Websoft University

महानगरद्वारा बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला सेवा सुरु- सुगर, हेमोग्लोबिनलगायतका सेवा निःशुल्क


विराटनगर असोज २६ गते | रातो तारा डट कम,विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ ।

प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका बीच उद्घाटन गरे । विराटनगर–१९ स्थित स्वास्थ्यचौकीबाट आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको मेयर कोइरालाले बताए । “मैले चुनावी घोषणापत्रमै स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको थिएँ,” मेयर कोइरालाले भने, “सीमित स्रोत, साधन र जनशक्ति परिचालन गरेर स्वास्थ्य सेवालाई व्यापक बनाउँदै लानेछौं, त्यो काम प्रयोगशाला सञ्चालनमा आएसँग सुरु भएको छ ।” उनले स्वाथ्यचौकीलाई अस्पतालका रुपमा चाँडै स्तरोन्नति गरिने जानकारी  दिए ।  सामान्य रोगका बिरामीको उपचार स्वास्थ्यचौकीबाट हुने व्यवस्था मिलाउने उनको भनाइ थियो ।

स्वास्थ्य चौकीबाट रेफर गरिएका बिरामीको सहुलियत दरमा उपचार गर्ने गरी विराटनगरका विभिन्न अस्पतालहरूसित सम्झौताका लागि कुरा गर्नेसमेत कोइरालाले बताए । मेयर कोइरालाले सुगर, हेमोग्लोबिन, ब्लड ग्रुपिङलगायतका सेवा निःशुल्क उपलब्ध गराउनेसमेत जानकारी दिए । मेयर कोइरालाले ज्येष्ठ नागरिकको घर–घरमा गएर निःशुल्क स्वास्थ्य जाँच गर्ने योजनासमेत सुनाए । उनले दीर्घरोगबाट पीडित ज्येष्ठ नागरिकको पहिचान गरेर महानगरले घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने बताए ।

कार्यक्रममा विराटनगर वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरेले स्वास्थ्य चौकीलाई भौतिक रुपमा सुविधा सम्पन्न बनाउने बताए । उनले कोशी अस्पतालमा प्राप्त हुने सुविधा उपलब्ध गराउन सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । वडाध्यक्ष घिमिरेले महानगर भएर पनि १९ नम्बर वडा मानव सूचांकमा पछाडि परेको बताए । “महानगरपालिका भएर पनि विराटनगर १९ नम्बर वडा धेरै नै पछाडि परेको छ,” घिमिरेले भने, “अहिलेसम्म हामीले महानगर भएको प्रत्याभूति गर्न सकेका छैनौं । स्वास्थ्य चौकीलाई व्यवस्थित बनाएर सेवा विस्तार गर्न सकिएमा पक्कै पनि यो क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।”

त्यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले प्रयोगशालाबाट गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तह नजिकको सिंहदरबार भएकाले जनताका अपेक्षाअनुसार यसरी स्वास्थ्यचौकीहरूबाट सेवा उपलब्ध हुनुखुसीको कुराभएकोबताए । प्रयोगशालालाई स्रोत, साधन र जनशक्ति कम हुन दिन नहुने उनको सुझाव थियो । “महानगरको स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन प्रदेश स्वास्थ्य निर्देशनालय सहकार्य गर्न तयार छ,” प्रमुख बस्नेतले भने, “प्रदेशका तर्फबाट क्षमता अभिवृद्धि तालिमसहितका व्यवस्थापकीय क्षेत्रमा सहयोग गर्न तयार छौं ।”

सो अवसरमा स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, पूर्ववडाध्यक्ष बद्रीनाराययण सरदार, समाजसेवी बलबहादुर खवास, नेकपा माओवादी केन्द्रका स्थानीय शिवनारायण थनदारलगायतले यसअघि सञ्चालनमा ल्याइएको बर्थिङ सेन्टरलाई सुचारु गर्न एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले स्वास्थ्य चौकीबाट बुधबारदेखि नै हेमोग्लोबिन, ब्लड गु्रपिङ र सुगरको निःशुल्क जाँच सुरु भएको जानकारी दिए । स्थानीयको माग र आवश्यकताअनुसार अन्य सेवा पनि थप्दै जाने अलिले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.