Websoft University

सुन्दरहरैंचामा १ महिने अल्लोका कपडा बुन्ने तालिम सम्पन्न


शिव भट्टराई,मोरङ असार २० गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचास्थित लुमा घरेलु अल्लो कपडा उद्योगको आयोजनामा अल्लो कपडा बुनाई तालिम सम्पन्न भएको छ । प्रदेश १ का सांसद् राजकुमार ओझाको प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित १ महिने तालिमको आज समापन गरिएको हो । प्रदेश सांसद् राजकुमार ओझाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमायाता तामाङ विशिष्ट अतिथिको रुपमा सहभागि हुनु भएको थियो ।

सो अवशरमा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरु र प्रशिक्षार्थीहरुको समेत उपस्थिति रहेको थियो । उद्योगका सञ्चालक अशोक राईको सभापतित्वमा भएको समापन कार्यक्रममा सहभागी प्रशीक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद् राजकुमार ओझाले अल्लो कपडा बुन्ने तालिम लिएका महिलाहरुले अब आत्मनिर्भर बनेर अघि बढ्नुपर्ने भन्दै त्यसका लागि यथासक्य सहयोग गर्न आफु तयार रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा उद्यमीहरुका लागि विनाव्याज ऋण प्रदान गर्ने कार्यक्रम राखेको समेत जानकारी दिनुभयो ।

यस्तै सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले महिलाहरु उद्यमी बनेर आय आर्जनमा लागे मात्र अन्य क्षेत्रमा समेत अघि बढ्न सक्ने भन्दै उद्यमी बन्न चाहने महिलाहरुलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।सीप सिकेको प्रमाणपत्र एउटा हतियार भएको हुनाले यसको प्रयोग गर्न सधैँ तयार हुनुपर्ने उनको भनाइ थियो । अल्लोको कपडा लगाएमा संस्कृतिको जगेर्ना हुने पनि उनले बताइन् । महिला हिंसा हटाउन यस्ता सीप सहयोगी हुने उनको भनाइ थियो ।

यस्तै कार्यक्रमका सभापति तथा उद्योग सञ्चालक अशोक राईले धेरै भन्द धेरैलाई अल्लो कपडा बुन्ने तालिम प्रदान गरेर उद्यमी बनाउने अभियानमा आफु लागेको बताउनुभयो । उहाँले आफुले तालिम लिने बेलामा धेरै ठाउँ धाउनु परेको भन्दै तालिम लिन चाहानेलाई सहयोग गर्न आफु सँधै तत्पर रहने उल्लेख गर्नुभयो । 

सो तालिममा सहभागी भएका १५ जना महिलामध्ये ५ जनालाई सो उद्योगले नै रोजगारी दिएको र अन्यलाई समेत स्वरोजगार बन्न सहयोग गर्ने उद्योगकी सञ्चालक सीता राईले जानकारी दिनुभयो । यस्तै तालिममा सहभागी महिलाहरुले समेत तालिम लिएपछि आफुहरुलाई आत्मनिर्भर बन्ने विश्वास पलाएको प्रतिकृया दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.