श्याम राई-उदयपुर,गाईघाट,असार २५ गते ।
रातो तारा डट कम,प्रहरी कै सेटिङ्गमा स्थानीय नदिनालाबाट खुुलेआम नदीजन्य पदार्थको अवैध कारोबारले तीब्रता पाएको छ ।
सरकारले संरक्षित क्षेत्रमा तिन महिना (असार, साउन र भदौ) को लागि ढुंगा, गिटी र बालुवा उत्खनन र विक्री वितरणमा रोक लगाएपछि त्यसको फाईदा उठाउदै व्यावसायीहरुले प्रहरी प्रशासनको मिलिमतोबाट अवैध कारोबार गरिरहेकाछन् ।
नदीजन्य पदार्थको अवैध कारोबारमा व्यावसायीहरुले प्रहरी प्रशासनसँग मिलिमतोमा काम गरिरहेको स्थानीयको भनाई
छ । ‘ विगत वर्षदेखि नै यस्तो कारोबार हुदै आउको छ ।’ स्थानीय सन्तलाल चौधरीले भने । ‘ तिन महिनाको अवधिमा सबै कारोबार बन्द गरिने हुदा प्रहरी प्रशासनलाई दशै आए जस्तो हुन्छ ।’ उनले बताए ।‘
कानूनी रुपमै नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएपछि प्रहरी प्रशासनको आडमा व्यावसायीहरुले अवैध कारोबार गर्ने गरेकाछन् ।’ उनले भने । गाईघाट बजार नजिकैको त्रियुगा, बरुवा, लुहाले लगायतका अन्य खोला नालाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको छ ।
दिउसो सबैले थाहा पाउने हुदा रातीको समयमा अवैध कारोबार हुने गरेको छ । ‘ राती १० बजेपछि नदीजन्य पदार्थ लिन ट्याक्टरको खोलामा लर्को लाग्ने गरेको छ । त्रियुगा खोला नजिक घर रहेका तेलिया सदाले भने । उनले एक रातमा ५० वटा ट्याक्टरले नदीजन्य पदार्थ ओसार्ने गरेको बताए । ‘ विहान ५ बजेसम्म नै गाडीले गिटी, ढुंगा र बालुवा ओसारीरहेको हुन्छ ।’ उनले भने ।
अवैध कारोबारको कारण यतिखेर नदीजन्य पदार्थको मूल्य समेत दोब्बर भएको छ । ३ हजार पर्ने ढुंगाको मूल्य ६ हजार, ९ सय पर्ने बालुवाको १ हजार ५ सय, १ हजार २ सय पर्ने गिटीको मूल्य २ हजार २ सय पुगेको छ ।
नगर क्षेत्रमा अहिले १ हजार भन्दा बढी घर निर्माण भैरहेको छ । ट्याक्टर व्यावसायीले चर्को मूल्यमा असुली रहदा उपभोक्ताहरु मरमा परिरहेकाछन् ।
तिन महिना सम्मको लागि नदीजन्य पदार्थको रोकले यतिखेर जिल्ला भरिका विकास, निर्माणका कामहरु प्रभावित बन्न पुगेको छ । दिक्तेल–गाईघाट सडक, चतरा–गाईघाट– हेटौडा सडक आयोजनाको काम पूर्ण रुपमा रोकिएको छ । राष्ट्रिय गौरबको आयोजनाको काममा कुनै बाधा नपु¥याउने सरकारको निती भएपनि नदीजन्य पदार्थको अभाबले ति योजनालाई असर परेको छ ।
प्रहरी प्रशासन र व्यावसायीबीच सेटिङ्गले उपभोक्ता मारमा परेपनि उनीहरुलाई( प्रहरी प्रशासन र व्यावसायी) ले आर्थिक रुपमा ठुलो फाईदा पुगेको छ । नदीजन्य पदार्थको अवैध कारोबारमा संलग्न एक ट्याक्टर व्यावसायीकानुसार, प्रति ट्याक्टर प्रहरीले १ हजार रुपैया लिने गरेको छ ।
दैनिक ५० वटा ट्याक्टरबाट ५० हजार प्रहरीले उठाउने गरेको ति व्यावसायीले बताए ।‘ महिनामा १५ लाखदेखि २० लाख सम्म प्रहरीको भागमा पर्ने गरेको छ ।’ नाम उल्लेख नगरी दिने सर्तमा ति व्यावसायीले भने । हामीले पनि राम्रे मुनाफा कमाएको छौ । यतिखेर कुनै किसीमको कर समेत तिनु परेको छैन ।’ उनले भने ।
विकास निर्माणको काम बढी हुने यो पिक सिजनमा नदीजन्य पदार्थको अत्याधिक खपत हुने गर्छ । स्थानीय तहले वर्षेनी नदीजन्य पदार्थको ठेक्का लगाउने गर्छ । तर यो तिन महिनामा सरकार द्धारा रोक लगाईएकोले स्थानीय तहले ठूलो राजस्व गुमाउदै आएको छ ।
Post a Comment