Websoft University

ज्येष्ठ नागरिक सेवा समाजको तीज विशेष कार्यक्रम


विराटनगर  भाद्र ५ गते ।  हिन्दू नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सेवा समाज केन्द्रीय कार्यालयले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की प्रमुख अतिथिका रूपमा सहभागी भइन् । उनले तीजलाई केवल नाचगान र दरमा सीमित नराखी यसलाई महिलाहरूको आत्मस्फूर्त भावनात्मक अभिव्यक्ति र आत्मबल वृद्धि गर्ने पर्वको रूपमा लिनुपर्ने बताइन् ।

‘तीज केवल चाड मात्र होइन, महिलाहरूको सुख–दुःख साट्ने, समभाव र सहकार्यको भावना उजागर गर्ने पर्व हो,’ कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले भनिन्, ‘हामीले यसलाई संस्कारसहित मनाउनु आवश्यक छ, ताकि हाम्रो संस्कृति पनि जगेर्ना होस् र भावीपुस्तालाई पनि सही परम्परा हस्तान्तरण होस् ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुडालले तीजजस्ता पर्वहरूमा महिलाको सुरक्षा र आत्मसम्मानको प्रत्याभूति राज्यको कर्तव्य भएको बताउँदै, सामाजिक रूपमा सकारात्मक सन्देश फैलाउने कार्यमा यस्ता कार्यक्रमले सहयोग पु¥याउने उल्लेख गरिन् । गैसस मोरङकी अध्यक्ष विष्णु शर्माले तीजले महिलाहरूबीच एकता र आत्मीयता बढाउने बताए ।

समाजकी अध्यक्ष अञ्जु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब ७० जना ज्येष्ठ आमाहरूको उपस्थिति थियो । उनीहरूलाई विशेष रूपमा दर खुवाइयो र सम्मानसमेत गरिएको थियो । प्रमुख अतिथिसहित अन्य विशिष्ट अतिथि तथा आमाहरूले तीजका पारम्परिक गीतहरूमा नाचेर रमाइलो गर्दै पर्वको रौनक थपेका थिए ।

कार्यक्रममा वक्ताहरूले तीजको मूल मर्म नबिर्सी विकृति र तडकभडकभन्दा पनि आत्मीयता र संस्कारमा जोड दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमले पारिवारिक एवं सामाजिक सद्भाव मजबुत बनाउने सन्देश दिएको सहभागीहरूले बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.