Websoft University

विराटनगरको सडक सौन्दर्यकरणका लागि रकम जुट्ने क्रम जारी-सानिमा बैंकद्वारा २ लाख रुपैयाँको चेक हस्तान्तरण


विराटनगर | विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

हालसम्म ७ वटा विभिन्न बैंकहरुबाट १२ लाख रुपैयाँ जम्मा भइसकेको   छ । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । सोमबार सानिमा बैंक लिमिडेटले २ लाख रुपैयाँ जम्मा गरेको छ । सोमबार महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला र शिल्पा निराला कार्कीलाई बैंकका कोशी प्रदेश प्रमुख फनिन्द्र दाहाल, विराटनगर शाखा प्रमुख महेश निरौला र कञ्चनबारी शाखा प्रमुख प्रसन्न गजुरेलले २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसहित विभिन्न शाखा र महाशाखा प्रमुखसमेतको उपस्थितिमा भएको कार्यक्रममा मेयर कोइरालाले विराटनगर बनाउने सबैको दायित्व भएको बताउनुभयो ।

यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् । महानगरले बैंकर्स एसोसिएसनका प्रदेश अध्यक्ष बुढाथोकीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको थियो । प्राविधिकसहितको सो समितिले लामो अध्ययन गरी फूल र विरुवाको जात, लागत अनुमानलगायत समेटेर महानगरलाई प्रतिवेदन बुझाएको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा सौन्दर्यकरणको प्रक्रिया अघि बढाएको महानगरका मेयर कोइरालाले जानकारी दिनुभयो । हाल फूल र विरुवाको सुरक्षाका लागि तारजाली बनाउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

महानगर एक्लैले विराटनगर बनाउन असम्भव भएकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण गर्न आह्वान गरेअनुसार सहयोग प्राप्त भएको मेयर कोइरालाले बताउनुभयो । ५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेको सडक सौन्दर्यकरण अभियानको संयोजन गरिरहनुभएका पुनमकुमार दाहालले जानकारी दिनुभयो । सो सडक सौन्दर्यकरण गर्न ५५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

अनुमान गरिएको रकम माटो मिलाउने, विभिन्न जातका फूल तथा विरुवा रोप्ने, घेराबार गर्ने, पानी पटाउन ट्यांकर खरिद गर्ने, दुईजना मालीको व्यवस्थापन गर्ने, एक वर्षसम्म अन्य समग्र व्यवस्थापनका लागि खर्च गरिनेछ । महानगरले गठन गरेको समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो ।

 महानगरले परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइसकेको छ । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । परियोजनालाई पारदर्शी बनाउन महानगरले उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा ९ सदस्यीय उपभोक्ता समितिसमेत गठन गरेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.