Websoft University

हिद विद्यालयले मनायो १५ औं वार्षिकोत्सव- आगामी आर्थिक वर्षमा ७ करोड ३६ लाख ३९ हजार खर्चको अनुमान


विराटनगर, जेठ १ गते | सुनसरीको इटहरी नगरपालिका वडा नं. १९ मा अवस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले आफ्नो वार्षिक प्रगति प्रतिवेदन २०८० सार्वजनिक गरेको छ । विद्यालयका प्रधानाध्यापक रीता फुयालको अध्यक्षतामा आयोजित १५औं वार्षिकोत्सव तथा अभिभावक दिवसकार्यक्रममा वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।


वार्षिक प्रतिवेदनमा विद्यालयमा हाल २६ जिल्लाबाट ४२१ विद्यार्थीहरू अध्ययनरत रहेको उल्लेख छ । जसमध्ये २५६ विद्यार्थी आवासीय छन् भने बाँकी १६५ विद्यार्थी स्थानीय रहेका छन् । वार्षिकोत्सव समारोहमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेल लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यालयले भोगिरहेका चुनौती र भावी योजनाहरू प्रस्तुत गरिएको थियो ।


प्रतिवेदनमा चालु प्रशासनिक र आवास व्यवस्थापनका लागि बजेट अपुग रहेको उल्लेख छ भने शिक्षकहरूको क्षमता विकासका लागि तालिम आवश्यक रहेको बताइएको छ । यसैगरी, विद्यालयलाई पुस्तकालय, बहुप्रविधिक विषय संचालन, छात्रावास मर्मत लगायतका पूर्वाधार विकास गर्नुपर्ने देखिएको छ । त्यसैगरी विद्यालयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ द्वन्द्वपीडित शिक्षा कार्यक्रम अन्तर्गत संचालित विद्यालयको मोडालिटी परिवर्तन गरी दीर्घकालीन संचालन व्यवस्थापन गर्ने योजना रहेको बताइएको छ । वार्षिकोत्सवमा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न आविष्कारहरुको प्रदर्शनसमेत गरिएको थियो । 

यस्तै उक्त विद्यालयले आर्थिक वर्ष २०७९÷०८० को आर्थिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापन समितिका कोषाध्यक्ष राम बहादुर कार्कीले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् । 


आर्थिक वर्ष २०७९÷०८० मा विद्यालयको आय ४ करोड २७ लाख ७० हजार पुगेको छ भने खर्च ३ करोड ३५ लाख ६३ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । यसरी विद्यालयको खुद नाफा ६७ लाख ७ हजार छ । विगतमा पनि विद्यालयलाई नाफा हुँदै आएको देखिन्छ ।


प्रतिवेदनमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ७ करोड ३६ लाख ३९ हजार खर्च लाग्ने अनुमान गरिएको छ । विद्यालयले खाद्यान्न खरिद, पोषाक, शैक्षिक भ्रमण, खेलकुद तथा सांस्कृतिक कार्यक्रम, औषधि उपचार, शिक्षक तालिम लगायतका क्षेत्रमा खर्च गर्ने गरेको छ । 

प्रतिवेदनमा विद्यालयको विगत, वर्तमान अवस्था र भावी योजनाहरू समेत उल्लेख गरिएको छ । विद्यालयलाई आत्मनिर्भर बनाउने, प्राविधिक विषय संचालन गर्ने, नमुना विद्यालयको स्तरमा पुर्याउने लगायतका योजना प्रतिवेदनमा उल्लेख छ । साथै, विद्यालयमा देखिएका समस्या र चुनौतीहरूलाई समेत औंल्याइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.