Websoft University

मोरंग व्यापार संघ एक्स्पोमा शनिबार पाइला टेक्ने ठाउँ थिएन


बिराटनगर | २०८० पौष १४ गते, शनिबार | मोरंग व्यापार संघद्वारा संचालित ‘मोरंग व्यापार संघ एक्स्पो २०२३’को आज नवौँ दिन शनिबार एक्स्पोमा पाइला टेक्ने ठाउँ थिएन । पुस ६ गतेदेखि १६ गतेसम्म संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एक्स्पोमा उपभोक्ता एवं अवलोकनकर्ताको भारी भीड निरन्तर बढ्दै गइरहेको छ । 

एक्स्पोमा २२० स्टल छन् । प्रत्येक स्टलमा उपभोक्ताको भीड थियो । उपभोक्ताले स्टलमा प्रदर्शन गरिएका सामान बारे जिज्ञासा राख्ने, आफूलाई मन परेको सामग्री किन्ने गरेका थिए । उपभोक्ताको स्वागतका लागि स्टल संचालकलाई भ्याई न भ्याई थियो । एक्स्पोमा रहेका विभिन्न खानाका स्टलमा समेत अवलोकनकर्ताको बाक्लो भीड थियो । जर्मन प्रविधिद्वारा निर्मित ह्याङ्गरका स्टलमा भीडका कारण हिड्नपनि कठिन थियो । ती स्टलका कुनैपनि टेबल खाली थिएनन् । 


खाद्यान्न, भान्सामा प्रयोग हुने सामग्री, प्लाष्टिकका सामान, हस्तकला, चियापत्ती, फलफुलका जुस एवं स्क्वास, कार्पेट, पाइप, मरमसाला, गाडी, ट्युब टायर र गार्मेन्ट्सका स्टलमा उपभोक्ताको अत्याधिक चासो देखियो । भारत, पाकिस्तान र बङ्गलादेशका स्टलमा राखिएका सामग्री बारे जान्ने र किन्ने उपभोक्ताकोपनि कमी थिएन । विदाको दिन एक्स्पोस्थलको चौरमा बसेर तातो घामको आनन्द लिने अनि सुन्तला, बदाम लगायतका खानेकुरा खाने अवलोकनकर्ताले चौर भरिएको थियो । 


स्टेजमा विभिन्न स्कुलका बालबालिकाको गीत गायन र नृत्य लगायतका सांस्कृतिक कार्यक्रमले एक्स्पोमा रौनकता थपिएको थियो । एक्स्पोमा कन्यामदेखि ल्याइएका २ मुष्तण्ड घोडामा चढेर घुम्न अवलोकनकर्ता ज्यादै हौस्यिएका थिए । अवलोकनकर्ता माझ ५५ फिटको आइफिल टावर आकर्षणको विषय बनेको छ । टावरको छेउमा बसेर फोटो खिच्ने र खिचाउने कार्य दिनभर नै चलिरहेको छ । 

एक्स्पो संचालन भएकै दिनदेखि चर्चित राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारको सांगितिक प्रस्तुति बेजोड रहेको छ । हजारौँ दर्शक आफ्ना मन परेका कलाकारले गीत गाएको प्रत्यक्ष हेर्न टाढा–टाढाबाट आउने गरेका छन् । शनिबार अस्मिता अधिकारी, राजनराज सुवेदी र कुटुम्ब बैण्डले आफ्नो प्रस्तुतिबाट स्टेज तताउने निश्चित छ भने आइतबारको वाङ्गदेन शेर्पा, डीजे तामा, समर्पण लामा र आशिष अविरलको प्रस्तुतीकालागि दर्शक प्रतिक्षारत छन् । 


संघका अध्यक्ष नविन रिजालले आर्थिक क्षेत्र चलायमानकालागि एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले देशमा आर्थिक संकटको अवस्था रहेको र यस्तो विषम परिस्थितिमा एक्स्पो संचालन चानचुने नभएको बताए । अध्यक्ष रिजालले एक्स्पोमा उपभोक्ताको अत्याधिक भीडले विराटनगरमा प्रदशनस्थल आवश्यक रहेको भन्ने प्रमाणित गरिदिएको बताए । 


एक्स्पोका संयोजक अनिल साहले एक्स्पोमा हिमाल, पहाड र तराईको प्रतिनिधित्व रहेको बताए । उनले एक्स्पोमा मनोरञ्जनलाई पनि उत्तिकै ध्यान दिइएको बताए । एक्स्पोमा ब्रेक डान्स, रेल, झुला, रोटेपिङ्ग चढ्न बालबालिका, युवायुवती उत्साहित बन्ने गरेको बताए ।


सह–संयोजक सञ्जय श्रेष्ठले एक्स्पोमा अवलोकनकर्ताले पीरो अमिलो चटपटीदेखि सोल्टी होटलको ५ तारे खानेकुराको स्वाद लिन पाउने बताए । अर्का सह–संयोजक अमित सारडाले एक्स्पोमा सन्तोषजनक कारोबार भएको र सोचेभन्दा बढी सफल भएको बताए ।

 

 

 

 


  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.