विराटनगर फागुन ८ गते | विराटनगर महानगरपालिकाको आयोजनामा सम्पन्न ‘मेयर कप फुटबल प्रतियोगिता–२०८२’ बाट प्राप्त नगद पुरस्कार रकम सामाजिक उत्तरदायित्वमा प्रयोग गर्दै आदर्श माध्यमिक विद्यालयले आफ्नो सेवा क्षेत्रभित्रका ६ सामुदायिक आधारभूत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
गत माघ ६ देखि ११ गतेसम्म सञ्चालन भएको विद्यालयस्तरीय प्रतियोगितामा विजेता बनेको आदर्श माविले प्राप्त गरेको १ लाख २५ हजारमध्येबाट खेल सामग्री खरिद गरी लक्षित विद्यालयका प्रधानाध्यापकहरूलाई विशेष कार्यक्रममार्फत वितरण गरेको हो । विद्यालय प्रधानाध्यापक सन्तोष पोखरेलका अनुसार पुरस्कार रकमलाई प्रत्यक्ष रूपमा खेल पूर्वाधार अभिवृद्धिमा लगानी गर्दै सामुदायिक विद्यालयहरूसँग सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ ।
हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले विजेता विद्यालयले पुरस्कार रकमलाई सामाजिक सरोकारसँग जोडेको कदम उदाहरणीय रहेको बताए । उनले सामुदायिक विद्यालयमा खेल संस्कृतिको विकास र विद्यार्थीहरूको प्रतिभा पहिचानका लागि यस्ता पहल आवश्यक रहेको धारणा राखे ।
विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी इन्द्रबहादुर चौहानले प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिलाई सामुदायिक हितमा रूपान्तरण गर्नु नै संस्थागत उत्तरदायित्व भएको उल्लेख गरे । उनका अनुसार खेल सामग्री वितरणले विद्यालयहरूबीच सहकार्यको वातावरण सुदृढ बनाउने र खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।
खेल सामग्री प्राप्त गर्ने विद्यालयहरूमा श्री बालमन्दिर आधारभूत विद्यालय (विराटनगर–७), श्री सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय (विराटनगर–८), श्री शहिद आधारभूत विद्यालय (विराटनगर–३), श्री सत्यनारायण आधारभूत विद्यालय (विराटनगर–७), श्री महामाया भगवती आधारभूत विद्यालय (विराटनगर–१६) र श्री शंकरपुर आधारभूत विद्यालय (विराटनगर–२) रहेका छन् । खेल सामग्रीहरु सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले ग्रहण गरेका थिए ।
यसै अवसरमा विद्यालयको ९७औं वार्षिकोत्सवका सन्दर्भमा आयोजित विज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । साथै मेयर कपमा विद्यालयलाई विजय दिलाउने खेलाडी विद्यार्थीहरूलाई जर्सी सेट, सम्मानपत्र तथा छात्रवृत्तिसमेत प्रदान गरिएको जनाइएको छ ।
विद्यालयले प्रतियोगिताबाट प्राप्त उपलब्धिलाई संस्थागत गौरवमा सीमित नराखी सामाजिक साझेदारीमा रूपान्तरण गरेको यो पहललाई सहभागीहरूले दीर्घकालीन प्रभाव पार्ने कदमका रूपमा लिएका छन् ।

Post a Comment