Websoft University
November 2023


विराटनगर ÷ सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने ऐन कार्यान्वयनका लागि विराटनगर महानगरपालिका कडा रुपमा प्रस्तुत भएको छ ।

सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा रोक लगाउन महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि अनुगमनलाई तीव्र पारेको छ । सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० पूर्णतः कार्यन्वयनमा ल्याउन महानगरले अनुगमनलाई तीव्र पारेको हो । दसैं, तिहार र छठ पर्वको लामो सार्वजनिक विदाका कारण महानगरको अनुगमन रोकिएको थियो । महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि सम्बन्धित शाखा र महाशाखालाई अनुगमन तीव्र पार्न निर्देशन दिइसकेको मेयर नागेश कोइरालाले जानकारी दिनुभयो ।

महानगरले गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा रोक लगाएको थियो । त्यस्तै साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि दिएको अनुमति खारेज गर्नुका साथ दर्ता गर्न रोक लगाएको थियो । त्यस्तै महानगरले साउनदेखि नै सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा रोक लगाउन ऐनसमेत जारी गरिसकेको छ । ऐनमा बिक्रीवितरण गर्ने मात्रै नभएर सेवन गर्नेलाई समेत जरिवाना तोकिएको छ । ऐनमा १ हजारेखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

सुर्तीजन्य पदार्थका बारेमा सूचना संकलनका लागि महानगरले सिभिल ड्रेसमा नगर प्रहरी र कर्मचारीसमेत गोप्य रुपमा परिचालन गरेको जनाएको छ । खैनी, चुरोट, गुटका, रजनीगन्धालगायतको सेवनका कारण क्यान्सरजस्तो प्राणघातक रोग लाग्ने र उपचारमा धेरै रकम लाग्ने भएका कारण बिक्री र सेवनमा रोक लगाइएको मेयर कोइरालाले बताउनुभयो । त्यस्तै सुर्तीजन्य पदार्थका खोल सरसफाईका लागि समेत ठूलो समस्याका रुपमा रहेको उहाँको भनाइ थियो । “सुर्तीजन्य पदार्थबाट राज्यले प्राप्त गर्ने राजस्वभन्दा जनताको स्वास्थ्य उपचारमा राज्यको सयौं गुणा बढी रकम खर्च हुने गरेको छ,” मेयर कोइरालाले भन्नुभयो, “यसबाहेक महानगरको सरसफाईमा समेत सुर्तीजन्य पदार्थको खोल समस्याका रुपमा रहेको छ ।”

ऐन कार्यान्वयनका लागि अनुगमन गर्न महानगरले नगर प्रहरीका प्रमुख राजन पौडेललाई निरीक्षक तोकेको छ । महानगर क्षेत्रभित्र ऐन कार्यान्वयन भए–नभएको निरीक्षण गर्न र प्रचलित ऐन, नियम–कानुनको अधिनमा रही प्रभावकारी रुपमा अनुगमन गर्न नगर प्रहरी प्रमुख पौडेललाई जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

अनुगमनमा पौडेलसहित सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालका साथै स्वास्थ्य, सरसफाई शाखाका कर्मचारी, जनपद प्रहरी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । टोलीले बिहीबार विराट नर्सिङहोम, नोवेल मेडिकल कलेज र कोशी अस्पताल अगाडिका एक दर्जनभन्दा बढी पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो मात्रामा गुट्का, खैनी, रजनीगन्धालगायतका सुर्तीजन्य पदार्थ फेला पारेको छ । दोस्रोपटक सुर्तीजन्य पदार्थ भेटिएको पसललाई महानगरले कारबाही प्रक्रियासमेत अगाडि बढाएको छ । महानगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा रोक लगाइएकाले सहयोग गर्न मेयर कोइरालाले आग्रहसमेत गर्नुभयो ।

घरपरिवारबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउन महानगरलाई आग्रह आउने गरेको उपमेयर शिल्पा निराला कार्कीले बताउनुभयो । बिक्री गर्ने र खाने केही प्रतिशत व्यक्तिबाहेक सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन कार्यान्वयनमा ल्याउँदा सबै महानगरवासी खुसी भएको उहाँको भनाइ थियो । 


धनकुटा, १३ मंसिर । धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो ।

धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरूलाई धनकुटा ल्याइएको हो । सो टोलीलाई आज धनकुटा नगरपालिकाले कार्यक्रम आयोजना गरी स्वागत गरेको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भिमादेवी खनाल, आर्थिक विकास अधिकृत विकास अधिकारी लगायतले फूलमाला लगाएर उनीहरूलाई स्वागत गरे ।

कार्यक्रममा धनकुटा नगर प्रमुख तामाङले धनकुटा नगरमा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए । पर्यटनकर्मीहरुको टोलीलाई स्वागत गर्दै उनले यहाँका पर्यटकीय क्षेत्रहरूलाई आ–आफ्नो क्षेत्रबाटप्रचारप्रसार गरेर सहयोग गर्न आग्रह    गरे । कार्यक्रममा पर्यटनकर्मी अनु लामाले पर्यटकीय हिसाबले धनकुटा महत्वपूर्ण क्षेत्र रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्ने धारणा राखिन् ।

देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन प्रवर्द्धनको काम गर्दै आएका लेखक, भ्लगर, ट्राभल एजेन्सीकर्मी, टुरिस्ट गाइड लगायत टोलीमा सहभागि छन् । पाँच दिनसम्म धनकुटामा रहने उनीहरूले यहाँका पर्यटकीय क्षेत्रहरू, होमस्टे व्यवसाय, आठपहरिया जातिको संस्कृति लगायत अवलोकन गरेर प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्नेछन् ।


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीय सरकारसँग सहकार्य मात्रै नभई सङ्घर्ष पनि गर्ने बताउनुभएको छ । मङ्गलवार विराटनगरमा आयोजित स्थानीयतहहरूको असल अभ्यास आदान प्रदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्रीकार्कीले यस्तो बताउनु भएको हो ।

संविधानको कार्यान्वयन सही ढङ्गले गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘जबसम्म हामी पुरातन सोचमा हुन्छौँ तबसम्म हामी अगाडि बढ्न सक्दैनौँ । हामीले के गर्नेहो भन्ने कोराको योजनाका साथ जानुपर्ने हुन्छ । त्यसैले अहिलेको सरकारले संघ सरकारले समन्वयमात्रै नभई आफ्ना अधिकारहरू स्थापित गर्न सङ्घर्ष पनिगर्दछ ।’

मुख्यमन्त्री कार्कीले सरकारका संयन्त्रहरू दिगो विकाशका लक्ष्यअनुसार काम गर्नुपर्ने बताउनुभयो । ‘हामीले त काम सुरु गरिसकेका छौँ, कनिकासरी बजेट छर्ने परिपाटी अन्त्यगर्दै छौँ, प्रदेशले कतिसम्मकाकार्यक्रम गर्ने, संघले कति र स्थानीयतहले कति गर्ने भन्ने कुरामा मापदण्ड बनाउनुपर्छ । उहाँले भन्नुभयो, ताकि संघ सरकारले पनि साना योजनामा बजेट नछरोस् प्रदेशले त साना योजना कटौती गरिसकेको छ ।’

सङ्घीय मामिलातथा सामान्य प्रशासनमन्त्री अनिता देवीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व मुख्यमन्त्री कार्कीले गर्नुभएको थियो । संघीय मन्त्री देवीले तीनै तहको सरकारबीच समन्वय भएमात्र विकासले गति लिनसक्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘स्थानीय सरकारले अब कसरी अघि बढ्ने भनेर एउटा रोडम्याप बनाउन जरुरी छ ।’ मन्त्री देवीले विनियोजित बजेट समेत स्थानीय सरकारबाट खर्च हुन सक्ने अवस्था सिजर्ना हुनु योजना तथा तयारीको अभावले हुने गरेको जिकिर गर्नुभयो ।

प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले कतिपय संघीय कानुन निर्माण हुन नसक्दा साझा अधिकार सूचीमा रहेका अधिकारहरुको प्रयोग हुन नसकेको बताउनु भयो । कार्यक्रममा विराटनगर महानगरका मेयर नागेश कोइराला,प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सङ्घीयता कार्यान्वयनसँगै लोकतन्त्रको सुदृढीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालितअसलअभ्यास कार्यक्रममा भएका उपलब्धिहरूका बारेमा भोलिसम्म प्रस्तुति दिइने छ ।


विराटनगर ÷ विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ ।

महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बिऊ वितरण गर्नुभयो । विराटनगर क्षेत्रभित्रका पशुपालक ७५ जना कृषक र ८ वटा कृषि समूहलाई बिऊ वितरण गरिएको थियो । पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवका अनुसार बरसीम र जै जातको घाँसको बिऊ वितरण गरिएको थियो । प्रतिकृषक बरसीम १ र जै ४० केजी वितरण गरिएको शाखाप्रमुख यादवलेजानकारी दिनुभयो ।

महानगरमा दर्ता भएका कृषि फर्मलाई छनौट गरेर उन्नतजातको बिऊ वितरण गरिएको उहाँको भनाइ थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विराटनगर महानगरपालिकाभित्र कृषिमा आधारित घरधुरी पनि ठूलै रहेको बताउनुभयो । उहाँले महानगरले निःशुल्क रुपमा वितरण गरेको घाँसबाट बढीभन्दा बढी लाभ लिन आग्रहसमेत गर्नुभयो । यसअघि महानगरले गहुँ र मकैको बिऊ वितरण गरेको थियो ।

  


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुपर्नेमा जोड दिनुभएको छ ।

छैटौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोष विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अहिलेसम्म औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई मात्रै कोषले समेटेको बताउनुभयो । उहाँले कोषले उद्योगमा कार्यरत मजदुरलाई मात्रै नसमेटेर पसललगायत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि कोषमा समेट्नुपर्नेमा जोड दिनुभयो । “अहिलेसम्म कोषले ठूला उद्योग र व्यावसायिक प्रतिष्ठानमा कार्यरत श्रमिकलाई मात्रै समेटेको पाइएको छ,” उहाँले भन्नुभयो, “अनौपचारिक क्षेत्रका श्रमिकलाई त अहिलेसम्म कोषले छोएकै छैन ।”

उहाँले कोशी प्रदेशमा रहेका ९० हजार १ सय ९२ रोजगारदातामध्ये हालसम्म १ हजार ९ सय २५ रोजगारदातामात्रै कोषमा सहभागी भएको उल्लेख गर्नुभयो । हालसम्म कोशी प्रदेशमा ४६ हजार ६ सय ४८ मजदुरहरु मात्रै सामाजिक सुरक्षा कोषमा आबद्ध दुखद भएको उहाँले विचार व्यक्त गर्नुभयो । कोषले थप प्रभावकारी काम गर्नुपर्नेमा मेयर कोइरालाले जोड दिनुभयो ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा औपचारिक क्षेत्रमा २७ र अनौपचारिक क्षेत्रमा ७३ प्रतिशत श्रमिक कार्यरत रहेको जानकारी दिनुभयो । ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा श्रमिक आबद्ध भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै जिफन्ट कोशी अध्यक्ष किशोर धमलाले महानगरका १९ वटै वडामा श्रमिक डेक्स राख्न आग्रह गर्नुभयो । 

कार्यक्रममा सामाजिक सुरक्षा कोषका वरिष्ठ सहायक निर्देशक प्रेमबहादुर महत, विराटनगर शाखा प्रमुख सौरभकुमार मिश्र, रोजगारदातका तर्फबाट महेशकुमार श्रेष्ठ, आश्रित परिवारका तर्फबाट वसन्ती चौधरीले मन्तव्य व्यक्त गर्नुभएको थियो । सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनालगायत समेटेको छ । हालसम्म ४ लाख ६६ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीकै क्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।

 


विराटनगर ÷ विराटनगर महानगरपालिकाले कृषक समूहलाई उन्नत जातको गहुँ र मकैको बिउ वितरण गरेको छ । महानगरले सशर्त कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँ र मकैको बिऊ वितरण गरेको हो ।

महानगरमा सोमबार आयोजित एक समारोहका बीच कृषक समूहका अध्यक्ष र प्रतिनिधिहरुलाई बिऊ वितरण गरिएको हो । खाद्यान्न बालीको बिऊ उपयोगमा अनुदान कार्यक्रमअन्तर्गत १४ हजार ६ सय केजी विजय जातको गहुँको बिऊ वितरण गरिएको कृषि विकास शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिनुभयो ।

कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेलगाययतले कृषकलाई बिऊ वितरण गर्नुभएको थियो । समूहमार्फत वितरण गरिएको बिऊबाट ७ सय ७५ घरधुरी लाभान्वित हुनेछन् । सो बिऊले १२१ हेक्टर क्षेत्रफललाई पुग्नेछ । त्यस्तै ५० प्रतिशत अनुदानमा उन्नत मकैको बिऊ पनि वितरण गरिएको थियो । 

९ सय ९० केजी पाइनियर–३३५५ मकैको बिऊ वितरण गरिएको शाखा प्रमुख तिम्सिनाले जानकारी दिनुभयो । सो मकैको बिऊबाट ३७५ घरधुरी लाभान्वित हुने उहाँको भनाइ थियो । ११ लाख रुपैयाँ बराबरको गहुँ र १० लाख रुपैयाँ बराबरको मकैको बिऊ वितरण गरिएको तिम्सिनाले बताउनुभयो । यसरी वितरण गरिएको बिऊ समूहमा आबद्ध कृषकले प्राप्त गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले बताउनुभयो ।


विराटनगर ÷ विराटनगर महानगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत महानगरपालिकाका विषयगत शाखाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा सामीले गरेको अन्तरक्रियामा सामी हेल्भेटास नेपालका डीएन चौधरीले नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्थासहित आर्थिक क्षेत्रमा पु¥याएको योगदानका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा २२ दशमलव ७ प्रतिशत रहेको जानकारी दिनुभयो । 

गत आर्थिक वर्ष नेपालबाट हालसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको उहाँले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ६ लाख ३० हजार ८७८ जनाले श्रम स्वीकृति लिएका थिए । चौधरीका अनुसार कोशी प्रदेशबाट १ लाख ६८ हजार ३०८ जना वैदेशिक रोजगारमा जाँदा मोरङबाट २९ हजार ६५८ जना गएका छन् । त्यसमध्ये १३ प्रतिशत महिला वैदेशिक रोजगारका लागि विभिन्न मुलुक गएको उहाँले बताउनुभयो ।

चौधरीले विराटनगर महानगरपालिकाको १,४, ५, ६, ९, १४, १६, १७ र १८ नम्बर वडाबाट ४ हजार ६३३ जना वैदेशिक रोजगारमा गएको तथ्यांक प्रस्तुत गर्नुभयो । जसमध्ये ८९ प्रतिशत अदक्ष युवा वैदेशिक रोजगारीमा गएको उहाँले बताउनुभयो । विराटनगर महानगरपालिकाभित्रबाट गएका युवामध्ये ११ प्रतिशतले मात्रै सीप सिकेर गएको चौधरीले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ । अन्तरक्रियामा मेयर नागेश कोइरालाले वैदेशिक जाने हरेक युवालाईअनिवार्य रुपमासीप सिकेर मात्रै जानआग्रह गर्नुभयो । 

सीप सिकेर जाँदा दुःख कम हुने र पैसा पनि बढी कमाइ हुने उहाँको भनाइ थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराई, सामी परियोजनाका प्रमुख दीपक राउतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

 

 

 


मिलन तामाङ-काठमाण्डेो । मानिसले पैसा कमाउन कति सम्म हर्कत गर्छन भन्ने उदाहरण स्वरुप काठमाडौंकै मुटु मानिने असन केलटोलका नामुद ठग छत्रबहादुर श्रेष्ठ लाई सम्झे हुन्छ। 


काठमाडौं उपत्यकाको अधिकासं सहकारीलाई ठग्दै आएका छत्रबहादुर लाई साथ  दिने उनकी धर्मपत्नी मनिषा स्थापितक त कुरा छाडौ ठगी धन्दा गर्दै आएका श्रीमान लाई साथ दिदै आएकी छन्।

ललितपुरको जावलाखेल चोकमा केन्द्रीय कार्यालय रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाको ऋण नतिरेर बचत कर्ताको रकममाथि छत्र बहादुर श्रेष्ठले आतंक नै मच्चाएको संस्थाका सञ्चालक आशिष तामाङले गुनासो गरेका छन्। काठमाडौंंको इन्द्रचोकमा रहेको जनविकास वचत तथा ऋण सहकारी संस्था र ललितपुरको जावलखेलमा रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्था लि। बीच गत वर्ष मर्ज भई डिलाइट बहुउद्देश्यीय सहकारी संस्थामा गाभिएको थियो। डिलाइट सहकारी संस्थाले श्रेष्ठलाइ ऋण दिएको लामो समयसम्म पनि ब्याजको त कुरै छैन सावा समेत नदिएर भाग्दै हिड्ने गरेको संञ्चालक तामाङले बताएका छन्। कानुनको धज्जी उडाउदै श्रेष्ठले विभिन्न वहाना बनाउदै लुकी छिमि हिड्ने गरेको र अब कुनै पनि हालतमा पक्राउ गरि कानुनी कारबाहीको प्रकिया अगाडी बढाउने तामाङले बताए। सोझा सिधा सर्वसाधारणहरुको एक एक रूपैयाँ जम्मा गरेर राखेको पैसा ब्याजदरमा लिएपछि तिर्नु पर्नेमा अहिले लुकी छिपी हिडेर ऋृण नतिर्ने मनसाय बनाएको देखिएकोले अब कुनै पनि हालतमा उनलाइ नछोड्ने सञ्चालक तामाङले बताए। श्रेष्ठले ऋण लगेको प्रमाण हेर्दा ऐन नियमको धज्जी उडाएको प्रष्ट हुन्छ। श्रेष्ठले सहकारीबाट ऋृण लगेर मनपरी गर्दा समेत उनले लगेको ऋृण तिरी हल्छन् की भनेर अहिलेसम्म कारबाहीको प्रकिया अगाडी नबढाएको तामाङले बताए। ‘मैले सहकारीबाट लिएको ऋण तिर्न धेरै पटक आग्रह गरे ब्याज नभएपनि सावा मात्र तिर्न समेत धेरै पटक भनेको छु,अब अति भैसकेको छ,उनले भने, ‘हामीलाई अहिले सहकारीले लुटिरहेका छन् भन्ने आरोप खेपेर बस्नु परेको छ तर छत्र बहादुर श्रेष्ठ जस्ता नामुद ठग ऋणीहरूले गर्दा सहकारीहरूको यस्तो हालत बनाएको तामाङले बताए। उनले भने श्रेष्ठको ससुरालीसम्म हाम्रा कर्मचारी साथिहरू जानु भएको छ। त्यति गर्दा पनि विभिन्न ठगी धन्दाका मायुर खेलाडी श्रेष्ठ लुकी छिमी हिड्ने गरेको र केही अनलाइन मिडिया प्रयोग गरेर बचत कर्ताहरूलाइ भ्रम सृजना समेत गर्ने गरेको संञ्चालक तामाङले बताएका छन्। 

उनले भने अब यस्ता ठगहरूलाइ कानुनी कारबाही गरेर भएपनि बचतकर्ताहरूको बचत फिर्ता गर्ने बताए। मैले सुनेको छु उसका धेरै मुद्दाहरू अदालतमा छन्। अब एउटा अर्को सहकारीको पनि थप हुने निश्चित भएको छ। अबको केही दिन भित्र ऋण लगेको पैसा फिर्ता गरेन भने अझै भण्डाफोर गर्दै कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताए। उसले गरेका कुकर्म धेरै छन्। अब एक एक गर्दै सार्वजनिक गरेर पर्दाफास गर्दै जाने सोच बनाएको छु तामाङले भने।


काठमाडौं । पर्सा मिलन केन्द्र स्थापनाको तेइसौँ वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक भव्य समारोहकाबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर योगदान दिएका व्यक्तिहरुलाई सम्मानित गरिएको हो ।


यसरी सम्मानित हुनेहरुमा विभिन्न विधाका १० व्यक्तित्वहरु रहेका छन् । आयोजक पर्सा मिलन केन्द्रका अध्यक्ष उमेशकुमार गुप्ता रौनियारका अनुसार शिक्षातर्फ प्रा.डा. रामदेव तिवारी, स्वास्थ्यतर्फ स्त्री रोग विशेषज्ञ प्रा.डा. अचला वैद्य, कलातर्फ लोकगायक सलीम अहमद, साहित्यतर्फ कवि दिनेश गुप्ता, उद्योगतर्फ ताराचन्द्र केडिया र व्यवसायतर्फ उर्मिला श्रेष्ठ प्रधान रहेका छन् ।

त्यसैगरी, खेलकुदबाट कुस्तीका राष्ट्रिय खेलाडी कुन्दन साह तुरहा, सामाजिकतर्फ मनोज राम, संचारतर्फ रेडियोकर्मी ध्रुवकमार साह तेली, विज्ञान तथा प्रविधितर्फ इञ्जिनियर चन्द्रेश्वर राई र विविध सञ्चारतर्फ टेलिभिजनकर्मी प्रतिमा चौधरी सम्मानित भएका छन् ।

कदर पत्र पाउनेहरुमा प्रतिमा चौधरी (सञ्चार), रुबी राणा शाह (प्रथम मिस नेपाल), उषा खड्गी (मिस नेपाल), प्रसिद्धि शाह (मिस नेपाल इन्टरनेशनल २०२३), प्रविण मानन्धर (रक्तदान संचार सेवा), प्रदर्शनी कुमारी (महिला पुर्व प्रमुख जिल्ला अधिकारी), डा.सुरेन्द्र महतो (विद्यावारिधि), मिरा शाह (पोषण विज्ञ), अरविन्द साह (खल्ती एप), प्रथा बस्नेत (Affordable Thriftstore Nepal), राजन श्रीवास्तव (समाज सेवा), ई.आयुष केडिया (युवा व्यवसाय), हिमान्सु गुप्ता (रजत पदक जुडो), मुस्कान खातुुन (एसिड आक्रमण विरुद्धको अभियन्ता), रिंकु कुमारी ठाकुर (बाल विवाह विरुद्धको अभियन्ता), श्रवण प्रसाद साह (दैनिक भोजपुरी टाईम्स र मनिष पौडेल (डिजिटल मेडिया), डा.ज्याउल हक अंसारी (विद्यावारीधि), ईन्जिनियर अंकु जयसवाल रहेका छन् । 

त्यस्तै प्रशंसा पत्र पाउनेहरुमा मुकेश महतो नुनियाँ (पेन्टीङ), अमोद प्रसाद गुप्ता (भोजपुरी कविता) र नरेश कुमार पटेल रहेका छन् । 

उनीहरुलाई प्रमुख अतिथि रहेका उपराष्ट्रपति यादव र विशेष अतिथि रहेकाउद्योग तथावाणिज्यमन्त्री रमेश रिजालले सम्मानित गरेका थिए ।

उक्त कार्यक्रमको सभापतित्व केन्द्रका अध्यक्ष रौनियारले गरेका थिए भने कार्यक्रममा निवर्तमान अध्यक्ष महेशबहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष अमु सिंह सिजापति, पर्सा दिवस समारोह तथा केन्द्रका उपाध्यक्ष अताउल्लाह अंसारी, महासचिव ललन प्रसाद साह, पूर्व अध्यक्ष तथा सल्लाहकारहरु बेदमान सिंह मल्ल, विरभद्र विक्रम शाह, प्रमोद प्रसाद नेपाल, लक्ष्मी गोपाल श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

२००७ सालमा पर्साबाट प्रजातन्त्रका लागि भएको आन्दोलनको सम्झनामा हरेक कार्तिक २६ गते यो कार्यक्रम गर्ने गरिएको भए पनि यसपालि तिहारको लक्ष्मीपूजा परेकाले मंसिर ९ गते गरिएको अध्यक्ष गुप्ताको भनाइ रहेको छ ।

 


विराटनगर । बेलायतमा  क्रिकेटका क्षेत्रमा काम गर्दै आएको क्रिकेट विथ आउट बाउन्डरीले विराटनगरका ४ वटा सामुदायिक विद्यालयका छात्रा विद्यार्थी खेलाडीहरूलाई  सहयोग गर्ने भएको  छ ।

क्रिकेटमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले विराटनगरमा ६ वर्ष देखी काम गर्दै आएको नेपाल क्रिकेट फाउन्डेसनसँगको सहकार्यमा बाउन्डरीले खेलाडीहरूलाई खेल सामाग्री तथा प्रशिक्षण दिने जनाइएको छ । क्रिकेट विथ आउट बाउन्डरीले महिला खेलाडी उत्पादन गर्न दुई वर्ष देखि कोशी प्रदेश र मधेस प्रदेशका केही विद्यालयका विद्यार्थीलाई सहयोग गरिरहेको नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । विद्यालयहरूमा क्रिकेट खेल्ने वातावरण समेत बनिरहेको उनले बताए ।

विराटनगरका ४ वटा विद्यालयमा फाउन्डेसनले छात्रा क्रिकेट खेलाडी उत्पादन गरिरहेको छ । स्वरस्वति, वालिका, महेन्द्र र सत्यनारायण विद्यालयका बिद्यार्थीहरुलाई प्रशिक्षण तथा प्रोत्साहन गरिरहेको छ । दुई संस्थाले इटहरी, धरान, धनकुटाका केही विद्यालयहरूमा पनि सहयोग गरिरहेका छन् । २ हप्ता सम्म क्रिकेट विथ आउट बाउन्डरीका पदाधिकारी तथा प्रशिक्षकहरूले प्रशिक्षण दिने बताइएको छ ।


धनकुटा, ९ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज बिहान धनकुटामा प्रभातफेरी गरिएको छ । स्थानीय सङ्घसंस्थाहरूसँग समन्वय गरेर धनकुटा नगरपालिकाले प्रभातफेरी आयोजना गरेको हो ।

अन्तर पार्टी महिला सञ्जाल, महिला पुनस्थापना सेवा केन्द्र, हुसाडेक नेपाल, जिल्ला प्रहरी कार्यालय, पारालिगल समिति, हाम्रो बहुमुखी पाठशाला, वेष्ट नेपाल लगायत सङ्घसंस्थाहरूसँगको समन्वयमा टुँडिखेलबाट सुरु भएको प्रभातफेरीले बजार क्षेत्रको परिक्रमा गर्यो । तल्लोकोप्चे, बिहीवारे हटिया, माथ्लोकोप्चे, भीमनारायण चोक, विचबजार, हुलाकटोल हुँदै मदनचोकमा पुगेर प्रभातफेरी कोणसभामा परिणत भयो ।


 प्रभातफेरिमा धनकुटा नगरपालिकाका कर्मचारी, महिला अधिकारकर्मी, सुरक्षाकर्मी, स्थानीयवासी लगायत सहभागि थिए । उनीहरूले ‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ, सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान, बलात्कार हत्या हिंसा अन्त्य गरौँ, हिंसामुक्त सभ्य समाज निर्माण गरौँ’ लगायत नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित बजार परिक्रमा गरेका हुन् ।

 प्रभातफेरी पश्चात आयोजित सभालाई सम्बोधन गर्दै धनकुटा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रमणि श्रेष्ठ, धनकुटा–७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, नगरपालिकाकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख फुलमाया तामाङ र वेष्ट नेपालका अध्यक्ष संगीता चापागाईँले लैङ्गिक हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

शनिबारबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर २४ गतेसम्म सञ्चालन हुनेछ । अभियान अन्तर्गत धनकुटामा दीप प्रज्वलन, सडक नाटक, सचेतना कक्षा, अभिभुखिकरण कार्यक्रम लगायत गर्ने तयारी गरिएको छ । ​


 


श्याम राई, उदयपुर | गाईघाट, ९ मंशिर | मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ जोगिटोलमा शनीबार दिउँसो स्कुल बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।

उदयपुगढी स्थित अधेरी झर्ना घुमेर फर्कदै गरेको प्रदेश १००–०५–००१ ख ००४४ नम्बरको बस ओरालोमा बे्रक फेल हुदा पुलबाट तल नदीमा खस्दा गाडीका चालक सहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा गाडीका चालक त्रियुगा नगरपालिका–७ देऊरीका ४० वर्षिय विखन चौधरी, सोही ठाउँका ६ वर्षिय विकास चौधरी र ७ वर्षिया समिया कुमारी चौधरी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि अन्य ३६ जना घाईते भएकोमा गम्भिर घाईतेहरु १० जनालाई अन्यत्र रेफर गरिएको छ । त्रियुगा नपा–७ कुमारी चोक स्थित अन्नपूर्ण सेकेन्डरी बोडिङ्ग स्कृलका अभिभावकहरुले घुम्नको लागि उक्त बस लिएर गएका थिए ।

 


 

 


मोहन कुमार राई ÷ २०८० मंसिर ९ गते |  संखुवासभा, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा सवारी चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खाँदवारी नगरपालिका वडा नम्वर ९  ढुङ्गेधारा वस्ने वर्ष २५ को सन्तोष दर्जी रहेका छन् । सोमबार खाँदावारी नगरपालिका वडा नं. ९ तुम्लिङ्टाबाट खाँदवारी तर्फ आउँदै गरेको को २ च ३३९२ नम्बरको बोलेरोले खाँदवारी नगरपालिका पाङ्माबाट तुम्लिङ्टारतर्फ जादै गरेको प्रदेश १–०२–००१ च ६३८८ नं. को बोलेरोलाई खाँदवारी नगरपालिका वडा नं.९ ढुङ्गेधारा स्थित ठकर दिँदा  प्रदेश १–०२–००१ च ६३८८ नं. को बोलेरोको अगाडीको भागमा क्षती पुगेको थियो ।   

को २ च ३३९२ नम्बरको बोलेरो   चालक सन्तोष दर्जीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको हुँदा चालक दर्जीलाई पक्राउ गरी निज उपर फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम अनुसन्धान भईरहेको जिल्ला पहरी कार्यालय संखुवासभाका मिडिया समन्वय अधिकृत पहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।                                                                                                                                                                                                      


विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले भ्रष्टाचार र दण्डहीनता बढेकै कारण नेपाली जनतामा निराशा बढ्दै गएको बताएका छन् ।

मोरङको विराटचोकमा आयोजित नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले गणतन्त्र के लागि भनेर प्रश्न उब्जिएको उल्लेख गरे । “देशमा राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक अराजकता बढ्दै गएको छ,” उनले भने, “दण्डहीनता र भ्रष्टाचार पनि मौलाएको छ । केका लागि र कसका लागि गणतन्त्र भनेर प्रश्न उब्जिएको छ ।”

उच्च नैतिकता र आत्मविश्वासका साथ कांग्रेस अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । उनले नेता कार्यकर्तालाई निराश नहुन आग्रहसमेत गरे । कोइरालाले युवाहरूको विदेश पलायनका कारण नेपाल बुढौलीहरूको देश बन्ने अवस्था देखिएको बताए । पछिल्लो समय अध्ययनका लागिसमेत विदेश जाने युवाहरू बढ्दै गएको उनको भनाइ थियो । गत आर्थिक वर्ष अध्ययनकै लागि १ खर्ब ४२ अर्ब रुपैयाँ बाहिरिएको तथ्यांक प्रस्तुत गर्दै नेता कोइरालाले युवाहरूको विदेशमोह बढ्दै जानु चिन्ताको विषय भएको बताए ।

पूर्वमन्त्री एवं कांग्रेसका नेता महेश आचार्यले अहिले संसद संसदजस्तो र न्यायालय न्यायालयजस्तो नभएको टिप्पणी गरे । “अहिले के संसद संसदजस्तो छ ? न्यायालय न्यायालय जस्तो छ ? वीपीले निर्माण गरेको कांग्रेस कांग्रेस जस्तो छ ?” आचार्यको प्रश्न थियो, “गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आउनु कांग्रेस त्यति धेरै कमजोर र निरीह भएको हो ?”  

त्यस्तै पूर्वमन्त्रीसमेत रहेका नेता डा. मीनेन्द्र रिजालले कांग्रेसले आफ्नै योगदान बिर्सिएको बताए । उनले कस्तुरीले आफ्नो वास्ता खोजे जसरी कांग्रेसले आफ्नो वास्ता खोज्दै हिंड्नुपरेको उल्लेख गरे । “कांग्रेसले देशको प्रजातान्त्रिक आन्दोलन र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छ,” उनले भने, “तर कांग्रेसले प्रजातन्त्र र देशका लागि गरेको योगदान जनतालाई बुझाउन सकिरहेका छैनौं ।”  

१४ महाधिवेशनपछि पहिलोपटक आयोजित सम्मेलनलाई केन्द्रीय सदस्य डा. डीला संग्रौला, अमृत अर्याल, भीम पराजुली, कोशी प्रदेश सभापति उद्धव थापा, उपसभापति रमेशजंग रायमाझी, मुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका उपसभापति नागेश कोइराला, सचिव ललित श्रेष्ठलगायतले कांग्रेसलाई एकढिक्का बनाएर लानुपर्नेमा जोड दिए । मोरङका १७ वटै पालिकाका ३ हजार ५५५ जना क्षेत्रीय प्रतिनिधिहरू सहभागी सम्मेलनमा संघीय सरकारका खेलकुदमन्त्रीसमेत रहनुभएका सभापति डिगबहादुर लिम्बूले राजनैतिक, सचिव मोदराज घिमिरेले सांगठानिक र कोषाध्यक्ष रञ्जु अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कलाकारहरूले विभिन्न सांस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए ।


संखुवासाभा | चैनपुर सेरोफेरोलाई समेटिएको एक म्युजिक भिडियो एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ ।

सोमबार सेजल डान्स सेन्टर द्वारा आयोजित कार्यक्रमा ‘मेरो चैनपुर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको डान्स सेन्टरका प्रोपाइटर साजन राईले जानकारी दिनुभयो । चैनपुर नगरपालिका भित्र सिद्धकाली मन्दिर, वानेश्वर, चैनपुर बजार तथा चैनपुर स्थित धार्मिक स्थलहरुमा छायाँङ्कन गरिएको म्युजिक भिडियो पर्यटन प्रर्वधन, सम्वर्धनका लागि टेवा पुग्योस भन्ने उद्देश्यले मेरो चैनपुर नामक म्युजिक भिडियो तयार पारिएको गायक तथा संगितकार पर्वत श्रेष्ठले वताउनुभयो ।

म्युजिक भिडियोमा कलाकारहरु साजन राई, सिम्रन निम्बा, अरमिन श्रेष्ठ, नमुना घिमिरे, निमा शेर्पा, सुहाना पासवान, सुरेन श्रेष्ठ, जनेश कर्मचार्य अभिनय गरेका छन् । भिडियोको व्यवस्थापक तथा सृगार पाटनर आशा श्रेष्ठ रहेको थियो । म्युजिक भिडियोको कोरियो ग्राफिस्ट मलिका श्रेष्ठ रहेको थियो ।

‘कला र संस्कृतिको सम्मान, तपाई हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा गायक सुरेन श्रेष्ठ र चैनपुर नगरपालिकाका उप प्रमुख एलिना श्रेष्ठ द्धारा संयुक्त रुपमा व्यानर पढेर र भिडियो अन गरेर उद्घाटन गरिएको थियो ।

सेजल डान्स सेन्टरका गोकुल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिपावलीको अवसरमा खेलाइएको देउसी भैलो कार्यक्रममा सहभागी भाइवहिनीहरुलाई सम्मानित समेत गरिएको थियो ।

 


काठमाडौं । नेपाल सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजलाई हकभोगको लागि दिएको काभ्रेपलाञ्चोक साविक सुनथान गा।वि।स।वडा नं। ८ कि। नं। ७५ क्षेत्रफल ३६-०-२०  वन क्षेत्र भनी उल्लेख भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नको लागि फिल्डबुक लगायत सरकारी कागजात किर्ते गरेको मुद्दाको अनुसन्धानको क्रममा जिल्ला काभ्रेपलान्चोक पनौति नगरपालिका वडा नं।६ सुनथान स्थाई घर भई हाल जिल्ला काभ्रेपलान्चोक बनेपा न।पा।७ बस्ने पुष्कर बहादुर बस्नेतलाई मिति २०८०र०८र०५ गते यस ब्यूरोबाट खटिएको छ | 

टोलीले जिल्ला काभ्रेपलान्चोक बनेपा न।पा।७ स्थितवाट पक्राउ गरी सम्मानित काभ्रेपलान्चोक जिल्ला अदालत धुलिखेलबाट लिखत सम्बन्धी कसूर मुद्दामा म्याद थप भई अनुसन्धान भई रहेको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ ।


विराटनगर ६ मंसिर । पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको डिनमा नियुक्त हुनु भएका डा. सन्देशदास श्रेष्ठले आज पदभारग्रहण गर्नु भएको छ ।

व्यवस्थापन संकाय डिनको पदभार ग्रहणगर्दै उहाँले पूर्वाञ्चल विश्वविद्यालयको शाखलाई बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । विश्वविद्यालयको गरिमालाई उच्च बनाउने तथा विश्वविद्यालयको उन्नयनका लागि समय सापेक्ष अनुसार पाठ्यक्रमको विकास गरिने बताउनुभयो ।

गत शुक्रबार डिनमा नियुक्त हुनु भएका सहप्राध्यापक डा. श्रेष्ठलाई उपकुलपति प्रा.डा. यादवराज कोइरालाले आज पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

नवनियुक्त डा. श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको ७ औं डिन हुनुहुन्छ । उहाँको कार्यकाल ४ वर्षको रहेको छ ।

वि.स. २०६१ सालदेखि पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापन गराउँदै आउनु भएका डा. श्रेष्ठले मार्केटिङ स्ट्रेटेजी प्लानिङमा विद्यावारिधी गर्नु भएको छ ।


विराटनगर ÷ १४ अेो महाधिवेशनपछि पहिलोपटक हुन लागेको नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन बुधबार विराटचोकमा सुरु हुँदैछ । 

नेपाली कांग्रेस मोरङले मंगलबार सम्मेलन आयोजनास्थल विराटचोकमा पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलनमा जिल्लाका १७ वटै पालिकाका ३ हजार ५५५ जना क्षेत्रीय प्रतिनिधिहरु सहभागी हुने नेपाल सरकारका युवा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेस मोरङकासभापतिडिगबहादुर लिम्बूले जानकारी दिनुभयो । सम्मेलनमा विधान संशोधन मुख्य एजेण्डाकाका रुपमा प्रस्तुत गरिने लिम्बूले बताउनुभयो । 

त्यस्तै प्रशिक्षण,अन्तर जिल्ला भ्रमण, सांस्कृतिक अभियानलगायतका प्रस्तावमाथिबन्दसत्रमाछलफल हुने सभापति लिम्बूलेजानकारी दिनुभयो । सम्मेलन सफल बनाउन सभापति लिम्बूको संयोजकत्वमा २५१ सदस्यीय तयारी समिति गठन गरिएको छ । 

त्यस्तै सम्मेलनलाई भव्य बनाउन मञ्च व्यवस्थापन, स्वयमसेवक परिचाजन, अतिथि सत्कार, प्रचारप्रसारलगायतका उपसमिति गठन गरिएको सचिव ललित श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सम्मेलनमा राजनैतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । मोरङ कांग्रेसमा ३० हजार ६२९ जना क्रियाशील सदस्य रहेका छन् । सम्मेलनले कांग्रेसलाई थप बलियो बनाउने उहाँले बताउनभयो । पत्रकार सम्मेलनमा उपसभापति भक्तिनाथ माझी, सचिवद्वय ललित श्रेष्ठ, मोदराज घिमिरे, कोषाध्यक्ष रञ्जु अधिकारी, सहसचिवद्वय भुवनेश्वर मण्डल, सञ्जय मण्डललगायतको सहभागिता रहेको थियो ।


काठमाण्डेो । सौन्दर्य प्रतियोगिता मार्फत् मौलिक परंपरा, संस्कार, कला संस्कृति, इतिहासलाई सम्वद्र्धन र प्रवद्र्धनमा योगदान दिने उद्देश्य सहित आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रतियोगिता हेरिटेज प्याजेन्टस् आइतबारबाट औपचारिक सुरु भएको छ ।  

थाईल्याण्डको राजधानी बैंकक शहरमा नेपाल लगायत विश्वका दुई दर्जन बढी मुलुकका करिब पचास सहभागीको सहभागीतासँगै सुरु भएको प्रतियोगितामा सहभागिहरुलाई उनीहरुको देशको पहिचान दिने अफिसियल स्यास वितरणसँंगै प्रतियोगिताले गति लिएको हो । 

अफिसियल स्यासको वितरण प्रतियोगिताका आयोजक संस्था ईप्लानेट सिंगापुर पिटिई लिमिटेडका सिंगापुरका अध्यक्ष सन्तोष सापकोटा र इन्टरनेसनल निर्देशक सुसान कोहले गरेका थिए । प्रतियोगिता अन्तर्गत इभिनिङ गाउन,नेसनल कस्ट्युमपहिरनको फोटो सुट समेत भैसकेको छ । 

यसैगरी सहभागिहरु वीच मित्रता, एक अर्काको संस्कृति, परंपरालाई बुझ्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कल्चुलरल उपहार आदान प्रदान गर्ने कार्यक्रम  पनि भएको छ । प्रतियोगिता अन्तर्गत वातावरणीय महत्वलाई उजागर गर्ने कार्यशाला पनि संचालन गरिएको छ । जसअन्तर्गत अर्गानिक मलको उपयोगिता र उत्पदान बारे कार्यशाला संचालन गरिएको थियो । कार्यशाला मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ फोन्टिप सृवान्र्युले गरेकी थिइन् । यस बाहेक कल्चुरल टेबल डिस्प्ले, प्रेस प्रेजेन्टेसन, थाइल्याण्डको ऐतिहासिक शहर आयुथयाको भ्रमण लगायतको गतिविधि संचालन भइसकेको छ । 

ईप्लानेट सिंगापुर पिटिई लिमिटेडको आयोजनामा आगामी नोभेम्बर २५ तारिखका दिन थाईल्याण्डको बैंकक शहरस्थित ईएससि पार्क होटलमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा संचालन हुँदैछ । प्रतियोगितामा नेपाल लगायत विश्वका २२ मुलुकका करिब चार दर्जन प्रतियोगिहरु विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगीतामा नेपालबाट ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ विजेता आजमा महर्जन र लिलि महर्जन सहभागी छन् । 

प्रतियोगिताको कोरियोग्राफी र स्टेज प्रस्तुतिकरण जिम्मेवारी नेपाल फेसन कोरियोग्रफार रोजिन शाक्य र मलेसियाका स्टेज कोरियोग्राफर वेस्ली शले सम्हालेका छन् । 



विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले छठ पर्वले राष्ट्रिय एकता बलियो बनाएको बताएका छन् ।

छठ पूजाको अवलोकन गर्न पिचरा नहर पुगेका नेताले कोइरालाले सञ्चारकर्मीसित कुराकानी गर्दै आपसी सद्भावसँगै राष्ट्रिय एकतालाई बलियो बनाएको बताए । उनले छठ पर्वले सबै नेपालीमा एकता, राष्ट्रिय अखण्डता, मेलमिलाप र सहमति कायम गर्ने विश्वाससमेत व्यक्त गरे ।

“धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनको माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने अवसर जुटाइ राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदान पु¥याएका छन्,” कोइरालाले भने, “यस्ता पर्वले आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र बलियो एकता अभिवृद्धि हुने मैले विश्वास लिएको छु ।”

नेपालभित्र मानिने हरेक पर्वको आफ्नो छुट्टै विशेषता र महत्व रहेको उनको भनाइ थियो । अझ छठ पर्वले विशिष्ट महत्व र विशेषता बोकेको कोइरालाले बताए । कोइरालाले भने, “हाम्रा यी सबै चाड–पर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्रताका धरोहर हुन्, यी चाड–पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन् ।”

नेता कोइरालाले अहिले मुलुकको राजनैतिक, धार्मिक, सांस्कृतिक एकतामाथि प्रहार भइरहेको बताउँदै सचेत रहन आग्रहसमेत गरे । प्रतिनिधिसभाका सदस्यसमेत रहेका कोइरालाले ब्रतालुहरुलाई भेटेर शुभकामनासमेत दिए ।


विराटनगर ÷ विराटनगर महानगरपालिकाले छठ पूजामा आउने बालबालिका र भक्तजनहरु खोलामा डुब्ने जोखिमलाई ध्यानमा राखेर उद्धार टोली परिचालन गरेको छ ।

नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त उद्धार टोली सिंघिया खोलामा परिचालन गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको निर्देशनअनुसार नगर प्रहरी र नेपाल प्रहरीका ८ जना विशेष तालिम प्राप्त उद्धार टोली (गोताखोर) परिचालन गरिएको पौडेलले बताए ।

विगतमा खोलामा डुबेर केही बालबालिका र भक्तजनहरु घाइतेसमेत भएका थिए । सोही जोखिमलाई ध्यानमा राखेर नेपाल प्रहरीसित समन्वय गरेर उद्धार टोली परिचालन गरेको नगर प्रहरी प्रमुख पौडेलले बताए । “सो टोली उद्धारका लागि आवश्यक सामग्रीसहित खोलामै स्टेनवाई बस्छ,” उनले भने, “कतै घटना भइहाले तत्कालै पुगेर उद्धार गर्छ ।”


विराटनगर ÷ छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले नहर र खोला सरसफाई गरेर व्यवस्थित गरेको भन्दै ब्रतालुहरुले खुसी व्यक्त गरेका छन् ।

छठ पूजाको अवलोकन गर्न पिचरा नहर र सिंघिया खोलाका विभिन्न पूजास्थलमा पुग्नुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ब्रतालुहरुले खुसी व्यक्त गर्दै धन्यवादसमेत दिएका छन् । विगतमा भन्दा नहरको पानीसमेत सफा नभएको उनीहरुको प्रतिक्रिया थियो । विराटनगरका युवा समाजसेवी गणेश साहले महानगरले सरसफाईमा विशेष ध्यान दिएको बताउनुभयो । साहले नहरको छेउछाउको बाटोमा गिट्टी लगाइदिएका कारण हिंड्नसमेत सहज भएको उल्लेख गर्नुभयो । महानगरको समन्वयमा एक हप्ताअघि नै नहरको सरसफाई गरिएको थियो ।

महानगरले नहरको विशेष सरसफाईसँगै डिलमा गिट्टी विछ्याएर आवतजावतमा सहज बनाएको थियो । सो क्रममा मेयर कोइरालाले महानगरपालिका विराटनगरवासीको साथमा सधैं रहेको बताउनुभएको थियो । उहाँले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्न छठ पर्वले प्रेरणा प्रदान गरोस् भन्दै शुभकामनासमेत दिनुभयो ।


विराटनगर ÷ विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले छठको पूजा गर्नुभएको छ ।

विराटनगर–११ पिचरास्थित नहरमा पुगेर उहाँले अस्ताउँदो सूर्यलाई अर्घ दिनुभएको छ । उहाँ हरेक वर्ष छठको ब्रत बस्दै आउनुभएको छ । पारिवारिक सुख र विराटनगरवासीको कल्याणको कामना गर्दै छठको ब्रत बसेको उपमेयर कार्कीले बताउनुभयो । उहाँले परिवारको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घजीवनसँग समग्र विराटनगरवासीको समृद्धिको कामना गरेको प्रतिक्रिया दिनुभयो ।

 

 


काठमाडौं । आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका बिरुद्धमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आपत्ती जनाउँदै प्रहरीमा उजुरी दिने निर्णय गरेको छ । 

आचार्य समाजको काठमाडौंमा बसेको बैठकले उक्त जुत्ता कम्पनीविरुद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको हो । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले सामाजिक सञ्जालमा भाईरल हुनेगरी बुष्टसमेत गरेर प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरुको मानमर्दन हुनेगरी किन राखिएको हो भन्ने विषयमा पत्ता लगाएर कारबाहीको माग गरिने बताए ।

 उनले जुत्तामा राखिएको आचार्यहरुको थर तत्काल हटाउन भूमिका खेल्न र थरकै अपमान हुनेगरी नाम राख्ने कम्पनीलाई माफी मगाई हदैसम्मको कारबाही गर्न माग पनि गरेको जानकारी दिए । यस्तै बैठकले  कम्पनीलाई प्रहरीले कारबाही नगरे अन्य कानुनी प्रकृया अपनाउने निर्णय गरेको छ ।

यस्तै आचार्य समाजका अगुवाहरुले अदालतमा क्षतिपूर्ति माग दाबीसहित निवेदन दिनुपर्ने, अन्तर्राष्ट्रिय अदालतमा मुद्धा दिनुपर्नेलगायतका विषय उठाएका छन् । 

प्रहरीमा उजुरी दिनका लागि अधिवक्ता मुक्ति आचार्यलाई जिम्मा दिइएको आचार्य समाजले जनाएको छ । उक्त कम्पनीले टिसर्टमा पनि आचार्य नाम राखेको छ ।


विराटनगर  l नेपाली कांग्रेसका वरिष्ठ  नेता डा. शेखर कोइरालाले नेपाल विस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढेर गएको बताएका    छन् ।

विराटनगरमा शनिबार पत्रकार एवं साहित्यकार शंकर खरेलद्वारा लिखित ‘तृप्यन्ताम’  लघुकथासंग्रहको विमोचन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाहरूको विदेश पलायन नरोके नेपालमा ज्येष्ठ नागरिकहरूमात्रै रहने प्रस्ट पारे । “युवाहरूको बढ्दो विदेश पलायनले कतै नेपाल बुढौलीहरूको देश त हुँदैन भनेर मलाई चिन्ता लाग्न थालेको छ,” कोइरालाले भने, “राजनैतिक दलहरू देश र जनताप्रति जिम्मेवार नभए अवस्था जटिल हुँदै गएको छ । स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूको पलायन रोक्नुपर्छ ।”

जनतामा अहिले चरम निराशा देखिएको उनको भनाइ थियो । त्यही निराशाको परिणामस्वरुप युवाहरू विदेश पलायन भएको नेता कोइरालाले बताए । “अलि हुनेखानेहरू अमेरिका, जापान, अष्टे«लिया, क्यानडा र युरोपतिर जान्छन्, उतै घरजम गरेर बस्छन् । आर्थिक रुपमा कमजोर र धेरै अध्ययन पनि नगरेका तर पाखुरीमा बल हुनेहरू खाडी जान्छन्,” कोइरालाले थपे, “एकथरि युवा उतै सेटल भएर बस्छन्, अर्कोथरि युवा पाखुरीमा बल सकिएपछि र उमेर ढल्किएपछि फर्किन्छन् । यस्तो अवस्थाले देश उँभो लाग्दैन ।”

उर्बर जमिनहरू बाँझो हुँदै गएकोमा कोइरालाले चिन्ता व्यक्त गरे । कोइरालाले रेमिट्यान्स मुलुकको आर्थिक विकासको दीर्घकालीन र भरपर्दो स्रोत नभएको जिकिर गरे । कोभिड–१९, रुस–युक्रेन युद्ध र इजरायल–हमासबीचको युद्धले रेमिट्यान्स देश विकासको भरपर्दो र दीर्घकालीन आर्थिक स्रोत होइन भन्ने पुष्टि भएको उनको कथन थियो । कोइरालालेमुलुकको शिक्षा नीतिम आमुल परिवर्तन जरुरी रहेको बताए । 


विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले अध्ययन अनुसन्धान बिना टिकटक बन्द गरेर गैरजिम्मेवारी चरित्र प्रस्तुत गरेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुराकानी गर्दै नेता कोइरालाले टिकटक बन्द नगरी नियमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिनुभयो । कोइरालाले सरकार झनझन गैरजिम्मेवार बन्दै गएको आरोप लगाउनुभयो ।

कोइरालाले नेताहरुका कारण गणतन्त्र सही बाटोमा हिंड्न नसकेको दाबी गर्नुभयो । गणतन्त्र राम्रो व्यवस्था भए पनि राजनैतिक दलहरुका कारणले गणतन्त्रमाथि प्रश्नचिन्ह खडा भएको उहाँको भनाइ थियो । त्यस्तै कोशी प्रदेशसभाका कांग्रेसका माननीयहरुका कारण कांग्रेस बचेको उहाँले बताउनुभयो । कोइरालाले कोशीमा एमालेसहितको सहमतीय सरकार बनाउन आफूले पहिलादेखि नै जोड दिँदै आएको स्मरण गर्नुभयो ।

  


विराटनगर |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चीनको यिउ सहरमा भएको युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (यूसीएलजी)को कंग्रेस (महाधिवेशन)लाई नेपालका तर्फबाट सम्बोधन गर्नुभएको छ ।

चीन भ्रमणमा रहनु भएका मेयर कोइरालाले यूसीएलजीको नवौं कंग्रेसलाई सम्बोधन गर्नुभएको हो । सो क्रममा मेयर कोइरालाले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती र अवसरका विषयमा केन्द्रित रहेर विचार राख्नुभएको थियोे । उहाँले नेपालको संविधानअनुसार स्थापित स्थानीय, प्रदेश र संघीय सरकारको आ–आफ्नै विशेषता र क्षेत्राधिकार रहेको बताउनुभयो ।

स्थानीय सरकारसित जनताको सिधै पहुँच हुने भएकाले स्थानीय सरकारसित जनताको धेरै आशा हुने उहाँको भनाइ थियो । यस्तै उहाँले यूसीएलजीको प्रभावकारिता अझै बढाउँदै लानुपर्नेमा जोड दिनुभयो । युसीएलजीको कंग्रेसमा सहभागी हुन मेयर कोइराला कात्तिक २५ गते चीन प्रस्थान गर्नुभएको थियो ।

यसअघि मेयर कोइराला तीन साता लामो अमेरिका भ्रमण गर्नुभएको थियो । अमेरिकामा रहँदा न्यूयोर्कका मेयर, सिनेटरसहित विभिन्न सहरका मेयरसित भेटघाट गर्नुका साथै नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता जनाउनुभएको थियो ।


काठमाडौं, २७ कात्तिक । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले टिकटक बन्द गर्ने निर्णय गरेर सरकारले नागरिकको वाक स्वतन्त्रता माथि अंकुश लगाउँने काम गरेको बताएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद शर्माले सामाजिक सञ्जालमार्फत यसको विरोध जनाएका हुन् ।

 सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो प्रतिबन्ध लगाएर सरकारले तानाशाही र अधिनायकवादी शैली प्रदर्शन गरेको सांसद शर्माको ठहर छ । ‘नेपालमा टिकटक बन्द गरेर सरकारले नागरिकको वाक स्वतन्त्रतामाथि अंकुश लगाएको छ । सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुको साटो सरकारले प्रतिबन्ध लगाउनु लोकतन्त्रमा नागरिकको “अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता” माथि अंकुश लगाएको प्रष्ट हुन्छ,’ सांसद शर्माले लेखेका छन्, ‘प्रचण्ड सरकारको यो चरम तानाशाही र अधिनायकवादी शैली हो, नेपाललाई उत्तर कोरिया सम्झने सरकारको गलत मनोवृत्ति हो । यसको म घोर आपत्ती र भर्त्सना गर्दछु ।’

  सूचना तथा सञ्चारको प्रयोग र मिडियामाथि अंकुश लगाउने कार्यमा सरकार उद्दत देखिएको भन्दै उनले यो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । सूचना प्रविधिको गलत प्रयोग गर्नेहरूलाई ऐन कानून बनाएर नियमन र निरुत्साहित गर्नुपर्ने उनको भनाई छ । ‘नागरिकको अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता प्रति सरकार गम्भीर र जिम्मेवार बन्नै पर्छ । नागरिकको मौलिक हक अधिकारमाथि प्रतिबन्ध लगाएर सरकारले नागरिकलाई हतोत्साहित गर्न खोजेको छ । यो निर्णयले प्रजातन्त्र र लोकतन्त्र कमजोर बनाउने बाटोमा सरकार हिड्न खोजेको प्रस्ट हुन्छ । म सरकारसंग टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन अनुरोध गर्दछु,’ सांसद शर्माले लेखेका छन् ।

 सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि अहिले यसको समर्थन र विरोध दुवै भइरहेको छ ।


बुटवल । नेपाल चलचित्र बिकास बोर्ड र चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलका सिनेमा हलहरुको सोमबार समग्रमा निरीक्षण गरेको छ । बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकी सहित चलचित्र पत्रकार संघ रुपन्देहीको नेतृत्वमा बुटवलका केहि फिल्महलहरुको निरीक्षण तथा मोफसलमा फिल्म व्यापारको अवस्थाबारे अन्तरक्रिया गरिएको हो ।
 

विश्वव्यापी कोरोना महामारी तथा आर्थिक मन्दीसँगै देशभरका सिनेमाहलहरु मर्कामा परेको बताउँदै चलचित्र बिकास बोर्डका सदस्य एबम प्रवक्ता बुढाथोकीले फेरि पहिलेकै अवस्थामा ल्याउने गरि बोर्ड लागिपरेको बताए । विशेष गरि मोफसलमा हलहरुमा दर्शक ल्याउने गरि आफ्नो पहल सधै जारी रहने उनले प्रतिवद्धता गरे । चलचित्र पत्रकार संघ रुपन्देहीका पूर्व अध्यक्ष सुमन श्रेष्ठले विगतदेखिनै मोफसललाई केन्द्रले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड   दिए । श्रेष्ठले बुटवल लगायत काठमाडौं बाहिरका शहरहरुमा पनि सुविधा सम्पन्न र स्तरीय फिल्महलहरु थपिने क्रम बढेको बताउँदै चलचित्रको व्यापार विस्तारका लागि दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए । 

चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले मोफसलमा रहेर काम गरिरहेका पत्रकार तथा रङ्गकर्मीका लागि राज्यले आवश्यक लगानी गर्न नसकेको गुनासो गरे । समग्र चलचित्र क्षेत्रको विकासले पर्यटन बिकासलाइ समेत टेवा पुर्याउने बताउदै न्यौपानेले सरकारले यसको लागि बिशेष पहल गर्नुपर्ने बताए। संघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठले मोफसलमा रहेर कलम चलाउने पत्रकारहरुको क्षमता विकासका लागि चलचित्र बिकास बोर्डले लगानी गर्न आग्रह गरे । 

निरीक्षणका क्रममा बुटवल भाटभटेनिमा रहेको क्यूएफएक्सका व्यवस्थापक महेश्वर गिरी, भ्यूसिनेमाज बुटवलका सञचालक प्रेमप्रकाश श्रेष्ठ, तथा क्यूबक्स बुटवलका सञ्चालक महेन्द्र नारायण श्रेष्ठले आफ्ना समस्याहरु बारे चलचित्र पत्रकार र बोर्डलाई जानकारी गराएका थिए।उनीहरुले समग्र चलचित्र क्षेत्रको बिकासका लागि आफुहरु समन्वय गर्न हरदम तयार रहेको बताए। 


बिराटनगर, कार्तिक २६ गते । 
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा यमपञ्चकको दोश्रो दिन तालिम प्राप्त कुकुरको पुजा गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी केन्नाईन शाखा धरान र बिराटनगर बिमान स्थलमा रहेका १० वटा प्रहरीको तालिम प्राप्त कुकुरहरुलाई प्रहरी बैण्डबाजा सहित बिधिवतरुपमा पुजा गर्नु भएको हो ।  


वहाँले नेपाल प्रहरीको अपराध अनुसन्धानविमानस्थलविशिष्ट व्यक्तिहरुको सुरक्षा लगायत बिभिन्न अपराध अनुसन्धानमा  उल्लेखनिय कार्य गर्दै आईरहेका कुकुरहरुलाई  पुजा गरी माला पहिराई मिठा खाने कुराहरु खुवाउनु भएको थियो ।पुजामा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाले समेत कुकुरहरुलाई माला र मिठा खानेकुरा दिई पुजा गर्नु भएको थियो । 


अपराध अनुसन्धानका लागि सबैभन्दा उपयुक्त जनावरको रुपमा लिइने कुकुरको पुजा नेपाल प्रहरीले बिशेष रुपमा गर्ने गरेको छ । उक्त पुजा कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, प्रदेश प्रहरी गण बिराटनगरका प्रमुखहरु, प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


काठमाडौँ  । चलचित्र पत्रकार संघ नेपालको झापा जिल्ला, इलाम जिल्ला र मोरङ्ग जिल्ला शाखा गठन भएको छ । संघको १० र ११ औँ र १२ औं शाखाको रूपमा यी शाखा गठन भएका हुन् । त्यसैगरी कोशी प्रदेशको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो।
 

तिन जिल्ला आयोजित भेलामा सङ्घका केन्द्रीय अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा तथा संघका सदस्य कुमार आचार्य लगाएको उपस्थित थिए । कार्यक्रम प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको हो। 


इलाम शाखामा अतीत योङहाङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सहसचिव तारा खाती र कोषाध्यक्षमा सरिता राई छनौट भएका छन् ।

सदस्यहरूमा एलिना गुरूङ, त्रिलोचन अधिकारी, शुसिल मोरोहाङ, सुनिल शङ्कर, केशव भट्टराई, मिलन मुखिया, उमेश लिम्बू, रोशन काफ्ले, सृष्टि कुरूम्बाङ रहेका छन् ।

भेलाले तीन सदस्यीय प्रदेश प्रतिनिधिसमेत छनौट गरेको छ । सोम सुनुवार, सृजना श्रेष्ठ र काकीराम लावती (आन्छुमे नसान) छनौट भएका छन् ।

पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । सल्लाहकार समितिमा सटेन्द्र जबेगु, विप्लव भट्टराई, बुद्धमाया सोङ्मी, केवल तामाङ र सुरेश पोर्तेल रहेका छन् ।

त्यस्तै झापा शाखाको अध्यक्षमा रमेश तिवारी चयन भएका छन् । १५ सदस्यीय छानिएको कार्यसमितीम समीर सुवेदी उपाध्यक्ष, सचिव एकराज प्रधान, सहसचिव सुरज प्रधान कोषाध्यक्ष शुभला तामाङ र सदस्यहरूमा सन्तोष न्यौपाने, उद्धव पुरी , निराजन निरौला, सुनिता तामांग, अस्मिता सांखी, दिपेन भेटवाल, सन्तोष शर्मा , अभिषेक धमला , नगेन्द्र नेपाल र रवि किरण वान्तवा रहेका छन् ।

चलचित्र पत्रकार संघ नेपालको मोरङ्ग शाखामा प्रेम देवानको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्ष हुसेन सेख,सचिव   सन्तोष बास्तोला,सहसचिव निरोज मल्ल,कोषाध्यक्ष सरिता कर्माकार तथा सदस्यहरु अपरोज हवारी,कप्लेस यादव,एलिसा रायमाझी,दिपेश रोक्का,अफ्ताप अली चयन भएका छन्। 

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाको बिशेष साधारण सभाबाट अध्यक्ष सन्जु राईको टिम निर्बिरोध निर्वाचित भएको छ।  कार्यसमितिमा बिरेन्द्र कुमार शाह उपाध्यक्ष,सुवास संकल्प सचिव,बिकल श्रेष्ठ सहसचिव,रश्मी थापा कोषाध्यक्ष र सदस्यहरु तुल्सी प्रसाद निरौला,निशान कंडेल,गोपाल काफ्ले, सोम सुनुवार,सृजना श्रेष्ठ,आन्छुमे नसान (लावती) निर्वाचित भएका छन्।  नवनिर्वाचित कार्यसमितिले अन्य केहि सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको छ। 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.