Websoft University

१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय


विराटनगर | नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ ।

कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरुको हितका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर यही जेठ १० गते विराटनगरमा हुने विशेष समारोहमा अक्षयकोषको औपचारिक घोषणा गरिने अध्यक्ष नवोदितले बताए ।

 उनका अनुसार अक्षयकोषमा समितिका पदाधिकारी र सदस्यले निश्चित रकम जम्मा गरेर शुभारम्भ गरिनेछ । त्यसपछि ‘एक सय अभियान’ पनि सञ्चालन गरिने नवोदितले बताए । यससँगै देश तथा विदेशमा रहने युनियनमा आबद्ध पत्रकार, समाजसेवी, उद्योगी, व्यवसायी सबैलाई स्वेच्छिक रकम जम्मा गर्नका लागि आह्वान गरिनेछ । 

‘दुर्घटना परेर हातखुट्टा भाँचिनुका साथै अन्य बिरामी भएर एक–दुई महिनासम्म काम गर्न नसक्ने अवस्था पनि आउँछ । त्यस्तो अवस्थामा २० हजार सहयोग गर्न सकियो भने बिरामीका लागि ठूलै राहत हुन्छ,’ अध्यक्ष नवोदितले भने, ‘त्यसका लागि कार्यविधि बनाइनेछ । पारदर्शीका लागि स्मारिका र सामाजिक सञ्जालबाट रकमसहित सहयोग गर्नेहरूको नाम सार्वजनिक गरिनेछ ।’

प्रदेशभित्रै युनियनमा लामो समय काम गरेर धेरै सञ्चारकर्मी विदेशमा रहेको बताउँदै नवोदितले उनीहरुबाट पनि सहयोगको आश्वासन आएको बताए । धेरै युनियनकर्मीहरु सरकारी सेवामा पनि भएकाले पवित्र उद्देश्यले सुरु गरिएको अभियानमा सबैको साथ रहने उनले विश्वास व्यक्त गरे । ‘आजको भोलि अक्षयकोषले पूर्णता नपाउला तर सुरुवात गरेपछि कुनै न कुनै दिन पक्कै पूर्णता पाउनेछ,’ अध्यक्ष नवोदितले भने । अक्षयकोषले पूर्णता पाएपछि जिल्ला शाखाको सिफारिसमा प्रदेशभरिका युनियनमा आबद्ध पत्रकारहरुको दुर्घटना बिमासमेत गर्ने योजना रहेको उनले सुनाए ।

सचिवालय बैठकले आसन्न पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरी कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा अध्यक्ष नवोदित, उपाध्यक्ष ज्ञानेन्द्र निरौला, महासचिव संजीव वाग्ले र सचिव विनय बाह्राकोटी रहेका छन् । कार्यदलले जिल्ला तहमा रहेको विवाद समाधानका लागि समन्वय र सहजीकरण गर्नुका साथै जिल्ला शाखालाई सक्रिय र प्रभावकारी बनाउने भूमिका खेल्ने महासचिव वाग्लेले जानकारी दिए । सोही बैठकले स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा यही जेठ १० गते बिहीबार बिहान ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित आहारबिहार’ भन्ने नाराका साथ सञ्चारकर्मीहरुबीच खुल्ला दौड प्रतियोगिता, अग्रज पत्रकार सम्मान, ‘प्रदेशको स्थायित्व र विकासका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचारगोष्ठी गरिने महासचिव वाग्लेको भनाइ छ । त्यस्तै युनियनका कोशी प्रदेशका १४ जिल्लाका अध्यक्ष, युनियनबाट निर्वाचित महासंघ जिल्ला अध्यक्ष, कोशी प्रदेशबाट प्रेस युनियन र पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यको उपस्थितिमा प्रदेश भेलासमेत आयोजना हुनेछ ।

त्यस्तै सचिव विनय बाह्राकोटीको नेतृत्वमा गठन गरेको कार्यदलले १४ वटै जिल्लाको युनियन र पत्रकारिताको अवस्था समेटेर तयार पारेको प्रतिवेदन अध्यक्ष नवोदितलाई हस्तान्तरण गरे । बाह्राकोटीको संयोजकत्वमा यसअघिको सचिवालय बैठकले ‘मिसन महासंघ’ नाम दिएर समिति गठन गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.