Websoft University

मोरङ कांग्रेस उपसभापतिमा कोइरालाको चर्चा

 


विराटनगर, १८ साउन । रातो तारा डट कम, नेपाली कांग्रेस मोरङको उपसभापतिमा नागेश कोइरालाको चर्चा सुरु भएको छ । 

निर्वाचित जिल्ला सचिवका रुपमा कार्यरत कोइराला सभापति र उपसभापतिमध्ये एकमा आउनुपर्ने कार्यकर्तामाझबाटै आवाज उठ्न थालेपछि चर्चा सुरु भएको हो । गत अधिवेशनमा कोइराला लोकप्रिय मतका साथ सचिवमा निर्वाचित भएका थिए । पार्टीका सबै शीर्ष नेतासँग निकट सम्बन्ध बनाएका कोइराला पार्टीको कोषध्यक्षसमेत भइसकेका छन् । उनी तरुण दल मोरङको सभापति हुँदा युवालाई चलामान बनाएका थिए । कोइरालाले तरुण दलमा युवालाई आकर्षित गरेकै कारण अन्य पार्टीबाट दर्जनौं युवा तरुण दलमा प्रवेश गरेका थिए । 

आसन्न जिल्ला अधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने कोइरालाले बताए । “सचिव भइसकेको मान्छेको स्वभाविक रुपले कि त सभापतिमा कि त उपसभापतिमा दाबी रहन्छ,” कोइरालाले भने, “मेरो अहिलेका लागि उपसभापतिमा दाबी छ, हेर्दै जाऊँ सभापतिमा पनि हुनसक्छ ।” अहिले आकांक्षा मात्रै राखेकाले नेता र कार्यकर्ताले सभापति र उपसभापतिमा जुन पदमा भन्छन् त्यसैमा जाने उनले प्रस्ट्याए । जीवनभर राजनीतिलाई सेवाका रुपमा लिने उनले उद्घोष गरे । “नेपालमा राजनीतिलाई व्यवसायका रुपमा लिन थालिएको छ, त्यही भएर पनि राजनीतिप्रति आमनागरिकको नकारात्मक धारणा बन्दै गएको छ,” कोइरालाले भने, “राजनीतिलाई म सेवाका रुपमा स्थापित गर्छु ।” 

रोटरी क्लब अफ विराटनगर मिट टाउन, राउण्ड टेवल विराटनगर–५ सहित विभिन्न सामाजिक संघसंस्था नेतृत्व गरिसकेका कोइराला पुराना र नयाँ पुस्तामाझ लोकप्रिय छन् । आफूले गुट र समूहको विश्वास नगर्ने बताउँदै उनले भने, “म कांग्रेस हुँ त्यसभन्दा अरु जान्दिन । अधिवेशनमा प्रतिस्पर्धा भए पनि अन्य समयमा कांग्रेस एकढिक्का हुनुपर्छ भन्ने मेरो मान्यता छ ।”

सचिवमा रहँदा खेलेका भूमिका आधारमा कोइरालाको उपसभापतिको दाबी न्यायसंगत भएको कार्यकर्ताहरुको टिप्पणी छ । सहसचिवका लागि तयारी गरिरहेका मोरङ कांग्रेसका तरुण विभाग प्रमुख सञ्जय मण्डल अग्रज र युवाले कोइरालालाई चाहेको बताए । “कुनै पनि समस्या परेर उहाँसमक्ष जाँदा कहिल्यै नाइँ भन्नुहुन्न,” उनले भने, “नेताले भनेकै कार्यकर्ताका पीरमर्का बुझ्ने हो । उहाँले बुझ्नुहुन्छ ।” 

कार्यकर्तामाझ सहज रुपमा उपलब्ध हुने र भनेको ठाउँमा तत्कालै पुगेर कार्यकर्ताका समस्या समाधान गर्ने क्षमता कोइरालामा भएको अर्का युवा नहिम आलम बताउँछन् । “नागेश दाइजस्ता मान्छेलाई पार्टीले सर्वसम्मत बनाउनुपर्ने हो,” आलमले भने । कांग्रेसबाहेकका नेताहरुसँग पनि कोइरालाको समन्वयकारी भूमिका बलियो रहेको उनको कथन छ । कांग्रेस महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । तर, क्रियाशील विवादका कारण महाधिवेशन अझै अनिश्चित बनेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.