विराटनगर असार १२ गते । कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यालय प्रयोजनका लागि आवश्यक सामानको खरिदका नाममा लामो समयदेखि बजेट दुरुपयोग हुँदै आएको पाइएको छ ।
खरिदका नाममा संगठित ढंगले भ्रष्टाचार भएको भन्दै विस्तृत छानबिनको मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सीएममा जरुरी उजुरी दर्ता भएको छ । उजुरीमा विशेषगरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आपूर्तिकर्ता र सप्लायर्ससँग मिलेमतो गरी कृत्रिम रूपमा बढी खर्च देखाउने, नक्कली बिल मिलाउने र त्यसबाट कमिसन बाँडेर खाने प्रवृत्ति संस्थागत रूपमै चलिरहेको जस्तो गम्भीर आरोप लगाइएको छ ।
समाचारस्रोतका अनुसार हेलो सिएमको उजुरीमा मुख्यमन्त्री कार्यालयको प्रशासन शाखा, लेखा शाखा तथा सचिव र उपसचिव तहका अधिकारीसम्मको मिलेमतोमा नै त्यस्तो खर्चको बिल तयार पारेर बजेट सक्ने काम हुने गरेको दाबी गरिएको छ । एउटै कर्मचारी वर्षौंदेखि मुख्यमन्त्री कार्यालयमा जिन्सी तथा स्टोर हेर्ने जिम्मेवारीमा बस्ने र अन्य मन्त्रालयमा सरुवा भए पनि पुनः जिन्सी शाखामै काम गर्ने गरी व्यवस्थापन गरिने हुँदा मुख्यमन्त्री कार्यालयमै व्यापक आर्थिक अनियमितता हुँदै आएको दाबी गरिएको छ ।
यससँगै संघीय सरकार तथा अन्य प्रदेशका मन्त्रालयको तुलनामा कोशी प्रदेशका मन्त्रालयमा प्रशासनिक खर्चका लागि प्रदेश सरकारले नै अस्वाभाविक रूपमा बजेट विनियोजन गर्दै आएको पनि उजुरीमा उल्लेख छ । यसरी प्रत्येक वर्ष बजेट सार्वजनिक गर्दा प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयलाई बजेट वृद्धि गर्र्ने र उक्त रकमले पुगेन भने अन्य शीर्षकको बजेटलाई रकमान्तर गरेर भए पनि बजेट ल्याएर सक्ने गरिएको छ । विशेषगरी असार महिनामा धेरै बिल मिलाएर खर्च देखाउने प्रवृत्ति कोशी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयमा व्यापक रुपमा मौलाएको दाबी हेलो सिएमको उजुरीमा गरिएको छ ।
उजुरी दर्तासंगै कोशी प्रदेशका मुख्य सचिव राजेन्द्र पौडेल विवादमा तानिएका छन् । यसबारेमा बुझ्न उनीसँग आर्थिक दैनिकले धेरै पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । मुुख्यसचिव पौडेलले प्रशासन माहाशाखा प्रमुख नारायण रिसाललाई मुख्यमन्त्री कार्यालयको सम्पूर्ण आर्थिक कारोबार र प्रशासनिक कारोबार हेर्ने जिम्मेवारी तोकेर आफू चोखो हुने प्रयास गरेका छन् ।
मुख्य सचिव पौडेल विगतदेखि नै शंकास्पद एवं विवादास्पद भएको कर्मचारी स्रोतले बताएको छ । उनी मुख्यमन्त्री कार्यालयमा मुख्यसचिवको जिम्मेवारीमा आउनु अगाडी कोशी प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको जिम्मेवारीमा थिए । २०७७ असोज ७ गतेदेखि २०७८ असोज ५ गतेसम्म मन्त्रालयको सचिव रहेका पौडेलपछि बढुवा भएपछि कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा छन् । (अआर्थिक राष्ट्रिय दैनिक बाट सा )

Post a Comment