Websoft University

सुन्दरहरैंचामा भएको मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लेटाङ्ग विजयी!

 


मोरङ बैशाख ६ गते । रातो तारा डट कम,सुन्दरहरैंचामा आज शुरु भएको प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगितामा लेटाङ नगरपालिका अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा लेटाङ र बेलबारी नगरपालिका दुवैले कुनै गोल नगरेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।


टाइब्रेकरका लागि भएको पेनाल्टीमा लेटाङ नगरपालिका खेलाडी यमन मगर, सुन्दर साँवा लिम्बू, समन तामाङ र टिम क्याप्टेन अभिषेक लिम्बूले गोल गरेका थिए । गोलकिपर अञ्जित श्रेष्ठले गरेको प्रहार भने गोल पोष्टको क्रसबारको माथिबाट बाहिरिएको थियो ।


त्यस्तै, बेलबारीका तर्फबाट टिम क्याप्टेन देवेन धिमाल तथा कासिम राई र मिलन परियारले गोल गरेका थिए । बेलबारीका किरण लिम्बू र अरुण लिम्बूको प्रहार भने लेटाङका गोलकिपर अञ्जित श्रेष्ठले बचाएका थिए ।


खेलको म्यान अफ द म्याच लेटाङ नगरपालिकाको टिमका गोलकिपर अञ्जित श्रेष्ठ घोषित भए । उनले नगद २ हजार र मेडल पाए ।

निर्धारित समयमा दुवै तर्फका खेलाडीले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए । बेलबारीका खेलाडी राजकुमार राईले गरेको प्रहार लेटाङका गोलकिपर श्रेष्ठले रोकेका थिए । दोस्रो हाफमा अभिषेक लिम्बूूको लामो प्रहारलाई रक्षा पंक्तिका खेलाडी सुुमन श्रेष्ठले गरेको हेड गोलपोस्टको बारमा लागेर बाहिरिएको थियो ।

दोस्रो हाफमा नै लेटाङका खेलाडीले गरेको प्रहार पनि गोल हुन सकेन । बेलबारीका टिम क्याप्टेन देवेन धिमालले त्यसलाई क्ल्यिर गरेपछि लेटाङले कर्नर किक पाए पनि गोल गर्न भने सकेन ।

आजदेखि शुरु प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ वटा टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा विजेता पालिकाले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

मगलबारको खेल रतुवामाई नगरपालिका र उर्लाबारी नगरपालिकाबीच हुने भएको छ । बैशाख १४ गते फाइनल खेल हुने भएको छ । सुन्दरहरैंचा १२ शुक्रबारेको खेल मैदानमा भएको खेलको आयोजक सुन्दरहरैंचा नगरपालिका र सह आयोजक सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ रहेको छ । खेलको व्यवस्थापनको जिम्मा शुक्रबारे युवा क्लबले लिएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले खेलाडीको प्रतिभा उजागर गर्न मद्दत पुगोस् भनेर प्रतियोगिता आयोजना गरिएको बताए । निर्वाचित भएको पहिलो वर्ष विविध कारणले खेल शुरु गर्न नसकेको उनले बताए । दोस्रो वर्ष वडाध्यक्ष कपको नाममा खेल भएको तथा गत वर्ष कोरोना संक्रमणका कारण मेयर कप प्रतियोगिता स्थगित भएको उनले बताए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता प्रतियोगिताले नगरपालिकाबीच समन्वय हुने र भाइचाराको सम्बन्ध स्थापित हुुने उल्लेख गरे । प्रतियोगिता उद्घाटन हुनुअघि विभिन्न संघसंस्थाहरुले जातीय झाँकी, वेशभूषा तथा नृत्य प्रस्तुत गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.