शिव भट्टराई,मोरङ फागुन २१ गते । रातो तारा डट कम, सुन्दरहरैंचा नगरपालिका स्वास्थ्य शाखाले तेश्रो चरणको कोरोना खोप अभियानको सन्दर्भमा अन्तरकृया कार्यक्रम गरेको छ । यहि फागुन २३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने खोप अभियानको विषयमा अन्तरकृया गरिएको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन कुमार चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मछिन्द्र बस्नेत तथा नगरपालिका भित्र रहेका इन्द्रपुर स्वास्थ्य चौकी, गछिया स्वस्थ्य चौकी, सुन्दरपुर स्वास्थ्य चौकी, हरैंचा स्वास्थ्य चौकी र मृगौलिय स्वास्थ्य चौकीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यस्तै नगरपालिकाका कृषि शाखा, सामाजिक विकास शाखा लगायत नगरका विभिन्न शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । फागुन २३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने तेश्रो चरणको अभियानमा पहिलो र दोश्रो चरणमा छुट भएका समूह, ६५ वर्ष माथि उमेर समुहका व्यक्तिहरु, जोखिम तथा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, सफइकर्मीहरुलाई खोप लगाइने सुन्दरहरैंचा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेतले जानकारी दिनुभयो । सुरुमा ५५ वर्ष माथिका नागरिकलाई खोप दिने भनिएपनि सरकारले नै यसको दायर संशोधन गरि ६५ वर्ष कायम गरेको उहाँले जानकारी दिनुभयो ।
फागुन २३ गतेदेखि २७ गतेसम्म नगरका ५ वटै स्वास्थ्य केन्द्रमार्फत हरेक दिन फरक फरक गरेर तोकिएको साविकका खोपकेन्द्रमा खोप लगाइने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले खोप लगाउँदा सामान्य ज्वरो लगायतका स्वस्थ्य समस्या देखिए पनि अन्य जटिल समस्या नदेखिएकाले ढुक्क भएर खोप लगाउन प्रथमिकतामा परेकाहरुलाई आग्रह गर्नुभयो । नगरमा २०६८ सालको जनगणना अनुसार ६५ वर्ष माथिका नागरिकको संख्या ४ हजार ७ सय ९६ जना रहेकाले सोही संख्याको हाराहारमा खोप दिइने उहाँको भनाइ छ । खोप अभियान सञ्चालनका लागि सम्बन्धित स्वास्थ्य चौकीले आफ्नो सेवा क्षेत्रमा सम्बन्धित वडाका जनप्रतिनिधि र सरोकारवालाबीच अन्तरकृया कार्यक्रम गरिसकिएको छ।
Post a Comment