Websoft University

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा- नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश


काठमाडौं बैशाख २० गते । आज ३ मे अर्थात (विश्व प्रेस स्वतन्त्रता दिवस) प्रत्येक वर्ष मे ३ को दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गर्यो । योसँगै युनेस्कोले १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्तावलाई संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि विश्वभरी यो दिवस मनाउन सुरु भएको हो । 

विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षाका विषयमा समीक्षा गरी मनाउने गरिन्छ । यसको मुख्य उद्देश्य सरकार र सरोकारवाला पक्षलाई प्रेस स्वतन्त्रताको आवश्यकताका बारेमा बुझाउनुका साथै, पत्रकारको सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नु हो ।
शिक्षा, सञ्चार तथा संस्कृतिको क्षेत्रमा क्रियाशील संस्था युनेस्कोको अग्रसरतामा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको यस वर्षको नारा ‘ नयाँ साहसिक संसारमा रिपोर्टिङ–प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ Reporting in the Breave New world ,the impact of Artificial Intelligence on press freedom and the media रहेको छ । 
यो दिवसको अवसरमा नेपालमा पत्रकार महासंघलगायत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउदै छन् । ७० वर्ष लामो इतिहास बोकेको महासंघ नेपालको पुरानो, अगुवा नागरिक संस्थाको रूपमा स्थापित छ । 
बदलिँदो समयसँगै नेपाली पत्रकारिता क्षेत्रमा पनि नयाँ चुनौतीहरू थपिदै गएका छन् । कतिपय विश्व राजनीतिक घटनाक्रमले प्रेस जगतमा चुनौती थपेको छ । विभिन्न समयमा हुने आन्दोलन र त्यसमाथि राज्यको व्यवहारका कारण नेपाली प्रेस जगतले निर्भयतापूवर्क आफ्नो काम गर्न सकेको छैन । 
वि.सं. २०८१ चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या हुनुका साथै सन्चार माध्यममाथि आगजनी र आक्रमण हुनु खेदजनक घटना थियो । त्यस्तै शिक्षक आन्दोलनमा रिपोर्टिङ्गमा खटिएकी पत्रकार सविना कार्कीमाथि प्रहरीबाट भएको ज्यादती खेदजनक छ । 

यसैगरी धरानका पत्रकार गोपाल दाहालमाथि स्थानीय सरकारको प्रमुखबाटै भएको भौतिक आक्रमणको धम्की तथा मानसिक यातनाको घटनाका कारण विस्थापित हुनुपरेको घटना खेदजनक छ । म प्रेसमाथि राज्यबाट भएका यस्ता घटनाको निन्दा गर्दै पत्रकारलाई काम गर्ने सुरक्षित वातावरण निर्र्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।
नेपाली अर्थतन्त्रमा देखिएको आर्थिक संकट, कृतिम बुद्धिमता (एआई)को विकाससँगै समग्र पत्रकारिता क्षेत्रमा नयाँ—नयाँ चुनौती देखिएका छन् । समयानुकूल पत्रकारको पारिश्रमिक वृद्धि नहुनु साथै, श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण पालना समेत नहुँदा पत्रकाहरू नियमित सेवा सुविधाबाट बञ्चित हुँदै आएका छन् । 
नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन इकाइमा मे ४ सन् २०२४ देखि २७ अप्रिल २०२५ सम्म प्रेस स्वतन्त्रता हननका ७३ वटा घटना अभिलेख भएका छन् । गतवर्ष यही अवधिमा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना अभिलेख भएका थिए । यसरी हेर्दा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि भएको छ ।
७३ वटा घटनामा १५१ पत्रकार र ५ वटा सञ्चार संस्था आक्रमणमा परेका थिए । यी घटनामा पीडित पत्रकार तथा संचार संस्थाको विवरण अनुसूचीमा प्रस्तुत गरिएको छ । महासंघको सञ्चार अनुगमन इकाइमा अभिलेख भए अनुसार यो एक वर्षको अवधिमा २ जना पत्रकारको हत्या भएको छ । गिरफ्तारी २, कब्जा तथा अवरोध ९, पत्रकार दुर्व्यवहार तथा धम्कीका २४, आक्रमणका २० वटा घटना रहेका छन् ।
 
यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन् । पत्रकारमाथि धम्की, धरपकड तथा दुर्व्यवहारका अत्यन्त निन्दनीय घटना यस अवधिमा भएका छन् जसलाई लोकतन्त्र माथिकै प्रहार भएको महासंघ ठान्दछ । लामो सयमदेखि प्रतिक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता पाएको छैन । 
यसबीचमा सरकारले सूचनाप्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको छ । महासंघले विगतदेखि नै सञ्चार सम्बन्धी कानूनलाई व्यवस्थित गर्न र संविधानको मर्म अनुसार कानून निर्माण गर्न सरकारलाई खवरदारी गर्दै आएको सर्वविदितै छ ।

स्थापनाकालदेखि नै मानव अधिकारको रक्षा, सहि सूचना पाउने नागरिकको अधिकारको संरक्षण लगायतका सार्वजनिक सरोकारका विषयमा समेत महासंघले बहस गर्दै आएको छ । अझ पछिल्लो समयमा सूचना प्रविधिको विकासका कारण व्यावसायिक सञ्चारमाध्यमका सामग्री र सामाजिक सञ्जाल मार्र्फत व्यक्तिले व्यक्त गरेका विचारहरू नछुटिने बिडम्बनापूर्ण चुनौती हामी सामु छ ।
लोकतन्त्रसँग पत्रकार र पत्रकारिता अभिन्न रूपले जोडिएको हुन्छ । यसर्थ हामीले कतिपय अवस्थामा व्यवसायिक जिम्मेवारी भन्दा बाहिर सार्वजनिक सरोकारका विषयमा पनि आफना अभिमत जाहेर गर्दै आएका छौ । संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि आफ्ना नितिहरू केन्द्रीत गरेका छौ ।
यो अवसरमा म महासंघ श्रमजीवी पत्रकार ऐन बमोजिमको सेवा, शर्त र सुविधाका पक्षमा अविचलित रूपमा उभिने जानकारी गराउन चाहन्छु 
महासंघले लोकतन्त्र, मानवअधिकार, स्वतन्त्र न्यायापालिका र जवाफदेही शासन प्रणालीका पक्षमा बलियो अभिमत राख्नुका सार्थै निमार्णाधिन आमसञ्चार कानूनमा महासंघको राय सुझाव र खवरदारी व्यक्त हुँदै आएको छ । 
पछिल्लो केही वर्षयता सामाजिक सञ्जालको माध्यमबाट मिथ्या सूचना फैलिदा त्यसको अपजस सञ्चारमाध्यमले भोग्नु परिरहेको छ । मिथ्या सूचनाबाट सर्वसाधारणमा पर्नसक्ने असरप्रति सजक रहदै पत्रकारको क्षमता अभिवृद्धि सहित भौतिक सुरक्षाप्रति सरोकारवाला निकायको ऐक्यवद्धता आवश्यक रहेको छ । 
यस अवसरमा म सञ्चार माध्यम नियमनको बहानामा विचार र अभिव्यक्ति स्वतन्त्रता माथि हुने कुनैपनि किसिमको हस्तक्षेपका विरुद्ध महासंघ बलियो रूपमा प्रस्तुत हुने प्रतिबद्धता पुनः व्यक्त गर्दछु । साथै, पत्रकारमाथि हुने दुव्यवहार, आक्रमणका घट्नामा हुने गरेको दण्डहीनता अन्त्यगरी प्रेसमैत्री वातावरण निर्माण गर्न सरकार र सरोकारवाला पक्षसंग माग गर्दछु । 
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसमार सम्पूर्ण पत्रकार, सञ्चारकर्मी लगायत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
निर्मला शर्मा
अध्यक्ष

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.