विराटनगर. असार २५ गते। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने भएको छ।
२०८३ असार २७ गते शनिबार हस्पिटलको सेन्ट्रल हलमा हुने यो सम्मेलन "इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो" भन्ने नाराका साथ "इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन बीएमसीटीएच" नामबाट आयोजना हुने भएको हो । हस्पिटलकै न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजना हुने यस सम्मेलनमा मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स र रेडियोआइसोटोप थेरापी लगायतका विषयमा नेपाल, बंगलादेश र भारतका चिकित्सकहरू एकै मञ्चमा जुट्नेछन्।
सम्मेलनमा बंगलादेशबाट प्रा.डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हकसहित भारतको आरजिसीआईआरसी, नयाँ दिल्लीबाट प्रा. डा. मनोज गुप्ता सहभागी हुनेछन्। नेपालतर्फबाट डा. अमरदीप चौधरी (बीएमसीटीएच), डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले आफ्ना अनुभव र ज्ञान साझा गर्ने आयोजकले जनाएको छ।
यसअघि नै बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना गरिसकेको छ। बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको विभागीय प्रमुख डा. अमरदीप चौधरीका अनुसार यो प्रविधिले क्यान्सरजस्ता जटिल रोगको निदान र उपचारमा नयाँ युगको सुरुवात गरेको छ। साथै पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि आवश्यक हाइपेक सेवा पनि पूर्वमै पहिलोपटक सोही हस्पिटलमा सञ्चालनमा आइसकेको छ।
न्यूक्लियर मेडिसिन भनेको रेडियोएक्टिभ पदार्थको प्रयोग गरी शरीरका आन्तरिक अंगहरूको कार्यप्रणाली जाँच्ने र उपचार गर्ने आधुनिक चिकित्सा विज्ञानको एक शाखा हो। यसमार्फत क्यान्सरको प्रारम्भिक पहिचान, हृदयको रक्तप्रवाह जाँच, हड्डीको रोग पत्ता लगाउने र थाइरोइड समस्याको निदानसमेत गर्न सकिन्छ। मोलिक्युलर इमेजिङले शरीरका कोशिकाहरूमा आणविक स्तरमै भइरहेको परिवर्तन देखाउने भएकाले रोगको सुरुवाती चरणमै निदान गर्न सहयोग पुर्याउँछ।
आयोजकहरूका अनुसार यस्तो सम्मेलनले न्यूक्लियर मेडिसिन क्षेत्रमा क्षेत्रीय स्तरमा ज्ञान र अनुभव आदानप्रदान गर्ने अवसर सिर्जना गर्नेछ, जसको प्रत्यक्ष फाइदा पूर्वी नेपालका बिरामीहरूले पाउने अपेक्षा गरिएको छ। यसले स्थानीय चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय विज्ञहरूसँग सिकाइ र अनुभव साट्ने मौका दिनुका साथै क्यान्सरलगायत जटिल रोगको निदान र उपचार सेवा विराटनगरमै थप गुणस्तरीय, भरपर्दो र सुलभ बनाउने लक्ष्य राखेको छ।
उक्त सम्मेलनमा काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत नेपालका विभिन्न स्थानहरूबाट २५० जनाभन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ।
न्यूक्लियर मेडिसिन सम्मेलनले पूर्वी नेपालका बिरामीलाई के फाइदा दिन्छ?
आयोजकका अनुसार नेपाल, बंगलादेश र भारतका चिकित्सकबीच हुने ज्ञान तथा अनुभव आदानप्रदानले स्थानीय चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय स्तरको नयाँ प्रविधि र उपचार पद्धति सिक्ने अवसर दिनेछ, जसको लाभ अन्ततः बिरामीले नै पाउनेछन्। यसले सेवा सर्वसुलभ बनाई बिरामीहरूले उपचारका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ। दीर्घकालमा जटिल केसहरूमा अन्तर्राष्ट्रिय विज्ञहरूसँग परामर्श वा रेफरल सम्बन्ध बन्ने सम्भावना पनि यसले खुल्ला गर्नेछ।
हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागले हाल निदान र उपचार दुवै प्रकारका सेवा प्रदान गर्दै आएको छ। निदानतर्फ विभागले क्यान्सरको प्रारम्भिक पहिचान र फैलावट पत्ता लगाउने, हृदयरोगको निदान र हृदयको रक्तप्रवाह जाँच्ने, हड्डीको रोग र संक्रमण पत्ता लगाउने, मिर्गौला, कलेजो र फोक्सोको कार्यक्षमता जाँच्ने तथा थाइरोइड ग्रन्थीको समस्या निदान गर्ने सेवा दिँदै आएको छ।
उपचारतर्फ विभागले थाइरोइड क्यान्सरको रेडियोएक्टिभ आयोडिन उपचार, हड्डीको दुखाइ कम गर्ने रेडियोन्यूक्लाइड उपचार, न्यूरोएन्डोक्राइन ट्युमरको लक्षित उपचार र रेडियोसिनोभेक्टोमीजस्ता सेवा उपलब्ध गराउँदै आएको छ, जसले उपचारको सफलता दर बढाउन मद्दत गर्ने हस्पिटलले जनाएको छ।

Post a Comment