Websoft University

प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाबीच वृहत् छलफल-पर्यटन क्षेत्रमा पूर्वाधार व्यवस्था गर्न सरकारको ध्यानाकर्षण


विराटनगर असार ९ गते । रातो तारा डट कम, प्रदेश १ पर्यटनका हिसाबले प्रचुर सम्भावनायुक्त क्षेत्र हो । विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि अरु हिमशृङ्खला, लेकाली क्षेत्र, पहाडी भेग अनि तराईका फाँटहरु भएको यो प्रदेशको मुख्य आम्दानीको स्रोतमध्ये पर्यटन अग्रणी हो ।


यसो हुँदाहुँदै पनि किन यो क्षेत्र अपेक्षित रुपमा फस्टाउन सकेको छैन ? पर्यटन क्षेत्रबाट पर्याप्त लाभ लिन किन सकिएको छैन । पर्यटन प्रवद्र्धनका लागि तीन तहका सरकार, पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी अनि सञ्चारकर्मीले के गर्न सक्छन् भन्नेबारे वृहत् छलफल गरिएको छ ।

प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले आयोजना गरेको दुई दिवसीय अन्तक्र्रिया कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि कुन क्षेत्रले के पहल गर्न सक्छ भन्नेबारे छलफल गरिएको हो ।

बुधबार सुरु भएर बिहीबार समापन भएको कार्यक्रममा प्रदेश पर्यटन तथा संस्कृति मन्त्री खिना लुङवा लिम्बू, मन्त्रालयका सचिव ईश्वरकुमार गिरी, होटल व्यवसायी संघका पदाधिकारीहरु, सञ्चारकर्मीहरु, ट्राभल एसोसिएसन, होम स्टे व्यवसायीलगायत सहभागी थिए । कार्यक्रमको दोस्रो दिन मधेस प्रदेशका पर्यटनकर्मी तथा भारतको बिहारका पर्यटनकर्मी र सञ्चारकर्मीहरुको पनि सहभागिता थियो ।

प्रदेशका १४ वटै जिल्लाबाट पर्यटनसम्बद्ध संस्थाका साथै सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा हरेक जिल्लाका पर्यटकीय स्थल, सम्भावना, समस्या तथा गर्न सकिने कामहरुका बारे समूह बनाएर छलफल गरिएको थियो ।

सहभागीहरुले प्रदेशभरि सयौं पर्यटकीय स्थल भए पनि तिनमा पूर्वाधारको अभाव हुँदा पर्यटकहरुलाई सहज पहुँच हुन नसकेको गुनासो गरेको थिए । भारतीय पर्यटकहरु नेपाल आउनका लागि उनीहरुले प्रयोग गर्ने सवारी साधनको अनुमति लिने प्रक्रिया झन्झटिलो भएको साथै आवश्यक नगद ल्याउन समेत नपाउने भएकाले समस्या पर्ने गरेको औंल्याएका थिए । यस्तो समस्याको अन्त्य गर्न उनीहरुले प्रदेश सरकार तथा मातहत निकायको ध्यानाकर्षण गराएका थिए ।

आकर्षक पर्यटकीय क्षेत्रहरु भए पनि खासगरी व्यवस्थित सडक नहुँदा पर्यटक घुमाउन लैजानै समस्या पर्ने गरेको उनीहरुको भनाइ थियो । यसैगरी सञ्चार सुविधा, बिजुली, व्यवस्थित बसोबास जस्ता कुरा नहुँदा पनि कतिपय पर्यटकीय स्थल जान सहज नहुने सहभागीले बताएका थिए ।

पूर्वमा कृषि पर्यटन, साहसिक खेल, जल पर्यटन जस्ता विशेष महत्वका क्षेत्रहरु भए पनि ती क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार तथा दक्ष जनशक्तिको अभाव भएको कार्यक्रममा सहभागी पर्यटनकर्मीले बताए ।

मन्त्रालयका अधिकृत हेमराज अर्यालले सञ्चालन गरेको कार्यक्रममा प्रदेश सरकारले पर्यटन क्षेत्रमा गर्न लागेका र गरिरहेका कामहरुका साथै पूर्वका मुख्य पर्यटकीय गन्तव्यसम्बन्धी जानकारी प्रस्तुत गरिएको थियो । मन्त्रालयका अधिकृत रामसुन्दर थापाले पर्यटन व्यवसायीहरु तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गरेर मन्त्रालय अघि बढ्न प्रयासरत रहेको बताएका थिए ।

मन्त्रालयका सचिव ईश्वरकुमार गिरीले पर्यटनसम्बन्धी साना खाले योजना स्थानीय तहहरुले सञ्चालन गर्नुपर्नेमा जोड दिंदै ठूलो योजनाका लागि प्रदेश सरकार र संघीय सरकारले काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । यस्तो कामका लागि पर्यटनकर्मी र अरु सरोकारवालाको सहयोग महत्वपूर्ण हुने उनको भनाइ थियो ।

होटल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष मणिन्द्र कटुवाल, होटल व्यवसायी राजन श्रेष्ठ, आन्तरिक पर्यटन उत्थान समिति संयोजक भविष श्रेष्ठ, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगालले पर्यटन विकासका लागि सहकार्य गर्न तयार रहेको बताएका थिए ।

यसैगरी, ट्राभल्स एण्ड टुर्स एशोसिएसन प्रदेश १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, नेपाल होमस्टे महासंघका केन्द्रिय उपाध्यक्ष एकराज घिमिरे लगायतले पर्यटन प्रवद्र्धनका लागि कुनै एक पक्षले मात्र अघि सरेर नहुने भन्दै यसमा सबै सरोकारवाला लाग्नुपर्ने अनि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रदेश १ मा भारतीय पर्यटकहरुलाई बढीभन्दा बढी भित्र्याउन सके फाइदा हुने सहभागीले बताए । यसैगरी प्रदेशसँग जोडिएको मधेस प्रदेशलाई पनि यस क्षेत्रको पर्यटन विकासका लागि सहभागी गराउन सकिनेमा सहभागीले जोड दिए ।

पर्यटन विकासका लागि भनेर छलफल र गोष्ठीहरु मात्र गर्ने नभइ त्यस्तो कार्यक्रममा आएका सुझावलाई कार्यान्वयन गर्दै समस्या निराकरण गर्न सरकारले ध्यान दिनुपर्ने सहभागीले बताएका थिए ।

यस्तो छलफल वजेट निर्माण गर्नुअघि गरेर वजेटमा समेट्ने गरी योजनाहरु तय गर्नुपर्ने सुझाव पनि सहभागीले सरकारलाई दिएका थिए । समापनका दिन मन्त्री लिम्बूले कार्यक्रम उपलब्धिमूलक रहेको भन्दै सहभागीहरुले दिएका विभिन्न सुझावका आधारमा आगामी रणनीति बनाइने प्रतिवद्धता जनाइन् ।

आगामी दिनमा पर्यटन क्षेत्रका विज्ञहरुलाई सम्मिलित गराएर छलफल आयोजना गर्ने र त्यसबाट आएका सुझावहरुका आधारमा पर्यटन विकासको रणनीति बनाउने मन्त्रालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.