Websoft University

महानगरद्वारा डेंगु नियन्त्रणको अभियान तीव्र- एकैदिन ७ सय जनाभन्दा बढीलाई डेंगु नियन्त्रणको अभिमुखीकरण


विराटनगर असोज ३१ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाले डेंगु रोग नियन्त्रण र रोगथानको अभियानलाई तीव्रता दिएको छ । 

अभियानअन्तर्गत सोमबार ७ सयभन्दा बढी व्यक्तिलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । समुदायस्तरमै डेंगुबारे सचेतना जगाउने उद्देश्यले महानगरले १९ वटै वडामा सञ्चालन गरेको अभिमुखीकरणमा ७ सयभन्दा बढी व्यक्ति सहभागी भएका थिए । अभिमुखीकरणमा सम्बन्धित वडाका वडाध्यक्ष, सदस्य, राजनैतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, समाजसेवी, नागरिक समाजका अगुवा, वडास्तरमा रहेका स्वास्थ्य च्यौकीमा कार्यरत स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो । 


कार्यक्रममा डेंगु नियन्त्रणका लागि समुदायको भूमिका, डेंगुको लक्षण, रोकथामका उपायलगायतका विषयमा सहभागीलाई जानकारी गराइएको थियो । पछिल्लो समय डेंगुको संक्रमण बढ्न थालेपछि महानगरले नियन्त्रण अभियानलाई तीव्रता दिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए । उनले संक्रमण अझै बढ्ने सम्भावना देखिएको बताउँदै पूर्वतयारीसमेत थालिएको जानकारी दिए । उनले टायर, जार, नालीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाईमा ध्यान दिनुपर्नेमा जोड दिए । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायतका विधि अपनाएमा डेंगुको संक्रमणबाट बच्न सकिने उनको भनाइ थियो । पहिलो चरणमा महानगरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई डेंगु रोग नियन्त्रण र रोकथामका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको थियो । त्यस्तै दोस्रो चरणमा आइतबार महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा सरोकारवालासित छलफल गरेको थियो । समुदायस्तरमै नियन्त्रणका लागि जनचेतना जागृत गराउन सके डेंगुको महामारीबाट बच्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन् । “डेंगु नियन्त्रणका लागि सबै किसिमको उपाय लगाउन प्रमुखज्यूले निर्देशन दिनु भएको छ,” महाशाखा प्रमुख अलीले भने, “पूर्वतयारी सबै भइसकेको छ अब नियन्त्रणका लागि आक्रामक रुपमा लाग्छौं ।” 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.