विराटनगर मसिर ४ गते | नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्रसहितका दलमा समाहित भएसँगै सो पार्टीका नेता कार्यकर्तामा विचलन देखिएको छ ।
कतिपय नेताहरू पुरानै मातृ पार्टी एमालेमा फर्किरहेका छन् भने कतिय अन्य पार्टीमा प्रवेश गर्ने लहर चलेको छ । यसैक्रममा विराटनगरका चर्चित युवा अभियन्ता विशाल साह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादीका युवा नेतासमेत रहेका साहलाई मोरङ कांग्रेसका उपसभापति नागेश कोइरालाले पार्टीमा स्वागत गरे । संक्षिप्त कार्यक्रममा कोइरालाले साहलाई खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।
कांग्रेसले मात्रै देश, जनता र लोकतन्त्रको रक्षा गर्न सक्ने देखेर प्रवेश गरेको उनको भनाइ थियो । साहले अब इमान्दारिताका साथ कांग्रेसको संगठन निर्माण लाग्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपालमा प्रजातन्त्र स्थापनासँगै हरेक राजनैतिक आन्दोलनको अगुवाई कांग्रेसले गरेको छ । जस्तोसुकै परिस्थितिमा पनि यो पार्टी कहिल्यै विचलित भएको मैले पाइन । कांग्रेस नै यो देशको खास पार्टी रहेछ भन्ने लागेर प्रवेश गरेको हुँ,’ उनले भने, ‘अब मेरो ध्यान कांग्रेसलाई बलियो हुनेछ ।’
विराटनगर महानगरका मेयरसमेत रहेका उपसभापति कोइरालाले विशाल साहजस्ता जुझारु र युवालाई कांग्रेसले सधैं स्वागत गर्ने बताए । कांग्रेस समुद्रजस्तै भएकाले जोसुकै पनि अटाउन सक्ने उनको भनाइ थियो । ‘कांग्रेस एउटा समुद्र हो । जसरी समुद्रमा हजारौं प्रजातिका जीवहरू अटेका छन् त्यसरी नै कांग्रेसमा पनि युवादेखि ज्येष्ठ नागरिकका साथै सबै जात, धर्म, समुदाय र वर्ग अट्छन्,’ कोइरालाले भने, ‘२००७ सालदेखिको इतिहास हेर्ने हो भने राजनैतिक क्रान्तिदेखि आर्थिक विकासमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको छ ।’
सो अवसरमा कांग्रेसका युवा नेता हरि भट्टराई, जसवन्त पौडेल, अनिल थापा, कालु श्रेष्ठ, विशाल गिरीलगायत युवाहरूको समेत उपस्थिति रहेको थियो ।
नवप्रवेशी साह यसअघि अनेरास्ववियू विराटनगर महानगर अध्यक्ष, मोरङको इन्चार्ज र सो संगठनको स्थायी कमिटी सदस्य जिम्मेवारीमा थिए ।

Post a Comment