Websoft University
August 2026


विराटनगर ३० भदौ । ब्राइट भिजन ल कलेजमा कानुनका विद्यार्थीलाई अदालतको अभ्यासगत ज्ञान प्रदान गर्ने उद्देश्यले मूटकोर्ट (नमूना अदालत) प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुभारम्भ कलेजका प्रमुख वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले गर्नुभएको थियो । 

कानुन अध्ययनमा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक तथा अभ्यासगत ज्ञान आवश्यक हुने भएकाले मूटकोर्ट प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ । विद्यार्थीलाई अदालतमा हुने बहस, मिसिल तयार गर्ने तरिका, बहसनोट लेखन तथा अदालती प्रक्रियाबारे व्यावहारिक जानकारी गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो ।

मूटकोर्टमा वास्तविक अदालतको झल्को दिने गरी इजलास सञ्चालन गरिएको छ । अदालतको मर्यादा, प्रक्रिया र अभ्यासलाई ध्यानमा राख्दै विद्यार्थीले न्यायाधीश तथा कानुन व्यवसायीको भूमिकामा रहेर काल्पनिक मुद्दामाथि बहस गरेका थिए । अदालत सञ्चालन तथा न्यायिक प्रक्रियाको अनुभव भएका सरकारी वकिल र अधिवक्तालाई निर्णायकको जिम्मेवारी दिइएको कलेजले जनाएको छ ।

कलेज प्रमुख आचार्यका अनुसार प्रतियोगितामा बीएएलएलबीका पाँचवटै सेमेस्टरमा अध्ययनरत ५ सय विद्यार्थी मध्ये १०४ विद्यार्थी सहभागी छन । गत वर्षदेखि सुरु गरिएको मूटकोर्ट प्रतियोगितामा पहिलो वर्ष १६ समूह सहभागी भएका थिए भने यस वर्ष समूहको संख्या बढेर २६ पुगेको छ । विद्यार्थीको सहभागिता र रुचि बढ्दै जानुले मूटकोर्ट अभ्यासप्रति उनीहरूको आकर्षण बढेको देखाएको उहाँले बताउनुभयो । 

प्रतियोगितामा विद्यार्थीले सुनचोरी तथा पैठारी, संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी काल्पनिक घटनालाई मुद्दाका रूपमा प्रस्तुत गरेका छन । ती मुद्दामा विद्यार्थीले सरकारी वकिल तथा प्रतिवादी पक्षका अधिवक्ताको भूमिकामा रहेर कानुनी तर्क, प्रमाण र बहसनोटका आधारमा बहस गरेको कलेज प्रमुख बरिष्ठ अधिवक्ता आचार्यले बताउनुभयो । मूटकोर्ट प्रतियोगिता विश्वभरका विश्वविद्यालयमा हुने गरेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको सहजीकरण गरेका विद्यार्थी नारायण चौलागाईंका अनुसार मूटकोर्टले विद्यार्थीलाई कक्षाकोठामा पढेको कानुनी ज्ञानलाई व्यवहारमा उतार्ने अवसर दिएको छ । यसबाट अदालतमा बहस गर्ने शैली, मुद्दाको तयारी, कानुनी आधार खोज्ने तथा आफ्नो पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने सीप विकास गर्न सहयोग पुगेको उहाँले बताउनुभयो ।

कलेजमा सञ्चालित प्रतियोगितामा १३ वटा नमूना इजलासमा २६ समूहबीच प्रतिस्पर्धा भएको छ । प्रारम्भिक चरणका प्रतिस्पर्धाबाट उत्कृष्ट आठ समूह क्वाटरफाइनल चरणमा प्रवेश गर्नेछन । त्यसपछि सेमिफाइनल हुँदै प्रतियोगिताको फाइनल मूटकोर्ट प्रतिस्पर्धा आगामी भदौ ६ गते आयोजना गरिने कलेजले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद १३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने समूहलाई नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने समूहलाई नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।प्रतियोगितामा उत्कृष्ट बहसकर्ता र उत्कृष्ट बहसनोट तयार गर्ने विद्यार्थीलाई जनही ४ हजार रुपैयाँसहित सम्मान गरिने कलेज प्रमुख आचार्यले जानकारी दिनुभयो । 

मूटकोर्टलाई कानुनका विद्यार्थीलाई भविष्यमा अदालतमा आवश्यक पर्ने व्यावसायिक दक्षता र आत्मविश्वास विकास गराउने महत्वपूर्ण अभ्यासका रूपमा लिएको कलेजले जनाएको छ ।

 


विराटनगर साउन २९ गते । मापदण्ड पुरा नगरी आँखा उपचारमा सक्रिय देखाउदै आएको भन्दै जिल्ला प्रशासन मेारङटेालीले १० वट्टा आंखा अस्पतालमा सिलबन्दी गरेको छ।मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा कोशी प्रदेश स्वास्थ्य निर्देशनालय समेतको अनुगमन टोलीले जनस्वास्थ्य सेवा नियमावली २०७७ को अनुसूची ७ लगायतका मापदण्ड हरू पुरा नगरेका विराटनगर-१० को सन्जीवनी आई केयर प्रा.लि., विराटनगर-१३ को हिमाल आँखा अस्पताल, विराटनगर-१४ को विराट-मोरङ आँखा अस्पताल, र प्रयोगशालामा २७ गते बुधबार ताला बन्दी गरेको छ।

२९ गते बिहीबार  टोलीले विराटनगर-१५ को इफराह आँखा अस्पताल प्रालि, विराटनगर-९ को विराट रानी आँखा अस्पताल प्रालि, विराटनगर-१५ को अखण्ड ज्योति आँखा अस्पताल प्रालि, विराटनगर-१३ को नेपाल आँखा अस्पताल प्रालि समेत गरी दश वटालाई टोलीले सिलबन्दी गरि कारबाही सुरु गरेको छ।

 


मेारंङ साउन २९ गते । बिराटनगर आखां अस्पताल ७.५ हेक्टर (लगभग ११ बिघा जग्गामा फैलिएको छ  ।अस्पतालको स्थापना सन् २००६ सेप्टेम्बर (विक्रम संवत २०६३) मा भएको हो। सुरुमा यो लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको एउटा शाखाको रूपमा भाडाको घरबाट सुरु भएको थियो र पछि सन् २०११ नोभेम्बरमा यसको आफ्नै नयाँ र ठुलो भवनको उद्घाटन गरियो।

आफ्नो स्थापनाकालदेखि अहिलेसम्म १ करोड ६६ लाखभन्दा बढीले ओपिडी र २४ लाख ९९ हजारभन्दा बढी आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेकाछन । दैनिक रूपमा मात्रै यहाँ हजारौँ बिरामीहरू उपचारका लागि आउने गर्छन्। 

येा नाफामूलक संस्था होइन। यो नेपाल नेत्रज्योति संघ र नेपाल सामाजिक कल्याण परिषद् र क्रिस्चियन ब्लाइन्ड मिसन (CBM) को सहकार्यमा संचालित 'पूर्वी क्षेत्रीय आँखा उपचार कार्यक्रम' (EREC-P) अन्तर्गतको एक गैर-नाफामूलक सामुदायिक संस्था हो। 

यसको मुख्य उद्देश्य गरिब तथा विपन्न वर्गलाई अत्यन्तै कम र सुलभ मूल्यमा उच्च गुणस्तरको आँखा उपचार सेवा प्रदान गर्नु हो।सुरुमा भाडाको सानो घरबाट न्यून लगानीमा सेवा थालेको यस अस्पतालको व्यवस्थित र ठुलो पूर्वाधार निर्माणका लागि कुल ५३ करोड रुपैयाँ (NPR ५३,००,००,०००) खर्च भएको थियो। उक्त रकम युरोपियन युनियन (EU), CBM जर्मनी, स्टाण्डर्ड चार्टर्ड बैंक र सगरमाथा चौधरी आँखा अस्पताल लहानको आर्थिक सहयोगमा संकलन गरिएकेा रकमबाट संञ्चालन गरिएको थियो।

 


भद्रपुर, २५ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी इन्द्रमाया खातीका लागि तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत नेकपाले इन्द्रमायाको घर निर्माण गरेको हो । आज आयोजित घर हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले इन्द्रमायालाई घरको चाबी हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्बोले संविधान निर्माणका क्रममा आवासको अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिएको बताउनुभयो । कम्युनिस्ट सरकार भएका बेला विपन्न तथा सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिए पनि राजनीतिक अस्थिरताका कारण त्यसलाई पूर्ण रूपमा अघि बढाउन नसकिएको उहाँले उल्लेख गर्नुभयो ।


विराटनगर, साउन २४ गते । मोरङ, सुनसरी र झापाबाट लागू औषध सहित १० जना पक्राउ परेका छन् ।

साउन २३ गते जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका(१, गुप्तबराहस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र।१-०२-००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त कारभित्र २२ वटा प्लाष्टिकका पोकामा लुकाई राखेको ४१८ किलो गाँजा फेला पारी कार चालक जिल्ला सुनसरी, धरान उपमहानगरपालिका(१३ का ३४ वर्षीय थमन राई, सोही कारमा सवार जिल्ला ओखलढुङ्गा, मानेभञ्ज्याङ गाउँपालिका-५ का २२ वर्षीया जिवनी राई, मोटरसाइकल चालक जिल्ला मोरङ, कटहरी गाउँपालिका(३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरीलाई पक्राउ गरिएको छ भने जिल्ला सुनसरी, धरान उपमहानगरपालिका(११ स्थित रिटिङ टोलमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान-११ का ३२ वर्षीय उमेश कार्की, ३३ वर्षीय रुद्र मगर र धरान(१६ का २४ वर्षीया स्वास्तिका गुरुङलाई ९३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

त्यसैगरी, जिल्ला मोरङ, विराटनगर महानगरपालिका-१५, मण्ठा पोखरीस्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका(१५ का ३१ वर्षीय मोहमद हुसेनलाई १०० ग्राम ६०० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको छ ।

त्यसैगरी, जिल्ला झापा, मेचीनगर नगरपालिका(८, सरस्वती टोलस्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो, काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ईटाभट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्र।१-०१-००२ ह ३५६९ नम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा चालक जिल्ला मोरङ, पथरी शनिश्चरे नगरपालिका(५ का २५ वर्षीय गणेश चौधरी र जिल्ला झापा, मेचीनगर नगरपालिका(११, धुलाबारीका २३ वर्षीय सोमनाथ राजवंशीलाई ५३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

पक्राउ परेका सबैको सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ ।


 


काठमाडौँ साउन २४ गते । कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई विश्व हिन्दू परिषद् नेपालले राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। घटनामा ज्यान गुमाएका तथा घाइते भएका सनातनी परिवारप्रति ऐक्यबद्धता जनाउँदै परिषद्ले मानवीय सहयोगलाई निरन्तरता दिएको जनाएको छ।

घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारलाई परिषद्ले आज जनही रु। एक लाखका दरले राहत रकम हस्तान्तरण गरेको हो। राहत रकम हस्तान्तरणसँगै परिषद्का तर्फबाट दुवै परिवारलाई समवेदना पत्रसमेत प्रदान गरिएको थियो।

मृतकप्रति सम्मान व्यक्त गर्न परिषद्का प्रतिनिधिहरूले दुवै वीरको चितामा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलीसमेत व्यक्त गरेका थिए। शोकसन्तप्त परिवारलाई भेटेर परिषद्का प्रतिनिधिहरूले दुःखको यस घडीमा परिवारसँग आफूहरू रहेको सन्देश दिएका थिए।

यसअघि घटनामा घाइते भई अस्पतालमा उपचाररत दुई जनालाई जनही रु। ११ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइएको थियो। उपचाररत घाइतेको स्वास्थ्य अवस्था तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको परिषद्ले जनाएको छ।

घाइतेलाई सहयोग रकम हस्तान्तरण गर्दै विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय संगठन सचिव प्रह्लाद रेग्मीले घटनाबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्नुभयो। उहाँले पीडित परिवारले भोगिरहेको दुःख र कठिन परिस्थितिमा परिषद् उनीहरूको साथमा रहेको बताउँदै आवश्यक सहयोग र सहकार्यका लागि परिषद् प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

परिषद्का अनुसार कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले मृत्यु भएका प्रत्येक व्यक्तिका परिवारलाई रु। एक लाख तथा घाइते प्रत्येक परिवारलाई रु। ११ हजारका दरले आर्थिक सहयोग गर्ने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार मृतक परिवारलाई राहत रकम र घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो।

मृतक परिवारलाई राहत रकम हस्तान्तरण गर्ने कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष पुरुषोत्तम भण्डारीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा परिषद्का पदाधिकारी तथा कार्यकर्ताले पीडित परिवारसँग भेट गरी घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

परिषद्ले राहत रकम हस्तान्तरणलाई आर्थिक सहयोगमा मात्र सीमित नराखी पीडित परिवारप्रतिको सामाजिक तथा मानवीय उत्तरदायित्वका रूपमा लिएको जनाएको छ। दुःख र संकटको अवस्थामा पीडित परिवारलाई आवश्यक सहयोग, सहकार्य तथा सेवाका गतिविधिलाई निरन्तरता दिने परिषद्को भनाइ छ।

विश्व हिन्दू परिषद् नेपालले पीडित परिवारलाई आवश्यकताअनुसार सहयोग तथा समन्वयका कार्य अघि बढाउने जनाएको छ। परिषद्ले सामाजिक तथा मानवीय सेवाका माध्यमबाट संकटमा परेका परिवारलाई साथ दिने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

विश्व हिन्दू परिषद् नेपालले ‘सेवा, संस्कार र समाजको हित’लाई आफ्नो कार्यको आधारका रूपमा अघि बढाउँदै आएको जनाएको छ।


बिराटनगर २०८३ श्रावण २२ गते शुक्रबार,। नेपाल राष्ट्र बैंकद्वारा विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा गभर्नर प्रा. डा. विश्वनाथ पौडेल समक्ष मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले उद्योग–व्यवसाय क्षेत्रको संरक्षण एवं पुनरुत्थानार्थ संघको सुझाव पत्र पेश गर्नु भएको छ ।

 कार्यक्रममा अध्यक्ष राठीले आर्थिक वर्ष २०८३÷०८४ को मौद्रिक नीतिले समेटेको लचिलो मौद्रिक कार्यदिशा तथा निजी क्षेत्रमैत्री सुविधाहरुको स्वागत गर्नु भई ती व्यवस्थाहरु तत्कालै कार्यान्वयनमा ल्याउन जोड दिनु भएको थियो । साथै, सरकारको ७.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न तथा आन्तरिक उत्पादन र लगानीको वातावरण श्रृजना गर्न अध्यक्ष राठीले उद्योगी–व्यवसायीहरुको हकमा संघको तर्फबाट विभिन्न सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।

 गर्भनर समक्ष अध्यक्ष राठीले चालू पूँजी कर्जा सम्बन्धी कडा प्रावधानहरुलाई व्यावहारिक र लचिलो बनाउनु पर्ने, उद्योगको नगद प्रवाह र प्रकृतिका आधारमा कुल कारोबारको ६० प्रतिशतसम्म चालू पूँजी कर्जा सहजै पाउने व्यवस्था गरिनु पर्ने, साना तथा मझौला उद्योग÷व्यवसायका लागि स्प्रेड दर न्यून गरिनु पर्ने, निर्यातमुखी उद्योगहरुलाई सहुलियतपूर्ण डलर सटहीदर सहित सस्तो ब्याजदरको कर्जा सुविधा उपलब्ध गराइनु पर्ने लगायतका सुझावहरु पेश गर्नु भएको थियो ।

 साथै, अध्यक्ष राठीले विद्यमान शिथिल आर्थिक अवस्थामा उद्योग–व्यवसाय क्षेत्रको संरक्षणार्थ मन्दीबाट प्रभावित उद्योग÷व्यवसायलाई विना कुनै हर्जाना÷जरिवाना कम्तीमा १ वर्षका लागि कर्जा पुनर्संरचना तथा पुनरतालिकीकरणको सुविधा दिन, रियल स्टेट क्षेत्रको कर्जा सीमा, जोखिम भार र धितो मूल्यांकनमा पुनरावलोकन गर्न तथा उद्योग÷व्यवसायको ऋण प्रोभिजनिङ गर्दा बूक लसको सट्टा ‘क्यास लस’लाई मान्यता दिन आग्रह गर्नु भएको थियो ।

 त्यसैगरी, सरकारको पुँजीगत खर्च वृद्धि गर्न राष्ट्र बैंकले वित्तीय सहजीकरण गरिदिनु पर्ने, सार्वजनिक विदाका दिनहरुमा व्यावसायिक कारोबारहरु प्रभावित हुन नदिन बैंकहरुमा पनि वार्षिक १३ दिन मात्र विदा दिइनु पर्ने, ‘असारे विकास’ तथा विद्यमान आर्थिक मसान्तका वित्तीय चापहरु अन्त्य गर्न वैशाख देखि चैत्रको अवधिलाई आर्थिक वर्ष कायम गर्नु पर्ने आदि सुझावहरु अध्यक्ष राठीले दिनु भएको थियो ।

 सो क्रममा अध्यक्ष राठी सहित संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले राष्ट्र बैंकले नीतिगत सुधारका कार्यहरु द्रुत रुपमा कार्यान्वयनमा ल्याउनु पर्ने धारणा राख्दै संघको तर्फबाट तयार पारिएको सुझाव पत्र गर्भनर पौडेललाई हस्तान्तरण गर्नु भएको थियो ।

 

 


ग्यास उपभेाक्ताहरूले बजारमा खाना पकाउने ग्यास नपाए गुनासेा बढेपछी विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा जिल्ला प्रशासन कार्यालयको टोलीले छापा मारेको छ। 

मंगलबार अपराह्न प्रहरीसहित गएको टोलीले निगमको मौज्दात जाँच गरेर फर्किएको छ।कारण: खाना पकाउने ग्यासमा भएको कृत्रिम अभावमा निगम वा व्यवसायीको संलग्नता पत्ता लगाउन यो कदम चालिएको हो। ग्यासमा कृत्रिम अभाव सिर्जना गर्न निगमबाटै कैफियत भएको गुनासो आएपछि प्रशासनले जाँच गरेको हो।अनुगमन प्रक्रिया: टोलीले निगमबाट बाहिरिने ग्यासका साथै पेट्रोलियम पदार्थको पनि जाँच गर्यो।

 सो क्रममा पेट्रोलियम बोकेको ट्याङ्करलाई नियन्त्रणमा लिएर नाम गरिएको (जाँच गरिएको) छ। नेपाल पेट्रोलियम ढुवानी संघ कोशी प्रदेशका महासचिव रुद्र कार्कीले एउटा ट्याङ्करमा १२ हजार लिटर पेट्रोलियम भए नभएको जाँच गरेर छाडिएको बताए।

 मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आफू व्यस्त भएको बताउँदै धेरै कुरा गर्न भ्याएनन्।सुरक्षा र समन्वय: मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले प्रशासनको टोलीलाई सुरक्षा दिन आयल निगममा प्रहरी गएको बताए।

 उनले खाना पकाउने ग्यासमा देखिएको कृत्रिम अभावबारे बुझ्न प्रशासनको टोली निगममा गएको जानकारी दिए।निगमको भनाइ: नेपाल आयल निगम विराटनगरका प्रमुख पुस्कर कार्कीले जिल्ला प्रशासन कार्यालय र नापतौल कार्यालयबाट संयुक्त रुपमा अनुगमन गरेको स्वीकार गरे।

 खाना पकाउने ग्यासमा देखिएको कृत्रिम अभावका विषयमा अनुगमन टोलीले कोशी, मारुती, प्रिमा, शुभम् र रिजालको गरी पाँच वटा उद्योगलाई ग्यास उपलब्ध गराउँदै आएको उनले बताए।थप अनुसन्धान: निगमले उपलब्ध गराएको ग्यास अनुसार बिक्री भइरहेको छ वा उद्योगहरूले मौज्दात राखेका छन् भन्ने बारे उद्योगहरूमा नै गएर प्रशासनले जाँचबुझ गर्ने स्रोतले बताएको छ।


झापा साउन १९ गते ।  विद्यालय केवल पढाइ हुने ठाउँ मात्र होइन, भविष्य निर्माण हुने आधारभूमि पनि हो । तर पछिल्ला वर्षहरूमा विद्यालय समयअघि र पछाडि विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि, लागूऔषधको बढ्दो प्रभाव र सामाजिक विकृतिले अभिभावक, शिक्षक र स्थानीय समुदायलाई चिन्तित बनाइरहेको छ । यही चिन्तालाई अवसरमा रूपान्तरण गर्ने प्रयासस्वरूप झापाको बाह्रदशी गाउँपालिकामा सामुदायिक विद्यालयलाई सुरक्षित र लागूऔषध दुव्र्यसनमुक्त बनाउने दीर्घकालीन अभियान सुरु गरिएकोछ ।


अभियानको पहिलो पाइला बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीस्थित भगवती आधारभूत विद्यालयबाट चालिएको छ । विद्यालय परिसरमा चारवटा सिसी क्यामेरा जडान गर्दै अभियानको औपचारिक शुभारम्भ गरिएको हो । अभियान अन्तर्गत आगामी दिनमा गाउँपालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयमा क्रमशः सिसी क्यामेरा जडान गरिने योजना बनाइएको छ ।
यो अभियान कुनै सरकारी बजेटबाट होइन, समाजप्रति उत्तरदायित्व बोध गर्ने एक युवा व्यवसायीको सामाजिक अभियन्ताको प्रतिबद्धताबाट सुरु भएको हो ।
  
 बाह्रदशी–२ निवासी तथा एभरेष्ट हाइपर मार्केटका सञ्चालक, विद्यालयका पूर्वविद्यार्थी चान मोहम्मदको सहयोगमा पहिलो चरणको काम सम्पन्न भएको हो । विद्यालयले अभियानको सुरुआत गरिदिएको भन्दै उनलाई सम्मानसमेत गरेको छ । उनको अभियानलाई साथ दिँदै विदालयका पूर्व विद्यार्थी तथा फूलवारी माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल र ओम वुढाथोकीले पनि साथ दिएका छन्  उनीहरुलाई समेत विद्यालय परिवारले सम्मान गरेको छ ।
  
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वशुन्धरा खड्काले अभियानको उद्घाटन गर्दै विद्यालयको सुरक्षा केवल विद्यालयको विषय नभई समाजकै भविष्यसँग जोडिएको प्रश्न भएको बताइन् । उनले विद्यालयमा जडान गरिएका सिसी क्यामेरालाई ‘बिनावर्दीको प्रहरी’को संज्ञा दिँदै प्रविधिको प्रभावकारी प्रयोगले लागूऔषध सेवन, हिंसा, चोरी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । ‘प्रहरी सबै ठाउँमा चौबीसै घण्टा उपस्थित हुन सक्दैन । तर सिसी क्यामेराले निरन्तर निगरानी गर्छ। यसले अपराध हुनुअघि नै रोकथाम गर्न ठूलो भूमिका खेल्छ,’ उनले भनिन् ।

विद्यालय समयपछि बढ्दै गएका अवाञ्छित गतिविधिले जन्मायो अभियान

विद्यालयका प्रधानाध्यापक घनश्याम उप्रेतीका अनुसार विद्यालय सञ्चालन नहुने समयमा केही बालबालिका तथा युवाहरू विद्यालय परिसरमा जम्मा भएर अवाञ्छित गतिविधि गर्ने, विद्यालयको सम्पत्तिमा क्षति पु¥याउने तथा लागूऔषध दुव्र्यसनसँग सम्बन्धित गतिविधि देखिन थालेपछि विद्यालयले सुरक्षाको नयाँ उपाय खोज्न थालेको थियो ।

उनका अनुसार विद्यालयलाई केवल भौतिक रूपमा सुरक्षित बनाउने मात्र होइन, विद्यार्थीमा अनुशासन, अभिभावकमा विश्वास र समुदायमा उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो । ‘विद्यालय सुरक्षित भयो भने विद्यार्थी सुरक्षित हुन्छन्, विद्यार्थी सुरक्षित भए समाज सुरक्षित बन्छ,’ उनले भने ।
प्रहरी, विद्यालय र समुदाय एउटै अभियानमा

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य तथा बाह्रदशी–२ का वडाध्यक्ष भीमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय राजगढका प्रमुख जबरबहादुर बस्नेत विशिष्ट अतिथि थिए । कार्यक्रममा समाजसेवी अमृतबहादुर बुढाथोकी, लुम्बिनी समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रतिनिधि विष्णुप्रसाद भट्टराई, वडा सदस्य इसाक आलम, युवराज ढकाल, पूर्व जनप्रतिनिधि प्रेमबहादुर घिमिरे, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो ।

विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा वरिष्ठ शिक्षक महेश कुमार विष्टले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रधानाध्यापक घनश्याम उप्रेतीले सञ्चालन गरेका थिए ।

पूर्वविद्यार्थीको योगदानले थपियो उत्साह

कार्यक्रमको अर्को प्रेरणादायी पक्ष पूर्वविद्यार्थीहरूको सक्रिय सहभागिता रह्यो । सिसी क्यामेरा उपलब्ध गराएर अभियान सुरु गराएका पूर्वविद्यार्थी चान मोहम्मदले आफूले अध्ययन गरेको विद्यालयको सुरक्षाका लागि सानो योगदान गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले विद्यालयको विकासमा पूर्वविद्यार्थीहरूको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राखे । कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी तथा फूलबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहालले विद्यालयलाई थप एक थान आईपी क्यामेरा उपलब्ध गराउने घोषणा गरे । उनको घोषणाले अभियानलाई थप ऊर्जा दिएको सहभागीहरूले बताएका थिए ।

विद्यालयबाट सुरु भएको सामाजिक अभियान

कार्यक्रममा मोहम्मद, अमृतबहादुर बुढाथोकी, विष्णुप्रसाद भट्टराई, थीरकुमार दाहाल, युवराज ढकाल तथा प्रहरी उपरीक्षक वशुन्धरा खड्कालगायत वक्ताहरूले विद्यालय सुरक्षा, लागूऔषध दुव्र्यसन नियन्त्रण तथा सामुदायिक उत्तरदायित्वका विषयमा विचार राखेका थिए ।
वक्ताहरूले लागूऔषध दुव्र्यसन नियन्त्रण प्रहरीको मात्रै जिम्मेवारी नभई अभिभावक, शिक्षक, स्थानीय सरकार, पूर्वविद्यार्थी र सम्पूर्ण समुदायको साझा दायित्व भएकोमा जोड दिए । उनीहरूको भनाइमा विद्यालयमा प्रविधिको प्रयोगले अपराध नियन्त्रणमा सहयोग पु¥याउने मात्र होइन, विद्यार्थीमा अनुशासन र अभिभावकमा भरोसा पनि बढाउनेछ । अब सबै विद्यालयमा विस्तार
 
कार्यक्रमका अध्यक्ष तथा वडाध्यक्ष भीमबहादुर कार्कीले विद्यालयको रूपान्तरण कुनै एक संस्था वा व्यक्तिबाट सम्भव नहुने उल्लेख गर्दै सबै पक्षले हातेमालो गरे मात्र सामुदायिक विद्यालयलाई गुणस्तरीय र सुरक्षित बनाउन सकिने बताए ।
उनले बाह्रदशी गाउँपालिकाभित्र रहेका १६ वटै सामुदायिक विद्यालयमा चरणबद्ध रूपमा सिसी क्यामेरा जडान गर्ने अभियान सञ्चालनमा सहयोग पु¥याउन आफू तत्पर रहेको बताए । 


विराटनगर साउन १९ गते । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट पुस्तिका सार्वजनिक गर्दै स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । बजेट पुस्तिका सार्वजनिक भएसँगै महानगरले विकास आयोजना, वित्तीय व्यवस्थापन र सेवा प्रवाहलाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने तयारी पूरा गरेको जनाएको छ ।


महानगर परिसरमा आयोजित कार्यक्रममा कार्यबाहक नगर प्रमुख मधुबाबु तिवारी र वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले संयुक्त रूपमा बजेट पुस्तिका सार्वजनिक गरेका थिए ।

कार्यक्रममा कार्यबाहक नगर प्रमुख तिवारीले समयमै बजेट पुस्तिका प्रकाशन हुनुलाई सुशासन, पारदर्शिता र उत्तरदायी वित्तीय व्यवस्थापनको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे । उनका अनुसार समयमै प्रकाशित बजेट पुस्तिकाले स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनलाई थप व्यवस्थित, प्रभावकारी र नतिजामुखी बनाउन सहयोग पुग्नेछ । बजेट तयारीदेखि प्रकाशनसम्म संलग्न कर्मचारी तथा सरोकारवालाको योगदान पनि उनले स्मरण गरे ।

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले बजेट पुस्तिका सार्वजनिक भएसँगै चालु आर्थिक वर्षको बजेट कार्यान्वयन औपचारिक रूपमा सुरु भएको जानकारी दिए । नगर प्रमुखबाट खर्च गर्ने अख्तियारी प्राप्त भइसकेको र महानगरका सबै १९ वटै वडाका सचिवलाई आवश्यक निर्देशन दिइसकिएको उनले बताए ।

उनका अनुसार यस वर्षको बजेट पुस्तिका केवल आय–व्यय र कार्यक्रमको सूचीमा सीमित छैन । महानगरको संस्थागत परिचय, विकास यात्रा, प्राथमिकता, नीति तथा दीर्घकालीन विकास दृष्टिलाई समेत समेटेर पुस्तिका तयार गरिएको छ । यसले नागरिक, जनप्रतिनिधि तथा अन्य सरोकारवालालाई महानगरको समग्र कार्यदिशाबारे स्पष्ट जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले अघिल्ला वर्षको तुलनामा यस पटक बजेट पुस्तिका समयमै सार्वजनिक हुनु सकारात्मक उपलब्धि भएको बताए । उनका अनुसार यसले विकास निर्माणका योजना समयमै अघि बढाउन र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सहयोग गर्नेछ ।

सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले सञ्चालन गरेको कार्यक्रममा शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले पुस्तिका तयार गर्ने क्रममा कुनै त्रुटि वा कमजोरी रहेको भए रचनात्मक सुझाव दिन आग्रह गरे । आगामी संस्करणलाई अझ तथ्यपरक, परिष्कृत र उपयोगी बनाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, वडा नम्बर १३ का अध्यक्ष सूर्यलाल यादव, वडा नम्बर १४ का अध्यक्ष सूर्यनारायण महतो, वडा नम्बर १६ का अध्यक्ष उद्धव भुजेल, वडा नम्बर १८ का अध्यक्ष जितेन्द्रकुमार साहलगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

समयमै बजेट पुस्तिका सार्वजनिक गर्दै विराटनगर महानगरपालिकाले पारदर्शी, उत्तरदायी र परिणाममुखी स्थानीय शासनप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको जनाएको छ । महानगरका अनुसार यसबाट विकास योजनाको कार्यान्वयन, वित्तीय अनुशासन र नागरिकलाई बजेटसम्बन्धी सूचना सहज रूपमा उपलब्ध गराउने प्रणाली थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।


विराटनगर साउन १७ गते । भ्रमण भनेपछि धेरैको मनमा रमाइलो, साथीभाइसँगको हाँसो, फोटो खिच्ने र नयाँ ठाउँ घुम्ने कल्पना आउँछ । तर कहिलेकाहीँ यात्रा केवल भ्रमणमा सीमित हुँदैन, त्यो जीवनभर सम्झिरहने अनुभव बन्छ । जहाँ प्रत्येक पाइला ज्ञानसँग जोडिन्छ, प्रत्येक दृश्यले प्रकृति प्रतिको प्रेम जगाउँछ र प्रत्येक भेटले समाज, संस्कृति तथा इतिहासलाई नजिकबाट बुझ्ने अवसर दिलाउँछ  ।

विराटनगर–५ स्थित एभरेष्ट स्कुलका कक्षा १२ का विद्यार्थीहरूका लागि शनिबारको दिन यस्तै अविस्मरणीय बन्यो । विद्यालयले आयोजना गरेको हाइकिङ टोली मोरङको लेटाङ नगरपालिका–१ स्थित प्राकृतिक तथा ऐतिहासिक महत्व बोकेको राजारानी क्षेत्रमा पुग्यो । यात्रा केवल पहाड चढ्ने वा ताल हेर्नेमा सिमित भएन, प्रकृति, इतिहास, जैविक विविधता, धार्मिक सद्भाव र स्थानीय संस्कृतिको साक्षात्कार गराउने जीवन्त पाठशाला बन्यो ।

शनिबार बिहानै लेटाङ–२ को किराँत चोकबाट सु? भएको पदयात्राले चुरे पहाडको बाटो समात्यो । करिब डेढ घण्टाको उकालो हिँड्दा पसिना बग्यो, खुट्टा थाके, तर मन भने उत्साहले भरिएको थियो । हरियाली जंगल, चराहरूको चिरबिर, चिसो हावा र बाटोभरि फैलिएको प्राकृतिक सुन्दरताले यात्राको थकानलाई बिस्तारै बिर्साइदियो ।

राजारानी ताल पुग्नेबित्तिकै विद्यार्थीहरूको अनुहारमा देखिएको उत्साहले त्यो यात्राको वास्तविक अर्थ झल्काइरहेको थियो । तालको शान्त वातावरण, वरिपरिको घना वन, हरियालीले ढाकिएका डाँडाहरू र प्रकृतिको अनुपम सौन्दर्यले सबैलाई रोमाञ्चित बनायो । 

पानीमै उम्रिएर जीवन बिताइरहेका पानी सिमालीका रूख, राजारानीको अर्को आकर्षण रह्यो । ती रूखमा झुम्मिएका ४६ प्रजातिका सुनाखरीले विद्यार्थीहरूलाई रोमाञ्चित बनायो ।  पुस्तकमा मात्र पढेका जैविक विविधता र वनस्पतिको संसारलाई आफ्नै आँखाले देख्ने अवसर पाउँदा सबैमा उत्साह थप्यो । 

त्यहाँ पुगेपछि उनीहरूले केवल वनस्पति मात्र देखेनन्, प्रकृतिको सन्तुलन, जैविक विविधताको महत्व र संरक्षणको आवश्यकता पनि बुझ्ने मौका पाए । प्रकृतिले आफैं सञ्चालन गरिरहेको विशाल प्रयोगशालामा पुगेजस्तो अनुभूति भएको विद्यार्थीले बताए । 

राजारानी सामुदायिक वनका अध्यक्ष सुजन मगरले त्यस क्षेत्रको इतिहास सुनाइरहँदा विद्यार्थीहरू गम्भीर भएर सुन्दै थिए । राजारानीलाई अजिङ्गरहरूको राजधानी मानिने, धिमाल समुदायको उद्गमस्थलका रूपमा लिइने तथा यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वबारे जानकारी दिँदा विद्यार्थीहरूले पुस्तकबाहिरको इतिहाससँग साक्षात्कार गर्ने अवसर पाए ।

विद्यार्थी निश्चल न्यौपानेले भने, ‘हामी हाइकिङ भनेर आएका थियौँ, तर यहाँ आएपछि यो त खुला विश्वविद्यालयजस्तै लाग्यो । प्रकृति, इतिहास र वातावरणबारे यति धेरै कुरा सिक्न पाइयो कि यो यात्रा कहिल्यै बिर्सन सक्दिनँ ।’ उनका अनुसार उकालो चढ्दाको थकान राजारानीको मनोरम दृश्यले एकैछिनमा हराइदियो । ‘कम्तीमा जीवनमा एकपटक त यहाँ आउनैपर्छ भन्ने महसुस भयो’, उनले भने ।


राजारानी भ्रमणको अर्काे विशेष आकर्षण बन्यो लेटाङ नगरपालिकाले निर्माण गरेको अन्तरधार्मिक पार्क । हिन्दु, बौद्ध, किराँत, इस्लाम र इसाई धर्मबीच सद्भाव र सहअस्तित्वको सन्देश दिने उद्देश्यले निर्माण गरिएको पार्कले विद्यार्थी, शिक्षक र सहभागी सबैको ध्यान तान्यो ।

पत्रकार पुष्पराज थपलियाका अनुसार यो पार्क केवल धार्मिक संरचना होइन, नेपाली समाजको विविधताभित्रको एकताको सशक्त प्रतीक हो । ‘नेपाल अनेक जातजाति, भाषा र धर्मको साझा घर हो । यस्ता संरचनाले हामी सबैलाई एउटै सूत्रमा बाँध्ने प्रेरणा दिन्छ’ उनले भने । 

भ्रमणको अर्काउल्लेखनीय पक्ष थियो स्थानीय सरकारको सहभागिता । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र लावती र उपप्रमुख कृष्णकुमारी निरौला स्वयं उपस्थित भएर विद्यार्थीहरूलाई स्वागत गरे । उनह?ले राजारानी क्षेत्रको प्राकृतिक, जैविक, ऐतिहासिक तथा पर्यटन महत्वबारे विस्तृत जानकारी गराए । 

शिक्षक रिसभ पाण्डेले भने, ‘स्थानीय जनप्रतिनिधिहरू स्वयं उपस्थित भएर यस क्षेत्रबारे जानकारी दिनु अत्यन्त प्रेरणादायी थियो ।’ 

भ्रमणले साथीभाइ र शिक्षक–विद्यार्थीबीचको सम्बन्धलाई पनि अझ प्रगाढ बनाएको विद्यार्थी प्रमन ढकालको बुझाई रह्यो । उनका अनुसार कक्षाकोठामा सीमित सम्बन्धभन्दा बाहिर निस्किएर सबैसँग घुलमिल हुने, एकअर्कालाई बुझ्ने अवसर यो यात्राले प्रदान गर्याे । 

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्ट स्कुलले शैक्षिक भ्रमणलाई मनोरञ्जनमा मात्र सीमित नराखी सिकाइसँग जोड्ने प्रयास गर्दै आएको बताए । उनले लेटाङ नगरपालिकाले देखाएको आत्मीयता र सम्मानले आफूहरू अत्यन्त उत्साहित बनेको समेत बताए । उनले राजारानी क्षेत्रको प्रचारप्रसार, व्यवस्थित पूर्वाधार र निर्माणाधीन सडक समयमै सम्पन्न हुन सके यस क्षेत्रले पर्यटनमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । 

अन्तरधार्मिक पार्कको चर्चा गर्दै उनले भने,‘नेपाल विविधताको देश हो । सबै धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताको सन्देश दिने यस्तो पार्क वास्तवमै दूरदृष्टिको उदाहरण हो । नयाँ पुस्ताले यस्ता स्थानबाट धेरै सिक्न सक्छ ।’

नगर प्रमुख भूपेन्द्र लावतीले राजारानी क्षेत्र साइबेरियाबाट आउने चराहरूको विश्रामस्थल भएको जानकारी दिए ।  यहाँ मयुर, अजिङ्गर, सुनाखरी तथा दुर्लभ वनस्पतिका कारण विभिन्न देशबाट अनुसन्धान टोलीहरू आउने गरेको उनले बताए । उनका अनुसार जैविक विविधता, वनस्पति र वातावरणीय अध्ययनका लागि राजारानी अन्तर्राष्ट्रिय महत्वको गन्तव्य बन्दै गएको छ ।

साथै, दिगो शान्ति र धार्मिक सद्भाव कायम गर्ने उद्देश्यले अन्तरधार्मिक पार्कमा सबै धर्मका गु?हरूको सहभागितामा नियमित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उनले जानकारी दिए । हिन्दु, बौद्ध, इसाई, इस्लाम र किराँत धर्मका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएर शान्ति, सहिष्णुता र सहअस्तित्वको सन्देश फैलाउने प्रयास नेपालकै लागि नौलो अभ्यास हुने उनको विश्वास छ ।

उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ केवल प्राकृतिक सुन्दरताको भूमि मात्र नभई सुन्तला, कफी र चिया उत्पादनका लागि पनि परिचित रहेको बताइन् । समला डाँडा, झर्नाहरू, राजारानी ताल र चुरे क्षेत्रले लेटाङलाई पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य बनाएको उनको भनाइ छ ।

राजारानीको यो हाइकिङले विद्यार्थीहरूलाई एउटा महत्वपूर्ण सन्देश दियो—सिकाइ केवल कक्षाकोठाको चार पर्खालभित्र सीमित हुँदैन । प्रकृतिको काखमा पुगेर इतिहास सुन्न सकिन्छ, जैविक विविधता बुझ्न सकिन्छ, सामाजिक सद्भावको महत्व महसुस गर्न सकिन्छ र स्थानीय समुदायसँग जोडिँदा वास्तविक शिक्षाको अनुभूति गर्न सकिन्छ ।

एभरेष्ट स्कुलको यो शैक्षिक हाइकिङले सही योजना, स्थानीय समुदायको सहकार्य र सिकाइमुखी दृष्टिकोण भए एउटा साधारण भ्रमण पनि जीवनभर सम्झिने अनुभव बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । राजारानी पुगेका विद्यार्थीहरूका लागि शनिवार केवल घुमफिरको दिन थिएन । प्रकृतिसँग संवाद गर्ने, इतिहाससँग परिचित हुने, विविधतामा एकताको सन्देश बुझ्ने र जीवनका नयाँ पाठ सिक्ने अविस्मरणीय यात्रा बन्यो । त्यसैले राजारानी केवल एउटा पर्यटकीय गन्तव्य होइन, ज्ञान, अनुभव र प्रेरणाको खुला  पाठशाला पनि हो ।


झापा  साउन १६ गते । सुरेन्द्र भण्डारी- अडिट व्यवसायलाई केवल हिसाब–किताब परीक्षण गर्ने सीमित कार्यका रूपमा नभई मुलुकको आर्थिक सुशासन, पारदर्शिता र लगानीमैत्री वातावरण निर्माण गर्ने आधारभूत पेशाका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

नेपाल अडिटर्स   एशोसिएसन झापा (अडान) को २१ औ स्थापना दिवसका अवसरमा शनिबार आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरूले अडिट पेशाको बदलिँदो भूमिका, व्यवसायिक नैतिकता, विश्वसनीयता र गुणस्तरीय सेवाको आवश्यकतामाथि विशेष जोड दिएका हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल अडिटर्स   एशोसिएसन अफ नेपाल (AUDAN) का केन्द्रीय उपाध्यक्ष बलराम चौधरीले अडिट व्यवसाय अहिले परम्परागत दायराभन्दा धेरै अघि बढिसकेको बताए। उनले स्थापना दिवस केवल औपचारिक उत्सवको विषय नभई पेशाको वर्तमान अवस्था मूल्याङ्कन गर्दै भविष्यको दिशा तय गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे।

उनले दर्तावाला लेखापरीक्षक (Registered Auditor) को जिम्मेवारी केवल वित्तीय विवरण परीक्षण गरी प्रतिवेदन तयार गर्नेमा सीमित नरहेको उल्लेख गर्दै त्यसबाट व्यवसायी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सरकार र आमसमाजले आर्थिक निर्णय लिन आधार प्राप्त गर्ने बताए।

“हाम्रो प्रतिवेदनप्रति धेरै पक्षको विश्वास जोडिएको हुन्छ,” उनले भने, “त्यसैले इमानदारी, स्वतन्त्रता, निष्पक्षता र गुणस्तरलाई पेशाको मूल आधार बनाउन आवश्यक छ।”

कार्यक्रममा कोशी प्रदेश अध्यक्ष फणिन्द्र पराजुलीले अडिट पेशामा सबैभन्दा ठूलो सम्पत्ति कार्यालय वा भौतिक पूर्वाधार नभई विश्वसनीयता रहेको बताए। उनले पेशागत दक्षता अभिवृद्धिसँगै प्रदेश समितिले सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराउँदै व्यवसायिक आचरणलाई सुदृढ बनाउन निरन्तर तालिम र अभिमुखीकरण आवश्यक रहेको धारणा व्यक्त गरे।

“हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हाम्रो ग्राहक मात्र होइन, उनीहरूको विश्वास हो,” उनले भने, “त्यही विश्वासलाई कायम राख्न गुणस्तरीय सेवा र नैतिक आचरण अपरिहार्य हुन्छ।”

अडान झापाका अध्यक्ष  पर्शुराम वुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका दर्तावाला लेखापरीक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा केन्द्रीय सचिव जयधर्म पोखरेल, केन्द्रीय सदस्य होमनाथ उप्रेती, माधव घिमिरे, केन्दिय सदस्य खडानन्द गुरागाई, कोशी प्रदेशका दिलबहादुर पौडेल, भलाकाजि कठेत  , पूर्व जिल्ला अध्यक्ष  चूडामणि चिमरिया लगायतले अडिट व्यवसायमा देखिएका चुनौती, अवसर तथा क्षमता अभिवृद्धिका विषयमा धारणा राखेका थिए।

सहभागीहरूले नियामकीय व्यवस्था परिवर्तन, डिजिटल वित्तीय प्रणालीको विस्तार तथा व्यवसायिक उत्तरदायित्व बढ्दै गएका कारण अडिट पेशामा निरन्तर अध्ययन, अद्यावधिक ज्ञान र व्यावसायिक सीप विकास अपरिहार्य बन्दै गएको निष्कर्ष निकाले।

कार्यक्रमको सञ्चालन अडान झापाका सचिव खिवलाल अधिकारी ले गरेका थिए। स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षणले अडिट व्यवसायलाई थप उत्तरदायी, विश्वसनीय र गुणस्तरीय बनाउने प्रतिबद्धतालाई पुनः सुदृढ गरेको आयोजकको विश्वास छ।


काठमाडौं साउन १६ गते । सुरेन्द्र भण्डारी- बजारमा अस्वस्थ प्रतिस्पर्धा, गुणस्तरहीन वस्तुको बिक्री, मूल्यमा मनपरी, उपभोक्तामाथिको ठगी तथा सेवा क्षेत्रमा बढ्दो गुनासोका बीच उपभोक्ता अधिकारको प्रभावकारी संरक्षणका लागि कानुनी र संस्थागत सुधार अपरिहार्य रहेको निष्कर्षसहित उपभोक्ता जागरण अभियान ९नेपाल० ले सरकारलाई १६ बुँदे सुझाव बुझाएको छ।

अभियानले शुक्रबार नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्की, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दवाडी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतिराम सापकोटा तथा संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति का सभापति रहवर अन्सारीलाई सुझावपत्र बुझाएको हो।

अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीका अनुसार वर्तमान बजार व्यवस्थापन प्रणालीमा रहेका संरचनागत कमजोरी हटाएर कानुनी तथा संस्थागत सुधार नगरेसम्म संविधानले प्रत्याभूत गरेको उपभोक्ताको अधिकार व्यवहारमा सुनिश्चित हुन सक्दैन।

सुझावपत्र बुझाउन अध्यक्ष भण्डारीसँगै उपाध्यक्ष रोहित दाहाल, महासचिव चिन्तामणि पराजुली, केन्द्रीय सदस्य मुरारी ओस्तीलगायतको टोली सरकारी निकायमा पुगेको थियो।

सरकारले आर्थिक वर्ष २०८३ / ८४ मा १६६ वटा कानुन संशोधन तथा नयाँ कानुन निर्माण गर्ने तयारी गरिरहेको सन्दर्भमा अभियानले त्यसलाई उपभोक्ता संरक्षण प्रणाली सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेको छ। त्यसका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ मा तत्काल संशोधन गरी समयसापेक्ष बनाउनुपर्ने सुझाव दिइएको छ।

अभियानका अनुसार बजारको स्वरूप तीव्र रूपमा परिवर्तन भए पनि नियमन प्रणाली, कानुनी संरचना र बजार अनुगमनको अभ्यास समयअनुकूल परिमार्जन हुन नसक्दा बजार सुशासन कमजोर बन्दै गएको छ। परिणामस्वरूप उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने संवैधानिक अधिकार व्यवहारमा पूर्ण रूपमा उपयोग गर्न सकेका छैनन्।

नेपालको संविधानले प्रत्येक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्ने अधिकार सुनिश्चित गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ ले अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रण, गुणस्तर कायम, क्षतिपूर्ति तथा प्रभावकारी नियमनको व्यवस्था गरे पनि कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको अभियानको निष्कर्ष छ।

कानुनभन्दा कार्यान्वयन कमजोर

अभियानले बजारको समस्या कानुनको अभावभन्दा पनि कार्यान्वयनको कमजोरीसँग जोडिएको जनाएको छ। संघ, प्रदेश र स्थानीय तहमा बजार अनुगमन गर्ने संयन्त्र रहे पनि तिनको कार्यक्षमता, समन्वय र नियमिततामा कमजोरी देखिएको उल्लेख गरिएको छ।

सुझावपत्रमा संघीय शासन व्यवस्थाअनुसार तीन तहका सरकारबीच बजार अनुगमनको जिम्मेवारी स्पष्ट रूपमा विभाजन गर्नुपर्ने उल्लेख छ। कुन तहले कुन व्यवसायिक क्षेत्रको अनुगमन गर्ने भन्ने विषय ऐनमै स्पष्ट नहुँदा अधिकार क्षेत्र दोहोरिने, कतिपय क्षेत्रमा नियमन नै नहुने र बजार व्यवस्थापन प्रभावकारी बन्न नसकेको अभियानको भनाइ छ।

उपभोक्ता अदालतलाई थप अधिकार

अभियानले उपभोक्ता अदालतलाई प्रभावकारी बनाउन अनुसन्धान र न्यायिक प्रक्रियाबीच स्पष्ट विभाजन आवश्यक रहेको औँल्याएको छ।

सुझावअनुसार बजार अनुगमन गर्ने निकायले अनुसन्धान र प्रमाण संकलन गर्ने तथा अन्तिम फैसला, जरिवाना र सजाय सम्बन्धी अधिकार उपभोक्ता अदालतलाई मात्र दिनुपर्ने व्यवस्था हुनुपर्छ। यसले न्यायिक प्रक्रिया निष्पक्ष, छरितो र विश्वसनीय बन्ने अभियानको विश्वास छ।

त्यसैगरी खाद्य, औषधि, स्वास्थ्य, सूचना प्रविधि, निर्माण सामग्री, बैंकिङ तथा अन्य प्राविधिक विषयका विवादमा अदालतले सम्बन्धित क्षेत्रका विज्ञलाई आमन्त्रित सदस्यका रूपमा सहभागी गराउने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव पनि दिइएको छ।

प्रमुख जिल्ला अधिकारीको भूमिका पुनःस्थापना गर्न माग

उपभोक्ता संरक्षण ऐन, २०५४ मा प्रमुख जिल्ला अधिकारीको समन्वयकारी भूमिका रहे पनि २०७५ को ऐनमा त्यो व्यवस्था हटाइएको थियो। त्यसपछि जिल्ला तहका नियामक निकायबीच समन्वय कमजोर भएको अभियानको निष्कर्ष छ।

यसै कारण प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी प्रमुख, संघ, प्रदेश र स्थानीय तहका निरीक्षण अधिकृत सदस्य रहने गरी जिल्ला बजार अनुगमन समन्वय समिति गठन गर्नुपर्ने प्रस्ताव गरिएको छ। यस्तो संयन्त्रले संयुक्त अनुगमन, सूचना आदानप्रदान तथा कारबाहीलाई प्रभावकारी बनाउने विश्वास अभियानले व्यक्त गरेको छ।

दण्ड प्रणाली व्यवहारिक बनाउनुपर्ने

अभियानले अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रणका लागि कडा कानुन आवश्यक भए पनि दण्ड व्यवस्था व्यवहारिक हुनुपर्नेमा जोड दिएको छ।

जरिवाना, कैद सजाय तथा अन्य कानुनी प्रावधान संशोधन गर्दा सरोकारवालासँग व्यापक छलफल गरी कानुनको सिद्धान्तसँग मेल खाने र व्यवहारमा लागू गर्न सकिने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।

वस्तु फिर्ता गर्ने अधिकार, अनिवार्य बिल जारी गर्ने व्यवस्था तथा उपभोक्ताको प्रमाण सुरक्षित गर्ने विषयमा पनि समयानुकूल सुधार आवश्यक रहेको अभियानको भनाइ छ।

वर्षभरि नियमित बजार अनुगमनको माग

नेपालमा बजार अनुगमन अधिकांश समय चाडपर्व केन्द्रित हुने गरेको उल्लेख गर्दै अभियानले वर्षभरि कार्ययोजनासहित नियमित अनुगमन सञ्चालन गर्न आग्रह गरेको छ।

केन्द्रीय, प्रदेश र स्थानीय बजार अनुगमन समितिले वार्षिक कार्ययोजना तयार गरी त्यसको कार्यान्वयन सार्वजनिक गर्नुपर्ने तथा विशेषगरी श्रावण महिनाभित्रै दशैं, तिहारलगायत चाडपर्व लक्षित बजार हस्तक्षेप योजना तयार गर्नुपर्ने सुझाव दिइएको छ।

यसले कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न सहयोग पुग्ने अभियानको विश्वास छ।

गुनासो सुनुवाइलाई प्राथमिकता

अभियानले उपभोक्ताको गुनासो सुनुवाइलाई बजार सुशासनको आधार मानेको छ। उजुरी दर्ता, अनुसन्धान, कारबाही र क्षतिपूर्ति प्रक्रियालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्ने सुझाव दिइएको छ।

सेवा क्षेत्र पनि अनुगमनको दायरामा

हाल बजार अनुगमन मुख्यतः वस्तुको कारोबारमा केन्द्रित रहेको भन्दै अभियानले सेवा क्षेत्रलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएको छ।

शिक्षा, स्वास्थ्य, बैंकिङ, बीमा, यातायात, होटल, पर्यटन, दूरसञ्चार, डिजिटल सेवा तथा ई–कमर्स क्षेत्रमा उपभोक्ताका गुनासा बढ्दै गएको उल्लेख गर्दै ती क्षेत्रमा पनि नियमित बजार अनुगमन गर्नुपर्ने सुझाव दिइएको छ।

अभियानका अनुसार आधुनिक अर्थतन्त्रमा सेवा क्षेत्रको विस्तार तीव्र गतिमा भइरहेका बेला वस्तुमा मात्र सीमित नियमनले उपभोक्ताको अधिकारको पूर्ण संरक्षण गर्न सक्दैन।

नीतिगत सुधारको अवसर

सरकारले आगामी आर्थिक वर्षमा ठूलो संख्यामा कानुन संशोधन गर्ने तयारी गरिरहेका बेला उपभोक्ता संरक्षण ऐनलाई समयानुकूल परिमार्जन गर्ने उपयुक्त अवसर सिर्जना भएको अभियानको निष्कर्ष छ।
कानुनी अस्पष्टता हटाउने, तीन तहका सरकारबीच जिम्मेवारी स्पष्ट गर्ने, उपभोक्ता अदालतलाई प्रभावकारी बनाउने, सेवा क्षेत्रलाई अनुगमनको दायरामा ल्याउने र बजार अनुगमनलाई नियमित तथा परिणाममुखी बनाउने हो भने उपभोक्ता अधिकारको संरक्षणसँगै समग्र बजार प्रणालीमा पारदर्शिता, उत्तरदायित्व र सुशासन स्थापना गर्न महत्वपूर्ण योगदान पुग्ने अभियानको विश्वास छ।

बजार अर्थतन्त्रको सफलता वस्तुको उपलब्धताले मात्र निर्धारण हुँदैन। गुणस्तर, निष्पक्ष प्रतिस्पर्धा, पारदर्शी कारोबार र उपभोक्ताको विश्वास नै स्वस्थ बजारका आधार हुन्। उपभोक्ता जागरण अभियानले सरकारसमक्ष प्रस्तुत गरेको सुझावले यही पक्षलाई केन्द्रमा राख्दै कानुन, संस्था र कार्यान्वयनबीचको दूरी घटाउन आग्रह गरेको छ। अब सरकारले यी सुझावलाई आगामी कानुनी तथा नीतिगत सुधारमा कत्तिको समेट्छ भन्ने विषयले नेपालको उपभोक्ता अधिकार संरक्षणको भावी दिशा निर्धारण गर्नेछ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.