बिराटनगर २०८३ आषाढ १९ गते । शुक्रबार, मोरङ उद्योग व्यापार संघले हीरक जयन्ती वर्षको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरी मोरङ बहिरा क्रिकेट संघ, विराटनगरका खेलाडीहरुका लागि जर्सी (खेल पोशाक)हरु सहयोग गरेको छ । मोरङ बहिरा क्रिकेट संघको आयोजनामा आगामी दिनमा संचालन हुन गइरहेको चौथो प्रादेशिक क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको हौसला अभिवृद्धि गर्ने उद्देश्यले संघले सहयोग स्वरुप ३० थान जर्सी उपलब्ध गराएको हो ।
मोरङ उद्योग व्यापार संघको सचिवालयमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, महासचिव संजय कुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुको टोलीले मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधिहरु मोहन तिवारी, अंशु यादव र मोहम्मद साबिर मार्फत उक्त जर्सीहरु हस्तान्तरण गर्नु भएको थियो । सो कार्यक्रममा साङ्केतिक भाषा दोभाषेका रुपमा राधिका न्यौपानेले सहजीकरण गर्नु भएको थियो ।
हस्तान्तरणका क्रममा संघका अध्यक्ष अनुपम राठीले शारीरिक रुपमा विशेष फरक क्षमता भएका खेलाडी दाजुभाइहरुको मनोबल उच्च राख्न र खेल क्षेत्रमा उनीहरुको विशिष्ट पहिचान स्थापित गर्न सहयोग गर्न पाउँदा संघ परिवार अत्यन्तै हर्षित रहेको बताउनु भई आगामी दिनहरुमा पनि संघले यस्ता सकारात्मक र खेल प्रवद्र्धन गर्ने कार्यहरुमा आफ्नो सहयोग र सहकार्यलाई निरन्तरता दिने बताउनु भएको थियो ।
त्यस्तै, मोरङ बहिरा क्रिकेट संघका तर्फबाट श्री मोहन तिवारीले मोरङ उद्योग व्यापार संघको तर्फबाट प्राप्त उक्त सहृदयी सहयोग र सकारात्मक कदमप्रति आभार व्यक्त गर्दै त्यसबाट खेलाडीहरुमा नयाँ उर्जा थपिएको र आगामी प्रतियोगितामा खेलाडीहरुलाई अझ उत्कृष्ट प्रदर्शन गर्न हौसला प्रदान भएको बताउनु भएको थियो ।

Post a Comment