Websoft University
Latest Post


काठमाडौ वैशाख ९ गते | अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीनदिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ होप फाउन्डेसन भारतसँगको सहकार्यमा आयोजना गरिएको हो । अटिजम एक विकासात्मक अवस्था हो, जसले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार कौशल र व्यवहारमा विविधता ल्याउँछ । 

यसमा मुख्य रूपमा सामाजिक सञ्चारमा कठिनाइ आँखाको सम्पर्क कम हुनु, सामाजिक सङ्केत नबुझ्नु, सम्बन्ध विस्तार गर्न गाह्रो हुनु र दोहोरिने तथा सीमित व्यवहारजस्तै एउटै काम दोहोर्याउने, नियम पालनामा कडाइ, विशेष विषयमा अत्यधिक रुचि, संवेदसम्बन्धी संवेदनशीलतालगायत देखिन्छ ।

अटिजमलाई ‘स्पेक्ट्रम’ भनिन्छ किनभने प्रत्येक व्यक्तिमा लक्षण र आवश्यकता फरक–फरक हुन्छन् । अटिजम भएका कसैलाई धेरै सहयोगको आवश्यकता हुन्छ भने कसैले सामान्य सहयोगबाट पनि स्वतन्त्र रूपमा जीवनयापन गर्न सक्ने तालिमका प्रशिक्षक एवं नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक उमङ्गजङ्ग पराक्रम शाहले बताउनुभयो । 

अटिजमसहितको अवस्था देखिनुमा कुनै एकमात्र कारण हालसम्म एकिन हुन नसकेको बताउँदै उहाँले वंशाणुगत प्रभाव र मस्तिष्कको विकाससँग सम्बन्धित फरकपन मुख्य कारण मानिएका जानकारी दिनुभयो । “यसका सङ्केतहरू प्रायः बालबालिका ६ देखि १२ महिना हुँदा देखिन सुरु हुन्छन् भने १८ देखि २४ महिनामा अटिजमको विश्वसनीय पहिचान गर्न सकिन्छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक १०० मध्ये एक बालबालिकामा अटिजम हुने अनुमान गरिएको छ भने संयुक्त राज्य अमेरिकामा भने हरेक ३१ बालबालिकामध्ये एक जनामा अटिजम हुने तथ्याङ्क सार्वजनिक गरेको छ”, प्रशिक्षक शाहले भन्नुभयो । अटिजमको पहिचानसहितको जनसङ्ख्या अत्यधिक रूपमा वृद्धि भएको देखिए पनि अनुसन्धानकर्ताका अनुसार यसको मुख्य कारण बढ्दो चेतना, प्रभावकारी स्क्रिनिङ तथा प्रारम्भिक पहिचान प्रणालीमा सुधार हो ।

“अटिजम कुनै निको पार्नुपर्ने रोग होइन बरु यो एक विविध मानवीय अवस्थामध्येको एक अवस्था हो । सामाजिक अवरोधलाई हटाई, स्वीकारोक्ति र समतासहितको समावेशी वातावरणले अटिजमसहितका व्यक्तिलाई सहजताका साथ जीवनयापन गर्न सहयोग गर्छ”, शाहले भन्नुभयो । उहाँका अनुसार व्यवहार थेरापी, बोल्ने ९स्पिच० थेरापी, अकुपेसनल थेरापी, विशेष शिक्षा तथा अन्य शैक्षिक र व्यवहारिक समर्थनले व्यक्तिको जीवनलाई सहज बनाउन सक्छ । 

हाल संसारभरि कसैको दया, माया र दानमा आधारित सहायताभन्दा पनि अधिकारमा आधारित सहायता अटिजमसहितका व्यक्तिले प्राप्त गर्नुपर्दछ भन्ने आवाज तीव्र रूपमा उठिरहेको प्रशिक्षक शाहले बताउनु भयो । शैक्षिक जीवनमा समेत अलग्याएर छुट्टै पढाउनु वा सिकाउनुको साटो अत्यन्तै कम बाधा हुने वातावरणमा पर्याप्त सहायतासहित समावेशी शिक्षा, सिकाइ र सहयोगको पहुँचलाई महत्व दिइएको छ । आजको दिनमा अटिजमलाई समस्याका रूपमा भन्दा पनि न्यूरो–विविधताको रूपमा हेरिनुपर्ने आवाज बुलन्द हुँदै आएको उहाँको भनाइ छ ।

तालिम समापन कार्यक्रममा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, समाजसेवी तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझी, प्राडा प्रेमकुमार खत्री, सह प्राडा अस्वत्थामाभक्त खरेल, प्रा कृष्ण आचार्य, डा राजेन्द्र खत्री, डा बिनिता सिंह, अटिजम स्पेसलिस्ट तथा मनोविद् भगवती भट्टराई, बैंकर हरि आचार्यलगायतले अटिजमका बारेमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमका मुख्य प्रशिक्षक भारतको मुम्बईबाट आउनुभएका विपिन मौर्य ९विशेष शिक्षक तथा संस्थापक, स्कोप अफ होप फाउन्डेसन० रहनुभएको थियो । कार्यक्रमका प्रशिक्षक नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक तथा साइकोलोजी, समावेशी÷विशेष शिक्षा र राजनीतिक विज्ञानलगायत बहुविषयगत अनुसन्धानकर्ता शाह रहनुभएको थियो ।


विराटनगर बैशाख ८ गते । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ । सरोकारवाला निकायसँगको समन्वय बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपासका क्षेत्रमा कडाइका साथ फुटपाथ व्यवस्थापन लागू गर्ने निर्णय गरेको हो ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सम्पन्न बैठकले प्रारम्भिक चरणमा दुई दिन माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई सचेत गराउने तथा त्यसपछि पूर्ण रूपमा कार्यान्वयनमा जाने रणनीति तय गरेको छ । महानगरले सडकपेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामग्री राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने भएको हो ।

नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार अबदेखि पसलको सटर बाहिर कुनै पनि सामग्री राख्न पाइने छैन । निर्माण सामग्री सडकपेटीमा थुपार्न नपाइने, मोटरसाइकल ग्यारेजका सामान बाहिर राख्न निषेध गरिने तथा कवाडी व्यवसाय सञ्चालनका लागि न्यूनतम मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । नियम उल्लंघन गर्नेविरुद्ध कारबाहीको प्रक्रिया पनि सँगसँगै अघि बढाइने जनाइएको छ ।

फुटपाथ व्यवस्थापनसँगै ट्राफिक चाप न्यूनीकरण र व्यवस्थित पार्किङको दीर्घकालीन समाधान खोज्न महानगरले सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष न्यौपाने, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, खुद्रा व्यापार संघ विराटनगरका अध्यक्ष सञ्जयकुमारसिंह मण्डल सदस्य र नगर प्रहरीका प्रमुख राजन पौडेल सदस्यसचिव रहेको समितिसमेत गठन गरेको छ ।

समितिले ठेला व्यवस्थापन, पार्किङ क्षेत्र निर्धारण र ट्राफिक प्रवाह सुधारसम्बन्धी सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ । प्रतिवेदनका आधारमा महानगरले चरणबद्ध रूपमा सुधारका कार्यक्रम लागू गर्ने योजना बनाएको छ ।

महानगरका मेयर कोइरालाका अनुसार पछिल्लो समय सर्वसाधारणबाट फुटपाथ अतिक्रमण, जाम समस्या र असुरक्षित आवतजावतबारे व्यापक गुनासो आएको थियो । त्यसैलाई सम्बोधन गर्न अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको हो । मेयर कोइरालाले व्यवस्थित, सफा र सुरक्षित सहर निर्माणका लागि निजी क्षेत्र, व्यवसायी र नागरिक सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै अभियानमा साथ दिन आग्रह गरेका छन् ।

महानगरको अभियानमा प्रशासनको पूर्ण साथ र सहयोग रहने मोरङ निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले प्रतिबद्धता जनाए ।

बजार क्षेत्रको फुटपाथ नियन्त्रण र सिंघिया, केशलिया खोलाको अवैध उत्खनन्लाई रोक्न महानगरलाई प्रहरीका तर्फबाट पूर्ण साथ र सहयोग रहने मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालले स्पष्ट पारे ।

मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको बैठकमा मोरङ निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल, वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथप्रसाद भगत, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरीका एसपी गेहेन्द्रबहादुर भण्डारी, जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपाने, उद्योग संगठन, मोरङ उद्योग व्यापार संघ, विराट व्यापार संघ, खुद्रा व्यापार संघलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

 


इटहरी, सुनसरी । इटहरी आँखा अस्पतालले आफ्नो सेवा तथा पूर्वाधारमा व्यापक सुधार गर्दै आधुनिक प्रविधियुक्त नयाँ ढाँचामा सेवा शुभारम्भ गरेको छ। अस्पतालले सब–स्पेशियालिटी सहितको सम्पूर्ण आँखा उपचार सेवा एकै छानामुनि उपलब्ध गराउन सुरु गरेको हो।

अस्पतालमा अत्याधुनिक उपकरणहरू जस्तै ओसिटि, भिजुअल फिल्ड एनालाइजर, याग लेजर, ग्रिन लेजर, बी-स्क्यान, ड्राइ आई स्क्यानिङ तथा थेरापी लगायतका सेवा सञ्चालनमा ल्याइएको छ।

विराटनगर आँखा अस्पतालद्वारा सञ्चालित यस अस्पतालले नेपालमा विद्यमान करिब ०=२८ प्रतिशत दृष्टिविहीनताको समस्या न्यूनीकरण गर्ने उद्देश्यले सेवा विस्तार गरिएको अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिनुभयो।

अस्पतालले सातै दिन बिहान १०M०० बजेदेखि साँझ ६M०० बजेसम्म सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। साथै, प्रत्येक दिनलाई विशेष सेवाका रूपमा निर्धारण गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा= ललित अग्रवालले बताउनुभयो। जसअनुसार आइतबार रेटिना डे, सोमबार कोर्निया डे, मंगलबार ग्लुकोमा डे, बुधबार ओकुलोप्लास्टिक सेवा, बिहीबार कान रोगको विशेष सेवा, शुक्रबार लो भिजन सेवा तथा शनिबार बालबालिकामा मोबाइल तथा ग्याजेट प्रयोगबाट हुने समस्याको विशेष परीक्षण सेवा सञ्चालनमा ल्याइएको छ।

यस सेवा विस्तारसँगै अस्पतालले समुदाय केन्द्रित आँखा स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउँदै प्राथमिक तहदेखि विशेषज्ञ उपचारसम्मको सुदृढ रेफरल प्रणाली विकास गर्ने लक्ष्य राखेको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामीलाई पहुँचयोग्य सेवा प्रदान गर्न विभिन्न आँखा उपचार केन्द्रहरूसँग समन्वय गरी समयमै निदान र उपचार सुनिश्चित गरिने अस्पतालले जनाएको छ।

चश्मा जाँचका लागि कम्प्युटराइज्ड प्रणालीको प्रयोग गरिनुका साथै ‘आई टर्मिनल’ मार्फत आईपिडी मापन गरी अटोमेटिक मेसिनबाट चश्मा व्यवस्थापन गरिने व्यवस्था गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका उपमेयर संगिता चौधरी ले यस सेवाले स्थानीय जनतालाई गुणस्तरीय उपचार उपलब्ध गराउनुका साथै समय र खर्चमा बचत हुने विश्वास व्यक्त गर्नुभयो।

अस्पतालमा ल्याब सेवा समेत सञ्चालनमा रहेको छ भने मोरङ तथा सुनसरीका विभिन्न आँखा उपचार केन्द्रहरूसँग सहकार्य गरी बिरामीलाई दैनिक शल्यक्रिया सेवा प्रदान गर्ने लक्ष्य राखिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्म नारायण चौधरीले जानकारी दिनुभयो।

यसका साथै अस्पतालले विद्यालय स्तरमा दृष्टि परीक्षण, समुदायमा स्क्रीनिङ कार्यक्रम, तथा सचेतनामूलक अभियानमार्फत आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने योजना समेत अघि बढाएको छ। यसले दीर्घकालीन रूपमा दृष्टिविहीनता तथा न्यून दृष्टिको समस्या न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसमा दातृ संस्था सेवा फाउण्डेशनको समेत विशेष योगदान रहेको छ ।

नेपाल नेत्र ज्योति संघका केन्द्रीय अध्यक्ष प्रा.डा. चेत्तराज पन्तका अनुसार यस अस्पतालले पूर्वी पहाडी जिल्लाहरूमा रहेका आँखा अस्पताल तथा उपचार केन्द्रहरूलाई प्राविधिक, शल्यक्रिया तथा तालिम सहयोग प्रदान गर्दै समग्र राष्ट्रिय आँखा स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने कार्यमा योगदान पुर्‍याउनेछ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.