विराटनगर | जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।
मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा भएको क्षतिको विवरण हो । त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको महानगरले जनाएको छ ।
वडागत रुपमा संकलन गर्नुपर्ने परेका कारण क्षतिको पूर्ण विवरण आउन समय लागेको मेयर कोइरालाले बताए । ‘यो त भौतिक र जिन्सी सामग्रीको क्षतिको विवरण हो । त्यो भन्दा ठूलो क्षति त जनताका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको छ,’ उनले भने, ‘घरजग्गा शाखा पूर्ण रुपमा जल्दा त्यहाँका सबै कागजपत्र नष्ट भयो । अन्य महाशाखा र शाखाका कागजपत्र पनि सबै जल्यो । ती सबै कागजपत्र जनतासँग सम्बन्धित नै थिए ।’
भौतिक संरचना र जिन्सीसहित ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ क्षति भएको छ । जसले गर्दा महानगरको विकासमा असर पुग्ने निश्चित । मेयर कोइरालाले महानगरलाई तङ्ग्रिन अझै केही समय लाग्ने बताए । सेवा प्रवाहमा भने कुनै कमी हुन नदिएको उनको भनाइ थियो ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडा जलेर नष्ट भएको थियो । प्रशासनिक भवनमा आगजनी गर्दा अधिकांश महाशाखा खरानी भएका थिए ।
प्रशासनिक भवन र वडा कार्यालयहरूमा आगजनी गर्दा टेन्टमार्फत जनताका सेवा प्रवाह गरिरहेको उनले सुनाए । बस्ने ठाउँ नहुँदा न्यायिक समितिको इजलाससमेत टेन्टमै बसिरहेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । उनका अनुसार हरेक सोमबार र बुधबार न्यायिक इजलास बस्ने गरेको छ ।
महानगरबाट प्रवाह हुने सबैजसो सेवा पूर्ववत् रुपमा सुचारु भइसकेको छ । प्राविधिक जाँचपछि बस्न योग्य भवनमा रंगरोगन, विद्युत र नेट जडान धमाधम भइरहेको प्रमुख प्रशासकीय अधिकृत योगन्द्र दुलालले जानकारी दिए ।

Post a Comment