Websoft University

कटहरी गाउँपालिकाको सुचनाले सुकुम्बासीमा आतंक


विराटनगर, पुस ३० गते । रातो तारा डट कम,मोरङको कटहरी गाउँपालिका स्थित सिंघीया किनारमा बसोबास गर्ने सुकुम्बासीहरुले गाउँपालिकाकाले जबरजस्ती उठिबास लगाउन खोजेको गुनासो गरेका छन् । कटहरी १ स्थित नारी विकास अगाडि खोला किनारमा बसोबास गर्दै आएका १५ घर भूमिहिनहरुलाई गाउँपालिकाले घाट निर्माण गर्ने भन्दै बस्ती छाड्न उर्दी जारी गरेपछि उनीहरु चिन्तित बनेका छन् ।

विनाविकल्प पुसको चिसोमा ७ दिनभित्र बस्ती खाली गर्न गाउँपालिकाले सूचना जारी गरेको पीडितहरुको गुनासो छ । दैनिक मजदुरी गरेर गुजारा चलाउनेहरुलाई विनाविकल्प गाउँपालिकाले हटाउने तयारी गरेपछि उनीहरुले आफ्नो बसोबासको व्यवस्था गरिदिन आग्रह गरेका छन् । ‘हामीले नै चुनेका जनप्रतिनिधिहरुले आफूहरुको समस्या समाधान गरिदेलान् भन्ने आशा थियो’ बस्तीका मो.करिमले भन्नुभयो, ‘तर, अहिले उनीहरुले नै बिचल्ली बनाउने तयारी गरेका छन् । अब आफूहरु कहाँ जाने ?’

चुनावका बेला सुकुम्बासी समस्या समाधान गर्ने बाचा गरेका गाउँपालिका अध्यक्ष रामकुमार कामत र वडा नं. १ का अध्यक्ष कपुरलाल माझीले बस्ती छाड्न उर्दी गरेको स्थानीयको भनाइ छ । मुसहर र मुस्लिम समुदायका भूमिहिनहरुको बसोबास रहेको बस्ती खाली गर्ने तयारी गाउँपालिकाले गरेपछि करिब एक सय जनाको बिचल्ली हुने भएको छ ।

गएको साउनमा आएको बाढीले आफ्नो टहरा बगाएपछि कष्टकर रुपमा बस्दै आएका भूमिहिनहरुले त्यसबेला पनि गाउँपालिकाबाट कुनै राहत पाएका थिएनन् । दुःख गरेर पुनः टहरो हालेका आफूहरु गाउँपालिकाको सूचनापछि तनाबमा रहेको स्थानीय मोहम्मद अफजलले गुनासो गरे ।

गाउँपालिकाले प्रशासन लगाएर भएपनि टहरा हटाउने चेतावनी दिएपछि सुकुम्बासीले आफूहरुको बैकल्पिक व्यवस्था नगरी हटाउने प्रयास गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन् । खोलको डिलमा रहेको फोहोर पन्छाएर आफूहरुले वसोबास कायम गरेको अवस्थामा आफुहरुलाई बेघर बनाउने प्रयास भएको सुकुम्बासी परिवारले आरोप लगाएका छन ।

स्थानीयले वडाध्यक्ष कपुरलाल माझीले यसअघि पनि सुकुम्बासी परिवारको हित विपरित काम गर्दै आएको आरोप लगाएका छन् । माझीले भने सो ठाउँमा शवदाह स्थल निर्माण गर्ने तयारी गरिएकोले बस्ती खाली गर्न गाउँपालिकाको निर्णय अनुसार सूचना जारी गरेको बताए ।

वडाध्यक्ष माझीले गाउँपालिकाले निर्णय गरिसकेकाले प्रशासन लगाएर भएपनि टहराहरु हटाउने चेतावनी दिनुभएको छ । शवदाहस्थल निर्माण गर्ने निश्चित भएको स्थानमा उनीहरुले घरटहरा बनाएकोले हटाउने तयारी गरेको उहाँको दावी छ । गाउँपालिकाको सो वडामा १ सय ५० बढी सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन् । विवादित स्थानकै छेउमा करिब एक सय सुकुम्बासी परिवारको बसोबास छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.