Websoft University

बेलबारी गोल्डकप,फाइनलमा भारत र धरान भिड्ने


बेलबारी मोरङ असोज ९ गते । रातो तारा डट कम, मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भारतको रोयल फुटबल क्लब र सुनसरीको धरान फुटबल क्लब भिड्ने भएका छन् । 

बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै भारतले उपाधि भिडन्तका लागि धरानसँगको भेट पक्का गरेको हो । नेपाली खेलाडीले भरिएको भारतीय टिमको सजत  जितमा निशान्त लिम्बूले दुई र सञ्जय सुब्बाले एक गोल गरे । अत्यन्तै कमजोर प्रदर्शन गरेको एपीएफलाई रोक्ने क्रममा भारतले तीनवटै गोल मध्यान्तरपछि गरेको हो ।

मध्यान्तर अघिसम्म रोके पनि एपीएफले लय गुमाउँदा मध्यान्तरपछि भारत हावी बन्यो । भारत यस अघि अर्को विभागीय टोली नेपाल पुलिस क्बललाई पराजित गरेर सेमिफाइनल पुगेको थियो । सेमिफाइनल यात्रा तय गर्ने क्रममा एपीएफले झापा–११ लाई क्वार्टर फाइनलमा पराजित गरेको हो । सेमिफाइनलमा भने खेलाडीबीच तालमेल मिलाउन नसकेको उसको प्रदर्शन खेल अवधि भरनै कमजोर रहयो । राजन गुरुङले चित्तबुझ्दो प्रदर्शन गरे पनि राष्ट्रिय टिमका राजेन्द्र रावल जम्न नसक्नु एपीएफका दुर्भाग्यपूर्ण बन्यो ।

भारतका निशान्त लिम्बू, सुरज रसाईली, श्याम सरकार, कप्तान आदर्शन तामाङको प्रदर्शन उत्कृष्ट रहयो । एपीएफमाथि सनसनीपूर्ण जित निकाल्ने क्रममा ५१ औं मिनेटमा निशान्त लिम्बूले गोलको खाता खोलेर भारतलाई अगाडि बढाउँदा एपीएफ दबाबमा प¥यो । कैलाश बस्नेतको पासमा निशान्तले प्रहार गरेको ग्रास बलले पोस्टको बाटो तय गर्दा गोलरक्षक राजु नगरकोटीले कुनै मौका पाएनन् । 

६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै निशान्तले अग्रता दोब्बर बनाएपछि एपीएफ थप तनावमा प¥यो । डी–बक्स भन्दा बाहिरबाट उनले गरेको सशक्त प्रहारले पोस्टको दिशा लिएको हो । एपीएफमाथि रवाफ देखाएको भारतका लागि ७६ औं मिनेटमा तेस्रो गोल सम्भव भयो । सुरज रसाईलीको पासमा सञ्जय सुब्बाले बललाई जाली चुमाउँदै एपीएफमाथि फराकिलो अन्तरको जित दिलाए ।

खेललाई नियन्त्रणमा लिएको भारतले २१ औं मिनेटमा गोल गर्ने अवसर गुमायो । श्याम सरकारको प्रहारमा गोलरक्षक राजु नगरकोटी बाधक बन्दा भारतले सुरुवाती अग्रता बनाउन सकेन । ३५ औं मिनेटमा सुजन रसाईलीको प्रहार क्रसबारमाथिबाट बाहिरिएपछि उसले मध्यान्तर अघि गोल गर्न सकेन ।

१७ औं मिनेटमा सन्तोश श्रेष्ठको पासमा महेश लामा चुक्दा एपीएफको भारतलाई दबाबमा राख्ने अवसर खेर गयो । ५५ औं मिनेटमा रुद्रबहादुर लामाको उत्कृष्ट फ्रिकिक प्रहारलाई रोक्दै भारतका गोलरक्षक किशोर गिरीले एपीएफलाई खेलमा फर्कन दिएनन् । ६५ औं मिनेटमा सन्तोश श्रेष्ठ अघि बढे पनि रेफ्री श्याम दनुवारले अफसाइडको संकेत गरेपछि एपीएफका लागि वान भर्सेस वानको अवसर गुम्यो । ७७ औ मिनेटमा युवराज खड्काको सशक्त प्रहार रोक्दै गोलरक्षक गिरीले आफ्नो टिम विरुद्ध गोल हुन नदिंदा एपीएफले सान्त्वना गोल पनि फर्काउन सकेन । 

खेलको म्यान अफ दी म्याच भारतका निशान्त लिम्बूले पाँच हजार नगद पुरस्कार पाए । प्रतियोगिताको फाइनल खेलमा आगामी शनिबार हुनेछ । आयोजकका समितिका संयोजक एवं डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईकाअनुसार फाइनल शुक्रबार हुने घोषणा गरिए पनि प्राविधिक कारण शनिबारका लागि सार्नु परेको हो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.