Websoft University

मोरंङ व्यापार संघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रीज्यूको स्वागत

 

बिराटनगर पुस २५ गते । रातो तारा डट कम, मोरंग व्यापार संघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री माननीय भानुभक्त ढकालज्यूलाई स्वागत गरी भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । प्रदेश नं। १ क्षेत्रका पर्यटन प्रवद्र्धन लगायत समसामयिक विषयहरुमाथि छलफल गर्न मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको पहलमा मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमका सभापतिद्वय मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूले प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रीज्यूको संघका स्वागत गर्नु भई पर्यटन क्षेत्रको प्रवद्र्धन एवं विकासका विषयहरु माथी छलफल गर्नु भएको थियो ।

माननीय मन्त्रीज्यू समक्ष स्वागत मन्तव्य राख्नु हुँदै संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले वर्तमान जटिल अवस्थामा माननीय मन्त्रीज्यूको सम्हालिरहनु भएको कार्यभार हाल चूनौतिपूर्ण रहेको बताउनु  भई विभिन्न अवरोध र चुनौतिहरुको सामना गर्दै माननीय मन्त्रीज्यू अघि बढि रहनु भएको प्रति प्रशंसा व्यक्त गर्नु भएको थियो । मन्तव्य दिनु हुँदै अध्यक्ष मून्दडाज्यूले प्रदेश नं। १ लगायत समग्र नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान, भूमिका, महत्व, वर्तमान अवस्था तथा यसको पुनरुत्थानकालागि आगामी दिनका कार्य योजनाहरु बारे आफ्नो धारणा र सुझावहरु माननीय मन्त्रीज्यू समक्ष पेश गर्नु भएको थियो ।

हाल नाका बन्द रहेकाले एकातर्फ उत्पादनमुलक स्वदेशी उद्योग र स्थानीय बजाररव्यवसायहरु केहि हदसम्म फस्टाएतापनि अर्को तर्फ पर्यटन क्षेत्रमा प्रतिकूल असर परी धरासायी तर्फ उन्मूख भई रहेको बताउनु भई अध्यक्ष मून्दडाज्यूले प्रदेश नं। १ मा त्यस्ता प्रतिकूल प्रभावहरु न्यूनिकरण गर्दै जान एवं हाल स्वदेशी पर्यटकहरुबाट जेनतेन चलिरहेको पर्यटन क्षेत्रको पुनरुत्थानकालागि विभिन्न नीतिहरु तत्कालै अपनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

प्रदेश नं। १ को पर्यटनको सन्दर्भमा अध्यक्ष श्री मून्दडाज्यूले ८,००० मिटर माथिका विश्वका १४ वटा हिमश्रृंखलाहरु मध्ये ८ वटा नेपालमै रहेकोमा त्यस मध्ये पनि विश्वकै सर्वोच्च शिखर सगरमाथा र तेश्रो अग्लो हिमाल, कञ्चनजंगा, सहित कुल ५ वटा हिमश्रृंखला यही प्रदेशमा अवस्थित रहेकोमा भौगोलिक रुपले हिमाल, पहाड र तराईको समिश्रणका कारण प्रदेश नंं १ जैविक विविधताले परिपूर्ण रहेको बताउनु हुँदै यहाँका प्राकृतिक सम्पत्तिहरुको समुचित व्यवस्थापनबाट यस प्रदेशलाई पर्यटनको प्रमुख आकर्षण केन्द्रको रुपमा विकास गर्न सकिने जिकिर गर्नु भएको थियो । 

सगरमाथा पर्वतारोहणकालागि प्रयोग हुने लुक्ला विमानस्थलसम्मकालागि हेलिकप्टर व्यवस्थापन तथा माउण्टेन फ्लाईटहरु विराटनगरबाटै उडान भराउन पहल हुनु पर्ने बताउनु हुँदै अध्यक्ष मून्दडाज्यूले यस प्रदेशका पर्यटकीय गन्तव्यहरुमा सरकारले आवधिक छुट वा निःशुल्क रुपमा जग्गा उपलब्ध गराए त्यसमा पर्यटकहरुकालागि अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न होटलहरु संचालन गर्न निजी क्षेत्र तयार रहेको जनाउनु भएको थियो । त्यस्तै, पर्यटन आकर्षित गर्न प्राकृतिक खानपिन, स्वच्छ हावापानी, मनोरम दृष्य सहितका ठाउँहरुमा होम स्टे खोल्न प्रोत्साहन गरिनु पर्ने एवं त्यस्ता ठाउँमा सेमिनार, बैठक आदि समेतको आयोजना गर्न सकिने वातावरण श्रृजना गर्न माननीय मन्त्रीज्यूलाई सुझाव दिनु भएको थियो ।

यस्तै, विराट राजाको दरबारका अवशेष रहेका स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, पाथिभरा मन्दिर सम्म केबल कारको संचालन गर्ने, हलेसी महादेवसम्मको सहज यात्राको व्यवस्थापन गर्ने एवं वराहक्षेत्रमा लाग्ने कुम्भमेलालाई भारतको चारधाममा लाग्ने कुम्भमेलासँग जोड्न पहल गरी धार्मिक पर्यटन सर्किटको विकास गर्ने लगायतका कार्ययोजना अघि बढे यस प्रदेशको धार्मिक पर्यटनमा उल्लेख्य योगदान पुग्ने धारणा अध्यक्षज्यूले राख्नु भएको थियो ।

त्यस्तै, विराटनगर विमानस्थलको स्तरोन्नत्तिका कार्यलाई तिव्रता दिई अन्तर प्रदेश बीचको उडानहरुलाई निरन्तरता दिनुका साथै विगतका झैं विराटनगरदेखि कोलकाता, दिल्ली सम्मको उडान पुनः सुचारु गरी बंगलादेश, भुटान सम्मको उडानको समेत थालनी गर्नु पर्ने सुझाव अध्यक्ष मून्दडाज्यूले दिनु भएको थियो ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यूले पनि मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको विकास एवं प्रवद्र्धन गर्न तत्कालै आवश्यक रहेको बताउनु भई कोशी टप्पु देखि चतरा क्षेत्रसम्म ५ वटा पाँचतारे होटल निर्माण हुन सक्ने वातावरण श्रृजना गर्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा मोरंग व्यापार संघका उपाध्यक्ष श्री अनुपम राठीज्यू, महासचिव श्री अनिल कुमार साहज्यू, नाटा, प्रदेश १का वरिष्ठ उपाध्यक्ष एवं पर्यटन व्यवसायी श्री पुण्य प्रसाद भट्टराईज्यू, पर्र्यटन व्यवसायीहरु श्री भविष श्रेष्ठज्यू, श्री तुलसी प्रसाद पोखरेलज्यू लगायतले आ–आफ्नो धारणा राख्नु हुँदै विराटनगर विमानस्थलको जग्गा अघिग्रहण कार्य तिव्रगतिले हुनु पर्ने, विराटनगरबाट कोलकाता, दिल्ली लगायत गुवाहाटी सम्मको सिधा उडानको व्यवस्थापन गरिनु पर्ने, काठमाडौँ–कोलकाता उडानलाई विराटनगर विमानस्थलमार्फत ट्रानजिट गराउनु पर्ने, महाभारत सर्किटमा विराट दरबार र अर्जुन धारा समावेश गरिनु पर्ने, भारतको सीमावर्ति राज्यबाट पर्यटक आकर्षित गर्नु पर्ने, पर्यटन व्यवसायीहरुलाई सहज र सरल प्रकृयाबाट पुर्नकर्जा उपलब्ध गराउनु पर्ने आदि माग र सुझावहरु माननीय मन्त्रीज्यू समक्ष राखिएको थियो ।

अन्तमा प्रमुख अतिथि एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री माननीय भानुभक्त ढकालज्यूले प्रदेश नं। १ धार्मिक, ऐतिहासिक एवं पुरातात्विक आदि सबै दृष्टिकोणबाट उच्च स्तरमा रहेको आफूले बुझेको जनाउनु भई कार्यक्रमबाट आएका सुझाव र मागहरु प्रति आफु पूर्ण सहमत रहेको र तीनलाई पुरा गर्न आफुबाट सकारात्मक ढंगले पहल हुने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड सहित संघका महासचिव श्री अनिल कुमार साहज्यूद्वारा संचालित उक्त कार्यक्रममा मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ लगायत विभिन्न संघ–संस्थाका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यमीहरु, उद्योगी व्यवसायीहरु, राजनितिकर्मीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.