Websoft University

कोरोनाको नयाँ भेरियन्टको रोकथाम र नियन्त्रणका लागि महानगरद्वारा तयारी सुरु


विराटनगर पुस ११ गते | रातो तारा डट कम, छिमेकी मुलुक भारत र चीनसहित विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ को संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारी सुरु गरेको छ ।

सोमबार तीनै तहका सरकारका प्रतिनिधिहरुको उपस्थितिमा महानगरले अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले भारतसित सीमा जोडिएका कारण विराटनगर कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ को उच्च जोखिममा रहेकाले सतर्कता अपनाउनु आवश्यक रहेको बताए । “भारतमा समेत वीएफ–७ को संंक्रमित फेला परिसकेका छन् । चीनमा त ठूलो जनसंख्यालाई नयाँ भेरियन्टको संक्रमण भएको छ,” मेयर कोइरालाले भने, “भारतसित सीमा जोडिएका कारण विराटनगरमा पनि जोखिम छ । अहिलेदेखि नै सकर्तकता र तयारी गरेनौं भने पछि गाह्रो पर्न सक्छ ।” मेयर कोइरालाले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रहसमेत गरे ।

मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले कोरोनाको नयाँ भेरियन्टको जोखिम न्यूनीकरण र रोकथामका लागि तीनै तहको सरकारको सहकार्य र समन्वय आवश्यक रहेको औंल्याए । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले विगतको भन्दा यसपटकको कोरोनाको संक्रमणदर उच्च रहेको बताए । उनले १ जना संक्रमितबाट १८ जनासम्मलाई संक्रमण सर्ने जानकारी दिए । “विगतको भेरियन्टभन्दा नयाँ भेरियन्ट वीएफ–७ को संक्रमणदर उच्च छ,” कोइरालाले भने, “वीएफ–७ भएका १ जना व्यक्तिले १० देखि १८ जनालाई संक्रमण सार्न सक्छन् । त्यसो भएकाले सतर्कता अपनाउनु जरुरी छ ।”

छलफलमा स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले विगतमा कोरोना महामारीमा महानगरले गरेको कार्य र वीएफ–७ को जोखिमका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कोभिड रोकथाम र नियन्त्रणका लागि महानगरले स्वास्थ्य अधिकृत रमेश कार्कीलाई फोकल पर्सन तोकेको छ । छलफलमा वडाध्यक्षसहित विभिन्न क्षेत्रका व्यक्तिहरुले कोभिडको नयाँ भेरियन्टबाट बच्न सीमा नाकामा कडाइ गर्नुपर्ने र चेकजाँचलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । छलफलमा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइराला, सशस्त्र प्रहरीका एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख वासुदेव सिग्देल, वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख दीपेन्द्र पञ्जियारलगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुस ९ गते परिपत्र पठाएर तयारीमा लाग्न मातहतका निकायलाई निर्देशन दिएको थियो । त्यस्तै गृह मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै नयाँ भेरियन्टको जोखिम न्यूनीकरण र रोकथाममा लाग्न आग्रह गरेको थियो । महाशाखा प्रमुख अलिका अनुसार विराटनगर–१६ को रानी हेल्थ डेस्क, १५ को प्राथमिक स्वास्थ्य केन्द्र रानी, वडा नम्बर १९ स्थित वैजनाथपुर स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र विराटनगर–५ मा कोभिडको निःशुल्क परीक्षण भइरहेको छ । विगतको भेरियन्टमा विराटनगरमा दैनिक ३५० जना संक्रमित भएका थिए । १९ हजार ८८४ जना संक्रमित हुँदा विराटनगरमा मात्रै २६४ जनाको मृत्यु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.