Websoft University

सयौं पृष्ठको पुस्तकमा नपाउने ज्ञान ज्येष्ठ नागरिकको अनुभवबाट पाउन सकिन्छ - मेयर कोइराला


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकको अनुभवबाट सयौं पृष्ठको पुस्तकमा नपाउने ज्ञान प्राप्त गर्न सकिने बताउनुभएको छ ।

विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमितिको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीप उपयोग गर्न सके समाज समृद्ध  हुने बताउनुभयो । “पढेर भन्दा परेर जानिन्छ भनिन्छ । हुन पनि हो ज्येष्ठ नागरिकहरुले अनेक आरोह–अवरोह, सफलता–असफलताका अनगिन्ति अनुभवहरु संगालोका हुन्छन्,” उहाँले भन्नुभयो, “ती अनुभव र ज्ञानलाई ग्रहण गरेर त्यसलाई व्यवहारमा उतार्न सकियो भने समाज विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।”

मेयर कोइरालाले ज्येष्ठ नागरिकबाट अनुभव मात्रै नभएर संस्कार र संस्कृति पनि सिक्न सकिने उल्लेख गर्नुभयो । ज्येष्ठ नागरिकका जीवनका विभिन्न कालखण्डमा ग्रहण गरेका अनुभव र ज्ञानलाई समाज विकासमा लगाउनु जरुरी उहाँको भनाइ थियो । 

ज्येष्ठ नागरिकको सम्मानमा महानगर सधैं तत्पर रहेको उहाँको भनाइ थियो । महानगरले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवासहित ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको मेयर कोइरालाले जानकारी दिनुभयो । मेयर कोइरालाले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाजसापेक्ष विकासको प्रेरणाको रूपमा लिनु जरुरी रहेको औंल्याउनुभयो ।

तेस्रो साधारणसभाका अवसरमा समितिले चारजना व्यक्तिलाई सम्मानसमेत गरेको छ । भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुहुने समाजसेवी चिरञ्जीवि दाहाल, भवन निर्माणका लागि आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुहुने महानगरकी तत्कालीन उपमेयर इन्दिरा कार्की, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने र योग प्रशिक्षक शोभा कोइरालालाई सम्मान गरिएको थियो ।

 कोइरालाले ज्येष्ठ नागरिक भवनमा हरेक बिहान योगाभ्यास गराउँदै आउनुभएको छ । चारजनालाई नै मेयर कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी यादनरसिंह कार्की, संस्थाका अध्यक्ष ललित श्रेष्ठ, सचिव अर्जुन भट्टराई, कोषाध्यक्ष भरत कार्की, इन्द्र खतिवडालगायतले ज्येष्ठ नागरिकलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.