विराटनगर, पुस ३० गते । रातो तारा डट कम,
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १ नम्बर प्रदेशको निर्वाचन अधिकृतको कार्यालय शनिबार विराटनगरमा स्थापना गरिएको छ । विराटनगर स्थित विरेन्द्र सभागृहमा स्थापना गरिएको कार्यालयको प्रदेश नम्वर १ का निर्वाचन अधिकृत राजुकुमार खतिवडाले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनका लागि छुटाछुट्टै दुईवटा मतदान केन्द्र रहनेछन् । एउटा मतदान केन्द्रबाट स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अर्को मतदान केन्द्रबाट प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । क्षेत्रीय निर्वाचन कार्यलय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले माघ २४ गते हुने निर्वाचनमा १ नम्वर प्रदेश अन्तर्गत १४ जिल्लामा रहेका नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभासदसहित ३ सय ६७ जना मतदाता रहेको जानकारी दिए ।
एक नम्वर प्रदेशमा एक महानगरपालिका २ उपमहानगरपालिका, ६० नगरपालिका र ७४ गाउँपालिका गरी कुल १ सय ३७ स्थानीय तह छन् । ती स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभामा मतदान गर्न पाउनेछन् । यस्तै हालै सम्पन्न प्रदेशसभा निर्वाचनबाट निर्वाचित प्रत्यक्षतर्फका ५६ जना र ब‘ाकी समानुपातिकतर्फ चुनिने ३७ जना गरी प्रदेशसभाका ९३ जना सांसद पनि राष्ट्रियसभा निर्वाचनका मतदाता हुनेछन् ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहेको छ भने प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । यसरी १ नम्बर प्रदेशमा स्थानीय तहका प्रतिनिधिको मत ४ हजार ९ सय २३ र प्रदेशसभा सदस्यको मत ४ हजार ४ सय ६४ रहेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १ नम्वर प्रदेशबाट खुल्लातर्फ ३, महिला ३, दलित १ र अपांगता भएका तथा अल्पसंख्यक १ गरी ८ जना निर्वार्चित हुनेछन् । राष्ट्रियसभामा हरेक प्रदेशबाट ८ जनाको दरले निर्वाचित हुने ५६ जना र सरकारले मनोनित गर्ने ३ जनासहित ५९ जना सांसद हुने व्यवस्था छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमका लागि २१ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।
(जनविद्रोह दैनिकबाट)
Post a Comment