Websoft University

महानगरअन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा पनि सुरु


विराटनगर |  विराटनगर महानगरपालिकाअन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याइएको छ ।

भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको महानगरले विराटनगर–१५ स्थित रानी अस्पतालमा एकपछि अर्को सेवा विस्तार गरिरहेको छ । केही महिना अगाडिबाट फिजियोथेरापी सञ्चालनमा ल्याएको महानगरले सोही अस्पतालमा भिडियो एक्स–रे सेवा पनि सुरु गरेको हो । महानगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भिडियो एक्स–रे सेवा सञ्चालनमा ल्याइएको मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँले स्वास्थ्य बिमामार्फतबाट पनि भिडियो एक्स–रे गरिने जानकारी दिनुभयो । यसबाट महानगरवासीलाई धेरै राहत महसुस गर्ने मेयर कोइरालाले दाबी गर्नुभयो ।

कोशी अस्पतालमा भन्दा कम शुल्कमा भिडियो एक्स–रे गरिनेछ । स्वास्थ्य बिमा नगरेका सेवाग्राहीका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको मेयर कोइरालाले जानकारी दिनुभयो । “महानगरवासीलाई थोरै भए पनि राहत होस् भनेर हामीले कोशी अस्पतालको शुल्कभन्दा पनि कम लिने निर्णय गरेका छौं । प्राइभेट अस्पतालको त कुरै छाडौं,” मेयर कोइरालाले भन्नुभयो, “बिमा गरेका महानगरवासीलाई त अझै ठूलो राहत मिल्नेछ ।”

महानगरले रानी हेल्थपोष्टलाई स्तरोन्नती गरी अस्पतालका रुपमा सञ्चालन गरेको थियो । सो अस्पतालबाट दक्ष चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अस्पतालबाट दैनिक ओपीडीसहित परिवार नियोजन, मातृशिशुलगायतका सेवा दिइरहेको अस्पतालका प्रमुख मानिकचन्द भगतले जानकारी दिनुभयो ।

 यसबाहेक नेपाल सरकारले वितरण गर्ने औषधिसमेत निःशुल्क रुपमा प्रदान गरिने भगतले बताउनुभयो । अब चाँडै नै प्रसूति र डिजिटल एक्स–रे सेवासमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.