Websoft University

कोरोनाको महामारीका बेला मोरङका ३ अस्पतालको अनुगमन


शिव भट्टराई,मोरङ बैशाख ५ गते । रातो तारा डट कम,प्रदेश १ का विभिन्न स्वास्थ्य संस्थाहरुको अनुगमन जारी राखेको 
नेपाल चिकित्सक संघले मोरङका विभिन्न स्वास्थ्य संस्थाहरुको पनि अनुगमन गरेको छ ।

कोरोनाको विश्वव्यापी संकट रहेको तथा नेपालमा समेत संक्रमितको संख्या बढिरहेका बेला कोरोनाको संकास्पद विरामीहरुको उपचार तथा स्वाथ्यकर्मीहरुको अवस्था बारे संघले अनुगमन गरिरहेको छ । संघले बिहीबार मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पताल, विराटनगरस्थित कोशी अञ्चल अस्पताल र विराटनगरमै कोरोनाको उपचारका लागि स्थापना गरिएको कोशी कोरोना अस्पतालको अनुगमन गरेको हो ।

गोठगाउँस्थित अस्पतालका स्वाथ्यकर्मी ढुक्क
संघले मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालबाट मोरङका अस्पतालहरुको अनुगमन सुरु गरेको हो । पूर्वाञ्चल विश्वविद्यालयकै हस्पिटल डाइरेक्टर समेत रहनु भएका नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य विपेश आचार्य र सञ्चारकर्मीसहितको टोलीले अनुगमन गरेको हो ।

अन्य सबै अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुले आवश्यक सुरक्षा सामाग्री नपाएको गुनासो गरिरहेका बेला गोठगाउँस्थित शिक्षण अस्पतालका स्वाथ्यकर्मीहरुले भने सबै सुरक्षा सामाग्री पाएको र ढुक्कसँग सेवा प्रदान गरिरहेको बताएका छन् । स्वाथ्यकर्मी सारदा चौधरी आफुहरुले पीपीइ, एन नाइन्टिफाइभ मास्क, पञ्जा, बुट, चस्मा लगायतका सबै सुरक्षा सामाग्री पाएकाले ढुक्कसँग सेवा प्रवाह गरिरहेको बताउनुहुन्छ ।

यस्तै अर्की स्वास्थ्यकर्मी कमला तिम्सिना पनि आफुहरुले अन्य स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले भन्दा पर्याप्त सुरक्षा सामाग्री पाएको बताउनु हुन्छ । यस्तै अनुगमनका क्रममा गोठगाउँस्थित शिक्षण अस्पतालमा क्वारेन्टाइन तयार अवस्थामा राखिएको, आकस्मिक सेवा सुचारु रहेको तथा ओपीडी सेवा लिन आउनेहरुलाई पनि सेवा प्रदान गरिरहेको पाइएको छ ।

कोशी अस्पताल ः सुरक्षा सामाग्रीकै चिन्ता
गोठगाउँको शिक्षण अस्पताल अनुगमन पश्चात टोलीले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको अनुगमन गरेको छ । कोशी अञ्चल अस्पतालमा हाल इमरजेन्सी, ओपीडी र फिभर क्लिनिक गरेर ३ प्रकारका सेवा प्रवाह भइरहेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्राले जानकारी दिनुभयो । अस्पतालमा हाल कोरोनाको संकास्पत विरामीलाई राख्न १० बेडको आइसोलेसन सञ्चालनमा छ । यस्तै संकास्पद विरामीहरुको पीसीआर प्रविधिबाट कोरोनाको चेकजाँच भइरहेकोमा हालसम्म परिक्षण गरिएका कसैमा पनि कोरोना देखिएको छैन ।

यता कोशी अञ्चल अस्पतालमा कार्यरत स्वाथ्यकर्मीहरुले भने अन्य क्षेत्रका स्वास्थकर्मीहरुले झैं स्वास्थ्य सामाग्रीहरुको अभावका कारण जोखिम रहेको गुनासो गरेका छन् । मेडिकल अफिसर कौशल सिग्देल, अशेव अर्जुन मण्डल र नर्स पूजा भट्टराईले आफुहरुले सुरक्षा सामाग्री निकै कम पाएको तथा पाएको पनि गुणस्तरिय नभएकाले जोखिममा रहेर काम गरिहरनु परेको गुनासो गर्नुभयो ।

कोरोना अस्पताल ः ७० बेड, ८ वटा भेन्टिलेटर 
कोशी अञ्चल अस्पतालसँगकै सहकार्यमा प्रदेश सरकारले विराटनगरमै स्थापना गरेको कोशी कोरोना अस्पतालको पनि टोलीले अनुगमन गरेको छ । विराटनगरको रोडसेस नजिकै रहेको साल्ट ट्रेडिङको भवनलाई मर्मत गरि कोरोना विशेष अस्पतालको रुपमा तयार गरिएको हो । कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्राले कोरोना अस्पतालमा ७० बेड रहेको र ८ वटा  भेन्टिलेटरको समेत व्यवस्था रहेको जानकारी दिनुभयो ।

अस्पतालमा हाल कुनै विरामी नराखिएको र आवश्यक पर्ना साथ राख्न सकिने गरि तयार गरिसकिएको उहाँले जानकारी दिनभुयो । सो अस्पतालमा सुरक्षित प्रवेश मार्ग, पर्याप्त शौचालय, सीसी क्यामरा को समेत व्यवस्था गरिएको पाइएको छ । यता चिकित्सक संघका केन्द्रीय सदस्य विपेश आचार्यले समेत कोरोनाको उपचारका लागि स्थापना  गरिएको सो अस्पताल सुविधा सम्पन्न रहेको पाइएको प्रतिकृया दिनुभयो ।

 प्रदेश सरकार र कोशी अञ्चल अस्पतालबीचको सहकार्यमा निकै छोटो समयमा अस्पताल निर्माण गरि तयार अवस्थामा ल्याएको भन्दै उहाँले प्रशंशा गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.