Websoft University

संवाद-गुटका आधारमा होइन क्षमताका आधारमा अवसर दिनुपर्छ


बिराटनगर । रातो तारा डट कम,कांग्रेसभित्र अब गुटको राजनीति अन्त्य हुनुपर्छ राजनीतिलाई पेशा होइन सेवाका रुपमा अंगिकार गर्नुपर्छ , सचिन पोखरेल

सहसचिव, नेपाली कांग्रेस विराटनगर महानगर समिति हालै सम्पन्न अधिवेशनमार्फत अत्याधिक मतका साथ विजयी हुनुभएको छ, कस्तो महसुस भइरहेको छ  

नेपाली कांग्रेस विराटनगर महानगर समितिमा सबैभन्दा बढी मत प्राप्त गरेर विजयी भएको छु । विजयी अन्य उम्मेदवारभन्दा बढी मत आउनु मेराका लागि सबैभन्दा बढी खुसीको क्षण हो । बढी मत ल्याएँ भनेर हौसिएको छुइँन । ममाथि थप जिम्मेवारी आइपरेको छ भन्ने मैले महसुस गरेको छु । नेपाली कांग्रेस विराटनगरका १९ वटै वडाका बुथ सभापति, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्यहरूको विश्वास र भरोसालाई टुट्न दिने छुइँन । उहाँहरूले ममाथि देखाउनु भएको विश्वासलाई शिरमा राखेर पार्टीलाई माथि उठाउन अहोरात्र खट्नेछु । 

कांग्रेसभित्र गुटको राजनीति निकै मौलाएको छ, तपाईं पनि कुनै गुटको पछि लागेर नै त सहसचिवमा अत्यधिक मत ल्याउनु भएको होला नि होइन  

चुनावको बेला गुट र उपगुट हुनुलाई अस्वभाविक मान्नु हुँदैन । प्रजातान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा हुँदा समूह अर्थात् गुट हुन्छ । तर निर्वाचन सम्पन्न भएसँगै गुट र उपगुटको अन्त्य हुनुपर्छ । जहाँसम्म विराटनगर कांग्रेसमा पनि सभापतिदेखि सहसचिव र सदस्यसम्मै प्रतिस्पर्धा भयो । केही सदस्यमा सर्वसम्मत पनि भयो । मलाई आएको मतबाटै म गुटमा थिएँ कि थिइन भन्ने प्रस्ट हुन्छ । कुनै एउटा गुटमा मात्रै भएको भए त्यति धेरै मत आउने थिएन । मलाई सबै नेताहरूको साथ थियो । मैले गुटबाट होइन कांग्रेसबाट जितेको हुँ । 

सहसचिवको कार्यसमितिमा पनि खासै भूमिका हुँदैन, पदका लागि पद त होला नि होइन 

यही त सोचाइ गलत छ त हामीकहाँ । पद भनेको केही होइन । काम गर्नेका लागि सभापति नै हुनुपर्छ भन्ने छैन । सदस्यले पनि काम गर्न चाह्यो भने राम्ररी काम गर्दछ । भूमिका अरुले हातमा ल्याएर दिने होइन आफूले खोज्ने हो । मेरो सवालमा पनि त्यही हो । म आबद्ध भएको संस्थामा राम्रो काम गरेको छु । 

कांग्रेस महानगरमा पनि मैले राम्रो काम गर्नेछु भन्ने आत्मविश्वास छ । व्यक्ति भनेको केही होइन पहिलो संस्था महत्वपूर्ण हो । विगतमा के भयो र के गरियो त्यसतर्फ नलागौं । अब कांग्रेस महानगर समितिका हरेक गतिविधि पारदर्शी हुन्छ । हरेक काम सामूहिक भावनाका साथ अगाडि बढाउँछौं । हामीले गर्नुपर्ने धेरै काम छन् ती क्रमशः गर्दै जानेछौं । 

के छन् त्यस्ता तपाईंहरूले गर्ने धेरै काम  

पहिलो त अहिले राजनीतिप्रति जनतामा निराशा छाएको छ । अघिल्लो कम्युनिष्ट सरकारका कारण मुलुकमा बढेको व्यतिथि, भ्रष्टाचार, अनुशासनहीनता, बलात्कार, महँगीलगायतका कारण आमनेपाली जनतामा नेताहरूप्रति वितृष्णा जागेको छ । यसलाई हामीले चिर्नुछ । मुलुकको विकास गर्ने भनेको राजनीतिमार्फत नै हो । राजनीति भनेको नीतिको पनि नीति हो । 

अहिले राजनीति धमिलिएको छ । यसलाई सङ्ल्याउनु छ । नेपालमा राजनीतिलाई पेशाका रुपमा अंगिकार गरेको पाइन्छ । राजनीति भनेको पेशा होइन सेवा हो । जबसम्म राजनीतिलाई सेवाका रुपमा आत्मसात गरिँदैन तबसम्म राजनीतिभित्रको विकृति हटेर जाँदैन । निराश जनतालाई आशा जगाउनु हाम्रो पहिलो काम हो ।

 त्यस्तै अब लगातार स्थानीय, प्रदेश र संघीय निर्वाचन आउँदैछ । यही समितिले विराटनगरका १९ वटै वटासहित महानगरमा कांग्रेसको विजय सुनिश्चित गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ । सँगै प्रदेश र संघीय निर्वाचनमा विराटनगरमा पर्ने ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी गराउन हामी लाग्नेछौं । 

कम्युनिष्ट सरकारलाई दोष थोपर्नु भयो, अहिले त कांग्रेसकै सरकार छ त, कांग्रेसले चाहिं जनताका काम गरिरहेको छ त  

अघिल्लो सरकार झण्डै दुई तिहाईको सरकार थियो ।केपी ओलीको आफ्नै अहमका कारण सत्ताबाटबाहिरिनुपरो । कांग्रेसले जबरजस्ती सत्ता लिएको होइन । कम्युनिष्टहरूले चलाउन  नसकेपछि मात्रै कांग्रेसले सरकारको नेतृत्व गरेको हो । कहिल्यै पनि कांग्रेसले सत्तामा जाने हतारो गरेन । किन भने कम्युनिष्टलाई पाँच वर्षसम्म सरकार सञ्चालन गर्ने जिम्मेवारी जनताले दिएका थिए निर्वाचनमार्फत । 

तर, जनताले दिएको मतको भार थेग्न नसकेर कम्युनिष्टहरू छिन्नभिन्न र टुटफुट भए । कम्युनिष्टभित्रको आन्तरिक विवादका कारण केपी ओलीको सरकार ढल्यो । देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन बाध्यात्मक अवस्थामा कांग्रेस सरकारमा गएको हो । ओलीलाई जस्तो अहिलेको सरकारलाई सजिलो छैन । अहिलेको सरकार गठबन्धन सरकार हो । सबैको चित्त बुझाउनुपर्छ । 

त्यसो भएकाले काम गर्न गाह्रो छ अहिलेको सरकारलाई । अघिल्लो सरकारले बिगारेका कामलाई सपार्ने काम गरिरहेको छ यो सरकारले । सबै नेपालीलाई खोप लगाउने भनिरहेको छ । भ्रष्टाचारहरू घटेका छन् । कानुनी राज्यको महसुस भइरहेको छ । सीमित स्रोत साधनले जनताका असीमित चाहना पूरा गर्न एकैपटक गाह्रो छ । अघिल्लो सरकारले भन्दा तुलात्मक रुपमा यो सरकारले धेरै नै राम्रा काम गरिरहेको छ । 

अब चाँडै नै क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन हुँदैछ, तपाईं कुन गुटलाई सहयोग गर्नुहुन्छ  

कांग्रेसभित्र अब गुटको राजनीति अन्त्य हुनुपर्छ । सक्षम र क्षमतावानलाई अवसर दिनुपर्छ । अहिलेसम्म कुनै अवसर नपाएका नेता कार्यकर्ता धेरै छन् पार्टीभित्र, त्यस्ता व्यक्तिहरूलाई अवसर दिनुपर्छ । एउटै व्यक्तिले पटक–पटक अवसर पाउने तर पार्टीका लागि काम गर्नेले कहिल्यै पनि अवसर नपाउने अवस्थाको अन्त्य हुनुपर्छ । भिजन भएका नेताहरू अगाडि आउनुपर्छ ।

 त्यसो भएकाले म गुटको विश्वास गर्दिन । चुनावमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा भएकै आधारमा कांग्रेसमा गुट उपगुट भयो भन्न मिल्दैन । म हिजो पनि कांग्रेस थिएँ आज पनि कांग्रेस छु र भोलि पनि कांग्रेस नै रहनेछु । अधिवेशनमा म कांग्रेसलाई सहयोग गर्छु ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.