Websoft University

विराटनगर महानगरको शैक्षिक सुधार अभियान-सामुदायिक विद्यालयको अनुगमनमा मेयर कोइराला सक्रिय


विराटनगर असार २८ गते | विभिन्न अभियान जारी राखेको विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान पनि साथै अगाडि बढाएको छ । अभियानअन्तर्गत महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको अनुगमनलाई तीव्रता दिनुभएको छ ।

 दुईदिन अघि महेन्द्र मावि र सरस्वती माविको आकस्मिक अनुगमन गर्नुभएका मेयर कोइरालाले बिहीबार बिहान विराटनगर–६ सरोचियास्थित शिक्षा सदन माविको अनुगमन गर्नुभयो । शिक्षा सदन बिहान पठनपाठन हुँदै आएको छ । वडाध्यक्ष हरिशचन्द्र सहनी (अक्षय), शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराई, महाशाखाका कर्मचारी र सचिवालयको टिमसहित विद्यालय पुग्नुभएका मेयर कोइरालाले सुरुमा हरेक कक्षामा पुगेर विद्यार्थीहरुसित मात्रै अन्तरक्रिया गर्नुभएको थियो । 

मेयर कोइरालासित विद्यार्थीहरुले शिक्षकहरुले कक्षा कोठामा बत्ती नभएको, छात्राका लागि छुट्टै शौचालय नभएको, सेनिटरी प्याड राख्ने डस्बिन नराखेको, शिक्षकहरुले होमवर्क दिए पनि चेक नगर्ने गरेकोलगायतका गुनासो पोखेका थिए । शिक्षकहरुले राम्ररी नपढाएकै कारण र विद्यार्थीहरु नियमित कक्षामा नआउने गरेको उनीहरुको भनाइ थियो ।

विद्यार्थीसितको अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षक–शिक्षिकाहरुसित छलफल गर्नुभएको थियो । महानगरको मुटुमा भएर पनि विद्यालयको शैशिक गुणस्तर खस्कनुमा प्रधानाध्यापकसहित सबै शिक्षक–शिक्षिकाहरुले जिम्मेवारी लिनुपर्ने उहाँले बताउनुभयो । 

उहाँले विद्यालय सुधार्नका लागि दुई महिनाको समय दिनुभएको छ । दुई महिनाभित्र पनि विद्यालयमा सुधार नआए महानगरले कडा कदम चाल्ने मेयर कोइरालाले चेतावनी दिनुभयो । “तपाईंहरुलाई दुई महिनाको समय दिएको छु । दुई महिनाभित्र पनि सुधार नभए महानगरपालिका चुप लागेर बस्दैन,” मेयर कोइरालाले भन्नुभयो, “विद्यालयमा विद्यार्थी नियमित नआएको तपाईंहरुलाई चिन्ता छैन । 

एकले अर्कालाई दोष थोपर्ने र पन्छिने काम अब चल्दैन ।” राज्यले शिक्षा क्षेत्रमा बजेटको ठूलो हिस्सा लगानी गरे पनि प्रतिफल कमजोर भएको उहाँको भनाइ थियो । मेयर कोइरालाले सामुदायिक विद्यालयको सुधारका लागि महानगर जस्तोसुकै कदम चाल्न तयार रहेको स्पष्ट पार्नुभयो । महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने उहाँले बताउनुभयो । मेयर कोइरालाले शिक्षकहरुसितको छलफल अघि ई–हाजिरीसमेत चेक गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.