Websoft University

कांग्रेसका स्थानीय कार्यकर्ता चुनावी गठबन्धनको विपक्षमा


विराटनगर । रातो तारा डट कम, आसन्न तीनै तहको निर्वाचनमा अन्य दलहरूसित गठबन्धन गर्न नहुनेमा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले जोड दिएका छन् । 

नेपाली कांग्रेस विराटनगर १२ नम्बर वडा समितिले आइतबार आयोजना गरेको भेलाका वक्ताहरूले वडादेखि केन्द्रसम्मै एक्लै चुनावमा जानुपर्नेमा जोड दिए । गठबन्धनले पार्टीलाई कमजोर बनाउने र नेता कार्यकर्ताले अवसर नपाउने उनीहरूको भनाइ थियो । क्षेत्रीय प्रतिनिधि राजेन्द्र ढकालले कांग्रेसमा आबद्ध सबैले रुख चिन्हमा भोट दिए जुनसुकै तहमा कांग्रेसले जित्ने दाबी गरे । “वर्षमा ३६४ दिन कांग्रेस हुने अनि एक दिन कांग्र्रेस नहुने प्रवृत्ति रहेसम्म कांग्रेस बलियो हुँदैन,” ढकालले भने, “यदि कांग्रेसमा आबद्ध सबैले रुखमा भोट दिने हो भने तीनै तहको निर्वाचनमा एक्कैले बहुमत ल्याउँछ ।” 

विगतमा अरु पार्टी कारण नभई आफ्नै पार्टीभित्रको अन्तरघातका कारण कांग्रेसले हारेको ढकालको भनाइ थियो । कांग्रेस विराटनगर–१२ का कोषाध्यक्ष शिवबहादुर अधिकारीले अन्य पार्टीसित चुनावी तालमेलमा भन्दा कांग्रेसको संगठन विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै कांग्रेस नेता गणेश निरौला, गुरुप्रसाद लामिछाने, वडा सचिव ज्ञानेन्द्र खड्कालगायतले गठबन्धन नगरी चुनावमा जानु उपयुक्त हुने नेतृत्वलाई सुझाए  । कांग्रेसको तल्लो तहका कार्यकर्ता चुनावी गठबन्धनको पक्षमा नरहेको उनीहरूले प्रस्ट पारे । 

कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ (क) का सभापति दीपक भगतले भेलाबाट प्राप्त सुझावलाई जिल्ला तहमा बुझाउने जानकारी दिए । उनले आगामी निर्वाचनमा जित निश्चित गर्न र एमसीसीसम्बन्धी भ्रम चिर्न कांग्रेसले टोलसम्मै जागरण अभियान सञ्चालन गरिरहेको बताए ।  त्यस्तै कार्यक्रममा वडा सभापति हरिनारायण यादव, महाधिवेशन प्रतिनिधि श्याम कामत, पुनम सिंह, जिल्ला सदस्य मणिराम कोइरालालगायतले कांग्रेस एकढिक्का भए कुनै पनि दलसित चुनावी तालमेल गर्नु नपर्ने जिकिर गरे । भेलामा बोल्ने अधिकांश वक्ताले तल्लो तहका नेता कार्यकर्ताको सुझावलाई मनन् गरेर मात्रै निर्णय लिन नेतृत्वलाई सुझाव दिएका छन् । उनीहरूले विगतमा केही स्थानीय तहमा गरेको गठबन्धनबाट पाठ सिक्नसमेत आग्रह गरेका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.