Websoft University

अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुपर्छ - मेयर कोइराला


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुपर्नेमा जोड दिनुभएको छ ।

छैटौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोष विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अहिलेसम्म औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई मात्रै कोषले समेटेको बताउनुभयो । उहाँले कोषले उद्योगमा कार्यरत मजदुरलाई मात्रै नसमेटेर पसललगायत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि कोषमा समेट्नुपर्नेमा जोड दिनुभयो । “अहिलेसम्म कोषले ठूला उद्योग र व्यावसायिक प्रतिष्ठानमा कार्यरत श्रमिकलाई मात्रै समेटेको पाइएको छ,” उहाँले भन्नुभयो, “अनौपचारिक क्षेत्रका श्रमिकलाई त अहिलेसम्म कोषले छोएकै छैन ।”

उहाँले कोशी प्रदेशमा रहेका ९० हजार १ सय ९२ रोजगारदातामध्ये हालसम्म १ हजार ९ सय २५ रोजगारदातामात्रै कोषमा सहभागी भएको उल्लेख गर्नुभयो । हालसम्म कोशी प्रदेशमा ४६ हजार ६ सय ४८ मजदुरहरु मात्रै सामाजिक सुरक्षा कोषमा आबद्ध दुखद भएको उहाँले विचार व्यक्त गर्नुभयो । कोषले थप प्रभावकारी काम गर्नुपर्नेमा मेयर कोइरालाले जोड दिनुभयो ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा औपचारिक क्षेत्रमा २७ र अनौपचारिक क्षेत्रमा ७३ प्रतिशत श्रमिक कार्यरत रहेको जानकारी दिनुभयो । ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा श्रमिक आबद्ध भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै जिफन्ट कोशी अध्यक्ष किशोर धमलाले महानगरका १९ वटै वडामा श्रमिक डेक्स राख्न आग्रह गर्नुभयो । 

कार्यक्रममा सामाजिक सुरक्षा कोषका वरिष्ठ सहायक निर्देशक प्रेमबहादुर महत, विराटनगर शाखा प्रमुख सौरभकुमार मिश्र, रोजगारदातका तर्फबाट महेशकुमार श्रेष्ठ, आश्रित परिवारका तर्फबाट वसन्ती चौधरीले मन्तव्य व्यक्त गर्नुभएको थियो । सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनालगायत समेटेको छ । हालसम्म ४ लाख ६६ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीकै क्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.