम्मान दिएको विमोचन कार्यक्रम सांस्कृतिक केन्द्र नै हो । गायिका सुनिता थेगिम, गायकहरु उमाङ् लामा, नवीन दाहाल,  केशवलाल शाक्यको गीतले माहौलमा रौनक थप्यो । कवि राम गुरुङ आशिक, सनम थापा, तारा घिमिरे, पुरुषोत्तम पोख्रेल लगायताका कविताले व्युँझायो जन समुदायलाई । तेलले भिजेको बाँसको टुप्पामा राखेको ‘भले छुने खेल ’ र ‘तीर हान्ने खेल’ भने यो बर्षसञ्चालन भएन । जनप्रतिनिधि, सुरक्षकर्मी र समाजसेवीहरुको पनि समावेशिता रहेको सफल कार्यक्रम आयोजना गरेर लोहोरुङ क्लब र सङ्खुवासभा साहित्यिक समाजल ढाँणे  मेलाको गरिमामा एउटा इँटा थपेको छ । लोहोरुङ किराँतको बस्तीको  पाङ्मा गाउँ हामे स्टे सञ्चालन गर्न सके पर्यटन गन्तव्य बन्ने छ । राती बिजुली बत्तीमा पाङ्माबाट हेर्दा खाँदबारी सिक्किम जस्तो र खाँदबारीबाट हेर्दा सेकाहा र पाङ्मा गाउँ दार्जिलिङ जस्तो देखिन्छ । जस्ते देखिन्छ त्यस्तै बनाउन सके !


विराटनगर बैशाख ३० गते । विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

विराटनगरस्थित श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पनि सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि ख वर्गका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पहिलो चरणमा ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

मंगलबार महानगरका मेयर नागेश कोइरालालाई इन्भेष्टमेन्ट एण्ड फाइनान्सका शाखा प्रमुख हरिबहादर श्रेष्ठ र अप्रेसन इन्चार्ज मुकेश दाहालले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र सौन्दर्यकरण परियोजनाका लागि महानगरका तर्फबाट सहजीकरण गरिरहेका सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालको समेत उपस्थितिमा इन्भेष्टमेन्ट एण्ड फाइनान्स चेक हस्तान्तरण गरेको थियो । 

बाँकी रकम दोस्रो चरणमा उपलब्ध गराइने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

इन्भेष्टमेन्ट एण्ड फाइनान्ससहित १९ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३३ लाख रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, लक्ष्मी सनराइज, सिटिजन बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, एभरेष्ट बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए ।

महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य अन्तिमचरणमा पुगेको छ । बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये सबैमा तारजाली लगाइसकिएको छ । अब केही डिभाइडरमा मात्रै फूल रोप्न बाँधी छ । यसअघि रोपेका फूल र विरुवाका कारण विराटनगर सुन्दर देखिएको छ ।

महानगरका मेयर नागेश कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । बैंक तथा वित्तीय संस्थाहरूको उत्साहजनक सहभागिताले सडक सौन्दर्यकरणले मूर्त रुप लिएको मेयर कोइरालाको भनाइ थियो । महानगरले सौन्दर्यकरण जस्तै अन्य परियोजना पनि सञ्चालन गर्ने योजना बनाइरहेको मेयर कोइरालाले बताउनुभयो ।


विराटनगर बैशाख ३० गते । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको ‘प्रिफेक्ट’ पदमा माध्यमिक तहमा कक्षा १० का अनिरुद्ध सेढाईं र आधारभूत तहमा शिवम् पघैया निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनको मत परिणाम अनुसार माध्यामिक तहमा १६७ मतका साथ सेढाई निर्वाचित हुनुभएको हो । 

उहाँका निकटतम् प्रतिष्पर्धि कक्षा ९ का चुणामणी भट्टले ९९ मत प्राप्त गर्नुभयो । उक्त पदमा चार जनाको उम्मेदवारी थियो । कक्षा १० का समिप खनाल र कक्षा १० कै जेसिस गेलाल समेतउम्मेदवार हुनुहुन्थ्यो । उहाँहरुले क्रमश ७० र ११ मत प्राप्त गर्नुभयो । यस्तै माध्यामिक  तहको डेपुटी प्रिफेक्टमा कक्षा १० की मनस्वी कोइराला १७९ मतले विजयी हुँदा उहाँकी निकटतम् प्रतिष्पर्धी कक्षा १० कै चारुना रौनियारले ७० मत प्राप्त गर्नुभयो ।


यस्तै अन्य प्रतिष्पर्धि कक्षा १० की अन्मेशा श्रेष्ठले ७० र कक्षा ९ की एकता कुशवाहले १४ मत प्राप्त गर्नुभयो । दुवै पदका लागि चार–चार जनाको उम्मेदवारी परेको थियो । माध्यमिक तहमा ४०० जना मतदाता रहेकोमा ३५५ जनाले मतदान गरेका थिए । जसमध्ये ९ जनाको मतपत्र बदर भएको थियो भने ५ जनाले मतपत्रमा भोट नलगाएको प्रमुख निर्वाचन आयुक्त रहनुभएका भाईस प्रिन्सिपल टीएन भण्डारीले बताउनुभयो । 

यस्तै प्राथमिक तहको प्रिफेक्टमा कक्षा ८ का शिवम् पघैयाले ३५२  मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिष्पर्धि कक्षा–७ का क्रियंश लाभले ६२ मत र कक्षा ७ कै मयङ्क झाले ५० मत ल्याउनुभयो । आधारभूत तहकै डेपुटी प्रिफेक्टमा भने कक्षा ८ की सृष्टि रिजाल निर्विरोध निर्वाचित हुनुभएको एभरेष्ट स्कुलकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा ढङ्गोलले बताउनुभयो ।

 आधारभूत तहमा भने कक्षा ६ देखि ८ का विद्यार्थीले मात्र मतदान गरेका थिए । ति कक्षाबाट मात्र ३५५ मत खसेको थियो । जसमा ९ मत बदर हुँदा ५ जनाले मतपत्रमा भोट नगरेको आधारभूत तहका प्रमुख निर्वाचन आयुक्त कुन्दन पुरीले बताउनुभयो । 
   
एभरेष्टले विद्यार्थीहरुलाई लोकतान्त्रिक पद्दत्ति कस्तो हुन्छ भन्ने सिकाउँदै यहाँका जनप्रतिनिति चयन र उनीहरुको उत्तरदायित्व बोध गराउन मतदान प्रकृया अवलम्बन गरिएको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । यस्तै नव निर्वाचित प्रिफेक्ट सेढाईंले यो निर्वाचन प्रकृयाले आफूहरुलाई धैरै ज्ञान दिएको र नेतृत्व विकास समेत गराएको बताउनुभयो । यस्तै अर्की डेपुटी प्रिफेक्टकी उम्मेदवार अन्मेशाले समेत नेतृत्व विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।


बिराटनगर बैशाख ३० गते । जेष्ठ सदस्य भक्त बहादुर भन्डारीको अध्यक्षता  केन्द्रिय उपाध्यक्ष एवं बाग्मती र मधेश प्रदेश इन्चार्ज र सङ्गठन बिभाग प्रमुखको प्रमुख आतिथ्यतामा रघुवंशी कौशिक गोत्रीय भण्डारीहरूको भेला गोठको धुप मोरङको होक्लाबारीमा बैशाख २९ गते सम्पन्न भएको छ |

कार्यक्रममा अतिथिहरु केन्द्रिय सदस्य देवी बहादुर भण्डारी र भक्तपुर जिल्ला अध्यक्ष परीन्द्र भण्डारी र समाजका बुद्धिजीवी सुर्य बहादुर भण्डारी समेतको उपस्थिति रहेको थियो। कार्यक्रमको सन्चालन रबिन भण्डारीले गर्नु भएको थियो |

सो भेलाले देबेन्द्र भण्डारीको अध्यक्षतामा१३ सदस्यीय कार्यसमिती समेत चयन गरेको छ र टेक बहादुर भण्डारीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिती समेत गठन भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं सङ्गठन बिभाग प्रमुख केन्द्रिय उपाध्यक्ष कुमार भण्डारीले यो सबै स्वदेश तथा बिदेशमा रहनु भएका सबै रघुवंशी कौशिक गोत्रीय दाजुभाइहरुको साझा सस्था हो।यस्को  स्थापना २०६५ असोज ३ गते भएको समेत जानकारी दिदै २०६५ साल देखि अहिले सम्म यो भण्डारी सेवा समाज नेपाल (रघुवंशी कौशिक गोत्रीय ) ले देसको ५६ जिल्लाका दाजुभाइहरुलाइ समेटिसकेको जानकारी दिनु भयो |

पहिलो बङ्शावली समेत निकालि सकिएको र अब सबै छुटेका दाजुभाइ रघुवंशी कौशिक गोत्रीय,हरुलाइ समेटेर दोश्रो बङ्शावली समेत निकाल्न लागेको हुदा देशैभरी सङ्गठन मार्फत जोडेर एक घर एक जना पनि नछुटने गरि बङ्शावली समेत निकाल्ने अभियानमा लागेको समेत जानकारी दिनु भयो। 

यो सस्थाले दाजुभाइको स्वास्थ्य शिक्षाको क्षेत्रलाइ पहिलो प्राथमिकता दिएर काम गरिरहेको,हालसम्म ५ वटा अस्पतालमा सम्झौता गरिसकेको  र  विभिन्न शिर्षकमा ५०% देखि१५% सम्म उपचारमा छुटको समेत ब्यबस्था गरेको जानकारी दिनु भयो।

हामिले हाम्रो धर्म, सस्कृती , परम्परालाइ कायम राख्दै दाजुभाइ बिच  भाइचारा सम्बन्ध स्थापना गर्दै अगाडी बढन समेत आग्रह गर्नु भयो ।यसैगरी सो कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य देवी बहादुर भण्डारीले हामी सबै दाजुभाइ  एक भएर अगाडी बढनका लागि आवाहन समेत गर्नु भएको थियो।

अन्त्यमा मोरङ्ग जिल्लाबाट नव निर्वाचित सबै दाजुभाइलाइ प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष एवं सङ्गठन बिभाग प्रमुख कुमार भण्डारीले सफल कार्यकालको हार्दिक शुभकामना दिदै कार्यक्रम समापन गरिएको थियो।

 


विराटनगर २९ वैशाख । खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालित खबर पूर्वाञ्चल अनलाइन पत्रिकाको १० औँ वार्षिकोत्सव आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि मनाईएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको बताउनुभयो । उहाँले पत्रकारहरूले देश र प्रदेशका आवश्यकता अनुकूलका मुद्दामा निरन्तर बहस र पैरवी गरिरहनुपर्नेआवश्यकतारहेको औल्याउनुभयो ।प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीले मिडिया क्षेत्रले दलीय प्रभावबाट माथि उठेर सहीलाई सही र गलतलाई गलत भन्नुपर्ने बताउनुभयो । उहाँले प्रादेशिक संरचनाको भार सम्बन्धमा पनि प्रश्न उठाउनुभयो । ‘अहिलेको प्रादेशिक संरचनाको भार मुलुकले कहिलेसम्म धान्न सक्छ ? संघीय सरकारमा जति संरचना छ त्यति नै प्रदेशमा पनि बनाउनु के आवश्यक छ,’ उहाँले भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले मुलुकमा सबै क्षेत्रको अवस्था जर्जर रहेको टिप्पणी गर्नुभयो । रिजालले आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयोे, ‘सरकारले बर्सेनि आन्तरिक र बाह्य ऋण लिएर यसरी कति दिनसम्म देश चल्छ भनेर प्रश्न उठाउनु पनि आवश्यक छ । १८ खर्बको बजेट बनाउने तर आय ११ खर्बभन्दा बढी नहुने अवस्था गम्भीर छ ।’ कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल, प्रेस यूनियन केन्द्रीय उपमहासचिव अभयकुमार राई, प्रेस यूनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, प्रेस चौतारी कोशी प्रदेशका अध्यक्ष सुमन पुरी, समाजवादी प्रेस संगठन कोशी प्रदेशका अध्यक्ष बन्धु पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, मोरङका उपाध्यक्ष सन्तोष सिग्देल, खवर पूर्वाञ्चल अनलाईनका सम्पादक डा. डिल्ली पोखरेल, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम खवर पूर्वाञ्चल मिडिया प्रालिका अध्यक्ष पुष्पराज थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


काठमाडौं बैशाख २९ गते । अत्तरखेल काठमाडौंमा रहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी विभिन्नपदहरुमा विशेषज्ञ चिकित्सक मागेको हो ।

कलेजले प्राध्यापक, सह–प्रध्यापक, सहायक प्राध्यापक र लेक्चर पदमा काम गर्न जनशक्ति माग गरेको जनाएको छ । कलेजले नवजात विज्ञान, इन्टर्नल मेडिसिन, छाला रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फोरेन्सिक मेडिसिनमा जनशक्ति माग गरेको छ । यस्तै, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट, स्टोर असिस्टेन्ट, रेडियो असिस्टेन्ट माग गरेको छ ।

योग्यता पुगेका उम्मेदरवारले जेठ ३ गते भित्र आ–आफ्नो व्यक्तिगत बायोडाटा इमेल मार्फत पेश गर्नुपर्ने बताइएको छ । कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति माग गरिएको हो ।



काठमाडौं बैशाख २९ गते । विज्ञान र प्रविधिले पछिल्लो समय विकास गरेको एआईले अन्य पेशालाई असर गरेपनि नर्सिङ पेशालाई कुनै असर गर्न नसक्ने नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डाक्टर साविहा यासमिनले बताउनु भएको छ । आइतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा.यासमिनले स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको नर्सिङ पेशाको विकल्प नै नरहेको जिकीर गर्नुभयो ।
 


‘बिरामीको सेवा र उपचारमा नर्सहरुको महत्वपूर्ण भूमिका हुन्छ । कुनैपनि स्वास्थ्य सेवाको म्यानेजमेन्ट सिस्टममा नर्सहरु पर्दा पछाडीका हिरो हुनुहुन्छ । बिरामीलाई यतिधेरै केयर गरिदिनुहुन्छ कि तपाईहरुको ठाउँ कुनै डाक्टरले लिन सक्दैनन् । एआइले पनि तपाईहरुको करुणा, माया र हेल्थ केयरलाई रिप्लेस गर्न सक्दैन । डाक्टरहरुको त्यत्ति खोजी हुँदैन जति नर्सहरुको हुन्छ ।’ नर्सहरुले बिरामीको लागि गर्ने स्वास्थ्य सेवा अद्भुत रहेको भन्दै उहाँले भन्नुभयो । डा.यासमिनले नर्सहरुलाई आमाको संज्ञा दिँदै बिरामीको स्वास्थ्य हेरचाहमा नर्सहरुले गर्नुभएको योगदानलाई प्रत्येक बिरामीहरुले धन्यवाद दिनुपर्ने पनि बताउनु भयो । ‘नर्सहरुको काममा कसैसँग तुलना हुन सक्दैन । बिरामीले डाक्टरलाई जसरी धन्यवाद भनेर जानुहुन्छ त्यसरी नै नर्सहरुलाई पनि भन्नुपर्छ ।’


प्रबन्ध निर्देशक डा. यासमिनले हेल्थ केयर सिस्टममा डाक्टहरु मस्तिष्क भए नर्सहरु मुटु रहेको जिकीर गर्नुभयो । ८० प्रतिशत बिरामीहरु नर्सहरुको स्याहारका कारण निको भएर घर जान सकेको बताउँदै जुनदिन नर्स हुँदैनन् त्यही दिन हेल्थकेयर सिस्टम विश्वबाट कोल्याप्स हुने उहाँको दावी छ । ‘८० प्रतिशत बिरामीहरु तपाईहरुका कारण घर गइरहनु भएको छ । जुनदिन नर्सहरु हुनुहुन्न त्यो दिन विश्वभरबाट हेल्थकेयर सिस्टम कोल्याप्स हुन्छ ।’ नेपाल मेडिकल कलेज नर्सिङ सेवालाई सवल, प्रभावकारी बनाउन सदैव सकारात्मक रहेको बताउनु भयो । कलेजले नर्सहरुको क्षमता अभिबृद्धि गर्नका लागि कलेजले समयसमयमा तालिमहरु दिने समेत बताउनु भयो । 

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा.मोदनाथ मरहठ्ठाले प्रत्येक नर्सहरुले आफुलाई फ्लोरेन्स नाइटेङ्गल बनाउन प्रेरित हुनुपर्ने बताउनु भयो । फ्लोरेन्स नाइटेङ्गलले विश्वकै स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको स्मरण गर्दै आइसियूको सुरुवात पनि फ्लोरेन्स नाइटेङ्गलकै अवधारणा रहेको चर्चा गर्नुभयो । कलेजको स्वास्थ्य सेवामा नर्सहरुले पुर्याउनु भएको योगदानको प्रसंशा गर्दै प्रा.डा. मरहठ्ठाले नर्सहरुको पेशागत हित र व्यवसायिक दक्षता अभिबृद्धिमा कलेज सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

कलेजका अस्पताल निर्देशक प्रा.डा.निलमणी उपाध्यायले नर्सहरुप्रति समर्पित कविता वाचन गर्दै नर्सहरुले बिरामीको उपचार र स्याहारमा पुर्याएको योगदानको स्मरण गर्नुभयो । नेपालको सन्दर्भमा नवजात शिशुको मृत्युदर, मातृ मृत्युदर, पोलियो उल्मुलन गर्नुमा समेत स्वास्थ्य परीचारिका (नर्स) हरुमा महत्वपूर्ण भूमिका रहेको भन्दै नर्सहरुले स्वास्थ्य क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो । 

कलेजकी मेट्राेन नविना सिंहले सरकारले नर्सिङ शिक्षाकाे विकास, विस्तार र प्रवर्द्धनमा काम गर्नुपर्ने बताउनु भयाे । विश्वभर नर्सहरूकाे माग भइरहेकाे बेला सरकारले नर्सिङ कलेज बन्द गर्दा दक्ष जनशक्ति अभाव भइरहेकाे जनाउँदै बन्द भएका कलेज खाेल्नुपर्ने उहाँकाे धारणा थियाे । मेट्राेन सिंहले नर्सिङ पेशा व्यवसायिक भन्दा पनि मानव सेवाभाव भएकाे बताउनु भयाे ।  

कार्यक्रममा नेपाल मेडिकल कलेजका विगत १५ वर्षदेखि कार्यरत २९ जना नर्सहरुलाई सम्मान समेत गरिएको थियो । कलेजकी प्रबन्ध निर्देशक डा.साविहा यासमिन, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले सम्मान गर्नुभएको थियो । 

अन्तराष्ट्रिय नर्सिङ डेकै अवसरमा कलेजका कार्यरत नर्सहरुले आकर्षक नृत्यसँगै गीत समेत प्रस्तुत गरेका थिए भने नाटक मार्फत नर्सिङ केयरकी जन्मदाता फ्लोरेन्स नाइटेङ्गलको जीवनी प्रस्तुत गरेका थिए । साथै, कलेजमा उपचाररत करिब २ सय बिरामीहरूलाई फलफुल समेत वितरण गरिएकाे छ ।

आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्म १२ मे १८२०मा भएको थियो । उनलाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ । दया र सेवाकी प्रतिमूर्ति नाइटिङ्गेललाई ‘द लेडी विद द ल्याम्प’ (बत्ती लिएकी केटी) भनेर विश्वभर सम्मान गरिन्छ । अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो वर्ष ‘हाम्रा नर्सहरू, हाम्रा भविष्य, नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई सुदृढ बनाउँछ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउँदैछ ।


विराटनगर, २८ बैसाख | कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा  आयोगको  अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त्त भएका छन ।

विश्वविद्यालय सेवा आयोगको दोस्रो  अध्यक्षमा प्रोफेसर डाक्टर दामोदर थापा क्षेत्री नियुक्त्त भएका हुन ।

अअध्यक्ष थापालाई आइतवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा  गोपनियताको सपथग्रहण गराए ।

विश्वविद्यालयको मोरङको बुढीगंगा ४ हात्तीमुढा स्थित केन्द्रिय कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा सहकुलपति तथा कोशी सरकारका समाजिक विकास मन्त्री पाँचकर्ण राई ,उपकुलपति डा सुवासश्री  पोखरेल , संरक्षण समिति सदस्य सत्यनारायण चौधरी , रजिष्टार डा दिलनाथ  फुँयाल र डिन  प्राडा प्रचण्डमान प्रधान लगातको उपस्थिती थियो । 

मनमोहन प्राविधिक विश्वविद्यालय कोशी सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो । यो विश्वबिद्यालयमा हाल ईन्जिनियरिङग,कानुन , औषधी विज्ञान र अस्पताल व्यावस्थापनमा पढाई हुदैआएको छ ।

विश्वविद्यालयको आफनै सेवा आयोग , परिक्षा कार्यालय ,अनुसन्धान केन्द , लाईब्रेरी , विभिन्न ल्यावहरु सहित तीन वटा स्कुलहरु सञ्चालनमा रहेका छन ।


काठमाडौं  बैशाख २८ गते  । एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको छ । ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा गत शुक्रबारदेखि सुरु भएको पब्जी मोबाईल सो डाउन नामको एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको हो ।

तीन दिनसम्म अनलाईनमार्फत चलेको प्रतियोगितामा अन्तिम दिन उत्कृष्ट प्रर्दशन गर्दै पाकिस्तान च्याम्पियन बन्यो । पाकिस्तान १५ खेलमा चार पटक चिकेन डिनर जित्दै १ सय ७३ अंकको साथ शीर्ष स्थान हासिल गर्यो । 

इन्डोनेसियालाई मात्र ४ अंकले पछि पार्दै पाकिस्तानले उपाधिमाथि कब्जा जमाएको हो । इन्डोनेसिया १५ खेलमा तीन पटक चिकेन डिनर जित्दै १ सय ६९ अंक सहित दोस्रो स्थान हासिल गर्यो । नेपाल निलो टिमले ४ चिकेट डिनर सहित १ सय ५४ अंक सहित तेस्रो स्थान हासिल गर्यो । 

नेपाल रातो १ सय १८ अंक सहित चौथौं र मलेसिया १ सय १२ अंक सहित पाँचौं स्थान हासिल गर्यो । छैटौं स्थानको जोर्डनले ९० अंक जोड्यो । प्रतियोगितामा पाकिस्तानका फाल्का सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा नेपाल सहित कुल १४ राष्ट्रको सहभागीता रहेको थियो । 

उपाधि सहित पाकिस्तानले ४ लाख रुपैयाँ हात पारेको छ । दोस्रो इन्डोनेसियाले २ लाख, तेस्रो स्थानको नेपाल निलोले १ लाख ५० हजार, चौथों नेपाल रातोले १ लाख, पाँचौं र छौटौं स्थानमा आएका मलेसिया र जोर्डनले समान ५० हजार रुपैयाँ हात पारेका छन् । सर्वोत्कृष्ट खेलाडी फाल्काले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । 

ई स्पोर्ट्सको माध्यमबाट एसियाली देशहरुबीच सहकार्य र प्रतिस्पर्धालाई नयाँ उचाईमा पुर्याउने उद्धेश्यले ई स्पोर्ट्स संघ नेपालले प्रतियोगिताको आयोजना गरिएको हो । 

‘हामीले एसियाली देशहरुलाई एक मञ्चमा ल्याएर एउटा नयाँ अध्यायको सुरुवात गरेका छौं । भविष्यमा पनि यस्ता प्रतियोगिताले निरन्तरता पाउनेछन् । धमलाले भने ।’ संघका अध्यक्ष अन्जन धमलाले भने । 


विराटनगर बैशाख २६ गते । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा दुई दिवसीय कविता लेखन तथा वाचन कार्यशाला सम्पन्न भएको छ । बिहिबार र शुक्रबार सञ्चालन भएको कार्यशालामा साहित्यमा रुचि राख्ने कक्षा ६ देखि ९ सम्मका करिब दुई सय विद्यार्थीले सहभागिता जनाएका थिए ।

 कार्यशालालाई प्राध्यापक डा. देवी नेपालले सहजिकरण गर्नुभएको थियो । कार्यशालामा विद्यार्थीहरुले आफै कविताको सृजना गर्ने देखि लिएर विभिन्न भाकामा वाचन गर्ने अभ्यास गरेका छन् । विभिन्न छन्द र लयमा विद्यार्थीहरुले कविता वाचन गर्ने क्षमता विकास भएकोमा खुसी समेत ब्यक्त गरे । 

हामीले दुई दिनको कार्यशालाबाट धेरै कुरा सिक्न पाएको भन्दै कक्षा ९ का छात्र राज भण्डारीले भन्नुभयो,‘ यो कार्यशालाले वाचन गर्ने आत्मबल समेत बढाएको छ ।’ विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति विभिन्न कृयाकलाप गर्दै आएको एभरेष्टले साहित्य तर्फमा प्रतिभाहरुको पहिचान र क्षमता अभिवृद्धिको लागि यो कार्यशाला सञ्चालन गरेको जनाएको छ ।

 विद्यालयका प्राचार्य टिकाराम पुरीले अन्य विधा जस्तै साहित्यीक विधापनि उत्तिकै ओझपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘साहित्यका माध्यमबाट समेत धेरै कुरा ब्यक्त गर्ने प्रचलन छ, यो एउटा संस्कृति पनि हो ।’ कार्यशालाको सहजिकरण गर्नुभएका प्रा.डा. देवी नेपालले समेत एभरेष्ट स्कुलले साहित्यको क्षेत्रलाई दिएको महत्वको प्रशंसा गर्नुभयो । 

उहाँले भन्नुभयो,‘ जसरी विद्यालयले साहित्यीक क्षेत्रलाई महत्व दिएको छ, विद्यार्थीहरु पनि उत्तिकै  क्षमतावान रहेको पाएँ ।’ दुई दिने कार्यशालामा विद्यार्थीले आफैं कविता सृजना गर्ने देखि विभिन्न भाकामा कविता वाचन गर्नु अत्यन्तै सुखद रहेको उहाँले बताउनुभयो ।

 यीनै विद्यार्थी भोली साहित्यीक क्षेत्रका नक्षत्र बन्नसक्ने भन्दै उहाँले विद्यार्थीको रुचि अनुसारका कृयाकलापमा भाग लिन पाउने वातावरण बनाईदिने विद्यालयको भूमिका प्रशसंनीय रहेको बताउनुभयो ।  


विराटनगर, वैशाख २५ गते । विराटनगर महानगरका नगर  प्रमुख नागेश कोइरालाले गोरखापत्र भनेको नेपाली पत्रकारिताको अभिभावक भएको बताउनु भएको छ । 

उहाँले गोरखापत्र दैनिक १२५ वर्षमा प्रवेश एवम् गोरखापत्र संस्थानको ६३ ओैं वार्षिकोत्सबको अवसरमा प्रदेश प्रकाशन कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।

अरु अखवारले आफ्नो ब्यावसायिक लक्ष्य र उदेश्य प्राप्तिका लागि समाचार लेख्ने गरेको बताउँदै कोइरालाले गोरखापत्र दैनिकले नागरिक र समाज विकासको बारेमा लेख्ने गरेको बताउनुभयो  । नगरप्रमुख कोइरालाले गोरखापत्रले मात्र तीनै तहका सरकारको आवाज,विकास र गतिविधि लेख्ने गरेको चर्चा गर्दै लेखिएको सामग्रीलाई प्रभावकारी  वितरणमा जोडदिन आग्रह गर्नुभयो ।गोरखापत्र नेपालीहरूको सम्पति भएको बताउँदै यो  सम्पत्तिको संरक्षणको जिम्मेवारी महानगरको पनि भएको उल्लेखख गर्नुभयो । उहाँले घिनाघाट ( झोराहाट सडकबाट संस्थानको कार्यलयसम्म पुग्ने सडक स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्ने बचन दिनुभयो । 

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  गोरखापत्रले आफ्नो प्रकाशनलाई डिजिटलाइट गरेर अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो । सरकारी अखवारका आफ्नै समस्या होलान ।तर ,पाठकले त्यो बुझ्दैनन। प्रजिअ यादवले वहुभाषिक पत्रिका  र प्रादेशिक रुपमा  प्रकाशन गर्नु सरकारी पत्रिकाको दायित्व भएको बताउनु भयो। निजी क्षेत्रले यो काम गर्दैन किनकी उनीहरूको प्रमुख उदेश्य ब्यापार  हो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले गोरखापत्र दैनिक दक्षिण एशियामा  छापा पत्रकारिताको अभिभावक भएको बताउनुभयो ।

कार्यक्रम माथि प्रकाश पार्दै निमित्त कार्यालय प्रमुख राजकुमार गुरुङले विराटनगर कार्यालयले मधेस र कोशी प्रदेशका जिल्लाहरूमा गोरखापत्र वितरण गरिरहेको बताउनुभयो ।सरकारको लगानीमा रहेको पत्रिकालाई नागरिकको पत्रिका बनाउने उदेश्य अनुसार काम गरिरहेको बताउँदै  गोरखापत्रको कसैसँग प्रतिस्पर्धा नरहेको बताउनुभयो ।

निमित्त प्रमुख राजकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक  पुर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख सुशीलकुमार श्रेष्ठ र  शहरी विकास कार्यालय विराटनगरका प्रमुख सुरेशप्रसाद साहलाई सम्मान गरिएको थियो ।कार्यक्रम विज्ञापन शाखाका प्रमुख  कृष्ण लुइँटेलले सञ्चालन गर्नु भएको थियो । 


काठमाडौं बैशाख २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजना गरिने ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्घाटन गर्नुहुने भएको छ । 

“एनआरएनको अधिकार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ आगामी बुधवार (मे १४) काठमाडौँमा आयोजना हुने कन्क्लेभको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने पक्का भएको हो। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा दिएको थियो। 

 भेटका क्रममा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघलाई सबै नेपालीको साझा, गैरराजनीतिक संस्था बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संघले उठाएका जायज मागप्रति सरकार सधैं सकारात्मक रहेको उल्लेख गर्नुभयो  । 

संघका अध्यक्ष डा. केसीले प्रधानमन्त्रीलाई कन्क्लेभको उद्देश्यबारे जानकारी गराउँदै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालमा लगानी, श्रम तथा आप्रवासन, पर्यटन प्रवर्द्धन लगायत विषयहरूमा केन्द्रित कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।

 सो अवसरमा अर्थमन्त्री विष्णु पौडेललाई पनि कन्क्लेभमा सहभागी हुन अनुरोध गरिएको थियो। भेटमा पूर्वअर्थमन्त्री युवराज खतिवडा, एनआरएनए उपाध्यक्षहरू डा. विनोद श्रेष्ठ, रोशन थापा, रोजिना राई प्रधान, उपमहासचिव सोम सापकोटा, सचिव टिका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सह-कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व आइसीसी सदस्य भीमलाल भट्टराई, पत्रकार चिरन शर्मा, र संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउत लगायतको उपस्थिति थियो।


विराटनगर  बैशाख २४ गते । विराटनगर महानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ ।

बुधबार बसेको खोप समन्वय समितिको बैठकले विराटनगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरेको हो । महानगरका सबै वडाहरुमा (० देखि १५ महिना र १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुलाई)  घरधुरी सर्वेक्षणमार्फत खोजी गरी खोप लगाएको नलगाएको यकिन गरिएको थियो । 

सर्वेक्षणका क्रममा १५ महिना मुनिका शून्य डोजका ५ जना बच्चा, ७७ जना ड्रप आउट बच्चा, १६ देखि ५९ महिनाका शून्य डोजका १० जना बच्चा र ३७९ जना ड्रप आउट बच्चाहरुलाई राष्ट्रिय खोप तालिकाबमोजिम खोप लगाई वडाहरुबाट पूर्णखोप सुनिश्चितता घोषणा गरिएको महानगरका जनस्वास्थ्य निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । 

खोप समन्वय समितिका अध्यक्षसमेत रहनुभएका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले घोषणासँगै आगामी दिनमा खोप सुनिश्चितताको दिगोपनाको प्रतिबद्धतासमेत जनाइएको थियो ।

 


बिराटनगर बैशाख २४ गते ।१०अेो पत्रकारिता दिवस २०८२,अन्तरकृया कार्यक्रममा सन्चार तथा सूचना महनशाखाका प्रमुख चुडाणी लुइटेलले सबै सहभागिलाइ स्वागत गर्नु भएकोथियो | 

आन्तरिक मामिला तथा कानुन मन्त्राले आयोना गरेको १०अेो पत्रकारिता दिवस २०८२,को अन्तरकृया कार्यक्रमका  प्रमुख अतिथि कानुन तथा आन्तरिक मामिला मन्त्री माननीय रेवतीरमण भण्डारीले सम्बोधन गर्दै शुभकामना दिनुभयो |  

कोशी प्रदेश आन्तरिक मामिल तथा कानुन मन्त्रालयकासचिव रामप्रसाद आचार्यले १०अेो पत्रकारिता दिवस २०८२,का बारेमा बोल्नु हुदै शुभकामना दिनु भयो | 

स्वतनत्र पत्रकार यज्ञ शर्माले अनलाइन र छापा पत्रकारिताको बिषयमा सहजिकरण गर्नुभएको थियो | 

कार्यक्रममा पत्रकार महासघ कोशी प्रदेश का अध्यक्ष  भरत खडका, महासघ मोरङ शाखाकाकी अध्यक्ष शुसीला पाठक समेत शुभकामना दिनु भयो |


काठमाडौँ, २४ गते वैशाख | नेपाल सरकार अन्तरगतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागिता सम्झौता सम्पन्न भएको छ ।

आज खानेपानी मन्त्रालय सिंहरबारमा एक कार्यक्रमको आयोजना गरी खानेपानी मन्त्रालयका सहसचिव ई रमाकान्त दुवाडी र कर्णाली प्रदेश सरकार, जलस्रोत तथा उर्जा विकास मन्त्रालयका तर्फबाट प्रदेश सचिव इन्द्रदेव भट्टले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै खानेपानीमन्त्री प्रदीप यादवले यस सम्झौतामार्फत संघीय र प्रदेश सरकारबीच आपसी समन्वय, पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहमा प्रभावकारिता सुनिश्चित गर्दै, कर्णाली प्रदेशभित्र खानेपानी क्षेत्रको सुशासन प्रवद्र्धन तथा पूर्वाधार विकासका लागि लागत साझेदारीमा आधारित कार्यक्रमहरू सञ्चालन गर्ने साझा प्रतिबद्धता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सम्झौता संघीयता अन्तर्गत तीन तहका सरकारहरूबीच समन्वय र सहकार्यको उत्कृष्ट नमूना हो । खानेपानी क्षेत्रको सुशासन प्रवद्र्धन तथा पूर्वाधार विकासका लागि लागत साझेदारीमा आधारित कार्यक्रमहरू सञ्चालन गर्ने साझा प्रतिबद्धता पनि हो ।”

मन्त्री यादवले कर्णाली प्रदेशमा खानेपानीका क्षेत्रमा प्रर्याप्तमात्रामा बजेट विनियोजन गरीने समेत आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, “म कर्णाली प्रदेशका बिकट र दुर्गम क्षेत्रमा पुगेको छु । त्यहाँ भएका खानेपानीका समस्या मैले आफ्नै आखाले देखेको छु । त्यहाँको खानेपानीको समस्या अन्त गरेरै छाड्छु ।” 

यसैगरी कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री बिजया बुढाले आज सम्झौता सम्पन्न भएको यस आयोजनाले कर्णाली प्रदेशको खानेपानीको क्षेत्रमा निकै सफलता हासिल गर्ने बिश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “विकासका क्रममा कर्णाली निकै दुर्गम र पिछडीएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागिता सम्झौताले अब कर्णालीवासीको खानेपानीको क्षेत्रमा मुहार फेर्ने मेरो बिश्वास छ ।”

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना (यसपछि “आयोजना” भनिने) सञ्चालन गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) र नेपाल सरकारबीच १३ जुलाई २०२२ मा वित्तीय सम्झौता भएको छ । यो आयोजनाको अवधि जुलाई १५, २०२८ सम्म रहेको छ । 

आयोजना कार्यान्वयनमा लगानी सहभागिता जनाउन तथा आयोजना कार्यान्वयनको अनुगमन गर्न नेपाल सरकार, खानेपानी मन्त्रालय र  कर्णाली प्रदेश सरकार, जलस्रोत तथा उर्जा विकास मन्त्रालयबीच यो “सहभागिता सम्झौता” सम्झौता गरिएको सम्झौतापत्रमा हस्ताक्षर गर्नु हुने मन्त्रालयका सहसचिव ई रमाकान्त दुवाडीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सहभागीता सम्झौताको समझदारी पत्रमा संघीय खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकारको जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई सामूहिक रूपमा “पक्षहरू” र एकल रूपमा “पक्ष” को रूपमा बुझिने छ ।”

यस आयोजनामा देहाय बमोजिमका अवयवहरूमा क्षेत्रगत सुशासन, संस्थागत क्षमता र आयोजना व्यवस्थापनको सुदृढीकरण, जलवायु अनुकुल, सुधारिएको र सुरक्षित खानेपानी र सरसफाइमा पहुँच अभिवृद्धि, एकीकृत जलस्रोत व्यवस्थापन र जलाधार व्यवस्थापनका माध्यमबाट खानेपानी र सरसफाइ पूर्वाधारमा जलवायु जोखिम तथा त्यसबाट पर्न सक्ने प्रभावहरूको न्यूनीकरण, लगायत भईपरी आउने आपत्कालीन अवस्थाको सम्बोधन रहेका छन् । 

नेपाल सरकारका तर्फबाट खानेपानी मन्त्रालयले उल्लिखित सबै अवयवहरू अन्तर्गतका गतिविधिहरूको समन्वय र अनुगमन सहित आयोजनाको समग्र व्यवस्थापन सुनिश्चित गर्न खानेपानी तथा ढल व्यवस्थापन विभाग लाई अवयव १ देखि ४ का कार्यक्रमहरू सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । 

अवयव १ अन्तर्गत खानेपानी तथा सरसफाइ क्षेत्रको संस्थागत सुधारका कार्यक्रमहरू सञ्चालन हुनेछन् भने अवयव २ अन्तर्गत पालिकास्तरमा रहने आयोजना कार्यान्वयन इकाइहरू मार्फत आयोजनाका गतिविधिहरू कार्यान्वयन गर्न सहभागी पालिकालाई निरीक्षण र कार्यान्वयनमा सहयोग उपलब्ध हुने छ । 

अवयव ३ अन्तर्गत वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र एकीकृत जलस्रोत व्यवस्थापन र जलाधार व्यवस्थापनका माध्यमबाट खानेपानी र सरसफाइ पूर्वाधारमा जलवायु जोखिम तथा त्यसबाट पर्न सक्ने प्रभावहरूको न्यूनीकरण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने सम्झौतामा उल्लेख गरिएको छ । 

आयोजना कार्यान्वयनका लागि चाहिने कुल १०० मिलियन अमेरिकी डलर (तदनुसार रु १३ अर्ब ३८ करोड ७० लाख रुपैयाँ) मध्ये आइडिएबाट नेपाल सरकारलाई प्राप्त हुने ऋण ८० मिलियन अमेरिकी डलरको लागि चाहिने समपूरक कोषको व्यवस्था गर्न आवश्यक पर्ने २० मिलियन अमेरिकी डलरको लागत सहभागिता नेपाल सरकारले संघीय सरकारका तर्फबाट ३ दशमबल ७० मिलियन अमेरिकी डलर, प्रदेश सरकारहरू (कर्णाली प्रदेश र सुदूरपश्चिम) का तर्फबाट १० दशमलब ५७ मिलियन अमेरिकी डलर र सरोकारवाला छ वटा पालिकाहरूका तर्फबाट ५ दशमलब ७० मिलियन अमेरिकी डलर तय गरेको जनाइएको छ ।

खानेपानी मन्त्री यादव, कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री बिजया बुढा, वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी), शारदा नगरपालिका सल्यानका नगर प्रमुख प्रकाश भण्डारी, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ई मीना श्रेष्ठले जानकारी दिनुभयो ।


विराटनगर  बैशाक २३ गते । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दक्षिण कोरियाको द होप सेन्टरको टोलीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासित भेटघाट गरेको छ ।

मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले महानगरमा स्वागत गर्नुभएको थियो । किम जोङथेकको नेतृत्वमा आएको कोरियाली टोलीले महानगरको शिक्षा र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो ।

 टोलीले आगामी दिनमा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधारसँगै गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्रीसँगै आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विगत दुई दशकदेखि कोरियामा व्यवसायसँगै समाजसेवामा सक्रिय नवराज शिवाकोटीको समन्वयमा आएको द होप सेन्टरको टोली र महानगरबीच आगामी दिनमा शिक्षा र स्वास्थ्यमा सहकार्य गर्ने सहमति भएको छ ।

सो अवसरमा मेयर कोइरालाले कोरिया र नेपालबीच पुरानो सम्बन्ध रहेको चर्चा गर्नुभयो । उहाँले दक्षिण कोरियाले कृषि, प्रविधि, शिक्षा र स्वास्थ्यमा गरेको प्रगति अनुशरणीय रहेको भन्दै प्रशंसा गर्नुभयो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.