Websoft University

सेवाग्राहीका लागि पार्किङको व्यवस्थापन आफैं गर्न बैंकहरु तयार -महानगरको अभियानलाई सफल बनाउन सधैं तयार छौं - बैंकर्स एसोसिएसन


विराटनगर ६ भदेो | विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुस्त बनाउने विराटनगर महानगरपालिकाको अभियानलाई सफल बनाउन बैंकर्सहरुले प्रतिबद्धता जनाएका छन् ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा बैंकर्सहरुसित भएको छलफलमा विराटनगरभित्र सञ्चालित सबै बैंकका प्रमुखहरुले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापन अभियान सकारात्मक भएकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । 

उनीहरुले तत्कालका लागि बैंकमा आउने सेवाग्राहीलाई महानगरले व्यवस्था गरेको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्न अनुरोध गर्ने बताए । एनएमवी बैंकका प्रदेश प्रमुखसमेत रहनुभएका नेपाल बैंकर्स एसोसिएन कोशी प्रदेशका अध्यक्ष सन्तोषकुमार बुढाथोकीले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापनको अभियान अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिनुभयो । 

उहाँले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा बैंकहरुका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । बैंकमा आउने सेवाग्राहीलाई तत्कालका लागि पायक पर्ने पार्किङस्थलमा सवारी साधन राख्न लगाउने उहाँको भनाइ थियो । अबदेखि बैंकको कार्यालय सर्दा पार्किङस्थल भएको ठाउँमा मात्रै सर्नुपर्ने उहाँको धारणा थियो ।

त्यस्तै हिमालयन बैंकका प्रदेश प्रमुख अमृत मल्लले तत्कालका लागि बैंकहरुले आफ्नै पार्किङस्थल बनाउन समस्या रहेको बताउनुभयो । उहाँले बैंक छेउछाउ खाली जमिन भए त्यसलाई बैंकहरुले भाडामा लिएर भए पनि पार्किङस्थल बनाउन सक्ने उल्लेख गर्नुभयो । छलफलमा एनआईसी एसिया बैंकका प्रमुख हीरा पौडेल, गरिमा विकास बैंकका प्रमुख सुजित रेग्मी, माछापुच्छे बैंकका उत्सव पराजुलीलगायतले महानगरको अभियानलाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । महानगरले यसअघि पनि छलफल राखेको थियो । बैंकमा आउने सेवाग्राहीका सवारीका लागि पार्किङको व्यवस्थापन गर्न बैंकहरुलाई महानगरले पत्रचारसमेत गरेको थियो ।

बैंकहरुले पार्किङको व्यवस्थापन नगरेपछि महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा छलफल राखिएको हो । भदौ अन्त्यसम्ममा पार्किङ समस्या समाधानको विकल्पसहित पुनः छलफल गरेर टुंगो लगाउने छलफलमा सहमति भएको थियो । मेयर कोइरालाले विराटनगर महानगरमात्रै नभएर प्रदेशको राजधानी पनि भएकाले व्यवस्थित बनाउनु जरुरी रहेको औंल्याउनुभयो । 

सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउन सकिने धारणा राख्नुभयो । महानगर प्रहरीका राजन पौडेलले महानगरले व्यवस्था गरेको पार्किङस्थलको बारेमा जानकारी दिनुभएको थियो । छलफलमा महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतमसहित महानगर क्षेत्रभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.