Websoft University

अडान झापाको २१ औ स्थापना दिवसमा व्यवसायिक दक्षता, विश्वसनीयता र गुणस्तरमा जोड


झापा  साउन १६ गते । सुरेन्द्र भण्डारी- अडिट व्यवसायलाई केवल हिसाब–किताब परीक्षण गर्ने सीमित कार्यका रूपमा नभई मुलुकको आर्थिक सुशासन, पारदर्शिता र लगानीमैत्री वातावरण निर्माण गर्ने आधारभूत पेशाका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

नेपाल अडिटर्स   एशोसिएसन झापा (अडान) को २१ औ स्थापना दिवसका अवसरमा शनिबार आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरूले अडिट पेशाको बदलिँदो भूमिका, व्यवसायिक नैतिकता, विश्वसनीयता र गुणस्तरीय सेवाको आवश्यकतामाथि विशेष जोड दिएका हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल अडिटर्स   एशोसिएसन अफ नेपाल (AUDAN) का केन्द्रीय उपाध्यक्ष बलराम चौधरीले अडिट व्यवसाय अहिले परम्परागत दायराभन्दा धेरै अघि बढिसकेको बताए। उनले स्थापना दिवस केवल औपचारिक उत्सवको विषय नभई पेशाको वर्तमान अवस्था मूल्याङ्कन गर्दै भविष्यको दिशा तय गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे।

उनले दर्तावाला लेखापरीक्षक (Registered Auditor) को जिम्मेवारी केवल वित्तीय विवरण परीक्षण गरी प्रतिवेदन तयार गर्नेमा सीमित नरहेको उल्लेख गर्दै त्यसबाट व्यवसायी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सरकार र आमसमाजले आर्थिक निर्णय लिन आधार प्राप्त गर्ने बताए।

“हाम्रो प्रतिवेदनप्रति धेरै पक्षको विश्वास जोडिएको हुन्छ,” उनले भने, “त्यसैले इमानदारी, स्वतन्त्रता, निष्पक्षता र गुणस्तरलाई पेशाको मूल आधार बनाउन आवश्यक छ।”

कार्यक्रममा कोशी प्रदेश अध्यक्ष फणिन्द्र पराजुलीले अडिट पेशामा सबैभन्दा ठूलो सम्पत्ति कार्यालय वा भौतिक पूर्वाधार नभई विश्वसनीयता रहेको बताए। उनले पेशागत दक्षता अभिवृद्धिसँगै प्रदेश समितिले सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराउँदै व्यवसायिक आचरणलाई सुदृढ बनाउन निरन्तर तालिम र अभिमुखीकरण आवश्यक रहेको धारणा व्यक्त गरे।

“हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हाम्रो ग्राहक मात्र होइन, उनीहरूको विश्वास हो,” उनले भने, “त्यही विश्वासलाई कायम राख्न गुणस्तरीय सेवा र नैतिक आचरण अपरिहार्य हुन्छ।”

अडान झापाका अध्यक्ष  पर्शुराम वुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका दर्तावाला लेखापरीक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा केन्द्रीय सचिव जयधर्म पोखरेल, केन्द्रीय सदस्य होमनाथ उप्रेती, माधव घिमिरे, केन्दिय सदस्य खडानन्द गुरागाई, कोशी प्रदेशका दिलबहादुर पौडेल, भलाकाजि कठेत  , पूर्व जिल्ला अध्यक्ष  चूडामणि चिमरिया लगायतले अडिट व्यवसायमा देखिएका चुनौती, अवसर तथा क्षमता अभिवृद्धिका विषयमा धारणा राखेका थिए।

सहभागीहरूले नियामकीय व्यवस्था परिवर्तन, डिजिटल वित्तीय प्रणालीको विस्तार तथा व्यवसायिक उत्तरदायित्व बढ्दै गएका कारण अडिट पेशामा निरन्तर अध्ययन, अद्यावधिक ज्ञान र व्यावसायिक सीप विकास अपरिहार्य बन्दै गएको निष्कर्ष निकाले।

कार्यक्रमको सञ्चालन अडान झापाका सचिव खिवलाल अधिकारी ले गरेका थिए। स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षणले अडिट व्यवसायलाई थप उत्तरदायी, विश्वसनीय र गुणस्तरीय बनाउने प्रतिबद्धतालाई पुनः सुदृढ गरेको आयोजकको विश्वास छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.