Websoft University

सिजनल टिकटतर्फ दर्शक आकर्षित


किशोर बुढाथोकी- विराटनगर,चैत्र १३ गते ।
रातो तारा डट कम,विराट गोल्डकप फुटबल प्रतियोगिताका लागि सिजनल टिकटको खरिद विक्री सुरु भएको छ ।
विराटनगरको सहिद रंगशालामा आयोजना हुने दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिताका लागि आयोजकले पूरै खेल हेर्ने दर्शकलाई लक्षित गरेर सिजनल टिकटको व्यवस्था गरेको छ ।

गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालले सोमबार सम्ममा दुई सय सिजनल टिकटको विक्री भइसकेको जानकारी दिए । उनका अनुसार प्रत्येक दिन खेल हेर्नका लागि दैनिक रुपमा टिकट काट्नु पर्ने दर्शकको बाध्यतालाई सम्बोधन गर्नका लागि सिजनल टिकटको व्यवस्था गरिएको हो ।

सिजनल टिकटको मूल्य एक हजार पाँच सय रुपैयाँ राखिएको छ । ‘यो टिकट एक पटक काटेपछि पूरै खेल हेर्न पाइने छ,’ रिजालले भने, ‘सिजनल टिकट खुल्ला गरिएपछि खरिद गर्नका लागि दर्शकको भीड लागेको छ ।’ रिजालका अनुसार दैनिक रुपमा हुने प्रतियोगितामा टिकट काट्दा खेल अवधिभर दर्शकको दुई हजार चार सय रुपैयाँ खर्च हुन्छ ।

‘खेल अवधिभर दुई हजार चार सय खर्च हुन्छ,’ उनले भने, ‘एक हजार पाँच सय रुपैयाँ तिरेर सिजनल टिकट काटेपछि पूरै खेल हेर्न पाइन्छ ।’ उनले सिजनल टिकट दैनिक रुपमा काट्नु पर्ने टिकट भन्दा सस्तो भएकाले पनि दर्शक यो टिकटतर्फ आकर्षित भएको जानकारी दिए ।

विराटनगरको पाञ्चाली स्थित होटेल मेरो नेपाल, मेन रोड, महेन्द्र चोकको नेपाल बजार, सहिद मैदान, तीन पैनी, ट्राफिक चोक लगायतका विभिन्न स्थानमा सिजनल टिकटको विक्री खुल्ला गरिएको रिजालले बताए । ‘खेल सुरु हुन अझै केही दिन बाँकी छ,’ उनले भने, ‘विक्री खुल्ला गरिएपछि सिजनल टिकट खरिद गर्ने दर्शकको भने भीड लागेको छ ।’ रिजालले यस वर्ष यस अघिका प्रतियोगिता भन्दा दर्शक उपस्थिती राम्रो हुने अपेक्षा गरिएको पनि बताए । प्रतियोगिता फागुन १७ देखि २६ गते सम्म हुँदैछ ।

सिजनल टिकट लिने दर्शकलाई खेल हेर्नका लागि मैदानमा सजिलै पस्ने र हेरिसकेपछि सजिलैसंग निस्कने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ । रिजालका अनुसार यो टिकट लिने दर्शकलाई प्रवेश गर्न र बसेर खेल हेर्नका लागि उत्तरतर्फको गेट र उत्तरतर्फकै प्यारापिटको व्यवस्था गरिएको रिजालले बताए ।

भने, ‘दर्शकको भरपुर सहयोगबाटै प्रतियोगिता बाँचिरहने हो । त्यही भएर यस्ता ठूला प्रतियोगिता पैसा तिर्दै टिकट काटेर हेर्नु पर्छ भन्ने मान्यतालाई स्थापित पनि गराउनु पर्ने छ ।’
मोफसलमै पहिलो पटक विराटनगरमा डे–नाईट प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर महिलाका लागि फुटबल हेर्ने अलग्गै व्यवस्था गरिएको छ । सहिद रंगशालाको पश्चिमतर्फको प्यारापिट फुटबल प्रेमी महिलालाई छुट्याइएको छ ।

अध्यक्ष रिजालले प्रतियोगिता आयोजनाका लागि गर्नु पर्ने धेरै जसो कामहरु सकिएको जानकारी दिए । गोल्डकपमा उद्धघाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइने छ । प्रतियोगिताका लागि नेपालका सात र विदेशका तीन गरेर १० वटा टिमले सहभागिता जनाउने छन् । भारतको सिक्किम युनाइटेड क्लब, मोहमडन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लब विदेशी टिम हुन् ।

प्रतियोगितामा नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर सातवटा टिम सहभागी हुँदैछन् । २०७२ सालको प्रतियोगिताको उपाधि नेपाल पुलिसको जितेको थियो ।

यस वर्षको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५-२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी रिजालले दिए । सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगितामा एक करोड तीन लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.