Websoft University

विराटनगरमा केवल र नेटको तार व्यवस्थापन सुरु


विराटनगर पुस २८ गते | विराटनगर महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरुले जथाभावी लत्रिएका तारको व्यवस्थापन गर्न सुरु गरेका छन् ।

विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए । गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर बैठक राखेको थियो ।


सोही बैठकले पुस २८ गते बिहीबारदेखि सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । म्याक्स, सुविसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गर्न सुरु गरेका हुन् । महानगरले तार व्यवस्थापनको सहजीकरण गर्न इन्जिनियर सिंहलाई जिम्मेवारी तोकेको थियो । चिसो मौसम भएका कारण तार व्यवस्थापनमा समय लाग्ने देखिएको उनले बताए ।

“टेलिकमको पोल नै सार्नुपर्ने अवस्था देखिएको छ,” सहजीकरणको जिम्मेवारी पाएका इन्जिनियर सिंहले भने, “धेरै भीडभाड हुने भएकाले दिउँसो काम गर्न समस्या छ । जतिसक्दो बिहान नै काम गर्नुपर्ने हुन्छ ।”

महानगरले केवल र नेट प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर दुईपटक बैठक राखेपछि तार व्यवस्थापनको काम अगाडि बढेको छ । यसअघि गत असोज १३ गते पनि महानगरले बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइएको थियो । “अव्यवस्थित तारका कारण विराटनगरको सुन्दरतामा कमी आएको छ,” मेयर कोइरालाले भने, “अहिले नै अण्डरग्राउण्ड गर्ने अवस्था नभएकाले कम्तीमा लत्रिएका तारलाई माथि तानेर बाँधियो भने केही व्यवस्थित त हुन्छ ।” चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने सोमबारको बैठकले निर्णय गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.