Websoft University

`बा´को जन्मदिन

 

   तारा पराजुली-उप मेयर बेलबारी
आज बा को जन्म दिन

घाम अलि सबेर झुल्कियो

किन साविकभन्दा सबेर?

आफैँलाई पटक पटकपटक प्रश्न गरिरहें

तिमीलाई शुभकामना दिन रहेछ।


जब घामसँगै तिमी मुस्कुराइरहेको देखें

लौरो टेकेर मुस्किलले भित्र बाहिर गर्ने

ज्येष्ठ जुनको ओठ्को खुशी बनेर

खिइएका केरमेट केरमेट

हस्तरेखा र हातका चक्र बोकिहिंड्ने

तमाम मजदुरहरुको भोकको ओखती बनेर

आदिम बेसहाराहरुको 

सहाराको लहरा बनेर

तिमी लहराईरह्यौ

युग बोक्ने आशाका कलिला 

फूलहरुको सुवास बनेर

अभावका वस्तीहरुमा

पूर्ण भावको भरिलो जुन विश्वास बनेर।


जबजब कठोर कर्महरूको सिंडी चढेर

तिमी एउटा सार्वभौम उचाईमा पुग्यौ

तब मैले कर्मलाई थप प्रेम गर्न सिकेको हुँ 

पढेको हुँ पसिनाको परिभाषा 

माया गर्न सिकेको हुँ श्रमको नदीलाई।


यहाँ कर्मवीरहरु

सधै सबैले सम्झिइरहने इतिहास बन्ने गर्छन्,

तिमी आफै अनेक इतिहास हौ

हजार संस्करणहरुका पृष्ठपृष्ठ भएर 

पढिरहेछ दुनियाँले तिमीलाई


`बा´आज तिम्रो जन्मदिन

पढेर नसकिने पुस्तक हौ तिमी

लेखेर नसकिने कहानी हौ तिमी

दु:खका अक्करहरु हिंडेर 

कहिल्यै नथाक्ने 

अविराम गति हौ तिमी।

तिमी शक्ति हौ सामर्थ्य हौ

ओझेलका वस्तीहरुमा उज्यालो भई पुग्ने

कहिल्यै ननिभ्ने उज्यालो हौ।


`बा´आज तिम्रो जन्मदिन

म सम्झिरहेछु

तिमीसँगै जन्मिएका 

हरेक जीवित विचारहरु

मान्छेहरु जीवन जगत बुझ्न दर्शन पढ्छन् 

मैले तिमीलाई पढेर

थुप्रैपटक अनेकौं दर्शन भेटेको छु

त्यसैले तिमी आफैँ इतिहास हौ

दर्शन हौ।

विज्ञान् हौ

तिमी धर्म हौ

तिमी सभ्यता इन्द्रेणी हौ

विचार र व्यवहारको अब्बल संयोजन हौ

आविष्कार हौ

अनेकौं चेतनाको स्रोत हौ।


हिँडदै जाँदा ठेस लागे

बाटो र यात्रा दुबै नछोड्न

तिमीवाट सिकेको हुँ।

तिमी भन्थेउ-

`बाटामा यात्रामा फुलैफूल भेटिन्नं

कतै ढुंगा हुन्छन् झारपात हुन्छन् 

अल्झाउँन् दुखाउँछन् 

टेक्दै पन्साउँदै हिंड्नुपर्छ।´


बा!आज तिम्रो जन्मदिन

तिमीले हाँकेको विचारको जहाज चढेर

यहाँसम्म आइपुगेको छु

खुब गर्व छ मलाई तिम्रो सन्तान हुनुमा।


`बा´आज तिम्रो जन्मदिन

तिमीलाई शुभकामना दिन 

एउटा निरोगी घाम 

तिमीसम्म आइपुगेको छ

यही घामको उज्यालो लिएर

गन्तव्य देखाउँदै

हरपल तमाम सन्तानका

आँगनमा झुल्किरहु

तिमीलाई मनभरी शुभकामना।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.