बिराटनगर । रातो तारा डट कम,एलिट क्लब यस क्षेत्रकै पुरानो नागरिक संगठन हो । यसले समसामयिक राष्ट्रिय तथा प्रदोशिक मुद्दामा आवाज उठाउँदै र समाज र सरकारलाई मार्गदर्शन गर्दै आएको छ । देशमा दोस्रो चरणको कोभिड–१९को महामारी फैलिएर अक्सिजन र अस्पताल सेवाको अभावमा जनता छटपटाइरहेको बेला एउटा अगुवा नागरिक संगठनका रूपमा एलिट क्लब चुप लागेर बस्ने अवस्था रहेन । तीन तहको सरकार, नागरिक संस्था र राजनीतिक दलहरूले आफ्नै प्रकारले काम गरिरहेको वर्तमान अवस्थामा केही महत्वपूर्ण विषयहरू उठाएर सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छौ । साथै, नागरिकको जीवन रक्षा गर्ने वर्तमान समयको प्रमुख कार्यभार भएकोले जतिसुकै असजिलो र कहाली लाग्दो अवस्था भए पनि संयम भई काम गर्न सबैमा हार्दिक अपील गर्दछौं ।
१.कोभिड–१९को महामारीबाट नागरिकको जीवन रक्षाका लागि खोप महत्वपूर्ण भएकोले सबै नागरिकलाई खोपको दायराभित्र ल्याउने कामलाई प्राथमिकता दिएर काम गर्न तीनै तहको सरकारलाई आह्वान गर्दछौं । पहिलो चरणको खोप सबैमा पु¥याउने र दोस्रो चरण लगाउनुपर्नेहरूका लागि समयै खोप लगाउने व्यवस्था मिलाइयोस् । यसका लागि संघीय सरकारको मात्र मुख नताकी महानगरपालिका लगायत सक्षम स्थानीय तह र प्रदेश सरकार आफैंले खोप खरिद गरी जनतालाई बचाउने काम गरियोस् ।
२.महामारीको बेला नागरिकका लागि अस्पतालमा सहज पहँुच हुनुपर्दछ । तर, अहिले अस्पतालहरूमा रहेका अक्सिजन र शैयाको बारेमा सही तथ्याङ्क नभई अन्योल सिर्जना भएको छ । कतिपयले व्यापारिक स्वार्थ राखेर सर्वसाधरणलाई सेवा नदिएको गुनासो पनि आइरहेको छ । यस्तो अवस्था आउन नदिन अस्पतालमा सरकारी सूचना डेक्सको व्यवस्था गरियोस् । सूचना डेस्क स्थानीय तह र प्रदेश सरकारको सम्बन्धित महाशाखासँग समन्वय हुने व्यवस्था मिलाइयोस् । भर्ना गर्नुपर्ने विरामीलाई अस्पताल लैजानका लागि सवारी साधन र एम्बुलेन्सको सुलभ व्यवस्था गरियोस् । प्रदेश सरकार, स्थानीय सरकार, व्यक्ति र समुदायमा रहेका सवारी साधन तथा एम्बुलेन्सहरू उपयोगमा ल्याउने गरी प्रभावकारी संयन्त्र बनाइयोस् ।
३. स्वास्थ्यकर्मी सहितको स्वयम्सेवक दल बनाएर होम आइसोलेशनमा रहेका विरामीहरूका लागि आवश्यक खाद्य पदार्थ, औषधि र स्वास्थ्यसेवा आपूर्तिको व्यवस्था मिलाइयोस् । यी सेवाहरू सक्षम परिवारका लागि सशुल्क र विपन्न तथा असहायहरूका लागि निःशुल्क गरियोस् ।
४.अनाथ आश्रम, ज्येष्ठ नागरिक सेवा केन्द्र तथा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिक, बालबालिका तथा असहायहरूका लागि आवश्यक खाद्यान्न, औषधि तथा उपचारको विशेष व्यवस्था गरियोस् । खोपको मात्रा नपुगेको भए यथाशिघ्र आपुर्तिको व्यवस्था मिलाइयोस् ।
५.महामारीको समयमा आधिकारिक र नियमित सूचना प्रवाह गर्नेे व्यवस्था गरियोस् । औषधि र उपचार विधिका बारेमा चिकित्सक वा दक्ष व्यक्तिले मात्र धारणा सार्वजनिक गर्ने व्यवस्था गरियोस् । स्थानीय सरकार, प्रदेश सरकार र अस्पतालहरूले फोकल पर्सन वा प्रवक्ताको व्यवस्था गरी नाम सर्वाजनिक गरियोस् । सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट अनावश्यक र अतिरञ्जित हल्ला फैलाउने व्यक्ति वा संस्थालाई कारवाहीको दायरामा ल्याइयोस् ।
६.कोभिड–१९को विरुद्धमा काम गरिरहेका तीन तहको सरकारको काममा समन्वय हुनुुपर्दछ । खोपको आपूर्ती तथा नागरिकको लागि गरिएको व्यवस्था तथा प्रदान गरिएको सुविधा पारदर्शी गरियोस् । नागरिकलाई समस्याको बारेमा बुझाएर सावधानी पूर्वक दैनिकी सञ्चालन गर्न आह्वान गरियोस् ।
७. प्रदेश सरकारहरू र स्थानीय सरकारको काममा आवश्यकता अनुसार समन्वय गरियोस् । आवश्यक परेमा अक्सिजन, औषधि, खोप आपूर्तिमा एक अर्को प्रदेश वा सरकारसँग प्रभावकारी समन्वय र सहकार्य गरियोस् ।
८.अस्पतालमा कोरोनाको उपचारमा प्रयोग हुने अति आवश्यक औषधि र उपकरणहरू जस्तै अक्सिजन, रेमडिसिभिर, स्टोराइड, अक्सिमिटर आदि सामग्रीहरूको सहज आपुर्तीको व्यवस्था मिलाइयोस् । यस्ता सामग्रीहरू अस्पतालहरू बीच सहयोग आदान प्रदान गर्ने तथा औषधि कालोबजारी हुन नदिन सहजीकरण तथा अनुगमन गर्ने व्यवस्था मिलाइयोस् ।
९.महामारीको मौका छोपी दैनिक उपभोग्य सामग्री र अन्य बस्तुको अत्यधिक मूल्य बढेको छ । स्थानीय सरकारले प्रभावकारी अनुगमन गरी मूल्य नियन्त्रण गरोस् । साथै पसल, अस्पताल, बैंक तथा सार्वजनिक स्थलमा हुने भिडभाड नियन्त्रण गर्न र स्वास्थ्य मापदण्ड लागू गराउन पहल गरियोस् ।
Post a Comment