Websoft University

विद्यालय आपसपास सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउनुपर्नेमा जोड


विराटनगर | विद्यालय र शैक्षिक संस्था छेउछाउमा भइरहेको सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कडाइका साथ रोक लगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा सुर्तीजन्य तथा मद्यपान सेवनको निषेध, न्यूनीकरण, नियन्त्रण र नियमनसम्बन्धी सरोकारवालाहरुको अन्तरक्रियामा बोल्ने वक्ताहरुले विशेष गरी विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमै रोक लगाउनुपर्नेमा जोड दिएका हुन् । ‘सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔं’ भन्ने मूल नाराका साथ यसपटक मे ३१ मा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको छ । सोही दिवसको सन्दर्भ पारेर विराटनगर महानगरपालिका र स्वास्थ्य कार्यालय मोरङले पत्रकार सम्मेलनसहितको सरोकारवालासित अन्तरक्रिया आयोजना गरेको हो ।

अन्तरक्रियामा पोखरिया माविका प्राचार्य खेमराज भट्टराईले विद्यालयबाट १ सय मिटर वरिपरि सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवन गर्न नपाइने ऐनमै व्यवस्था भए पनि बिक्री भइरहेको बताउनुभयो । उहाँले कडाइका साथ ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकार कुमोद अधिकारी र सुशीला पाठकले चिया पसलमा विद्यार्थी उमेरका युवायुवतीले खुलेआम चुरोट खाने गरेकाले महानगरको अनुगमन त्यतातिर पनि केन्द्रित हुनु जरुरी रहेको विचार राख्नुभयो ।

सुर्तीजन्य पदार्थसम्बन्धी विद्यमान ऐन, कानुन र कार्यान्वयन अवस्थाका विषयमा डब्लूएचओका प्रतिनिधि डा. संगीता राई र कृष्णकुमार देवले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारीले महानगरले गत साउन १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले ऐन कार्यान्वयनमा महानगरले अनुगमनलाई समेत प्रभावकारी रुपमा अगाडि बढाइरहेको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बालबालिकालाई सुर्तीजन्य सेवनबाट बचाउन अभिभावक पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

महानगरले विराटनगर महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाएको थियो । तर अदालतको स्टेअर्डरपछि हाल बिक्री खुल्ला भएको छ । महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले संघीय ऐनलाई नै टेकेर भए पनि सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा कडाइ गरिने बताउनु भयो । उहाँले विद्यालय आसपासका पसलहरुमा समेत अनुगमन गर्ने गरेको दाबी गर्नुभयो । 

स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शेखर यादवले सबैको सहकार्य र प्रयासले मात्रै सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउन सकिने धारणा राख्नुभयो । अन्तरक्रियामा विभिन्न विद्यालयका विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, कर्मचारीसहित सरोकारवाला निकायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

नेपालमा हरेक वर्ष ३९ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको तथ्यांकमा उल्लेख छ । जुन कूल मृत्युको १८ प्रतिशत हो । विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.