Websoft University

चुनावमा अन्तरघात गर्नेलाई ठाउँको ठाउँ कारबाही हुन्छ ः कोइराला


विराटनगर । रातो तारा डट कम, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कसैसित पनि गठबन्धन नगरी आगामी निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् । 


नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ को कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दैै नेता कोइरालाले एकढिक्का भएमा कांग्रेसलाई कसैले हराउन नसक्ने उद्घोष गरे । केन्द्रमा समेत आफूहरू एकढिक्का भएको चर्चा गर्दै नेता कोइरालाले आगामी निर्वाचनमा कसैसित गठबन्धन नगरी कांग्रेसले जित्ने दाबी गरे । “हामी एकढिक्का भएर चुनावमा गए कसैले पनि कांग्रेसलाई हराउन सक्दैन,” कोइरालाले भने, “अधिवेशनताका भएका तिक्तता छन् भने बिर्सिदिनुहोस् । मैले त बिर्सिसकें । हामी सबै एकढिक्का हुनुपर्छ । त्यसो भयो भने कसैसित पनि गठबन्धन नगरी चुनाव जित्न सक्छौं ।” 

पार्टीभित्र हुने गुट उपगुटलाई स्वभाविक रुपमा लिनुपर्ने उनको भनाइ थियो । नेता कोइरालाले कांग्रेसभित्रको गुट उपगुट अधिवेशनसँगै समाप्त भएको दाबी गरे । “अधिवशेनमा कसैले जित्नु भयो कसैले हार्नुभयो । अब अधिवेशनको तुष र तिक्तता मनमा लिनुहुँदैन,” कोइरालाले थपे, “महाधिवेशनमा मैले पनि जित्न सकिन । तर मैले महाधिवेशन सकिएसँगै मनभित्रको सबै तिक्तता हटाइसकें ।” 

तीनै तहको निर्वाचनमा पार्टीका जुनसुकै व्यक्तिले टिकट पाए पनि जिताउनेतर्फ सबै लाग्नुपर्ने उनको धारणा थियो । पार्टीले टिकट दिएका उम्मेदवारलाई हराउन लाग्ने र बागी उठ्नेलाई यसपटक पार्टीबाट तत्काल निष्काशन गर्ने उनले प्रस्ट्याए । उनले भने, “अब विगतमा जस्तो पार्टीका उम्मेदवारलाई हराउनेलाई छुट हुँदैन । ठाउँको ठाउँ निष्काशन हुन्छ ।” नेता कोइरालाले पार्टीले सबैलाई न्याय गर्ने उल्लेख गर्दै निर्वाचनमा टिकट नपाउनेहरूलाई पार्टीभित्रै भूमिका दिइने बताए । कोइरालाले अधिवेशनको तिक्ततालाई बिर्सिएर संगठनलाई बलियो बनाउन आग्रहसमेत गरे । कार्यक्रममा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कांग्रेसले मात्रै जनताका समस्या समाधान गर्दै देशको विकास गर्ने बताए । उनले राजनैतिक परिवर्तनमा जस्तै अब मुलुकको आर्थिक विकास र समृद्धि कांग्रेसको नेतृत्वबाट मात्रै सम्भव हुने उपसभापति कोइरालाको भनाइ थियो । “कांग्रेसको नेतृत्वमा देशको हरेक राजनैतिक आन्दोलन सफल भएको छ,” उनले भने, “अब आर्थिक विकास र समृद्धिको नेतृत्व कांग्रेसले गर्छ, त्यसका लागि आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले जित्नु आवश्यक छ ।” वडा सभापति हरिनारायण यादवको अध्यक्षतामा भएको समारोहमा क्षेत्रीय सभापति देवराज तामाङ, विराटनगर नगर समितिका सभापति दीपक चापागाईं, क्षेत्र नम्बर ६ (ख) का सचिव जितेन्द्र गोल्छालगायतको उपस्थिति रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.