तेह्रथुम, मंसिर २९ गते । रातो तारा डट कम, तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रमा रहेको गुफापोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् । पोखरीको अस्तित्व संकटमा पर्दै गएपछि स्थानीयवासीले संरक्षणमा चासो देखाएका हुन् । पोखरी परिसरको घेरबार, सरसफाइ, पानीको मुहान पहिचानजस्ता विषयमा अहिले चासो बढेको छ । अवलोकनका लागि आउने आन्तरिक पर्यटकसँग स्थानीयवासीले पोखरीको संरक्षणका लागि राय, सुझाव माग्न थालेका छन् ।
संखुवासभाको चैनपुर नगरपालिका–१ स्थित सो पोखरीको संरक्षणका लागि तत्कालीन जिल्ला विकास समितिले छुट्याएको रु पाँच लाखबाट हाल पोखरी परिसरमा घेरबार गरिएको छ । सो रकमले पोखरी परिसरमा ३९० मिटर घेरबार लगाइएको तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले बताउनुभयो ।
“अब पानीको स्रोत जुटाउनु छ, स्रोतको पहिचान गर्ने क्रममा छौँ”, उहाँले भन्नुभयो । प्राकृतिकरुपमा बनेको आकर्षक गुफापोखरीमा पर्यटक र नजिकमा बस्ती विकास हुँदै जाँदा फोहर बढ्दो छ । वर्षेनी मौसम परिवर्तन हुँदै पानीको मुहान सुक्दै गएको छ ।
पाँच वर्ष अघिसम्म भरिभराउ हुने सो पोखरीमा अहिले पानीको सतह घटेर आधा भागमा बालुवामात्रै देखिन्छ । पानीको मुहान पहिचान गरेर तत्कालै पोखरीमा पानी बढाउन आफूहरु प्रयत्नशील रहेको अध्यक्ष लिम्बूले बताउनुभयो ।
Post a Comment