Websoft University

महानगरद्वारा गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा शिविर


विराटनगर असोज ३० गते | विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा आइतबार विराटनगरमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ ।

विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने महानगरको योजनाअनुसार पहिलोपटक विराटनगर–१ मा शिविर आयोजना गरिएको हो । रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा महानगरले सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने योजना अघि सारेको छ । सोही योजनाअन्तर्गत पहिलो चरणमा वडा नम्बर १ बाट शिविर सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँले अन्य वडामा पनि क्रमैसँग शिविर सञ्चालन गर्ने जानकारी दिनुभयो ।

उहाँले सचेतना जगाउन सकिए मोतियाबिन्दुबाट बच्न सकिने उल्लेख गर्नुभयो । मेयर कोइरालाले आँखामा समस्या आए पनि अस्पताल नजाने प्रवृत्ति रहेको बताउनुभयो । उहाँले आगामी दिनमा रामलाल गोल्छा आँखा अस्पताल मात्रै नभएर अन्य अस्पतालसित पनि सहकार्य गरेर सबै किसिमका स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेतले धेरै व्यक्तिहरु आँखामा समस्या आइपरे पनि अस्पताल नजाने गरेको बताउनुभयो ।

रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका महासचिव सुरेन्द्र गोल्छाले महानगरसित सहकार्य गर्नु पाएकोमा खुसी व्यक्त गर्नुभयो । अस्पतालका प्रशासन प्रमुख विन्देश्वर महतोले सचेतना जगाउन सके आँखा रोगबाट बच्न सकिने बताउनुभयो । उहाँले महानगरका ४ हजार व्यक्तिको आँखा जाँच गर्ने लक्ष्य रहेको सुनाउनुभयो । उहाँका अनुसार ४ सयको निःशुल्क शल्यक्रियासहित चस्मा, औषधी, लेन्ससमेत प्रदान गरिनेछ । चस्मा, औषधिलगायत तेज कोहली रुइत फाउन्डेसनको सहयोग रहनेछ । महानगरका १९ वडामा ४८ वटा शिविर सञ्चालन गर्ने योजना रहेको छ । कार्यक्रममा परोपकार अभियान समूहका अध्यक्ष बाबुराम न्यौपाने, समाजसेवी राजेन्द्र खनाललगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । शिविरमा मेयर कोइरालाले पनि आँखा जाँच गराउनु भएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.