Websoft University

दिन दिनै विराट एक्स्पोमा मानिसको घुइँचो बढ्दै


विराटनगर, फागनु ३ गते । रातो तारा डट कम,उद्योग संगठन मोरङले ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट एक्स्पो’ आयोजना भइरहेको छ ।

विराटनगर–२ स्थित शंकरपुरमा ‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को दोस्रो दिन शनिबार अवलोकन गर्नेको घुइँचो रहेको थियो । एक्स्पो (मेला) अवलोकन गर्नुका साथै त्यहाँ प्रदर्शनीमा राखिएका सामान बजारभन्दा सस्तो भएपछि किन्नेको अत्यधिक भीड रहेको थियो । 

मेला अवलोकन गर्न आन्तरिकका साथै भारतको विहारबाट समेत आएका छन् । दुई दिनमा करिब ४० हजारभन्दा बढीले मेला अवलोकन गरेको प्रचारप्रसार संयोजक नन्दु राठीले बताए । उनले भने, ‘दुई दिनमा हामीले अपेक्षा गरेको भन्दा बढीले मेला अवलोकन गर्न आए ।’ यही गतिले मेला अघि जाने हो भने हामीले सोचेको र भनेको अवलोकनकर्ता संख्या धेरै हुने देखिन्छ, राठीले थपे । दुई दिनमा ४० हजार बढीले अवलोकन गर्नुका साथै ४ करोड बढीको कारोबार भएको छ । 
शनिबार मेलामा हात्तीको विशेष आकर्षण रहेको थियो । हात्तीमा चढेर रमाइलो गर्ने र छेउमा सेल्फी फोटो खिच्नेको घुइँचो रहेको थियो । मेलामा आएका व्यक्तिले विगतकोभन्दा धेरै व्यवस्थित रहेको बताएका थिए । मेलामा कपडाका साथै भान्सामा प्रयोग हुने समान किन्नेको धेरै भीड रहेको थियो । सवारी साधन किन्ने र बुक गर्ने गरेका छन् । 

मेलाको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै रहेका थिए । होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ । उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गर्दै आएको बताइएको छ । हेलिकोप्टरबाट सेवा लिनेको भीड रहेको बताइएको छ । 

बालबालिकाका लागि विभिन्न खेल्ने सामग्री तथा फोटो खिच्नका लागि मोटु पात्लु, सेल्फी जोनलगायतको रहेको छ । यस्तै राष्ट्रिय र स्थानीयस्तरका कलाकारको साँगीतिक प्रस्तुति, फेसन शो गर्दै आएका छन् । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन १० गतेसम्म सञ्चालन हुनेछ।

मेलामा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ । एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैया“ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३ सय ४० वटा स्टल एक्स्पोमा रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.