Websoft University

सीप सिकेर वैदेशिक रोजगारीमा जाँदा दुःख पाइँदैन ः मेयर कोइराला

विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वैदेशिक रोजगारीमा जाने युवाहरुले सीप नसिकी जाँदा विदेशमा दुःख पाउने गरेको बताउनुभएको छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत आप्रवासी श्रमिक सञ्जाल प्रदेशस्तरीय क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले सीप नसिकी विदेश जाँदा दुःख पाउनुका साथै पैसा पनि कम कमाइ हुने गरेको बताउनुभयो । सीप सिकेर जाँदा पैसा बढी कमाइ उनको भनाइ थियो । प्रविधिको विकाससँगै विगतको जस्तो अब विदेशमा समेत पाखुराका भरमा हुने श्रम घट्दै गएको मेयर कोइरालाले बताउनुभयो । “प्रविधिसम्बन्धी राम्रो ज्ञान र सीप भए विश्वको जुनसुकै कुनामा गएर पनि राम्रो पैसा कमाउन सक्ने अवस्था छ,” उहाँले भन्नुभयो, “तर हातमा केही पनि सीप छैन भने विदेशमा गएर दुःख पाउनुका साथै जाँदा लागेको खर्चसमेत नउठ्ने स्थिति देखिन्छ ।”

मेयर कोइरालाले वैदेशिक रोजगारी मुलुकको आर्थिक विकासका लागि दिगो स्रोत नभएको समेत उल्लेख गर्नुभयो । स्वदेशमै रोजगारी सिर्जना गर्नुको विकल्प नभएको कोइरालाले बताउनुभयो । “कोरोना महामारी, रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्धले मुलुकको आर्थिक विकासका लागि वैदेशिक रोजगारी दिगो र भरपर्दाे स्रोत होइन भन्ने पुष्टि भइसकेको छ,” मेयर कोइरालाले थप्नुभयो, “भविष्यमा कोरोनाजस्ता विपत्ति र युद्ध भएमा सबै युवा फर्किन बाध्य हुनेछन् । त्यस्तो बेला देशले कसरी धान्ला ।” उहाँले तीनै तहको सरकारले दीर्घकालीन सोच राखेर नीति निर्माणसँगै योजना बनाउनुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले विदेशबाट फर्किएका युवाहरुले विदेश जान चाहनेहरुका लागि वैदेशिक रोजगारीसम्बन्धी सचेतना दिनु आवश्यक रहेको औंल्याउनुभयो । विराटनगर महानगरले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिएको उहाँको भनाइ छ ।

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्ण पोखरेलले श्रम स्वीकृति लिएर भन्दा नलिई जाने युवाको संख्या पनि धेरै रहेको बताउनुभयो । रोजगारीका लागि भारत जाने युवाको तथ्यांक जोड्ने हो भने हरेक वर्ष १० लाखभन्दा बढी युवा विदेशिने गरेको पोखरेलको भनाइ थियो । कार्यक्रममा सामी तथा हेल्भेटास कोशी प्रदेशकी प्रबन्धक कोपिला दहाल, सामी परियोजनाका प्रदेश संयोजक सनत सापकोट, आप्रवासी हकहित संरक्षण केन्द्रका उपाध्यक्ष सन्तोष लिम्बूलगायतले वैदेशिक रोजगारीको अवस्था, भविष्यमा अपनाउनुपर्ने उपाय, राज्यको दायित्वलगायतका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

तालिममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा वैदेशिक रोजगारमा आबद्ध व्यक्तिका परिवारका सदस्यहरुको सहभागितामा गठित आप्रवासी हक हित संरक्षण केन्द्र पदाधिकारीहरुका लागि सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत आयोजित दुई दिने क्षमता अभिवृद्धि तालिममा प्रदेशका सबैजसो जिल्लाको प्रतिनिधित्व रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.