Websoft University
July 2026


झापा साउन ४ गते ।  शिक्षा तथा खेलकुद मन्त्रालयले हालै जारी गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा ‘सञ्चालन तथा व्यवस्थापन’ नियमावली, २०८३ का केही व्यवस्थाप्रति बिर्तामोड उद्योग वाणिज्य संघले गम्भीर असन्तुष्टि जनाएको छ । संघले नियमावलीका कतिपय प्रावधानले वर्षौंदेखि सञ्चालनमा रहेका शैक्षिक परामर्श व्यवसायलाई प्रत्यक्ष असर पार्ने भन्दै तत्काल पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ ।

संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा पर्याप्त अध्ययन, निजी क्षेत्रसँगको परामर्श र सरोकारवालासँग संवादबिनै नियमावली लागू गरिएकाले त्यसका केही व्यवस्था व्यवहारिक नभएको उल्लेख गरेको छ । संघका अनुसार यस्ता प्रावधानले वैधानिक रूपमा सञ्चालन भइरहेका शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षालाई थप जटिल, खर्चिलो र निरुत्साहित बनाउने जोखिम बढाएको छ ।
 
संघले नेपालमा सञ्चालित शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र र तयारी कक्षा सञ्चालन गर्ने संस्थाले लामो समयदेखि विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श, भाषा सीप विकास तथा उच्च शिक्षाको तयारीमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनाएको छ । यस्ता संस्थाले हजारौं युवालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी उपलब्ध गराउनुका साथै वैदेशिक मुद्रा आर्जन, कर राजस्व वृद्धि र निजी क्षेत्रको लगानी प्रवद्र्धनमा समेत उल्लेखनीय भूमिका निर्वाह गरिरहेको संघको भनाइ छ ।

विज्ञप्तिअनुसार नियमावलीमा समेटिएका धरौटी, पूर्वाधार, संस्थाको वर्गीकरण, अनुमति तथा नवीकरण प्रक्रिया र प्रशासनिक दायित्वसँग सम्बन्धित केही प्रावधान व्यवहारिक नदेखिएको संघको निष्कर्ष छ । यस्ता व्यवस्थाले लगानीको सुरक्षा कमजोर बनाउनुका साथै सेवा प्रवाह र व्यवसाय सञ्चालनमा प्रतिकूल असर पर्ने संघले औंल्याएको छ ।

संघले अहिले मुलुक आर्थिक मन्दी, लगानीमा आएको सुस्तता, रोजगारी अभाव र निजी क्षेत्रको कमजोर मनोबलसँग जुधिरहेका बेला थप नीतिगत जटिलता सिर्जना गर्नु उपयुक्त नहुने जनाएको छ । यस्ता व्यवस्था कायम रहे व्यवसाय विस्तारभन्दा व्यवसाय संकुचन, लगानी पलायन र बेरोजगारी वृद्धि हुने जोखिम बढ्ने संघको ठहर छ ।
संघका अनुसार यसको प्रभाव शैक्षिक परामर्श व्यवसायमा मात्र सीमित रहने छैन। विद्यार्थी, अभिभावक, निजी क्षेत्र र समग्र शिक्षा प्रणालीमा समेत दीर्घकालीन नकारात्मक असर पर्ने सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ।

बिर्तामोड उद्योग वाणिज्य संघले सम्बन्धित मन्त्रालय र अन्य सरोकारवाला निकायलाई तत्काल अर्थपूर्ण संवाद अघि बढाउन आग्रह गरेको छ। विवादित तथा अव्यावहारिक प्रावधान पुनरावलोकन गरी आवश्यक संशोधन गर्न, व्यवसायमैत्री, व्यवहारिक र कार्यान्वयनयोग्य नियमावली तयार गर्न संघले जोडदार माग गरेको छ।
संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडाले हस्ताक्षर गरेको विज्ञप्तिमा शिक्षा क्षेत्रको गुणस्तर कायम राख्दै निजी क्षेत्रको लगानी, रोजगारी र सेवा प्रवाहलाई संरक्षण गर्ने गरी नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरिएको छ ।


विराटनगर  साउन ४ गते । प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार विराटनगरलाई कर्मथलो बनाएर लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका विराटनगरका पत्रकार पुष्पराज थपलियालाई प्रदान गरिने भएको छ । 

पत्रकारिता क्षेत्रमा थपलियाले पुर्‍याएको योगदानको कदर गर्दै यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रेस चौतारी मोरङले जनाएको छ। पुरस्कार आगामी साउन १५ गते आयोजित विशेष कार्यक्रममा प्रदान गरिनेछ।

प्रेस चौतारी मोरङको बैठकले थपलियालाई १५ हजार ५ सय राशीको पत्रकारिता पुरस्कार दिने निर्णय भएको सचिव नवराज भट्टराईले जानकारी दिए ।

प्रेस चौतारी मोरङका संस्थापक सदस्य समेत समेत रहेका थपलिया विराटनगरबाट सञ्चालित खबर पूर्वाञ्चल अनलाइन समाचार पोर्टलका सञ्चालक हुन् । 

जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि दिपेन नेउपाने, महेन्द्र विष्ट, ललिता भट्टराई, नरेन्द्र दाहाल, केदार चौहान, बन्धु पोखरेल, धर्मराज ढकाल, गणेश लम्साल, भूपेन्द्र तिम्सीना, रामचन्द्र अधिकारी, कमल रिमाल, किशोर बुढाथोकी, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी, सुदीप कोइराला लगायग पुरस्कृत भईसक्नु भएको    छ ।


काठमाण्डैा  साउन ४ गते । लिटिल एन्जल्स स्कुलले रोमाञ्चक फाइनल खेलमा काष्ठमण्डप विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको
 आईविबी किड्स कप २०२६ को उपाधि जितेको   छ । फाइनल खेल आइतबार१२ जुलाई २०२६ मा सम्पन्न भएको थियो ।

आईविबी नेपालको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता १० वर्षमुनिका बाल फुटबल खेलाडीहरूलाई समेटेर आयोजना गरिएको अन्तरविद्यालय फुटबल प्रतियोगिता हो । फिफा विश्वकपको अवधारणाबाट प्रेरित प्रतियोगितामा ज्ञानोदय बालबाटिका स्कुलडीएभी स्कुलदरबार हाई स्कुलप्राइम ग्लोबल स्कुलकाष्ठमण्डप विद्यालयलिटिल एन्जल्स स्कुल र क्याम्पियन स्कुललगायत आठ विद्यालयले आठ फरक देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए । यस अवधारणाले बाल खेलाडीहरूलाई प्रतिस्पर्धाटिमवर्कखेल भावना र उत्साहले भरिएको सानो विश्वकपको अनुभव प्रदान गरेको थियो ।

लिटिल एन्जल्स स्कुल र काष्ठमण्डप विद्यालयबीच भएको फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो । लिटिल एन्जल्स स्कुलले ३–२ को जित निकाल्दै आईविबी किड्स कप २०२६ को उपाधि उचाल्यो भने काष्ठमण्डप विद्यालय प्रथम उपविजेता बन्यो ।

समापन समारोहमा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो । लिटिल एन्जल्स स्कुलका आशुतोष पाण्डेप्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भए भने काष्ठमण्डप विद्यालयका सम्राट विक्रम शाहले उत्कृष्ट गोलरक्षकको उपाधि प्राप्त गरे ।

समापन समारोहका सम्माननीय अतिथि नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले विजेता टोलीलाई ट्रफी प्रदान गरेका थिए । त्यसैगरीनेपाल खेलकुद पत्रकार मञ्चका प्रथम उपाध्यक्ष प्रज्वल ओलीले प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत पुरस्कार प्रदान गरेका थिए । उनले सर्वोत्कृष्ट खेलाडी (एमभीपी) तथा उत्कृष्ट गोलरक्षकको ट्रफी विजेताहरूलाई हस्तान्तरण गरे ।

समापन समारोहलाई सम्बोधन गर्दै निरञ्जन अधिकारीले यस पहलको प्रशंसा गर्दै बालबालिका तथा ग्रासरुट खेलकुदमा लगानीको महत्त्वमाथि प्रकाश पारे ।

हाम्रो देशका लागि यस्तो कार्यक्रम आवश्यक थियो । यो हाम्रो भविष्यको तयारी हो । यस्तो उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा म आईविबी नेपाललाई धन्यवाद दिन चाहन्छु,” उनले भने ।

उनले प्रतियोगितामा सहभागी सबै आठ टोलीको प्रदर्शनको समेत प्रशंसा गर्दै खेलाडीहरूले प्रतियोगिताभर देखाएको उत्साहप्रतिभा र प्रतिस्पर्धात्मक भावनाको सराहना गरे ।

आईविबी किड्स कप २०२६ को औपचारिक सुरुवात ९ जुलाई २०२६ मा भएको थियो । उद्घाटन समारोहमा प्रख्यात हवाई उड्डयनकर्मी तथा सेलिब्रिटीक्याप्टेन विजय लामा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

उद्घाटन समारोहमा युवा खेलाडीहरूलाई सम्बोधन गर्दै क्याप्टेन विजय लामाले उनीहरूको उत्साह र खेल भावनाको प्रशंसा गरेका थिए ।

यो एक अद्भुत कार्यक्रम हो । यी प्रतिभाशाली बालबालिकाले देखाएको खेल भावना देखेर म अत्यन्त प्रभावित भएको छु । उनीहरू हाम्रो भविष्य हुन् र एक दिन उनीहरूलाई फिफा विश्वकपमा खेलिरहेको देख्न पाउने आशा गर्दछौं,” उनले भने ।

आईविबी किड्स कप २०२६ को सफल समापनले बालबालिकाविद्यालयपरिवार र समुदायसँग आईविबी नेपालको सहकार्य र संलग्नतामा एउटा महत्त्वपूर्ण उपलब्धि थपेको छ । विजेता निर्धारण गर्नु मात्र प्रतियोगिताको उद्देश्य थिएनयसले युवा खेलाडीहरूलाई प्रतिस्पर्धा गर्नेमित्रता निर्माण गर्नेआत्मविश्वास विकास गर्ने तथा टिमवर्क र निष्पक्ष खेलका मूल्यहरू अनुभव गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गरेको थियो ।



विराटनगर  साउन  ३ गते । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आज स्वागत गरिएको छ । विराटनगरको गोग्राहा चोक स्थित कन्चनजङ्घा बैंक्वेटमा आयोजित स्वागत समारोहमा कक्षा १२ का विद्यार्थीले विभिन्न कार्यक्रम गर्दै नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा. डा. बिजुकुमार थपलीयाले विद्यार्थीहरुको आफ्नै मेहनतले सफलता प्राप्ति हुने बताउनुभयो । विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण बनाउने सम्म हो भन्दै उहाँले त्यहाँबाट कति ज्ञान लिने भन्ने विद्यार्थीमा भर पर्ने बताउनुभयो । ‘

तिर्खाएको ब्यक्तिलाई कुवा सम्म लगिदिने हो, कति खाने वा नखाने उसैमा निर्भर हुन्छ’, प्रा.डा. थपलीयाले भन्नुभयो,‘ आफूलाई कस्तो बनाउने भन्ने विद्यार्थीमा निर्भर हुने बताउनुभयो ।  एभरेष्टले उत्कृष्ट शैक्षिक वातावरण बनाएको भन्दै उहाँले विद्यार्थीहरुलाई त्यसको अधिकतम सदुपयोग गर्न समेत सुझाव दिनुभयो । उहाँले पछिल्लो समय समाजिक सञ्जाल र अल्गोरिदमले युवापुस्तालाई अल्मलाईरहेको चर्चा गर्दै उहाँले क्षणिक लोकप्रियताको पछि नलागी युगौंयुग लोकप्रिय कसरी बन्न सकिन्छ भन्नेमा ध्यान दिन आग्रह गर्नुभयो । 

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीको शैक्षिक तथा सर्वाङ्गिण विकासका लागि प्रशासनिक वा व्यवस्थापकीय दृष्टिकोणबाट कुनै कमि हुन नदिने भन्दै हाम्रा विद्यार्थी पनि सोहि अनुसार अब्बल होउन भन्ने आशा रहेको बताउनुभयो । विगतका नतिजाहरुले पनि एभरेष्टका विद्यार्थी अब्बल रहेको पुष्टि गरिसकेको भन्दै उहाँले अहिलेका विद्यार्थीहरुले पनि प्रमाणित गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रिन्सिपल पुरीले अहिले कुनै एक विद्यालय, एक शहर वा एउटा देशका विद्यार्थीबिचको प्रतिष्पर्धा नभएर विश्वभरकाविद्यार्थीहरुबिचको प्रतिष्पर्धाको युग रहेको चर्चा गर्दै विद्यार्थीले पनि सोहि अनुसार आफूलाई तयार गर्नुपर्ने सुझाव दिनुभयो । ‘हामीले हाम्रा विद्यार्थीले विश्वसँग प्रतिष्पर्धा गर्नुपर्छ भनेर नै सोहि अनुसारको वातावरण बनाएका छौं,‘ उहाँले भन्नुभयो, ‘डिजी स्कुल, एआईको अध्यापन तथा अन्तर्राष्ट्रिय प्ल्याटफर्मको सहभागिताहरु त्यसका उदाहरण हुन् ।’  

प्रिन्सिपल पुरीले अहिलेको जमाना सूचना प्रविधि र ए आईको जमाना रहेको भन्दै एआईको सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले शैक्षिक ज्ञानमात्र पर्याप्त नहुने भन्दै सम्बन्धित विषयका अतिरिक्त कुराहरुपनि सिक्न र सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत गाएर , नृत्य प्रस्तुत गरेर र वाद्यवादन बजाएर मनोरञ्जन समेत गरेका छन् । कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, विद्यालयका विभागीय प्रमुखहरु, शिक्षक कर्मचारीलगायतको उपस्थिती रहेको थियो । 
यसैबिच विद्यालयमा एक दशक भन्दा बढी समय प्रशासनका क्षेत्रमा काम गर्नुभएका कर्मचारी कृष्णकुमार ठाकुरलाई सम्मान समेत गरिएको छ । 


काठमाण्डैा साउन १ गते । खजुरा गाउँपालिकाका बाँकेको आ.व. २०८२/०८३ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा असार ३१ गते सम्पन्न सुनुवाईमा ९ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । जवाफदेहि बक्ता र सहभागिहरु बिचको लामो प्रश्नोत्तर पश्चात उक्त साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको हो । सार्वजनिक सुनुवाइमा सहभागिहरुले सार्वजनिक सुनुवाइ लगायत पालिकाले सञ्चालन गर्ने सार्वजनिक सरोकारका कार्यक्रममा अधिकांश जनप्रतिनिधिहरू उपस्थित नहुने गरेको। 


खजुरा गाउँपालिकाका विभिन्न विद्यालयमा सुरक्षित खानेपानीको समस्या रहेको, कतिपय विद्यालयमा विद्यार्थीको संख्या अनुसार पर्याप्त फर्निचर नभएकाले पठनपाठन प्रभावित भएको, विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि आवश्यक बजेट तथा सामग्रीको अभाव रहेको, वडा नं. २ स्थित बावाधाममा शौचालयको अभावका कारण स्थानीयलाई समस्या भएको, पालिकाले सञ्चालन गर्ने सीपमूलक तालिमहरू प्रभावकारी हुन नसकेको, तालिमपछि सहभागीहरूलाई रोजगारी वा स्वरोजगारसँग जोड्न नसकिएको, सार्वजनिक सडक अतिक्रमणका कारण आवतजावतमा समस्या भएको, विद्यालयहरूको शैक्षिक गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको भन्दै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने, जलवायु परिवर्तन, प्लाष्टिकजन्य फोहोर तथा वातावरणीय प्रदूषण बढ्दै गएको, फोहोरमैला व्यवस्थापन प्रभावकारी नभएको, नियमित संकलन तथा व्यवस्थापनमा समस्या रहेको लगायतका प्रश्न तथा गुनासो राखेका थिए ।

त्यसैगरी केही विद्यालयहरूले कानुन विपरीत विभिन्न शीर्षकमा शुल्क लिने गरेको गुनासो गर्दै त्यस्ता विद्यालयमाथि पालिकाले के कारबाही गर्नुपर्ने, जनता माध्यमिक विद्यालय नजिक रहेको अव्यवस्थित विद्युत् पोल र तारका कारण दुर्घटनाको जोखिम रहेको भन्दै शीघ्र व्यवस्थापन गर्नुपर्ने पालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कमजोर रहेको, सवारी दुर्घटनाको जोखिम बढेको भन्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न सहभागिहरुले सुझाव दिएका थिए भने युवाहरूमा लागूऔषध दुव्र्यसन बढ्दै गएको भन्दै यसको नियन्त्रण तथा सचेतनामूलक अभियान सञ्चालन गर्न पालिकाले विशेष पहल गर्नुपर्ने माग गरेका थिए । सहभागिहरुले गरेको प्रश्नको गाउँपालिका अध्यक्ष डम्बर बि.क., उपाध्यक्ष मञ्जु मल्ल, वडा अध्यक्षहरु र शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।

यसरी घोषणा गरिएका प्रतिबद्धताहरुमा सार्वजनिक सुनुवाइ लगायत सार्वजनिक सरोकारका कार्यक्रम सबै जनप्रतिनिधिहरूको उपस्थिति नभएको विषयमा व्यापक गुनासो आएकाले यस विषयमा कार्यपालिकामा छलफल गरी कार्यक्रममा उपस्थित हुन निर्देशन दिने, खजुरा गाउँपालिकाका विभिन्न विद्यालयमा खानेपानी समस्या रहेकाले समस्या समाधानका लागि, पहल गर्ने, फर्निचरको अभाव भएका बिद्यालयमा फर्निचरको ब्यवस्था गर्ने, बिद्यालयहरुमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि पालिकाबाट सहयोग गर्ने, वडा नं. २ को बावाधाममा शौचालय निर्माणका लागि गाउँपालिकाबाट सहयोग गर्ने र पालिकाले सञ्चालन गर्ने सिपमुलक तालिमहरुको प्रभावकारीता अभिबृद्धी, सिपमुलक तालिमका सहभागिहरुलाइ व्यवसायमा संलग्न गराउने गरी आवश्यक पहल गर्ने रहेका छन् ।

त्यसैगरी पालिका अन्तर्गत सार्वजनिक सडकहरुको अतिक्रमण हटाउन आवश्यक पहल गर्ने र शिक्षाको गुर्णस्तरिता अभिबृद्धी गर्न आ–आफ्नो तर्फबाट पहल गर्ने, जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलनका साथै प्लाष्टिक को प्रयोगलाइ निरुत्साहित गर्न आवश्यक नीति, नियम तर्जुमा गरी कार्यान्वयन गर्ने, फोहोरमैला व्यवस्थापनका लागि आवश्यक पहल गर्ने, शिक्षा सम्बन्धीत ऐन, कानुन विपरित कुनैपनि बिद्यालयले विद्यार्थिबाट शुल्क लिएको पाईएमा वा गुनासो प्राप्त भएमा आवश्यक कार्वाही गर्ने, जनता मा.वि. नजिकैको सडकमा रहेको विजुलीको पोलका तारहरु साउन ५ भित्र ब्यवस्थित गर्ने, पालिका क्षेत्रको ट्राफिक ब्यवस्थापनका लागि आवश्यक कदम चाल्ने, लागु औषध दूब्र्यसन बिरुद्ध सचेतनामुलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाइमा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए भने जनसम्पर्क अधिकृत माधव काकीले नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा गरेका थिए । पालिकाले वर्षभरी सम्पन्न गरेका योजना क्रियाकलापहरुको प्रगति प्रतिबेदन पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेललले प्रस्तुत गरेका थिए ।


विराटनगर असार ३० गते । क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटमा विशेषज्ञ भित्रिएका छन् । नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठले अबदेखि हस्पिटलको फिजियोथेरापी विभागबाट सेवा दिने हस्पिटलले जनाएको छ ।

शल्यक्रिया र क्यान्सरको उपचार गराइरहेका तथा उपचार पश्चातको बिरामीहरू सामान्यतयाः शारीरिक दुर्बलता, गतिविधिको सीमा र पुनः आत्मविश्वास खोजेर अलमलिने हुन्छन् । नेपालमा यही समस्याको समाधान गर्ने कुनै विशेषज्ञ सेवा अहिलेसम्म उपलब्ध थिएन । अस्मिता श्रेष्ठको आगमन यो महत्त्वपूर्ण खाडल भरिने विश्वास हस्पिटलले लिएको छ ।

अंकोलोजी फिजियोथेरापीमा अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा हासिल गर्नु भएको अस्मिता श्रेष्ठ बीपीटी र एमपीटी—अंकोलोजी फिजियोथेरापीको विशेषज्ञता नेपालमा अरु कसैले पनि नपाएको हस्पिटलको दाबी छ। श्रेष्ठले काठमाडौं मेडिकल कलेज स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलबाट माष्टर्स अफ फिजियोथेरापी (एमपीटी—अंकोलोजी थेरापी) गरेकी थिइन् ।

 स्नातक अध्ययनपश्चातको पाँच वर्षमा उनले विभिन्न किसिमका बिरामीहरूलाई फिजियोथेरापी सेवा प्रदान गरेको र तत्पश्चात क्यान्सर बिरामीहरूमा रुची बढेपद्धि भारतको कर्नाटकस्थित केएलई एकेडेमी अफ हायर एजुकेशन एण्ड रिसर्चबाट एमपीटी—अंकोलोजी फिजियोथेरापीको अध्ययन गरेकी हुन् । उनले क्यान्सर बिरामीहरूलाई सर्जरी र किमोथेरापी पश्चातको शारीरिक पुनःनिर्माणमा वैज्ञानिक र प्रभावकारी फिजियोथेरापी सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । 

‘कुहिनो, घुँडा, काँख र अन्य अंगको गतिविधि सुधार, शारीरिक शक्ति वृद्धि र दैनिक कामकाज सामान्य गर्न उहाँले व्यक्तिगत र समूह आधारित थेरापी सेवा उपलब्ध गराउनु हुनेछ,’ अस्पतालले भनेको छ, ‘क्यान्सर रोगका बिरामीको उपचार यात्रा पूर्ण भइसकेपछि नयाँ जीवन सुरु हुन्छ । 

शारीरिक पुनःर्स्थापना, कार्यक्षमतामा सुधार र आत्मविश्वास पुनः लाभ— यो सबै क्यान्सर सर्वाइभरका लागि महत्त्वपूर्ण हुन्छ ।’ क्यान्सरका बिरामीहरुले अंकोलोजी फिजियोथेरापी विशेषज्ञ श्रेष्ठले आइतबारदेखि शुक्रबार बिहान ९ देखि साँझ ५ बजेसम्म बिरामीहरूलाई परामर्श तथा उपचार सेवा प्रदान गर्नेछन् ।

 हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । हाल विभागले दैनिक १०० भन्दा बढी बिरामीलाई सेवा दिन सक्ने क्षमता विकास गरिएको छ । विभागमा अर्थो, स्पोर्ट्स, न्यूरोलोजी, कार्डियो, बालबालिका तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ टोली काम गर्दै आएको छ ।

 हस्पिटलमा टेन्स थेरापी, अल्ट्रासाउन्ड, लेजर थेरापी, गेट ट्रेनर, मिरर थेरापी र मल्टी–स्टेशन जिम लगायत आधुनिक उपकरणहरू उपलब्ध रहेका छन्।


काठमाडौं असार ३० गते ।  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २०२६ का विजेता शान्भिका बज्राचार्य, नामदेन सुब्बा, प्रान्सी तुलाधर र वेदाश्री एल। राना ले ९ जुलाई २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै भियतनामको राजधानी हानोईमा आयोजित इन्टरनेशनल फेसन विक २०२६  मा सहभागिता जनाएका थिए। 

१३ राष्ट्रका उत्कृष्ट प्रतिस्पर्धीहरूबीच सम्पन्न यस प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाली टोलीले उल्लेखनीय सफलता हासिल गर्दै नेपालको शिर विश्वमञ्चमा उच्च बनाएको छ। उनीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, अनुशासन तथा नेपाली कला–संस्कृतिको प्रभावशाली प्रस्तुतिमार्फत अन्तर्राष्ट्रिय दर्शक र निर्णायकहरूको प्रशंसा बटुल्न सफल भएका छन्। 

आज हानोईमा सम्पन्न भएको यस अन्तर्राष्ट्रिय कार्यक्रमले नेपाली बालप्रतिभाको क्षमता र विश्वस्तरीय प्रतिस्पर्धा गर्ने सामर्थ्यलाई पुनः स्थापित गरेको छ। यो उपलब्धि केवल सहभागीहरूको व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपालको गौरव, सम्मान र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको उपलब्धि बनेको छ। 

विश्वमञ्चमा नेपालको राष्ट्रिय झण्डा गर्वका साथ फहराउँदै देशको प्रतिष्ठा उँचो बनाउने सम्पूर्ण नेपाली टोलीप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ। यस उपलब्धिबारे किड्स एण्ड क्विन नेपालका  नेशनल डाइरेक्टर मोनु शाहले जानकारी दिँदै नेपाली बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उच्च राखेकोमा गर्व व्यक्त गरेका छन्। 

आगामी दिनमा पनि नेपाली प्रतिभालाई विश्वस्तरीय अवसर उपलब्ध गराउँदै नेपालको पहिचानलाई अझ सशक्त रूपमा विश्वसामु स्थापित गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।


विराटनगर  असार २९ गते । विराटनगर– ५ स्थित एभरेष्ट माध्यामिक विद्यालयले आज भानु जयन्तीका अवसरमा कविता वाचन प्रतियोगिता र स्रष्टालाई सम्मान गरेको छ । विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का २४ प्रतियोगीले विभिन्न शिर्षकमा कविता वाचन गरेका थिए ।

 ति मध्ये उत्कृष्ट चारलाई नगद सहित ट्रफिले पुरस्कृत गरिएको छ । ‘भानु हेर तिम्रो देश’ शिर्षकमा कविता वाचन गर्नु कक्षा १२ की छात्रा सौमिका ढकाल प्रथम हुँदै नगद १० हजार राशि प्राप्त गर्नुभयो । यस्तै कक्षा १२ का प्रेम खतिवडा ‘फर्कि आउ घर’ शीर्षकको कविता वाचन गर्दै दित्तिय हुनुभयो । 


उहाँले नगद ७ हजार रुपैयाँ प्राप्त गर्नुभयो । ‘प्रकृतिको मौन पुकार’ शिर्षकमा कविता वाचन गर्नुभएका कक्षा ११ का आर्जन बरालले तृतीय हुँदै नगद ५ हजार र कक्षा १२ का रियोज मास्केले ‘मुकुन्डो र मुकुट’ शिर्षकमा कविता वाचन गर्दै सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । मास्के नगद ३ हजार सहित पुरस्कृत हुनुभयो । साहित्यकार कवयित्री निर्मला कोइराला र कवि मीनकुमार नवोदित निर्णायक रहनुभएको कार्यक्रममा प्रतियोगिहरुले विभिन्न क्षेत्रका विषयलाई समेटेर कविता वाचन गरेका थिए । 

कार्यक्रमका अवसरमा साहित्यकार तथा कवि रोहिणी रशिकलाई सम्मान गरिएको थियो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा राष्ट्रियसभाका पूर्व सदस्य खेम नेपाली र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले दोसल्ला, सम्मानपत्र र नगद १५ हजार ५ रुपैयाँले सम्मान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खेम नेपालीले कविताका माध्यमबाट ठूला–ठूला परिवर्तन सम्भव रहेको भन्दै विद्यार्थीहरुलाई निरन्तरताका लागि हौसला प्रदान गर्नुभयो । 

उहाँले कविताले देशको संस्कृति, सभ्यता र इतिहासलाई जीवन्त राख्ने भन्दै त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो । २१३ औं जन्मजयन्ती मनाइरहँदा पनि भानुभक्तका अमर कृतिहरु ताजै रहेको चर्चा गर्दै उहाँले कला साहित्यले मानिसलाई भौतिक शरिर नरहेपनि सदैव अमर राख्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले समयक्रम सँगै पुस्तान्तरण र हस्तान्तरण हुनु प्रकृतिको नियम रहेको बताउनुभयो । 

उहाँले  पुस्तान्तरण र हस्तान्तरणको नाममा इतिहास र अग्रजको अवमूल्यन भने गर्न नहुने बताउनुभयो । नयाँका नाममा विगतका इतिहास मास्न थालियो भने त्यसले अस्तित्व नै धरापमा पर्ने र अग्रजहरूप्रति अपमान हुने उहाँले बताउनुभयो । कविता वाचन प्रतियोगिता र स्रष्टालाई सम्मान गर्नु पनि भानुभक्तले नेपाली साहित्यमा पुर्‍याएको योगदानको स्मरण गर्न– गराउनका लागि रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदिप कोइराला, विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, शिक्षक–शिक्षिकाहरु, तथा कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

 


विराटनगर असार २७ गते । विराटनगरस्थित कोसी अस्पतालको स्वामित्वमा रहेको जग्गामा बनेका विभिन्न चार संस्थाका २६ वटा व्यावसायिक सटरहरू सोमबार भत्काइने भएको छ ।

अतिक्रमण हटाउन अस्पतालले दिएको ७ दिने अल्टिमेटम आइतबार सकिएलगत्तै डोजर चलाउने तयारी गरिएको हो ।

समयसीमा सकिनु एक दिनअघि आज पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले अवैध रूपमा बनेका संरचना भत्काइने जानकारी दिएको हो । अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइटेलका अनुसार भत्काउनुपर्ने ती सटरहरूमा अस्पतालले ‘रातो स्टिकर’ समेत टाँस गरिसकेको छ ।

अस्पताल प्रशासनले अहिले नै ती चार संस्थाका मुख्य भवन भने नभत्काइने स्पष्ट पारेको छ । अस्पतालका मेसु डा। चन्द्रभाल झाले जनमानसमा संस्थाका मुख्य भवन नै भत्काउन लागिएको भन्ने भ्रम रहेको भन्दै त्यसको खण्डन गरे । “अहिले गणेश मन्दिर, क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयका मुख्य भवन भत्किने छैनन्,” मेसु झाले भने, “तर ती संस्थाले व्यावसायिक प्रयोजनका लागिभाडामा लगाएका २६ वटा सटरहरूमा भने सोमबार डोजर चल्नेछ ।”

अस्पतालका अनुसार गणेश मन्दिर परिसरका ५ वटा सटर भत्काइनेछन् । जसमा उज्ज्वल फर्मा, कलश फर्मा, उत्सव किराना पसल, श्रुति फार्मेसी र बालबालिका क्लिनिक रहेका छन् । यी पसलहरूले मन्दिरलाई मासिक ६० हजार रुपैयाँसम्म भाडा बुझाउँदै आएका थिए ।

त्यस्तै, क्षयरोग निवारण संस्थाका ९ वटा सटर भत्काइनेछ । जसमा श्रेष्ठ खाजाघर, मदिना होटल, पुन्टु कलेक्सन, पूर्वाञ्चल बायोमेडिकल, दीपेश शाकाहारी खाजाघर, रहिम मोटरसाइकल मर्मत पसल, मोनिका फार्मेसी र निरुपमा होटल रहेका छन् । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित सुनिल भेराइटीज, सुमना ट्रेडर्स, त्रिवेणी फोटो स्टुडियो, राष्ट्रिय वाणिज्य बैंक, कोसी मार्भलस र मिना मेडिकलका सटरहरू पनि भत्काइने सूचीमा छन् । यस्तै, देवकोटा पुस्तकालयअन्तर्गतका ६ वटा व्यावसायिक सटरहरू भत्काइने अस्पतालले जनाएको छ ।

अस्पतालले सुरुमा १५ दिने सूचना जारी गरे पनि संरचना खाली हुन सकेको थिएन । त्यसपछि गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत निरीक्षण गरी ७ दिनभित्र अतिक्रमण गरिएका संरचना हटाउन निर्देशन दिएका थिए । मन्त्रीहरूको निर्देशन र स्थानीय प्रशासनको सक्रियतापछि यो प्रक्रियाले गति लिएको हो ।

विराटनगर–७ स्थित कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ को बहुमूल्य जग्गामा यी चार संस्थाले लामो समयदेखि सामाजिक सेवाको आवरणमा व्यावसायिक गतिविधि गर्दै आएका छन् । अस्पतालको आन्तरिक अध्ययनअनुसार क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर जग्गा ओगटेर मासिक करिब दुई लाख रुपैयाँ भाडा उठाउँदै आएको छ । त्यस्तै, रेडक्रसले २ कट्ठा जग्गामा बनेको भवन बैंकलाई भाडामा दिएर मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको छ । गणेश मन्दिर र देवकोटा पुस्तकालयले पनि सडक मोहडाका सटरहरूबाट मासिक लाखौँ रुपैयाँ असुलिरहेका छन् । अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयन र जग्गाको सही सदुपयोगका लागि यो कदम चालिएको जनाएको छ ।


विराटनगर असार २६ गते । नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालित सि.नं. १४ हायर कमाण्ड एन्ड म्यानेजमेन्ट तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको टोलीले विराटनगर महानगरपालिकाको अध्ययन–अवलोकन भ्रमण गर्दै स्थानीय सरकारको सेवा प्रवाह, सुशासन र विपद् व्यवस्थापनका अभ्यासबारे जानकारी लिएको छ ।

सहायक रथी कमल बानियाँको नेतृत्वमा आएको सेनाको टोलीले महानगरले प्रदान गरिरहेका सार्वजनिक सेवा, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, नैतिक र ऐतिहासिक शिक्षा, महानगरको भौगोलिक तथा रणनीतिक महत्व, भावी सुरक्षा चुनौती तथा संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयका विषयमा विस्तृत जानकारी लिँदै अन्तरक्रिया गरेको थियो ।

 अन्तरक्रियाका क्रममा सहायक रथी बानियाँले स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले जनविश्वास र सेवा पहुँचका दृष्टिले यसको भूमिका महत्वपूर्ण रहेको बताए । स्थानीय सरकारले जनतालाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने प्रयास प्रशंसनीय रहेको उनको भनाइ थियो ।

 टोलीका अर्का सहायक रथी बालकृष्ण कार्कीले अध्ययन भ्रमणको उद्देश्य स्थानीय सरकारका असल अभ्यास, प्रशासनिक अनुभव र अन्तरसरकारी समन्वयका मोडललाई नजिकबाट बुझ्नु रहेको बताए । यस्ता अध्ययनले सुरक्षा निकाय र नागरिक प्रशासनबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने उनको धारणा थियो ।

 कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले महानगरले डिजिटल प्रविधिमार्फत सेवा प्रवाह, सुशासन, राजस्व व्यवस्थापन, पूर्वाधार विकास, विपद् तयारी तथा नागरिकमुखी प्रशासनलाई प्राथमिकतामा राख्दै काम गरिरहेको जानकारी दिए । उनले सेनाका अधिकारीहरूले उठाएका जिज्ञासाको समेत जवाफ दिएका थिए ।

महानगर प्रहरी प्रमुख राजन पौडेलले सञ्चालन गरेको कार्यक्रममा शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया तथा राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरको प्रशासनिक संरचना, सेवा प्रणाली, राजस्व परिचालन, शिक्षा, स्थानीय शासन तथा विकास व्यवस्थापनका विभिन्न पक्षबारे प्रस्तुति दिएका थिए ।

 महानगरका अधिकृत प्रज्वल पोखरेलले विराटनगरको ऐतिहासिक, आर्थिक, सामाजिक तथा औद्योगिक महत्व समेटिएको परिचयात्मक प्रस्तुति दिएका थिए । पूर्वी नेपालको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा रहेको विराटनगरले स्थानीय आर्थिक गतिविधि, सीमा व्यापार, लगानी प्रवद्र्धन र शहरी व्यवस्थापनमा खेलेको भूमिकाबारे पनि टोलीलाई जानकारी गराइएको महानगरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए ।

अध्ययन भ्रमणले स्थानीय सरकारको संस्थागत क्षमता, नागरिक सेवा प्रणाली, विपद् व्यवस्थापन तथा सुरक्षा निकायसँगको समन्वयका अभ्यासलाई अझ नजिकबाट बुझ्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका थिए ।

यसअघि सोही तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको टोलीले कोशी प्रदेश सरकार र प्रदेश प्रहरी कार्यालयको समेत अध्ययन–अवलोकन भ्रमण सम्पन्न गरिसकेको सहायक रथी बालकृष्ण कार्कीले जानकारी दिए । स्थानीय सरकार, प्रदेश सरकार र सुरक्षा निकायबीचको समन्वयात्मक अभ्यास अध्ययन गर्ने उद्देश्यले भ्रमण कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । 


बिराटनगर असार २५ गते । विगत लामो समयदेखि मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगहरुले खेप्दै आएको अनिर्धारित, अनियमित र अघोषित विद्युत आपूर्तिको समस्या हाल वर्षायामका दिनहरुमा समेत पुनः उत्कर्षमा पुगेको प्रति मोरङ उद्योग व्यापार संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

बिना कुनै पूर्वसूचना दैनिक रुपमा भइरहेको पटक–पटकको ट्रिपिङ, न्यून भोल्टेज अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योग व्यवसायहरुमा नकारात्मक प्रभाव पर्दै धराशायी हुने अवस्थामा पुगेका छन् । नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा सुधार भएको दाबी गरिरहँदा वास्तविकतामा भने उद्योगहरुले दैनिक घन्टौंसम्म अनिश्चितताको सामना गर्नु परिरहेको छ । यस अनिर्धारित प्राविधिक गडबडी र लापरवाहीका कारण उद्योगहरुलागि चौतर्फी मार परिरहेको अवस्था छ ।

पटक–पटक आउने र जाने विद्युत ट्रिपिङका कारण उद्योगहरुमा जडान गरिएका करोडौँ मूल्यका अत्याधुनिक मेसिनरी, पार्टपुर्जाहरु, इलेक्ट्रोनिक प्यानल र सफ्टवेयर प्रणालीहरु बिग्रने क्रम अत्यधिक बढेको छ । जस कारण उद्योगीहरुमाथि मर्मत सम्भारको ठूलो र अनपेक्षित आर्थिक भार थपिएको छ । त्यस्तै, विशेषगरी प्लास्टिक, स्टील, सिमेन्ट, खाद्य र रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगहरुमा प्रक्रियागत उत्पादनका क्रममा अचानक विद्युत काटिँदा मेसिन भित्रै कच्चा पदार्थहरु जमेर नष्ट हुने, डढ्ने र करोडौँको उत्पादन पूर्ण रुपमा खेर जाने गरेको छ ।

 त्यसका साथै विद्युत आपूर्ति अनियमित हुँदा उद्योगहरुमा कार्यरत हजारौँ श्रमिकहरु घण्टौँसम्म कामविहीन भएर बस्नुपर्ने बाध्यता छ । काम नभए पनि उद्योगहरुले भुक्तानी गर्नुपर्ने पारिश्रमिक र सञ्चालन खर्च यथावत रहने र नेपाली उत्पादनले स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता पूर्ण रुपमा गुमाउँदै गएको छ ।

 त्यसका अतिरिक्त, समयमा उत्पादन हुन नसक्दा बजारमा सामानको अभाव सृजना हुने, माग अनुसार आपूर्ति गर्न नसक्दा उद्योगहरुको साख गुम्ने र आयातित वस्तुहरुले बजार ओगट्ने जोखिम बढेको छ ।

देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको औद्योगिक क्षेत्रलाई यसरी बिना कुनै पूर्वसूचना र योजना अन्धकारमा राख्नु र उद्योगीहरुको समस्यालाई बेवास्ता गरिनु अत्यन्तै विडम्बनापूर्ण छ ।

अतः यस्तो गैरजिम्मेवारपूर्ण रवैयाले उद्योगीहरुमा चरम निराशा पैदा गरेको हुँदा नेपाल विद्युत प्राधिकरण लगायत सम्बन्धित उच्च निकायहरु समक्ष यसै विज्ञप्ति मार्फत मोरङ–सुनसरी औद्योगिक क्षेत्रको अघोषित लोडसेडिङ र ट्रिपिङको समस्यालाई तत्काल अन्त्य गर्न हामी जोडदार माग गर्दछौं ।

साथै, प्राविधिक कारणले विद्युत काट्नु पर्ने अवस्था आएमा त्यसको पूर्वसूचना यस संघ सहित सम्बन्धित उद्योग व्यवसाय प्रतिष्ठानहरुलाई अनिवार्य रुपमा उपलब्ध गराउन र स्वदेशी उद्योग व्यवसायको संरक्षणनार्थ गम्भीरतापूर्वक सचेत एवम् सक्रीय रहन हार्दिक अपिल गर्दछौं ।


विराटनगर. असार २५ गते। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने भएको छ।

२०८३ असार २७ गते शनिबार हस्पिटलको सेन्ट्रल हलमा हुने यो सम्मेलन "इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो" भन्ने नाराका साथ "इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन बीएमसीटीएच" नामबाट आयोजना हुने भएको हो । हस्पिटलकै न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजना हुने यस सम्मेलनमा मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स र रेडियोआइसोटोप थेरापी लगायतका विषयमा नेपाल, बंगलादेश र भारतका चिकित्सकहरू एकै मञ्चमा जुट्नेछन्।

सम्मेलनमा बंगलादेशबाट प्रा.डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हकसहित भारतको आरजिसीआईआरसी, नयाँ दिल्लीबाट प्रा. डा. मनोज गुप्ता सहभागी हुनेछन्। नेपालतर्फबाट डा. अमरदीप चौधरी (बीएमसीटीएच), डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले आफ्ना अनुभव र ज्ञान साझा गर्ने आयोजकले जनाएको  छ।

यसअघि नै बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना गरिसकेको छ। बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको विभागीय प्रमुख डा. अमरदीप चौधरीका अनुसार यो प्रविधिले क्यान्सरजस्ता जटिल रोगको निदान र उपचारमा नयाँ युगको सुरुवात गरेको छ। साथै पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि आवश्यक हाइपेक सेवा पनि पूर्वमै पहिलोपटक सोही हस्पिटलमा सञ्चालनमा आइसकेको छ।

न्यूक्लियर मेडिसिन भनेको रेडियोएक्टिभ पदार्थको प्रयोग गरी शरीरका आन्तरिक अंगहरूको कार्यप्रणाली जाँच्ने र उपचार गर्ने आधुनिक चिकित्सा विज्ञानको एक शाखा हो। यसमार्फत क्यान्सरको प्रारम्भिक पहिचान, हृदयको रक्तप्रवाह जाँच, हड्डीको रोग पत्ता लगाउने र थाइरोइड समस्याको निदानसमेत गर्न सकिन्छ। मोलिक्युलर इमेजिङले शरीरका कोशिकाहरूमा आणविक स्तरमै भइरहेको परिवर्तन देखाउने भएकाले रोगको सुरुवाती चरणमै निदान गर्न सहयोग पुर्‍याउँछ।

आयोजकहरूका अनुसार यस्तो सम्मेलनले न्यूक्लियर मेडिसिन क्षेत्रमा क्षेत्रीय स्तरमा ज्ञान र अनुभव आदानप्रदान गर्ने अवसर सिर्जना गर्नेछ, जसको प्रत्यक्ष फाइदा पूर्वी नेपालका बिरामीहरूले पाउने अपेक्षा गरिएको छ। यसले स्थानीय चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय विज्ञहरूसँग सिकाइ र अनुभव साट्ने मौका दिनुका साथै क्यान्सरलगायत जटिल रोगको निदान र उपचार सेवा विराटनगरमै थप गुणस्तरीय, भरपर्दो र सुलभ बनाउने लक्ष्य राखेको छ।

उक्त सम्मेलनमा काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत नेपालका विभिन्न स्थानहरूबाट २५० जनाभन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ।

न्यूक्लियर मेडिसिन सम्मेलनले पूर्वी नेपालका बिरामीलाई के फाइदा दिन्छ?

आयोजकका अनुसार नेपाल, बंगलादेश र भारतका चिकित्सकबीच हुने ज्ञान तथा अनुभव आदानप्रदानले स्थानीय चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय स्तरको नयाँ प्रविधि र उपचार पद्धति सिक्ने अवसर दिनेछ, जसको लाभ अन्ततः बिरामीले नै पाउनेछन्। यसले सेवा सर्वसुलभ बनाई बिरामीहरूले उपचारका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ। दीर्घकालमा जटिल केसहरूमा अन्तर्राष्ट्रिय विज्ञहरूसँग परामर्श वा रेफरल सम्बन्ध बन्ने सम्भावना पनि यसले खुल्ला गर्नेछ।

हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागले हाल निदान र उपचार दुवै प्रकारका सेवा प्रदान गर्दै आएको छ। निदानतर्फ विभागले क्यान्सरको प्रारम्भिक पहिचान र फैलावट पत्ता लगाउने, हृदयरोगको निदान र हृदयको रक्तप्रवाह जाँच्ने, हड्डीको रोग र संक्रमण पत्ता लगाउने, मिर्गौला, कलेजो र फोक्सोको कार्यक्षमता जाँच्ने तथा थाइरोइड ग्रन्थीको समस्या निदान गर्ने सेवा दिँदै आएको छ।

उपचारतर्फ विभागले थाइरोइड क्यान्सरको रेडियोएक्टिभ आयोडिन उपचार, हड्डीको दुखाइ कम गर्ने रेडियोन्यूक्लाइड उपचार, न्यूरोएन्डोक्राइन ट्युमरको लक्षित उपचार र रेडियोसिनोभेक्टोमीजस्ता सेवा उपलब्ध गराउँदै आएको छ, जसले उपचारको सफलता दर बढाउन मद्दत गर्ने हस्पिटलले जनाएको छ।


बिराटनगर २०८३ आषाढ १९ गते । शुक्रबार, मोरङ उद्योग व्यापार संघले हीरक जयन्ती वर्षको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरी मोरङ बहिरा क्रिकेट संघ, विराटनगरका खेलाडीहरुका लागि जर्सी (खेल पोशाक)हरु सहयोग गरेको छ । मोरङ बहिरा क्रिकेट संघको आयोजनामा आगामी दिनमा संचालन हुन गइरहेको चौथो प्रादेशिक क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको हौसला अभिवृद्धि गर्ने उद्देश्यले संघले सहयोग स्वरुप ३० थान जर्सी उपलब्ध गराएको हो ।

मोरङ उद्योग व्यापार संघको सचिवालयमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, महासचिव संजय कुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुको टोलीले मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधिहरु मोहन तिवारी, अंशु यादव र मोहम्मद साबिर मार्फत उक्त जर्सीहरु हस्तान्तरण गर्नु भएको थियो । सो कार्यक्रममा साङ्केतिक भाषा दोभाषेका रुपमा राधिका न्यौपानेले सहजीकरण गर्नु भएको थियो ।

हस्तान्तरणका क्रममा संघका अध्यक्ष अनुपम राठीले शारीरिक रुपमा विशेष फरक क्षमता भएका खेलाडी दाजुभाइहरुको मनोबल उच्च राख्न र खेल क्षेत्रमा उनीहरुको विशिष्ट पहिचान स्थापित गर्न सहयोग गर्न पाउँदा संघ परिवार अत्यन्तै हर्षित रहेको बताउनु भई आगामी दिनहरुमा पनि संघले यस्ता सकारात्मक र खेल प्रवद्र्धन गर्ने कार्यहरुमा आफ्नो सहयोग र सहकार्यलाई निरन्तरता दिने बताउनु भएको थियो ।

त्यस्तै, मोरङ बहिरा क्रिकेट संघका तर्फबाट श्री मोहन तिवारीले मोरङ उद्योग व्यापार संघको तर्फबाट प्राप्त उक्त सहृदयी सहयोग र सकारात्मक कदमप्रति आभार व्यक्त गर्दै त्यसबाट खेलाडीहरुमा नयाँ उर्जा थपिएको र आगामी प्रतियोगितामा खेलाडीहरुलाई अझ उत्कृष्ट प्रदर्शन गर्न हौसला प्रदान भएको बताउनु भएको थियो ।


झापा असार १९ गते (सुरेन्द्र भण्डारी) झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १८ वर्षीय युकेश लिम्बू केही सयमयता देब्रे खुट्टा नचल्ने समस्याले पीडित थिए । मेरुदण्डको नसाच्यापिएपछि दैनिक हिँडडुलमा कठिनाइ बढ्दै गएको थियो । परिवारले दमकमा रहेको एक अस्पतालमा उपचारको प्रयास गरे पनि शल्यक्रियाबारे स्पष्ट विकल्प पाउन सकेका थिएनन् ।
अन्ततः उनले बिर्तासिटी अस्पतालमा डा. रुपेशजंग  वेलवासेलाई भेटे र यो प्रविधिका विषयमा डा. वेलवासेले जानकारी दिए । डा. वेलवासेको सल्लाह अनुसार उनको परिवारले यो प्रविधिबाट उपचार गराउन शुरु ग¥यो । असार १८ गते गरिएको दूरबिन (एन्डोस्कोपिक) प्रविधिको शल्यक्रियापछि लिम्बूको उपचार सफल भएको छ । अस्पतालका अनुसार यो प्रविधिबाट मेरुदण्डको नसा च्यापिएको शल्यक्रिया कोशी प्रदेशमै पहिलो पटक गरिएको हो ।
शल्यक्रियाको नेतृत्व अर्थाे तथा स्पाइन  सर्जन रुपेशजंग  बेलवासेले गरेका थिए । उनी बिर्तासिटी अस्पतालका ट्रमा सर्जरी, जोइन्ट रिप्लेसमेन्ट र स्पोट्र्स इन्जुरी विभागको प्रमुखका रूपमा कार्यरत छन् । उनकै नेतृत्वको टिले लिम्बूको शल्यक्रिया गरेको थियो । 
डा.वेलवासेले चीनको पेकिङ विश्वविद्यालयमा सिकट छात्रवृत्तिमार्फत विशेष तालिम लिएपछि नेपालमा उक्त प्रविधि प्रयोगमा ल्याएका हुन् । उनले यो प्रविधि कोशी मै पहिलो पटक बिर्तासिटी अस्पतालमा भित्र्याएका हुन् । 
परम्परागत खुला शल्यक्रियाको तुलनामा एन्डोस्कोपिक विधिमा शरीरमा ठूलो चिरा लगाउनुपर्दैन । यसमा सानो आकारका दुई वटा प्वाल बनाएर विशेष दूरबिन र उपकरणको सहायताले मेरुदण्डको च्यापिएको नसासम्म पुगेर उपचार गरिन्छ डा वेलवासेले भने –‘यस विधिबाट उपचार गर्दा बिरामीलाई रड वा अतिरिक्त धातुजन्य संरचना राख्नुपर्ने आवश्यकता पर्दैन । शल्यक्रियापछि लामो समय ओछ्यानमा आराम गर्नुपर्ने बाध्यता पनि हट्छ ।
‘सामान्यतया अन्य विधिबाट गरिएको मेरुदण्डको शल्यक्रियापछि कम्तीमा एक महिना आराम गर्नुपर्ने अवस्था आउँछ,’  उनले भने, ‘तर एन्डोस्कोपिक प्रविधिमा बिरामी भोलिपल्टदेखि नै हिँडडुल गर्न सक्छ । घाउ सानो हुने भएकाले संक्रमणको जोखिम कम हुन्छ र निको हुने समय पनि छोटो हुन्छ ।’
उनका अनुसार  न्यून चिरफार (मिनिमली इनभेसिभ) शल्यक्रिया प्रविधिले पछिल्ला वर्षहरूमा विश्वभर लोकप्रियता पाएको छ । कम रक्तस्राव, कम पीडा, छोटो अस्पताल बसाइ र छिटो पुनःस्थापना यसका प्रमुख विशेषता मानिन्छन् ।
नेपालमा भने यस्ता प्रविधि सीमित अस्पताल र चिकित्सकमा केन्द्रित छन् । राजधानी बाहिर, विशेषगरी प्रदेशस्तरमै यस्तो सेवा उपलब्ध हुन थालेपछि बिरामीलाई उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता केही हदसम्म घट्ने अपेक्षा गरिएको डा. वेलवासेको भनाई छ ।
बिर्तासिटी अस्पतालका प्रशासनका अनुसार  एन्डोस्कोपिक स्पाइन सर्जरीमा लाग्ने खर्च पनि तुलनात्मक रूपमा कम पर्न सक्छ ।  शल्यक्रियाका लागि दुई वटा साना प्वाल मात्र बनाउनुपर्ने, सामान्य टाँकाले काम चल्ने र घाउ छिट्टै निको हुने भएकाले बिरामीको आर्थिक तथा सामाजिक भार कम हुने दाबी गरिएको छ ।
उपचारपछि लिम्बूले स्वास्थ्यमा सुधार आएको बताउँदै उपचारमा संलग्न चिकित्सक र अस्पतालप्रति आभार व्यक्त गरेका छन् । ‘अब सामान्य जीवनमा फर्किन सक्ने आशा बढेको छ,’ उनले भने । दुरविन प्रविधिबाट शल्यक्रिया सफल भएपछि उनलाई वाडमा सारिएको छ । सामान्य हिनडुल गर्न सक्ने भएपछि लगत्तै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
को हुन् डा. रुपेशजंग बेलवासे ?
पछिल्ला वर्षहरूमा पूर्वी नेपालमा हाडजोर्नी उपचारमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ । यही परिवर्तनको अग्रपङ्क्तिमा देखिने चिकित्सकमध्ये एक हुन् डा. रुपेशजंग बेलवासे । घुँडा तथा हिप प्रत्यारोपण, आथ्र्रोस्कोपी र न्यून चिरफारमार्फत गरिने शल्यक्रियामा विशेषज्ञता हासिल गरेका बेलवासे अहिले झापाको बिर्तामोडस्थित पी.टी. बिर्तासिटी अस्पताल तथा रिसर्च सेन्टरमा ट्रमा सर्जरी, जोइन्ट रिप्लेसमेन्ट र स्पोट्र्स इन्जुरी विभागको प्रमुखका रूपमा कार्यरत छन् ।
ललितपुरको सैँबु निवासी बेलवासेले सन् २०१२ मा नेपाल मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेका थिए । त्यसपछि भारतको बनारस हिन्दु विश्वविद्यालयबाट सन् २०१५ देखि २०१८ सम्म अर्थोपेडिक्स तथा ट्रमाटोलोजीमा एमएस अध्ययन गरे। अस्पताल व्यवस्थापनलाई पनि समान महत्त्व दिँदै उनले स्वामी विवेकानन्द सुभार्ती विश्वविद्यालयबाट एमबीए इन हस्पिटल एड्मिनिस्ट्रेसनसमेत गरेका छन् ।
उच्च शिक्षापछि उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा आथ्र्रोप्लास्टी र आथ्र्रोस्कोपीसम्बन्धी फेलोसिप गरे । त्यसपछि अष्ट्रियाको मेडिकल युनिभर्सिटी अफ भियनामा प्राध्यापक थोमस मुल्नरको मार्गदर्शनमा घुँडा र हिप प्रत्यारोपण तथा काँध र घुँडाको आथ्र्रोस्कोपीमा थप विशेषज्ञता हासिल गरे। सन् २०२३ मा हंगेरीको सेगेड विश्वविद्यालयमा एओ ट्रमा फेलोसिपसमेत पूरा गरेका थिए ।
बेलवासेको विशेषज्ञता हिप र घुँडाको प्रत्यारोपण, खेलकुदजन्य चोटपटकको उपचार, न्यून चिरफार शल्यक्रिया तथा रोबोटिक सहयोगमा गरिने जोइन्ट रिप्लेसमेन्टसम्म फैलिएको छ ।
उनी चिकित्सक मात्र नभई अनुसन्धानकर्ताका रूपमा पनि सक्रिय छन् । हाडजोर्नी उपचार, फ्र्याक्चर व्यवस्थापन, पोषण र हड्डीको स्वास्थ्यलगायत विषयमा उनका दुई दर्जनभन्दा बढी अनुसन्धान तथा प्रकाशन अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । सन् २०२४ मा झापाका स्वास्थ्यकर्मीहरूमा अस्पतालजन्य सङ्क्रमणसम्बन्धी ज्ञान, दृष्टिकोण र व्यवहारबारे गरिएको अध्ययन पनि प्रकाशित भएको   थियो । 
अन्तर्राष्ट्रिय स्तरका सम्मेलनमा शोधपत्र र पोस्टर प्रस्तुत गरेका बेलवासेले दक्षिण अफ्रिका, अष्ट्रिया, हंगेरी, भारत , चीन र नेपालका विभिन्न वैज्ञानिक मञ्चहरूमा सहभागिता जनाइसकेका छन् । सोधपत्र प्रस्तुतिका लागि उनी यही वर्ष दक्षिण कोरिया र अमेरिका जाने तयारीमा छन् । डा. वेलवासेले जर्नल अफ क्लिनिकल अर्थोपेडिक्स एन्ड ट्रमा बाट उत्कृष्ट समीक्षकको प्रमाणपत्रसमेत प्राप्त गरेका छन् ।
व्यावसायिक संलग्नताको हिसाबले उनी नेपाल अर्थोपेडिक एसोसिएसन, इन्डियन अर्थोपेडिक एसोसिएसन, एशिया प्यासिफिक अर्थोपेडिक एसोसिएसन, इन्टरनेसनल सोसाइटी अफ आथ्र्रोस्कोपी तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका सदस्य हुन् । हाल उनी नेपाल अर्थोपेडिक एसोसिएसनको मेची च्याप्टरका महासचिवको जिम्मेवारीमा छन् ।
पूर्वी नेपालमा अत्याधुनिक हाडजोर्नी उपचार सेवा विस्तार भइरहेका बेला बेलवासेले न्यून चिरफार, खेलकुदजन्य चोटपटकको उपचार तथा जोइन्ट प्रत्यारोपणलाई सहज र स्थानीय स्तरमै उपलब्ध गराउने प्रयास गरिरहेका छन् । विशेषज्ञता, अनुसन्धान र संस्थागत नेतृत्वलाई एकसाथ अघि बढाइरहेका उनी समकालीन नेपाली अर्थोपेडिक चिकित्सकमध्ये उल्लेखनीय नामका रूपमा स्थापित हुँदै गएका छन् । 


विराटनगर असार १९ गते । नेपालको नर्सिङ शिक्षाको इतिहासमा एक नयाँ अध्याय थपिएको छ। नर्सिङ शिक्षालाई प्रविधिमैत्री, सीपमूलक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउने लक्ष्यका साथ बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलोपटक अत्याधुनिक पूर्वाधारयुक्त ’स्कुल अफ नर्सिङ’ सञ्चालनमा ल्याएको छ ।

हस्पिटलको पाँचौं तल्लामा करिब १९ हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको डेडिकेटेड स्कुल अफ नर्सिङको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की र संस्थापक उपाध्यक्ष डा. इरिना कार्कीले संयुक्त रूपमा गर्नुभएको हो ।

नेपालमै पहिलोपटक डेडिकेटेड द्य।क्अ ल्गचकष्लन र ल्गचकष्लन एचयनचबm का लागि अत्याधुनिक सुविधासम्पन्न यो विभाग स्थापना भएको संस्थाका संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बताउनुभयो । स्कुल पहिलादेखि नै सञ्चालनमा रहेको भए पनि हाल आधुनिक भौतिक पूर्वाधारसहित नयाँ रूपमा सञ्चालनमा आएको प्रिन्सिपल प्रा. डा. सन्तोष उपाध्याय काफ्लेले जानकारी दिनुभयो ।

कलेजका अनुसार स्कुलमा फन्डामेन्टल अफ नर्सिङ स्किल ल्याब, मिडवाइफ्री नर्सिङ स्किल ल्याब, चाइल्ड हेल्थ स्किल ल्याब, कम्युनिटी हेल्थ नर्सिङ ल्याब तथा न्युट्रिसन एन्ड डाइटेटिक्स ल्याब लगायतका विश्वस्तरीय प्रयोगशालाहरू र अत्याधुनिक प्रविधियुक्त कक्षाकोठा तथा प्रशिक्षण केन्द्रहरू निर्माण गरिएका छन् ।

विद्यार्थीहरूले वास्तविक अस्पतालको वातावरणमा आधारित सिकाइ अनुभव प्राप्त गर्न सक्ने गरी सञ्चालन शल्यक्रिया कक्ष (ओटी), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), प्रसूति कक्ष (लेबर रुम) र सघन उपचार कक्ष (आईसीयू) को वातावरणलाई अनुकरण गर्ने सिमुलेसन–आधारित शिक्षण प्रणाली विकास गरिएको कलेजले जनाएको छ । यसमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीको उपचार गर्नुअघि नै आवश्यक उपचार प्रक्रिया र क्लिनिकल सीपको पूर्ण अभ्यास तथा तयारी गर्न सक्नेछन् ।

त्यसैगरी क्लिनिकल स्किल्स ट्रेनिङ, सिमुलेसन बेस्ड प्र्याक्टिस, नर्सिङ प्रोसिजर, क्रिटिकल केयर सिमुलेसन, कम्युनिटी हेल्थ केयर तथा डिजिटल लर्निङ रिसोर्स जस्ता अन्तर्राष्ट्रियस्तरका सम्पूर्ण सुविधाले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक क्लिनिकल दक्षता हासिल गर्न सहयोग पुग्ने विश्वास कलेजको छ । स्कुल अफ नर्सिङलाई चाहिने सम्पूर्ण सुविधा रहेको यसका प्रोग्राम कोर्डिनेटर एसोसिएट प्रोफेसर इन्दु साहले बताउनुभयो ।  

कलेजका अनुसार नयाँ प्रणालीले विद्यार्थीहरूमा आवश्यक सीप, आत्मविश्वास र व्यावसायिक क्षमता विकास गर्न मद्दत पु¥याउनेछ । यसबाट भविष्यका नर्सिङ जनशक्ति थप दक्ष, सक्षम र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार हुने तथा हस्पिटलको सेवा गुणस्तरसमेत थप अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

आगामी दिनमा स्कुल अफ नर्सिङलाई थप प्रविधिमैत्री, अनुसन्धानमुखी, उन्नत, विस्तृत र अन्तर्राष्ट्रियस्तरको शिक्षण केन्द्रका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता बिराटमेडिकल कलेज टिचिङ हस्पिटललेजनाएको छ ।


विराटनगर  असार १७ गते । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा जिल्लालाई प्रथम बनाउन भूमिका खेलेको भन्दै एभरेष्ट स्कुलबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि जिल्लाको प्रतिनिधित्व गर्दै प्रथम बनाउन भूमिका निर्वाह गरेका ६ खेलाडीलाई सम्मान गरिएको हो । 

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीहरुलाई अबिर र खादा लगाएर सम्मान गर्नुभयो । उहाँले प्रदेशमा जिल्लालाई प्रथम बनाउन तपाईहरुले खेलेको भूमिकाले एभरेष्टको गरिमा समेत बढेको बताउनुभयो । 
कोशी प्रदेश पौडी संघको आयोजनामा असार १६ र १७ गते सुनसरीको इटहरी स्थित ओसियन पार्कमा सम्पन्न प्रतियोगितामा मोरङ प्रथम भएको थियो । जसमा एभरेष्ट स्कुलबाट जिल्लास्तरीय टिममा सहभागी ६ खेलाडीले मात्र ३ स्वर्णसहित १६ पदक जितेका थिए । 
एभरेष्टका तर्फबाट आरध्य पाण्डेले २ वटा स्वर्ण पदक जित्नुभएको छ । पाण्डेले ५० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर फ्रिस्टाईलमा स्वर्ण जित्नुभएको हो । यस्तै धावा तामाङले १ स्वर्ण (५० मिटर बटरफ्लाई),  ४ वटा रजत, १ कास्य पदक जित्नुभएको छ । तामाङले फ्रिस्टाईल बिधाका ५० बटरफ्लाईमा स्वर्ण,  ५०, १००, ४०० र ८०० सय मिटर फ्रिस्टाईलमा रजत र २०० मिटर फ्रिस्टाईलमा रजत पदक जित्नुभएको हो । 
यस्तै कृतक बास्तोलाले २ वटा रजत पदक जित्नु भएको छ । उहाँले ५० र १०० मिटर ब्याकस्ट्रोकमा पदक ल्याउनुभएको हो । एभरेष्टका ओनस प्रधानले ५० र १०० मिटर ब्याकस्ट्रोक गर  २ कास्य पदक जित्नुभएको छ । 
अर्का खेलाडी हर्षित सिंहले २०० मिटर ब्रेस्टस्ट्रोकमा रजत पदक हासिल गर्दा एभरेष्टकै युवन श्रेष्ठले २५ र ५० मिटर फ्रिस्टाईलमा कास्य पदक जितेको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो । 
१४ जिल्ला सहभागि रहेको प्रतियोगितामा मोरङ प्रथम हुँदा भोजपुर दोस्रो र झापा तेस्रो भएको प्रतियोगिताका अनुगमन सुपरिवेक्षक इन्द्र राजभण्डारीले बताउनुभयो । 
मोरङलाई प्रथम बनाउन जिग्सन तामाङले ५०,१००,२००,४०० र ८०० मिटरमा कास्य पदकको योगदान गर्नुभयो भने , डिपीएस स्कुलका भियान केडियाले ८ वर्ष मुनिको स्पर्धामा २५ र ५० मिटर फ्रिस्टाईलमा २ स्वर्ण पदक जित्नुभयो । यस्तै बिकेभीएमका बिसु पराजुलीले २५, ५० मिटरमा फ्रिस्टाईलमा रजत, १०० मिटर फ्रिस्टाईलमा कास्य पदकको योगदान गर्नुभएको थियो । 
 कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले प्रतियोगिता उद्घाटन गर्दै सम्पूर्ण खेलाडीहरुलाई विजयको शुभकामना दिनुभयो । प्रतियोगिताका लागि बोर्डले बजेट बिनियोजन गरेको कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बर तामाङले जानकारी दिनुभयो । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.