Websoft University

मेयर र उपमेयरलाई बालबालिकाका प्रश्नैप्रश्न बालमैत्री महानगर बनाउन आफूहरु प्रतिबद्ध छौं -मेयर कोइराला


विराटनगर भाद्र २९  गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई बालमैत्री महानगर बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय बाल दिवसको अवसरमा नगर बाल क्लब सञ्जालले विराटनगरमा आयोजना गरेको ‘बालबालिकासँग मेयर–उपमेयर’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले बालमैत्री महानगर बनाउन पूरा गर्नुपर्ने मापदण्ड कडाइका साथ लागू गर्ने उल्लेख गरे । “


बालमैत्री महानगर घोषणा गर्न के–के मापदण्ड र सूचकहरु पूरा गर्नुपर्छ हामी पूरा गर्छौं,” उनले भने, “घोषणा गरेर मात्रै हुँदैन कार्यान्वयन पक्ष पनि बलियो हुनुपर्छ, हामी कार्यान्वयन गर्ने गरी घोषणा गर्नेछौं ।” बाल अधिकारको संरक्षण र सम्वद्र्धनमा महानगर लागिपर्ने उनको भनाइ थियो । विराटनगर उपमहानगरपालिका हुँदा नै २०७३ सालमै बालमैत्री नगर घोषणा गरिएको थियो । तर विराटनरलाई महानगरपालिका घोषणा गर्दा तत्कालीन झापाबैजनाथपुर र बुधनगर गाउँ विकास समितिलाई विराटनगरमा गाभेपछि भने बालमैत्री नगरले निरन्तरता पाएन । बालमैत्री नगर बनाउन ५१ वटा सूचक पूरा गर्नुपर्छ । बालमैत्री महानगर बनाउने अभियानअन्तर्गत विराटनगर–११ लाई बालश्रममुक्त वडा बनाउन घरमा स्टीकर टाँस्ने अभियान सञ्चालन गरिएको छ ।

उपमेयर शिल्पा निराला कार्कीले गलत संगतबाट बच्न बालबालिकाहरूलाई आग्रह गरिन् । साथीभाइको संगतले धेरै बालबालिकाहरू कुलतमा फस्दै गएको चर्चा गर्दैै उपमेयर कार्कीले उज्ज्वल भविष्य निर्माणका लागि मेहेनत जरुरी रहेको उल्लेख गरिन् । वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेत, वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, कार्यपालिका सदस्य सरिता घिमिरे, महिला तथा बालबालिका शाखाका प्रमुख डिल्ली धिमाललगायतको उपस्थितिमा भएको कार्यक्रममा बालबालिकाहरूले मेयर र उपमेयरलाई विभिन्न जिज्ञासा राखेका थिए । विशेष गरी बालबालिकाहरूले विद्यालयहरूमा सेनेटरी प्याड नभएको, विद्यालयहरूमा पार्टीगत विद्यार्थी संगठनहरू गठन गरिएको, विद्यालयका शिक्षक–शिक्षिकाबाट विद्यार्थीलाई शारीरिक यातना दिने गरेको, विद्यालयका क्यान्टिनहरूमा धु्रमपान हुने गरेको, सीमा नाकामा कडाइ नहुँदा लागूऔषध दुव्र्यसनी प्रयोग गर्ने बालबालिकाको संख्या बढ्दै गएकोलगायतका गुनासो गरेका थिए । उनीहरूले बालबालिकाको समस्या समाधानमा महानगर गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । बाल क्लब सञ्जालका अध्यक्ष गौतम मण्डल, पूर्वअध्यक्ष पृतम साह, प्रज्ञा गौतम, सचिव उदिप पोखरेल, सहसचिव आर्य राजभण्डारी, सदस्य कृष्टिना निरौला, विनिता थारु, खुश्बु विश्वास, निशा ठाकुरलगायतले मेयर र उपमेयरलाई बालबालिकासँग सम्बन्धित प्रश्न राखेका थिए ।

यसैबीच, विराटनगरस्थित पूर्वाञ्चल बालआश्रमले पनि राष्ट्रिय बालदिवस मनाएको छ । दिवसका अवसरमा आश्रम परिसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आश्रमलाई सहयोग गर्ने उद्योगी श्रीनिवास सारडा र डा. अमितप्रताप साहलाई सम्मान गरिएको थियो । डा. साहले समय–समयमा आश्रमका बालबालिकाहरूको निःशुल्क रुपमा दन्त परीक्षण गर्दै आएका छन् । सारडा र साहलाई प्रदेश–१ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाङ्फे, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, आश्रमकी अध्यक्ष सीता पोखरेलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे थिए । त्यस्तै कार्यक्रममा आश्रमका बालबालिकाहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अहिलेका बालबालिकाहरू भोलिका देशका कर्णधार भएको बताए । उनले बालबालिकाहरूलाई भविष्यको लक्ष्य निर्धारण गरेर मेहेनतका साथ अध्ययन गर्न आग्रहसमेत गरे । सो अवसरमा सामाजिक विकास मन्त्रालयले आश्रमका बालबालिकाहरूलाई फलफूल वितरण गरेको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.